logo
२०८१ बैशाख १४ शुक्रवार



फलामको व्यावसायिक उत्पादन (सम्पादकीय)

विचार/दृष्टिकोण |




राजनीतिक स्थिरतासँगै नेपालमा समृद्धिका विभिन्न ढोका उघ्रिँदैछन् जसबाट वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्पलाई गति दिनेछन् । उद्योगधन्दालगायत पर्यटन विकासका लागि हुनुपर्ने राजनीतिक स्थिरता, औद्योगिक वातावरण, लगानीमैत्री कानुनी तथा प्रशासनिक संयन्त्रको वर्तमान सुसंयोजनले विकास र समृद्धिका नयाँ क्षितिज उघ्रिएका हुन् । नेपालमा राणाकालदेखि खनिज पदार्थको उत्खनन र उपभोगबारे चर्चा हुनेगरेका भए पनि यस क्षेत्रमा ठोस उपलब्धि भएका थिएनन् । स्विट्जरल्यान्डका प्रख्यात भूगर्भविद् टोनी हेगन (१९१७–२००३) ले सन् १९५० को दशकमा नेपालका अधिकांश पहाड पवर्तको भौगर्भिक अध्ययन÷अनुसन्धान गरी विभिन्न खनिज पदार्थको प्राकृतिक भण्डारणबारे नेपाललाई जानकारी दिएका थिए । त्यसअघि र पछि पनि स्थानीय जानकार तथा अनुभवीले नेपालका विभिन्न स्थानमा खनिज पदार्थ रहेका दाबी गर्दै आएका भए पनि वैज्ञानिक खोज र पुष्टि हुन सकेको थिएन ।
वर्तमान सरकारले चालु वर्षको सरकारी नीति तथा कार्यक्रममा नवलपुरको होप्से गाउँपालिकास्थित धौवादीमा रहेको खानीबाट यसै आर्थिक वर्षदेखि फलामको व्यावसायिक उत्पादन सुरु गर्ने घोषणा गरेको थियो । झट्ट सुन्दा महŒवाकाङ्क्षी लाग्ने यो कार्यक्रम सङ्घीय कार्यपालिकाको भदौ पहिलो हप्ताको निर्णयसँगै कार्यान्वयनमा आउने भएपछि दन्त्यकथाजस्तै लाग्ने नेपाली फलामखानीबाट व्यावसायिक उत्पादनको मार्गप्रशस्त भएको छ । सरकारद्वारा धौवादी फलामखानी लिमिटेड स्थापना गर्ने निर्णय गरिएसँग नेपालको खानीजन्य पदार्थको व्यावसायिक उत्खनन, उत्पादन र औद्यागिक क्षेत्रमा नयाँ सम्भावना देखिएको छ ।
खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०६६÷६७ मा सो क्षेत्रमा फलामको प्राकृतिक भण्डारण रहेको पुष्टि गरेको झण्डै एक दशकपछि मात्र वर्तमान सरकारको नीति तथा कार्यक्रम र पछिल्लो निर्णयसँगै स्वदेशी फलाम उद्योग स्थापनाको गृहकार्य अघि बढेको छ । केही ढिलै भए पनि पूर्ण तयारीका साथ नेपाल फलामको उत्खनन र उद्योगको नयाँ चरणमा पुग्दैछ । अहिले मूलतः उद्योग स्थापना, खानी तथा उद्योग सञ्चालनको थप सम्भाव्यता, वातावरणीय प्रभाव अध्ययन र प्राप्त कच्चा फलामको औद्योगिक उत्पादनबारे गहन अनुसन्धान भइरहेको छ । सक्दो छिटो यस्ता प्रक्रियागत कार्य सकेर उत्पादन र परिणाममुखी चरणमा प्रवेश गर्न हतार भइसकेको छ । नेपाल र नेपालीको लामो प्रतीक्षापछि सरकारको प्राथमिकतामा परेको यस खानीबाट फलामको व्यावसायिक उत्पादन गर्न सक्दा नेपालमा आर्थिक विकास र रोजगारीको फराकिलो सम्भावना उजागर गर्न सकिनेछ । वर्तमान सरकारले मुलुकको पछौटेपन र बेरोजगारीविरुद्ध आक्रामक अभियान सञ्चालन गर्दै गरेको सन्दर्भमा स्वदेशी फलामखानीले नेपाली युवालाई न्यायोचित आर्थिक अवसर दिने निश्चित छ । त्यसैले सरकारको प्राथमिकता र समृद्धिको सङ्कल्पलाई सम्बद्ध निकाय, विज्ञ तथा स्थानीयले पूर्ण सहयोग गर्दै मुलुकको विकास कामनालाई गति दिन आआफ्ना स्थानबाट दिनुपर्ने विशेष योगदान यहाँ अपेक्षित रहन्छ ।
यस दिशामा धेरै काम भएका छन् अझ पनि केही सघन कार्य बाँकी नै छन् । चालु आवमा थप तीनसय मिटर ‘ड्रिलिङ’ गर्नुपर्ने, विस्तृत सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, ढुङ्गा परीक्षण, उद्योगको क्षमता र उत्खनन क्षेत्र निर्धारण, उद्योग स्थापना (स्थान निर्धारण) लगायतका काममा खानी तथा भूगर्भ विभागको थप सक्रियता आवश्यक पर्नेछ । साथै, विभागलाई यथेष्ट स्रोतसाधन तथा सहजीकरण चाहिने देखिन्छ । त्यसो त चालु आर्थिक वर्षको बजेटमा सो खानीको व्यावसायिक उत्खननका लागि एक अर्ब रुपियाँ विनियोजन गरिएको छ । साथै बजेट अपुग हुन नदिने सरकारी प्रतिबद्धताले यस दिशाका आगामी दिन थप उपलब्धिमूलक हुने देखिन्छ । उज्ज्वल सम्भावनासँगै करिब १० करोड टन फलामको धाउ रहेको प्रमाणित भएको त्यस क्षेत्रमा उपलब्ध कच्चा फलाम (धाउ) व्यावसायिक प्रयोजनमा उपयुक्त हुने वा नहुने चुनौती पनि छँदैछ । प्राप्त धाउबारे चीनमा भइरहेको परीक्षणपछि यसबारेमा थप गृहकार्य गर्नुपर्ने हुन्छ । प्रतिस्पर्धात्मक र खुला बजारका कारण नेपालमा उत्पादन हुने फलामको गुणस्तर र मूल्य उपभोक्ता मैत्री हुनुपर्ने बजारशास्त्रको अर्को पाटोबारे पनि स्पष्ट हुनु आवश्यक छ । मुलुकले यस्ता उद्योगलाई अवश्य पनि आर्थिक संरक्षण र ग्राह्यता प्रदान गर्ने छ । यसका साथै नेपाली उत्पादनमा नेपालीले गर्व गर्न सक्ने वातावरण सिर्जनाका लागि अहिलेदेखि नै नीतिगत तथा प्राविधिक पक्षमा विशेष ध्यान जानुपर्ने देखिन्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?