प्रा.डा. ऋषिराम शर्मा
त्रिभुवन विश्वविद्यालय योग्य, दक्ष एवं नेतृत्वदायी लाखौँ शैक्षिक जनशक्ति उत्पादन र दीक्षित गरिसकेको एक निकै गौरवशाली विश्वविद्यालय हो । यो नेपालको शैक्षिक जीवनको ढुकढुकी हो; चेतना र ज्ञानको आलोकपुञ्ज हो । ‘समृद्ध नेपाल सुखी नेपाली’ का अभियन्ता प्रधानमन्त्री, त्रि.वि. का अभिभावक एवं कुलपतिको समृद्धिको सहयात्रीसमेत हो– त्रिभुवन विश्वविद्यालय । समृद्धिको सहयात्री बन्नका लागि कमाण्ड सम्हाल्ने व्यक्तिहरू सक्षम, निष्पक्ष र योग्य भएमात्र सम्भव हुन्छ ।
हुन त लामो समयसम्म अस्वस्थ, सिण्डिकेटयुक्त भागबण्डाको सङ्क्रमणकालीन अव्यवस्थाको सङ्क्रामक रोगले थलिएको त्रिविमा भर्खरै एक आयोगको पदाधिकारी नियुक्तिसम्बन्धी कुलपतिको निर्णयलाई विश्वविद्यालयको आगामी नेतृत्व चयनको सकारात्मक सङ्केत मान्न सकिन्छ । नेपालका सबै विश्वविद्यालयमा यही भदौदेखि मङ्सिरसम्म सम्पूर्ण उच्च कार्यकारी पदाधिकारीहरू रिक्त हुँदैछन् भने सो पद खान, हत्याउन र कब्जा गर्न खोज्नेको बेचैनी, व्यग्रता, छटपटी र अस्वाभाविक सक्रियताले त्रिभुवन विश्वविद्यालय लज्जित भएको छ । चोक, चियापसल, चौतारा र भट्टीहरूमा समेत त्रिवि पदाधिकारी नियुक्तिबारेको चर्चाले शिखर छुँदो छ । हिजो भएका सङ्क्रमणकालीन भागबण्डाले विश्वविद्यालयको बाह्य एवं आन्तरिक जीवनमा पारेको दुष्प्रभावका कारण विश्वविद्यालयको मुटु कुटुकुटु खाएकै छ । त्यो दुःखाइबाट मुक्ति पाउने आशामा आज विश्वविद्यालयले अबका नियुक्तितर्पm टुलुटुलु हेर्दै पनि छ ।
आज मुलुकको अवस्था हिजो जस्तो छैन । छ–छ महिनामा सरकार बदलिने अस्थिरताले निम्त्याएका विकृति–विसङ्गतिहरू अहिले पनि जारी रहँदा दुईतिहाइको स्थिर सरकारप्रति प्रश्नको ओइरो लाग्ने सम्भावना रहन्छ । त्यसले अन्ततः प्रधानमन्त्रीले देख्नुभएको समृद्धिको सपनाको जग नै कमजोर बन्न सक्छ । हिजोको सङ्क्रमणकालमा हतारमा नियुक्त पदाधिकारीमध्ये सबै (एक दुई अपवादबाहेक) ले संस्थाको कद बढाउनुका सट्टा आपूm नियुक्त भएका पदको गरिमासमेत घटाउँदै लगे । यसबाट लिगलिगे दौडमा सामेल व्यक्तिले पदको गरिमालाई समेत खान खोजिरहेको र समग्रमा विश्वविद्यालयको गौरवमय इतिहासको गति रोक्न तम्सिरहेको प्रतीत हुन्छ । एकपटक र पटकपटक विभिन्न पदमा परीक्षण भइसकेका र विवादै विवादमा मुछिई, संयोजनकारी भूमिका निर्वाह गर्न नसकी आम रूपमा विकृत र कुरूप अनुहारका रूपमा चिनिएकै कारण अनुत्तीर्ण भएकाहरूले विश्वविद्यालयभित्र