डा. अजय पौडेल
विश्वव्यापी मृत्युको प्रमुख कारणमध्ये क्षयरोग अर्थात् ट्युबरक्लोसिस (टीबी) एक हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा सन् २०१७ मा लगभग एक करोड मानिसमा यो रोग देखापरेको थियो । यसका कारण छ लाख मानिसको मृत्यु भएको थियो । क्षयरोग एचआईभी सङ्क्रमित व्यक्तिहरूको मृत्युको प्रमुख कारणमध्ये एक हो ।
माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक सूक्ष्म जीवाणुका कारण क्षयरोगको सङ्क्रमण हुन्छ । क्षयरोग लागेको बिरामीले खोक्दा वा थुक्दा ब्याक्टेरिया हावामा फैलेर र अर्को व्यक्तिमा सर्छ । यो ब्याक्टेरियाले प्रायः फोक्सोमा सङ्क्रमण गर्छ तर कहिलेकाहीँ रगतको माध्यमबाट शरीरका अन्य भागहरूजस्तै हड्डी, हड्डीको जोर्नी, कलेजो, मिर्गौला, मस्तिष्क आदिमा पुग्छ । सामान्यतः दुई हप्ताभन्दा बढी लगातार खोकी लाग्नु, खकारमा रगत देखापर्नु, छाती दु्ख्नु, कमजोरी हुनु, तौल घट्नु, ज्वरो आउनु र रातमा धेरै पसिना आउनु क्षयरोगको लक्षण हुन् । समयमै बिरामीको उपचार गरेमा यो रोग निको हुन्छ ।
नेपालमा क्षयरोगको अवस्था
नेपालमा क्षयरोग रोग लामो समयदेखि एक गम्भीर समस्याका रूपमा रहँदै आएको छ । राष्ट्रिय क्षयरोग निवारण संस्थाका अनुसार सन् २०१८ मा नेपालभरि करिब ३२ हजार क्षयरोगका बिरामी थिए । जसमध्ये छ हजारले ज्यान गुमाएका थिए । नेपालको सबै ठाउँहरूमा स्वास्थ्य सेवाको सहज पहुँच र क्षयरोग पत्ता लगाउने सुविधा नरहेकाले सङ्क्रमित बिरामीको सङ्ख्या अझ बढी हुन सक्ने अनुमान गर्न सकिन्छ ।
नेपालमा सन् १९९६ देखि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गरिने क्षयरोगको विश्वव्यापी प्रचलित उपचार पद्धति अर्थात् डट्स प्रयोग हुँदै आएको छ । यद्यपि, यस रोगको नियन्त्रण हुन सकिरहेको छैन ।
रोग पत्ता लगाउने तरिका
क्षयरोग पत्ता लगाउन धेरै तरिका छन् । जसमध्ये प्रायः माइक्रोस्कोपी र कल्चरको बढी प्रयोग गरिन्छ । यी विधिहरूको आ–आफ्नै फाइदा र कमजोरी रहेका छन् । माइक्रोस्कोपी छिटो र सजिलो भए पनि खकारमा कहिलेकाहीँ जीवाणुको सङ्ख्या कम हुने हुँदा रोग पत्ता नलाग्न सक्छ । यसैगरी, कल्चर निकै भरपर्दो उपाय भए पनि यसको परिणाम आउन लामो समय (६–८ हप्ता) लाग्छ । यसैकारण छिटो, सजिलो र भरपर्दो तरिकाले रोग पहिचान गर्न सक्ने विभिन्न मोलिकुलर परीक्षणजस्तै पीसीआर, ल्याम्पको विकास भएका छन् । मोलिकुलर परीक्षणले क्षयरोग ब्याक्टेरियाको जिन पत्ता लगाएर रोगको पहिचान गर्छ ।
प्रभावकारी ल्याम्प विधि
