logo
२०८१ मंसिर ९ आईतवार



समृद्धिमा सहकार्य (सम्पादकीय)

विचार/दृष्टिकोण |





ठूला अर्थतन्त्र भएका दुई मुलुक भारत र चीनबीच अवस्थित नेपालले खुला र प्रतिस्पर्धात्मक बजारमा औद्योगिक उत्पादनलाई अर्थतन्त्रको मेरुदण्ड बनाउन सम्भव हुँदैन । त्यसैले सुरक्षित आर्थिक क्षेत्रको पहिचान र परिचालन गर्नु जरुरी हुन्छ । पर्यटन, जलविद्युत् र जडीबुटी नेपाली अर्थतन्त्रका मुख्य आधार हुन सक्छन् । त्यसमा पनि पर्यटनमार्फत आम्दानी गर्न अझ सहज देखिन्छ । नेपालले पछिल्ला वर्षदेखि पर्यटनलाई आर्थिक विकासको भरपर्दो क्षेत्रका रूपमा मनन गर्दै आएको छ । पर्यटनको विकास प्रत्यक्षतः आर्थिक पक्षसँग सम्बन्धित रहने भए पनि यसले मुलुकको विश्व पहिचान तथा अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको व्यक्तित्व विस्तारमा पनि उत्तिकै सहयोग गर्दछ । वर्तमान नेपाल स्थिर राजनीति, बहुल सांस्कृतिक पहिचान, विविध पर्यटकीय स्थान÷क्षेत्रका कारण पर्यटनमैत्री देखिएको छ । यसै परिवेशमा सन् २०२० लाई नेपाल भ्रमणवर्षका रूपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पूर्वाधार तयारीमा सघनरूपले जुटेको छ । मन्त्रालयले प्रशासनिकदेखि भौतिक संरचनाको निर्माण र प्रभावकारी प्रचारात्मक अभियानमा ध्यान केन्द्रित गरेको छ ।
नेपालसँग पर्यटकलाई मनोरञ्जन दिन विविध सम्पदा उपलब्ध छन् । मूलतः पर्यटकीय भौगोलिक स्थान, साहसिक पर्यटनमैत्री क्षेत्र, धार्मिक–सांस्कृतिक सम्पदा मुख्यरूपमा छन् । अबका दिनमा थप क्षेत्र तथा सम्भावनाको खोजी गर्न सकिनेछ । भियतनामले युद्धका अवशेषलाई आकर्षक पर्यटकीय सम्पदाका रूपमा उपयोग गरिरहेको छ भने अन्य केही मुलुकले मानवीय शारीरिक मनोरञ्जनलाई पर्यटक लोभ्याउने अवसरका रूपमा प्रयोग गरेका छन् । दक्षिण अफ्रिकाले नेल्सन मण्डेलालाई लामो समय राखिएको जेलमार्फत पर्यटक लोभ्याउँदैछ भने रुसमा यौन सङ्ग्रहालयको विशेष आकर्षण छ । एउटै र उस्तै तरिका, स्थान वा साधनले पर्यटकलाई सधैँ पृथक् आनन्द दिन नसकिने भएकाले पर्यटकीय साधनको विविधतालाई नेपालले पनि विस्तार गर्दै आएको छ र अझै यस्तो सम्भावना छ ।
हाम्रो सहिष्णु सामाजिक जनजीवन, एकताबद्ध समाज, धर्म संस्कृतिदेखि राजनीतिक स्थिरताका लागि नेपालले अवलम्बन गरेको विशेष मौलिक पहललाई पर्यटक भिœयाउने अवसर बनाउन सकिन्छ । यसका लागि निजी क्षेत्रको सहभागिता अत्यन्त महŒवपूर्ण हुने सत्यलाई नेपालले हृदयङ्गम गरेर नेपाल भ्रमणवर्षको सफलतामा निजी क्षेत्र र गैर आवासीय नेपालीको भूमिकालाई उच्च महŒव दिएको छ । पर्यटन विकासका लागि पर्यटकको सङ्ख्या बढाउनु प्राथमिक पहल हो भने त्यस्तो सङ्ख्याको गुणात्मकतामा पनि त्यत्तिकै ध्यान दिनुपर्छ । नेपालमा करिब आठदेखि १० प्रतिशत पर्यटक तीर्थयात्राका क्रममा आउने गर्छन् भने तराई क्षेत्रमा उपचारका लागि भारतबाट पनि आउँछन् । यसैगरी सरकारी कामका लागि आउने पर्यटक पनि खर्चालुका दृष्टिले त्यति गुणात्मक हुँदैनन् । नेपालको बसाइ लम्ब्याउने र खर्चालु पर्यटक प्राथमिकतामा पार्नुले नेपालले यस क्षेत्रमा गरेको पहल सफलीभूत हुनेछ । सम्बद्ध मन्त्रालयले पर्यटन विकासलाई प्राथमिकतामा राख्दै तयार गरेको रणनीति सन् २०१६–२० सम्ममा २५ लाख र राष्ट्रिय योजना आयोगले तयार गरेको सहस्राब्दी विकास लक्ष्य (सन् २०३०) मा ३२ लाख पर्यटक नेपालमा भिœयाउने लक्ष्य राखिएको छ । साथै तत्कालीन नेकपा एमाले र माओवादीको साझा चुनावी घोषणापत्रमा यो सङ्ख्या ५० लाख पु¥याउने उल्लेख छ । यी लक्ष्य प्राप्त गर्न सबै पक्षको समन्वयात्मक पहल आवश्यक हुनेछ ।
पर्यटक आकर्षणका लागि प्राकृतिक स्थल र सम्पदाको उपलब्धता मात्र पर्याप्त नहुने भएकाले विभिन्न निकायको साझा पहल आवश्यक हुने हो । विमानस्थलको रमणीयता र होटलको सुविधादेखि सहज प्रशासनिक प्रक्रिया, भरपर्दो सुरक्षा, सूचना प्रणाली र भरियासम्मको मीठो बोली र घरेलु व्यवहारले पर्यटकको मन जित्न सकिन्छ । पर्यटन विकासका लागि न त सरकार मात्र एउटा अङ्ग हो, न त यसको लाभ सरकारले मात्र लिने हो । यसर्थ पर्यटन विकासको प्रभावी साझेदार निजी क्षेत्र र स्थानीय बासिन्दाले समेत पर्यटकमैत्री कार्यक्रम, व्यवहार र शैली अपनाएर सरकारको योजना सफल बनाउन विशेष योगदान दिन सक्छन्÷सक्नुपर्छ । मुलुक समृद्ध हुँदा जनता सुखी हुन्छन् भनिरहनु नपर्ने भएकाले आफू सुखी हुन प्रत्येक नेपालीले विकासका हरेक यस्ता प्रयासमा सहभागी हुन आवश्यक छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?