पति–पत्नीवाद, स्वयंघोषित विज्ञवाद (!), परिवारवाद र कुटुम्ब (सम्धी, साला, साली, भिनाजु) वादको दाइँ हालेर विश्वविद्यालयको सम्पत्तिमा फेरि पनि रजाइँ गरी प्राज्ञिक गरिमा तहसनहस पार्न खोज्ने खतरासमेत देखिँदैछ । कतिपय यस्तै नामहरू मिडियामा आगामी उपकुलपतिका चर्चामा आएको देख्नासाथ बिचरो त्रिवि आफ्ना कुलपतिले देखेको समृद्धिको सपना खरानी हुने हो कि भनेर झोक्राएर बसेको छ । त्रिविको त्यस्तो टिठलाग्दो अनुहार देखेर शैक्षिक समृद्धिको सपना देख्न खोज्नेहरूको घिड्किसो पनि पूरा नहुने पीर बढ्दो छ । पटकपटक अविच्छिन्न उत्तराधिकारी भैmँ पदाधिकारीका रूपमा नियुक्त भइरहँदा पदलाई आफ्नो पेवा, मोहियानी हक र भोगाधिकारको दाबी ठान्ने व्यक्तिहरूको नाम देखेर पनि त्रिवि तर्संदो छ ।
हुन त पत्रपत्रिकामा केही आशलाग्दा अनुहारहरू पनि चर्चामा देखिन्छन् जसलाई उहाँहरूको पूर्वकार्यको इतिहास र अहिले वहन गरिरहेको जिम्मेवारीले पुष्टि गर्दछ । त्यस्तै पत्रपत्रिकामा नआएका गुमनाम नामहरू पनि थुप्रै छन् । जसलाई ‘सर्च कमिटी’का तीक्ष्ण नजरले अवलोकन गर्ने नै छ । आज विश्वविद्यालयको कार्यकारी नेतृत्व तह भागबण्डाको लुछाचुँडीमा लागिरहँदा; आङ्गिक क्याम्पसलाई भन्दा निजी शैक्षिक मलहरूलाई सम्बन्धनको मलजल र कमिसनमार्पmत निजी भकारी भरिरहेको हल्ला चलिरहँदा; वरिष्ठ प्राध्यापकहरूका ठाउँमा कनिष्ठतमलाई नियुक्त गरी वरिष्ठ प्राध्यापकहरूको मानमर्दन गरिरहँदा र विश्वविद्यालयको भौतिक शरीरलाई रुग्ण पारिरहँदा पनि विश्वविद्यालयभित्रका केही विभाग, परियोजना, अनुसन्धान केन्द्रहरू र त्यहाँका प्राध्यापकहरूले अहोरात्र खटेर संस्थाको गौरवलाई उँचो पारेकै छन् । इमानदार र कर्मठ शिक्षण अनुसन्धानमा संलग्न प्राध्यापकहरूले भौतिक रूपले सिकिस्त यस विश्वविद्यालयको धमनीहरूमा रक्तसञ्चार गराएकै छन् । तिनीहरूका प्राज्ञिक कार्य र शोधकार्यको औषधिद्वारा विश्वविद्यालयका मुटु, कलेजो र फोक्साले काम गरिरहेकै छन् । उपकुलपतिका रूपमा चर्चित नाममध्ये केही यस्ता परीक्षित अर्थात् पूर्वकार्यको निर्विवाद र स्वच्छ इतिहास भएका व्यक्तिहरू पनि देखिन्छन् । प्राज्ञिक गरिमालाई नै शिरमा राखेर विश्वविद्यालयका विकृतिको शल्यक्रिया गर्न सक्ने र अवसरलाई संस्थाको हितको निम्ति चुनौतीको रूपमा स्वीकार गर्न सक्ने केही ताजा र आशलाग्दा नामहरू समेत पत्रपत्रिकामा आएको देख्दा विश्वविद्यालय मनमनै गद्गद पनि हुँदैछ ।