ल्याम्प एक मोलिकुलर परीक्षण हो । सर्वप्रथम सन् १९९८ मा जापानको इकेन केमिकल कम्पनीले यसको विकास गरेको हो । यो विधिबाट कुनै पनि प्रयोगशाला वा क्लिनिकमा साधारण उपकरण प्रयोग गरी छिटो (एक घन्टा) र सजिलो तरिकाले क्षयरोग पत्ता लगाउन सकिन्छ । यतिमात्र नभई, यो विधिको प्रयोगबाट अन्य ब्याक्टेरिया र भाइरसका कारण लाग्ने रोगहरूको पहिचान गर्न सकिन्छ ।
नेपाल र जापानको होक्कैइदो विश्वविद्यालयका अनुसन्धनकर्ताहरूले मिलेर गरेकोे ल्याम्प विधिको विकास गर्नुका साथै नेपालमा पहिलोपटक यसको सफल परीक्षण गरिएको थियो । उक्त अनुसन्धानमा नेपालका दुई सय क्षयरोगीको खकारको नमुनाको ल्याम्प विधिबाट जाँच गरिएको थियो । यसको परिणामलाई माइक्रोस्कोपी र कल्चरसँग दाँजेर हेर्दा ल्याम्प विधि क्षयरोग रोग पत्ता लगाउन निकै प्रभावकारी रहेको देखियो ।
ड्रग रेसिस्टन्ट क्षयरोग
विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभर अहिले क्षयरोगको उपचार र रोकथामको प्रमुख बाधक भनेको ब्याक्टेरियाहरूमा यो रोगका लागि प्रयोग हुने औषधिविरुद्ध प्रतिरोधक क्षमता विकसित हुनु हो । जसलाई हामी ‘ड्रग रेसिस्टन्ट टीबी’ भन्छौँ । यदि क्षयरोगका ब्याक्टेरियाहरूमा आइसोनियाजिड र रिफाम्पिसिनजस्ता एन्टिबायोटिक्सहरूको विरुद्ध प्रतिरोधक क्षमता विकसित हुन्छ भने त्यसलाई ‘मल्टिड्रग रेसिस्टेन्ट टीबी’ वा ’एमडीआर’ टीबी भनिन्छ ।
यसैगरी, यदि ‘एमडीआर’ क्षयरोगका ब्याक्टेरियाहरूमा फ्लोरोकिनोलोन र इन्जेक्सनका रूपमा दिइने एमिकासिन, क्यानामाइसिन वा काप्रिओमाइसिनजस्ता थप एन्टिबायोटिक्सविरुद्ध प्रतिरोधक क्षमता विकसित हुन्छ भने त्यसलाई ‘एक्सटेनसिवली ड्रग रेसिस्टेन्ट टीबी’ या एक्स–डीआर टीबी भनिन्छ । सामान्य क्षयरोगको उपचारभन्दा एमडीआर र एक्स–डीआर क्षयरोको उपचार महँगो, कठिन र लामो हुन्छ । गत वर्ष (साल २०१८) नेपालमा ४५० जना ‘एमडीआर’ र २० जना ‘एक्स–डीआर’ का नयाँ बिरामी भेटिएका थिए ।
सामान्यतया क्षयरोग ब्याक्टेरियाको क्याटजी, आईएनएज ‘ए’ र आरपीओ ‘बी’ जिनहरूमा सूक्ष्म परिवर्तन (म्युटेसन) हुन गई एमडीआर टीबी र एमडीआर ब्याक्टेरियाको जीवाईआर ‘ए’, जीवाईआर ‘बी’ र आरआरएसजस्ता जिनहरूमा म्युटेसन भएको खण्डमा एक्स–डीआरको विकास हुन्छ । हाम्रो एक अनुसन्धानले ड्रग रेसिस्टेन्टका ब्याक्टेरियाहरू नेपालभरि फैलिएको र यिनीहरूको जिनहरूमा विभिन्न म्युटेसन हुन गई बिरामीले खाने एन्टिबायोटिक्सविरुद्ध प्रतिरोधक क्षमता विकसित भएको देखाएको छ ।
सारांश
क्षयरोग तथा ड्रग रेसिस्टन्ट टीबी नेपालमा एक प्रमुख समस्याका रूपमा रहेको छ । यस्तो अवस्थामा छिटो, सजिलो र भरपर्दो तरिकाले समयमै रोगीको पहिचान गरी रोगथाम गर्न ल्याम्प विधि निकै उपयोगी हुने देखिन्छ ।
(लेखक चितवन मेडिकल कलेज, भरतपुरको माइक्रोबायलोजी विभागमा कार्यरत हुनुहुन्छ । )