logo
२०८१ मंसिर ६ बिहीवार



सामन्तवाद सिधै समाजवादमा जाँदैन

विचार/दृष्टिकोण |




प्रदीप नेपाल

१९७० को दशक समाजवादमय भएको थियो । भारतीय रजौटाहरूको विशेष अधिकार खोसेपछि होला भारत पनि अलि समयका लागि समाजवादी भएको थियो । बर्माको ने विनको सैनिक शासनले पनि समाजवादको गीत गाएको थियो । लाग्थ्यो, विश्वमा समाजवादबाहेक अर्को कुनै शासनप्रणाली नै छैन र हुन पनि सक्दैन । बिचरो विश्व समाजवादको आयु १५ वर्ष पनि रहेन । ढले ९९ प्रतिशत समाजवाद । तिनलाई कसै न कसैले त प्रतिस्थापन गर्नैपथ्र्यो । कुरूप अनुहार लिएर आइपुग्यो पुँजीवादी उदारवाद । अलग अलग रङ पोते पनि त्यो निकृष्ट पुँजीवाद थियो । आकर्षक रङरूप देखेर नेपाली काँग्रेसका नेताहरू पनि लठ्ठिए बहुरङ्गी उदारवादतिर । त्यसैले नेपाली काँग्रेसको पार्टी र सरकारले बी.पी. को समाजवादलाई घाटमै सद्गत गरेर घर फर्किएर आरामले सुत्यो । अहिलेसम्म पनि त्यो सुतिरहेकै छ । नयाँ भाइसाथीहरूले तन्मयताका साथ बी.पी. कोइरालाका रचनाहरू पढेर काँग्रेसलाई पुनर्जीवन दिने काममा लागेनन् नेपाली काँग्रेसको यही गति मति हो भने काँग्रेस नेपालको पहिलो प्रजातान्त्रिक पार्टी नेपाल प्रजापरिषद् जस्तै हुनेछ ।
बहुदलीय व्यवस्थामा नेपाली काँग्रेसको समाजवाद सुतेपछि बग्रेल्ती समाजवाद उम्रिए । एउटा थियो, मन्त्री समाजवाद । अलपत्रिएका सांसदसँग मिलेमतो गरेर एउटा मन्त्री पद पड्काउने सजिलो समाजवाद । काँग्रेसको समाजवाद मरेपछि, कहीँ न कहीँ त त्यो समाजवाद जन्मिनैपथ्र्यो । त्यो जन्मियो– नेकपा (एमाले) को, जनताको बहुदलीय जनवादको नामपाटी बोकेर । विश्वभरि नै सलहले सखाप पारेको थियो समाजवाद । त्यही समाजवादमा पुग्ने बाटोमा लागेको जनताको बहुदलीय जनवादले सगरमाथाको देशमा बलियो झण्डा गाड्यो । कसैले खुसी रचे, कसैले षड्यन्त्र रचे ।
यो कुनै आकस्मिक जादु थिएन । नेकपा मालेका युवा नेताहरूको परिश्रमको फल थियो यो । जनताको घरमै बस्ने, उनीहरूको सुखदुःखको साथी हुने नेकपा मालेको नीतिका कारण उनीहरू जनताका मान्छे भएका थिए । उनीहरू सर्वहारा थिएनन् तर श्रमिक वर्गका असल साथी थिए । नेकपा मालेका नेताहरूको सरदर उमेर २७ वर्षको थियो । उनीहरूको नेतृत्व, ९० प्रतिशत मध्यम किसान या निम्नपुँजीपति वर्गबाट आएको थियो । उनीहरूको प्रयत्न सधैँभरि तल जाने हुन्थ्यो । पञ्चायत ढल्छ भन्ने जब्बर विश्वास थियो तिनीहरूमा । उग्रवामपन्थबाट तिनीहरू विस्तार विस्तार बाहिर निस्किँदै थिए र परिवर्तन बन्दुक होइन, जनताको बीचमा गरिने कष्टकर राजनीतिक काम र सामाजिक संस्थाहरूको परिचालनबाट मात्र सम्भव छ भन्ने विश्वासमा पुगेका थिए । ०४६ को परिवर्तन यही सोचको परिणाम थियो ।
