logo
२०८० चैत्र १६ शुक्रवार



सवारी जामको व्यवस्थापन (सम्पादकीय)

विचार/दृष्टिकोण |





एकातिर सवारी साधनको अभावमा आजका दिन पनि दुर्गम क्षेत्रमा डोली चढेर अस्पताल पुग्नुपरेका दृश्य यदाकदा देखिन्छन् । अर्कोतिर सवारी साधनको जामले सहरवासी सहज तरिकाले अस्पताल पुग्न नसक्ने अवस्था आएको छ । काठमाडौँ–भक्तपुरको मुख्य प्रवेशबिन्दु कोटेश्वर चोकमा आधादेखि दुई घण्टा जाम हुन थालेपछि समस्या नियन्त्रण बाहिरै पुगेको हो कि जस्तो देखिन थालेको छ । अन्यत्र पनि यस्तो समस्या छ । नीतिले ‘अति सर्वत्र वर्जयेत्’ सायद यसैका लागि भनेको हो । काठमाडौँमा सवारी जाम ‘अति’ नै भएको छ । जामको समस्या सवारी साधनको सङ्ख्या र वितरणमा देखिन्छ । काठमाडौँमा सानाठूला गरेर करिब १० लाख सवारी साधन दर्ता रहेकामध्ये ८० प्रतिशत जति दैनिक रूपमा गुड्ने गर्छन् । ती सङ्ख्याका सवारी साधनको वितरणका लागि उपत्यकामा कति सडक छ, सडकको अवस्था कस्तो छ । यो सङ्ख्याका लागि यति क्षेत्रफलको सडक आवश्यक छ, छैन, सवारी नियम कानुन के कस्ता छन् ? जस्ता आँखाले पनि यो समस्यालाई हेर्नुपर्छ ।
स्थानीय तहदेखि प्रहरी प्रशासन र यातायात व्यवस्था विभागले यो समस्या समाधानमा विभिन्न उपाय तथा तरिका अवलम्बन गर्दै आएका भए पनि समस्या झन् बढ्दो छ । ट्राफिक व्यवस्थापनमा बनेका योजना कार्यान्वयन नहुनुले पनि समस्याको सहज समाधान देखिने अवस्था छैन । हाल हरेक वर्ष २०० प्रतिशतका दरले सवारी साधन भित्रने नेपालमा त्यसको सबैभन्दा धेरै चाप राजधानी उपत्यकामा पर्दै आएको छ । सवारी जामको समस्या समाधानका लागि ट्राफिक प्रहरीको जनशक्ति परिचालनमात्र पर्याप्त नहुने स्पष्ट भइसकेको छ । यसैगरी सडकको विस्तारबाट मात्र सवारी जाम समाधान गर्न सम्भव छैन । कोलम्बियाका पूर्वमेयर एनरीके पेनालोजाले सवारी जाम हटाउन सडक विस्तार गर्नु भनेको आगो निभाउन मट्टीतेलले छ्याप्नुसरह हो भन्नुभएको सन्र्दभलाई नेपाली अनुभवमा पनि हेर्नुपर्ने हुन्छ । केही वर्षदेखि काठमाडौँमा घर भत्काइँदै सडक विस्तार गरिँदै आएको छ तर अवस्था उस्तै छ । निकै सुविधासम्पन्न हुनेगरी सडक विस्तार गरिएको भनिएको कोटेश्वर क्षेत्रमा नै हाल हुने गरेको अत्यासलाग्दो जामले सडक विस्तार मात्र समाधान होइन भन्ने पुष्टि गरेको छ ।
जोरबिजोर नम्बरका गाडी चलाउने व्यवस्थालाई अर्को विकल्पका रूपमा लिइने गरिन्छ । यस्ता उपायले मात्र यहाँको सवारी व्यवस्थापन सुधार गर्न सम्भव नहुने भएकाले नयाँ तरिकाबाट सवारी साधनको वितरण व्यवस्थित गर्नु नै अहिलेको समाधान हुनसक्छ । यहाँ चल्ने गाडीलाई समय र क्षेत्रगतरूपमा वितरण गरी सञ्चालनको अवधारणा ल्याउनुपर्ने देखिन्छ । सडकको क्षेत्रफल, अवस्था, सवारी साधनको सङ्ख्या, नियम, प्राविधिक, प्रशासनिकजस्ता उपायले मात्र सडकको जाम हटाउन नसकिने अवस्थामा सामाजिक उपचारमा प्रवेश गर्नुपर्ने उपयुक्त हुन्छ । नगरवासीलाई भरसक केन्द्र प्रवेश गर्नै नपर्ने वातावरण मिलाउने जस्ता दीर्घकालीन र हाल गरिँदै आएका अल्पकालीन पहलको निरन्तरता दिनुपर्ने हुन्छ । अत्यधिक सवारी साधनको खरिदलाई निरुत्साहन गर्दै सार्वजनिक यातायातलाई भरपर्दाे बनाउँदा पनि सवारी जाम न्यूनीकरणमा योगदान दिन सकिन्छ ।
रात्रिकालीन जनजीवनको सक्रियता, जहाँ निवास छ त्यहाँका विद्यालयमै पढ्नुपर्ने, सामान्य उपचार गर्न केन्द्र बाहिरका स्वास्थ्य चौकीको विस्तार, विद्युतीय प्रशासनमार्फत काम गर्ने, दिउँसो निजी र सार्र्वजनिक यात्रुवाहक सवारी मात्र सहरभित्र प्रवेश पाउने, भरपर्दो सार्वजनिक यातायात सुविधा, यातायात समितिमार्फत सामूहिक भाडा लिने र गाडी धनीहरूले आम्दानी बाँडफाँट गर्ने व्यवस्थाजस्ता सामाजिक उपायले पनि सवारी जाम कम गर्न सकिन्छ । यसैगरी नागरिकमा कर्तव्यबोधको समस्याले पनि अनावश्यक सवारी जाम हुने गरेको अनुभव गर्न सकिन्छ । सवारीचालकले सामान्य नैतिक पक्षलाई मात्र ध्यान दिनसक्दा पनि कतिपय अवस्थामा यस्ता समस्या कम गर्न सकिन्छ । यसको जिम्मेवारी नागरिकले पनि लिनुपर्छ । सडकको अनधिकृत प्रयोग, अतिक्रमण, निर्माणसामग्री थुपारेर आफैँले दुःख पाउने काममा नागरिक पनि लाग्नुहुँदैन । यस्ता समस्याको समाधानमा सबै पक्षको समन्वयात्मक सहकार्य हुनु आवश्यक हुन्छ भन्ने सत्यलाई नागरिक समाजले पनि बुझिदिनुपर्छ । सवारी जामले गन्तव्यमा पुग्न ढिलाइमात्र गर्दैन जीवनमरण र आर्थिक पक्षमा पनि यो समस्या उत्तिकै सम्बन्धित छ भन्ने कुरालाई कसैले पनि बिर्सन हुँदैन ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?