विश्वविद्यालयमा विभिन्न वैचारिक सङ्गठनहरूको लामो र गौरवमय इतिहास पनि छ । विभिन्न विचार समूहले आ–आफ्ना विचार समूहमा आबद्ध प्राध्यापक, कर्मचारीहरूलाई सङ्गठित गर्न, पेशागत मर्यादा र अनुशासन कायम गर्न, प्राज्ञिक उच्चता र गरिमा वृद्धि गर्न यी सङ्गठनले खेलेको गौरवशाली भूमिका एकातिर छँदैछ । अर्कातिर मुलुकमा गणतन्त्रको जग खन्न र गणतान्त्रिक व्यवस्थाको महल खडा गर्ने सन्दर्भमा एक एक इँटा थप्ने कार्य पनि यिनीहरूले गरेकै छन् । हिजो सङ्गठनमा उच्च तहको जिम्मेवारी लिनेहरूले व्यक्तिगत स्वार्थभन्दा संस्थागत र साङ्गठनिक स्वार्थलाई शिरोपर गर्दै आफ्नो सङ्गठन, संस्थालाई सशक्त तुल्याउँदै सङ्गठनभित्रका सम्पूर्ण सदस्यहरूको संरक्षक एवं अभिभावकको भूमिका समेत निर्वाह गरे । तर आज चाहिँ सङ्गठनलाई पद र बढुवाको लिस्नो बनाउने; विरोधीहरूसँग अपवित्र अङ्कमाल गरी उनीहरूका काँधमा हतियार राखेर आफ्नै सङ्गठनका साथीहरूतर्पm तेस्र्याउने र तर्साउने; आपैmँलाई देवाधिदेव जस्तो ठानी केही जोर गणेशहरू जोरजाम पारी तिनकै भजनमा रमाउने र तिनलाई नै काखी च्याप्ने तथा सयौँ कुमारहरूमाथि कुठाराघात गर्ने प्रवृत्ति मौलाउँदो छ । त्यसैले त्यस्ता सिण्डिकेटयुक्त सङ्गठनका नामबाट गरिने सेटिङयुक्त सिफारिसहरूका कारण नेतृत्वदायी, योग्य एवं सक्षम व्यक्तिहरू किनारीकृत हुने खतरासमेत बढ्दो छ ।
विश्वविद्यालयमा अब आउने उपकुलपतिमा एउटा कुशल प्रशासक र एउटा विशिष्ट प्राज्ञको रसायन मिल्नु जरुरी छ । उसभित्र मुलुकको मौलिक जमिनी ज्ञानका साथै विश्वविद्यालयलाई विशिष्ट रूपमा परिचित र स्थापित गराउने क्षमता पनि हुनु आवश्यक छ । प्रशासनिक दक्षता र ज्ञानविनाको विशुद्ध एवं घागडान प्राज्ञबाट मात्र पनि विश्वविद्यालयको वैतरणी तारिनु असम्भव छ । त्यस्तै प्रज्ञाविहीन कुशल, दक्ष एवं कठोर प्रशासकले पनि यस्तो पदतर्पm दृष्टि दौडाउनु अर्थ छैन । तसर्थ विश्वविद्यालयको उपकुलपति पद रहर गरेर, चाहेर, धाएर, रोएर अर्थात् बालहठ देखाएर दिइने वा पाइने पद होइन, त्यस्तै कुनै सङ्घ स ङ्गठनमा काम गरेको रोयल्टीका रूपमा दाबी गरिने पद पनि यो होइन । विश्वविद्यालयको छविलाई अन्तर्राष्ट्रिय क्षितिजमा पैmलाउन सक्ने; अन्तर्विश्वविद्यालय ‘क्रेडिट ट्रान्सफर’ सहजीकरण गर्न सक्ने; कतिपय विषयमा बेरोजगार उत्पादन केन्द्र जस्तो देखिएको विश्वविद्यालयलाई योग्य, रोजगारमुखी र सीपयुक्त दक्ष नागरिक उत्पादन गर्न सक्ने गरी बदल्न सक्ने; विश्वविद्यालयको प्रगतिलाई नै आफ्नो एक मात्र अर्जुनदृष्टि राखी खट्न सक्ने व्यक्तिलाई विश्वविद्यालयको नेतृत्वमा ल्याउनु आवश्यक हुन्छ । यस्ता व्यक्तिहरूको खोजी गर्न नै वास्तवमा ऐनमा सर्च कमिटीको व्यवस्था गरिएको होला । अतः त्रिभुवन विश्वविद्यालयका अबका पदाधिकारी त्रिविभित्रका प्रचलित बिलो लाउने कुसंस्कृतिलाई निमिट्यान्न पार्ने खालको हुनुपर्छ ।