तर त्यो परिवर्तनले व्यवस्थाको रूप मात्र फे¥यो, सारमा कुनै परिवर्तन आएन । यहाँसम्म कि हिजोका ठालु ठालु नै रहे । श्रमिकको जीवनले कुनै परिवर्तन महसुस गरेन । सबै पार्टीको टाउकामा बहुदलीय सामन्तवाद भन्ने नयाँ व्यवस्था निर्माण ग¥यो । राष्ट्रिय पुँजीवादलाई बलियो बनाउनुपर्ने ठाउँमा ०४८–०५० को नेपाली काँग्रेसको सरकारले भएभरका उद्योगहरू कौडीको भाउमा बेचेर दलाल पुँजीवादलाई राज्यको तालाचाबी बुझाइदियो । बस् के थियो, पार्टीको बुई चढेर दलाल पुँजीवादले सिंहदरबारमा दाइँ खेल्न थालिहाल्यो । संसदीय बहुदल पनि असफल भयो भन्छन् । त्यो सत्य होइन । असफल भएको थियो एक बोतल रक्सी । रक्सीबारे अहिले नलेखौँ । राजनीतिप्रति चासो राख्ने सबैले बुझेकै कुरा हो यो । राजा ज्ञानेन्द्रले ‘कू’ गरेको पनि भन्दिन म । पाँच पेग रक्सीको करामत हो यो । तर रक्सीले ‘कु’ ग¥यो भन्न मिल्दैन ।
अहिले त प्रष्ट भइसकेको छ, त्यो रक्सी इण्डो–अमेरिकन छ्याकनबाट निस्किएको थियो । त्यो छ्याकनलाई राजदरबार हत्याकाण्ड भनिन्छ । नयाँ राजा ज्ञानेन्द्र हुनुभयो । उहाँले राजा ‘वीरेन्द्र जस्तो टुलुटुलु हेरेर बस्न नसक्ने’ हुँकार छोडेपछि जताततै शत्रु जन्माउने काम गर्नुभयो । पञ्चायतसँग जनबल उसै पनि थिएन । त्यसमाथि उहाँले पञ्चायतभित्रैका पुराना पण्डित र बहुदलीय व्यवस्थामा पद नपाएर पद पाइने आशमा राजतन्त्रको पक्षमा लागेर कमजोर भएका मानिसमाथि भरोसा गर्नुपर्ने आवश्यकता जन्मियो । राजासँग यसको विकल्प पनि थिएन । राजाले गराएको चुनावमा पनि जनताको खासै सहभागिता रहेन । राजाको नाम बेचेर आफ्नो दुनो सोझ्याउनेहरूले राजालाई पङ्गु बनाए । पार्टीहरूले समयमै जनताको त्यो असन्तुष्टिको जरो समाते । कम्युनिस्ट र काँग्रेसहरूले मिल्दा के हुन्छ, नमिल्दा केसम्म हुँदोरहेछ भन्ने सत्यता सिके । बन्दुकले लोकतन्त्र ल्याउँदैन भन्ने बोध हतियारधारी माओवादीलाई पनि भयो । जनता र प्रमुख राजनीतिक दल मिलेपछि पञ्चायत मात्र होइन, राजन्त्रलाई इतिहासमा थन्क्याउन त्यति गाह्रो परेन । त्यसपछिको सङ्घीय गणतन्त्र नेपालको संविधानलाई हामी अहिले टाउकामा बोकेर हिँडिरहेका छौँ ।
तर अहिलेको व्यवस्थाले आफैँले बनाएको संविधानलाई मनसा, वाचा, कर्मणा पालन गरेको छैन । सङ्घीयताको सार भनेको तलबाट माथि हो तर अहिले माथिबाट तल नै भइरहेको छ । सबैभन्दा शक्तिशाली स्थानीय सरकार हुनुपर्नेमा सबैतिर सिंहदरबारकै हालिमुहाली चलेको छ । त्यसैले सिण्डिकेटवालाहरू एकैचोटी केन्द्रमाथि नै दबाब दिन्छन् । स्थानीय सरकारबाट हुन नसक्ने कामका लागि प्रदेश छ । प्रदेशबाट पनि समाधान भएन भने मागकर्ताहरू केन्द्रतिर लाग्नुपर्ने हो । तर सानो वा ठूलो कुनै पनि सिण्डिकेट यो प्रक्रियाबाट अघि बढ्न चाहँदैन ।
केन्द्रको काम कानुन बनाउने, परराष्ट्र सम्बन्ध कायम राख्ने, राष्ट्रिय महŒवका परियोजनाको अनुगमन गर्ने हो । कुलो पैनीको चासो राख्ने होइन । तर दुःखको कुरो यति सरल कुरो बुझ्ने मानिस हाम्रो तीनै तहका सरकारमा (अनि संसद्मा पनि) कति थोरै रहेछन् ! कुनै पनि व्यवस्थाको रक्षक भनेका जनता हुन् । जनताबाट टाढा भएपछि नेपाल जनता पार्टी नाम राखे पनि त्यो पार्टी जनताको हुँदैन । अहिले नेपाल यस्तै अन्तरविरोधमा फँसेको छ । समाजवादी पार्टीमा समाजवादको गन्ध छैन । माक्र्सवादी पार्टीहरूमा माक्र्सको स्वतन्त्रता र समानता छैन । नेता अग्लो मञ्चमा बस्छन्, जनता तल भुइँमा बस्छन् । ठूला नेताहरू ठूला र महँगा गाडीमा गुड्छन् । साना जनता कुनै पनि बेला बाटैमा घचक्क बस्ने थोत्रा बसहरू चढ्न बाध्य छन् । यस्तो बाध्यतालाई सरकारमा बस्नेहरू देख्न त के सुन्न पनि चाहँदैनन् । किन ?
किनभने तिनको चेतनामा साना मानिस पनि हामी बराबर हुन् भन्ने चेत पसेको छैन । जहिलेसम्म सत्ता सञ्चालकको मस्तिष्कमा यो चेत पस्तैन, तहिलेसम्म लोकतान्त्रिक सङ्घीय गणतन्त्रको भाषण गर्नु बेकार हुन्छ । लोकतान्त्रिक सङ्घीय गणतन्त्र स्थापित भएपछि पनि समाजवादी यात्राको लामो दूरी पार गर्नुपर्छ हाम्रो देशले । के हाम्रो पुस्ताले समाजवाद देख्न पाउँदैन ? पाउँदैन । मेरो निष्कर्षमा राष्ट्रिय पुँजीवाद बलियो नभएसम्म अरू कसैले पनि दलाल पुँजीवादलाई पराजित गर्न सक्दैन ।
राष्ट्रिय पुँजीवाद कसरी बलियो हुन्छ ?
सबैभन्दा पहिले हाम्रा सबै नगरपालिकाहरू सबै हिसाबले आत्मनिर्भर हुनुपर्छ । अपवाद बाहेक गाउँपालिकहरू पनि आत्मनिर्भर हुनुपर्छ । राजनीति भनेको पेशा होइन, सेवा हो भन्ने सत्यलाई सबै निर्वाचित समूहले आत्मसात् गर्नुपर्छ । नेपालमा अहिले देखिएको कर्मचारी खटनपटनमा देखिएको अप्ठेरोबाट कर्मचारीतन्त्र मुक्त हुन पर्छ । शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ । यति काम पूरा गरेपछि तपाईं समाजवादी मार्गको उकालो बाटोको पहिलो टेकोमा आइपुगेको निष्कर्ष निकाल्न सक्नुहुन्छ । समाजवाद पनि केबलकार चढेर फुत्त मनकामना मन्दिर छेउमा पुगेजस्तो सजिलो हुँदैन । पृथ्वी राजमार्गबाट तल त्रिशूली नदीमा झर्नुपर्छ । नदी तर्न पनि सजिलो हुँदैन । सानोतिनो पुल बनाउनुपर्छ । उकालोलाई तेर्सो बनाउन मिल्दैन । तरतर पसिना चुहाउँदै उकालो चढ्नुपर्छ ।
त्यसैले समाजवादको सपना नदेखाउनुस् सरहरू । अहिले हामीलाई बलियो राष्ट्रिय पुँजीवाद चाहिएको छ जसले दलाल पुँजीवादलाई पराजित गर्न सकोस् । सबैले हिम्मत राख्ने हो भने यो काम चाहिँ त्यस्तो गाह्रो छैन ।

(लेखक नेकपाका नेता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?