देश गणतन्त्र र सङ्घीयतामा गइसकेको छ । जुन प्रदेशमा विश्वविद्यालय अवस्थित छ पदाधिकारी नियुक्त गर्दा सम्बन्धित प्रदेशकै प्राज्ञ, प्रशासक, बुद्धिजीवी, सक्षम एवं सम्बन्धित विश्वविद्यालयको प्रकृति अनुकूलको व्यक्ति नियुक्त हुनु उपयुक्त हुन्छ । हिजो नेपाल संस्कृत, मध्यपश्चिम, पश्चिम र सुदूरपश्चिमका विश्वविद्यालयमा इतर प्रदेशका व्यक्तिहरूलाई निर्यात गरी नियुक्त गरिएको घटनाले उक्त क्षेत्र र प्रदेशको चित्तदुःखाइ यथावत् छ । किनकि त्यसरी निर्यात गरी नियुक्त गरिएका व्यक्तिहरूले तत् तत् विश्वविद्यालयमा कुनै चमत्कार वा जादू देखाउन सकेको भए त्यसको औचित्य पनि पुष्टि हुन्थ्यो होला तर तीमध्ये केहीले आपूm नियुक्त विश्वविद्यालयलाई अराजक शैलीमा गोब्य्राउँदै कुलपतिका विरुद्ध नै कुर्लंदै हिँडेको देख्दा विश्वविद्यालयको शिर निहुरेकै छ ।
सम्बन्धित क्षेत्रका विराट् सभ्यता, भाषा, संस्कृति, रहनसहन र जनजीवनलाई विश्वविद्यालयको अध्ययन अनुसन्धानको विषय नबनाई, उक्त क्षेत्रका प्रतिभाहरू उजागर नगरी व्यक्तिगत महŒवाकाङ््क्षाका लागि कसैलाई महाउपाधि दिएर अनावश्यक चर्चा बटुल्ने चटक पनि देखिएकै हो । त्यसैले हिजो उक्त पदलाई चार वर्षसम्म दाइँ हाल्न पाउने अवसरका रूपमा प्रयोग गर्नेहरूको इतिहास सम्झेर अबका पदाधिकारी साँच्चै विश्वविद्यालयको प्राज्ञिक र शैक्षिक जीवनलाई रक्तसञ्चार गराउन सक्ने खालका होउन् भनी हरेक विश्वविद्यालयले कुलपतिसमक्ष अपेक्षा गरेकै छन् ।
जुन देशमा विश्वविद्यालयहरू उज्याला हुन्छन् त्यस देशको भविष्य पनि उज्यालो हुन्छ । विश्वविद्यालयभित्रको प्राज्ञिक र भौतिक छवि र समृद्धिले सिङ्गो मुलुकको छवि र समृद्धिको प्रतिनिधित्व गर्दछ । आशा गरौँ, अब नियुक्त हुने पदाधिकारीहरू विश्वविद्यालयको समग्र उन्नति र समृद्धिका लागि दिलोज्यानले समर्पित हुने नै छन् । किनकि अब मुलुकमा दुईतिहाइको सरकार छ र समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यमा मुलुकलाई पु¥याएरै छाड्ने दृढप्रतिज्ञ कुलपतिको भरपर्दो वाचा र अठोटसमेत छ ।
(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । )