मोहन नेपाली
हरेक वर्षको अगस्ट महिनालाई पारमाणविक अस्त्रसम्बन्धी सजगता महिना ठाने पनि गल्ती हुन्न । किनभने, मानव इतिहासमै पहिलोपटक आमविनाशक सर्वाधिक खतरनाक अस्त्र सार्वजनिक भएको महिना हो यो । दोस्रो विश्वयुद्ध चरमोत्कर्षमा पुगिरहेको बेला सन् १९४५ को अगस्ट ६ र ९ मा क्रमशः जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले अणु बमद्वारा आक्रमण गरेको थियो । जे. पुलोसको ‘दि अटोमिक बम्बिङ्स अफ हिरोसिमा एन्ड नागासाकी’ भन्ने पुस्तकमा हिरोसिमामा बम आक्रमणका कारण तत्कालै मृत्यु हुनेको सङ्ख्या करिब ७० हजार र नागासाकीमा पनि तत्कालै मृत्यु हुनेको सङ्ख्या करिब ७० हजार नै रहेको उल्लेख छ ।
विकीरणका कारण अरू थप हजारौँ मर्नेक्रम पछिसम्म पनि जारी रहेको र कैयौँ पुस्तासम्म पनि त्यसको मानसिक, शारीरिक, आर्थिक तथा सामाजिक असरहरू पर्दै रहेको भन्ने प्रतिवेदनहरू बेलाबेलामा सार्वजनिक हुँदै आएका पनि छन् । त्यसको अलावा, जल, जमिन, वनस्पति एवम् अन्य प्राणीमाथि पनि त्यसको असर पर्ने अध्ययनले स्पष्ट गरेको छ । अणु बम प्रहार गरेर एकैपटक ठूलो सङ्ख्यामा सर्वसाधारण मानिसको हत्या गर्नु उचित थियो त ? तैपनि, अमेरिकाले जापानमा खसालेका ‘लिट्टल ब्वाई’ र ‘फ्याट म्यान’ नामका दुई अणु बमकै कारण दोस्रो विश्वयुद्धको तत्काल अन्त्य भएकाले यसले विश्व शान्ति स्थापना गर्नमा निर्णायक भूमिका खेलेको तर्क अमेरिकाको संस्थापन पक्षले कायम नै राखेको देखिन्छ ।
उक्त अणु बम बनाउने वैज्ञानिक टोलीको नेतृत्व गर्ने प्रमुख वैज्ञानिक जे. रोबर्ट ओप्पेनहाइमरले बम तयार गरेपछि ‘नाउ आईएम बीकम डेथ, द डिस्ट्रोयर अफ द वल्र्ड’ (अब म काल भएको छु, संसारको विनाशकर्ता) भन्ने भागवत गीताको श्लोक उच्चारण गरेको भनी लेखक पुलोसले आफ्नो पुस्तकमा उद्धरण गर्नुभएको छ । स्वयम् बम बनाउने वैज्ञानिकले नै आत्मग्लानिका साथ आफू काल बनेको कुरा स्पष्ट शब्दमा प्रकट गरेको सन्दर्भमा आमनरसंहार गर्ने अस्त्रले संसारमा शान्ति र सुव्यवस्था कायम हुन्छ भन्ने के विश्वास ?
हिरोसिमा र नागासाकीमा बम खसालिसकेपछि समाचार एजेन्सीमार्फत तत्कालीन अमेरिकी राष्ट्रपतिले जापानले अझै पनि आत्मसमर्पण गर्न आनाकानी गरेमा यसअघि पृथ्वीमा कहिले नदेखिएको क्षति बेहोर्नुपर्ने चेतावनी दिएका थिए भनेर माइकेल डि गर्डिनले आफ्नो पुस्तक ‘फाइभ डेज इन अगस्ट’ मा उल्लेख गर्नुभएको छ । अणु बमको प्रयोगपछि कसरी जापान झुक्न बाध्य भयो भन्ने व्याख्या सो पुस्तकमा छ ।
तर, पीडित पक्षको पनि तर्क हुनु स्वाभाविकै हो । जापानी लेखक निसिजिमा आरियत्सुले कम्युनिस्टविरोधी अमेरिकी प्रभुत्वका निम्ति हिरोसिमा र नागासाकीका बासिन्दाहरूलाई बम परीक्षणमा मानव गिनी पिगका रूपमा प्रयोग गरिएको तर्क गर्नुभएको छ । ‘ह्वाई वेर द अटोमिक बम्बस् ड्रप्ड’ शीर्षकको पुस्तकमा उहाँले अमेरिकी नेतृत्वमा पश्चिमा राष्ट्रहरू पुँजीवादी प्रभुत्व विस्तारको अभियान र रूसको नेतृत्वमा पूर्वी युरोपेली राष्ट्रहरूको कम्युनिस्ट प्रभाव विस्तारको अभियान मुख्य द्विध्रुवीय द्वन्द्वका रूपमा चर्कंदै गर्दा अमेरिकाले आफ्नो प्रभुत्व पुष्टि गर्न हिरोसिमा र नागासाकीका बासिन्दालाई प्रयोगशालाका मुसाका रूपमा प्रयोग गरेको तर्क गर्नुभएको छ ।
हुन पनि वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले पहिलो अणु बम बन्नुभन्दा ४० वर्ष अगाडि नै कुनै पनि पदार्थ र शक्ति फरक–फरक रूपमा रहे पनि यी दुवै एकै चीज हुन्, पदार्थलाई धेरै गुना शक्तिमा बदल्न सकिन्छ र पदार्थ भनेको सुतेको शक्ति नै हो भन्ने सैद्धान्तिक मान्यतालाई गणितीय सूत्रमा प्रस्तुत गर्नुभएको थियो । जसलाई मानव सभ्यताको गुणात्मक विकास र समृद्धिमा प्रयोग गर्नुको साटो विनाशलीला सिर्जना गर्न दुरुपयोग भयो ।
उता लेखक जोसेफ गेर्सन आफ्नो पुस्तक ‘एम्पायर एन्ड द बम्ब’ मा रूपरङ सब बिग्रेर पनि बाँच्न भने सफल नागासाकीका पीडित सेन्जी यामागुचीलाई उद्धृत गर्न पुग्नुहुन्छ, ‘म दृढ रूपले विश्वास गर्छु कि अणु बम प्रहार इतिहासमै सबैभन्दा खराब आतङ्कवादी कार्य हो । पारमाणविक अस्त्र सम्पूर्ण रूपले नष्ट गरिनुपर्छ । ’
अणु बम बनाउने र प्रयोग गर्ने पहिलो राष्ट्र अमेरिका बने पनि अहिले अमेरिकामात्रै हैन, कैयौँ शक्ति सम्पन्न राष्ट्रहरू त्यतिखेरको अणु बमकै जगमा टेकेर त्योभन्दा पनि हजारौँ गुणा विनाशकारी पारमाणविक अस्त्र बनाउन सक्ने भएका छन् । नब्बेको दशकमा सोभियत सङ्घको विघटन भएपछि कतै विश्व अबदेखि एक ध्रुवीय भएको हो कि जस्तो भ्रम परे पनि अहिले फेरि चित्र स्पष्ट भएको छ कि विश्व मुख्यतया दुई ध्रुवीय नै छ । अन्य सहायक ध्रुुवहरूलाई यी दुई ध्रुवका मूल धारहरूले नै प्रत्यक्ष वा परोक्ष रूपले आफ्नो पक्षमा सामेल गरिरहेका छन् । यसैबीच गतिमा थपघट भए पनि पारमाणविक अस्त्रको होड रोकिएको छैन ।
स्टकहोम इन्टरन्यासनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) ले सन् २०१८ मा प्रकाशित गरेको तथ्याङ्कले कुन–कुन राष्ट्रले कति सङ्ख्यामा पारमाणविक अस्त्र प्रयोगका लागि तयार अवस्थामा राखेका छन् र कति सङ्ख्यामा भण्डारण गरेका छन् भन्ने अवगत गराउँछ ।
सो इन्स्टिच्युटले सम्बन्धित राष्ट्रहरूले जे–जति सूचना सार्वजनिक गर्न मानेका छन्, सोका आधारमा माथिको तालिका दिएको बताएको छ । साथै भारत, पाकिस्तान, चीन, उत्तर कोरिया र इजरायलले आफ्ना पारमाणविक अस्त्रसम्बन्धी विस्तृत विवरण दिने नगरेको पनि सिप्रीले जनाएको छ ।
युद्धको मानसिकताबाट अणु बम बन्यो । अहिले त्योभन्दा पनि हजारौँ गुणा पारमाणविक अस्त्रको विकास भएको छ । मार हान्नलाई ठिक्क पारेर राखेकै कारणले एकार्काको डर हुन गई शान्ति कायम गर्न सजिलो पर्न गएको छ भन्ने तर्क पारमाणविक अस्त्रको औचित्य पुष्टि गर्न खटिएका विद्वान्हरूले गर्ने गर्छन् । सम्बन्धित राष्ट्रहरूले भने आफूले आफ्ना जनताको रक्षा पारमाणविक अस्त्र बनाएरै गरिरहेको तर्क गर्छन् । तर, न दाबीकर्ताहरू ढुक्क छन्, न त सुन्नेहरू नै । पारमाणविक अस्त्र बनाउने ज्ञान र प्रविधि कुनै हालतमा पनि आतङ्कवादी समूह वा आतङ्कवादलाई प्रवद्र्धन गर्ने राष्ट्रको हातमा पर्न नहुने तर्क त सही नै हो । तर, तथाकथित काउन्टर–टेरोरिजम अर्थात् प्रतिआतङ्कवादको नाउँबाट लाखौँ निर्दोष सर्वसाधारण मानिसहरूको हत्या गर्ने कार्यचाहिँ निन्दनीय होइन र ?
सम्बन्धित सबै राष्ट्रले आफूले शान्तिपूर्ण प्रयोजनका निम्ति पारमाणविक प्रविधिको प्रयोग गरिरहेको बताउँछन् । जसले जे दाबी गरे पनि पारमाणविक अस्त्रबाट कुनै पनि बेला ठूलो दुर्घटना निम्तिन सक्छ । त्यसैले, पारमाणविक अस्त्रविहीन विश्वको पक्षमा नागरिक तहमा स्पष्ट मत विश्वस्तरमै निर्माण गर्नु आवश्यक छ । युद्धका प्रमुख जननी मानिने अन्ध राष्ट्रवाद र साम्राज्यवादी मनोविज्ञानलाई निस्तेज बनाउन संयुक्त राष्ट्रसङ्घको बडापत्र र विश्वव्यापी मानवअधिकारको सिद्धान्तलाई आमजनमानसमा स्थापित गर्न अन्तर्राष्ट्रिय नागरिक पहलकदमीको विकास गर्नुपर्छ । लट्ठ परेर लाइन बसीबसी भोट हालेर हामी सार्वभौम जनता हौँ भन्ने विश्वभरिका मानिसले पारमाणविक अस्त्र नेता र जागिरे वैज्ञानिकको मात्रै विषय होइन, हाम्रो कुरा पनि सुन भन्ने हैसियत विकास गर्नु त्यत्तिकै आवश्यक छ ।
मानव जीवनको रूपान्तरण र त्यसबाट ज्ञान, सुख र शान्ति प्राप्त गर्न उसको नैतिक र मानसिक विकास हुनु अति जरुरी रहेकाले बुद्धले जरैदेखि आमूल परिवर्तन गराउने र मानसिक दासत्वबाट मुक्ति दिलाउने प्रकृतिको प्रयोगात्मक शिक्षा दिएको प्रमाण त्रिपिटकमै उपलब्ध छ । यत्रो सूचना तथा सञ्चारको युगमा पनि त्यसलाई राम्ररी उजागर गर्न र फैलाउन सकिएको छैन । पारमाणविक अस्त्र सिर्जित खतराको माझ घृणाद्वारा घृणाको अन्त्य हुँदैन, प्रेमद्वारा मात्र घृणाको अन्त्य हुन सक्छ भनी सिकाउने बुद्धको शिक्षालाई संस्थागत र सङ्गठित रूपले नै संसारभरि फैलाउन आवश्यक छ ।
विश्वकै सर्वाधिक जनसङ्ख्या भएका र पारमाणविक अस्त्रको होडमा समेत सामेल दुई छिमेकी मुलुकहरू भारत र चीनबीच रहेको नेपालले आफ्नो भूराजनीतिक संवेदनशीलतालाई भुलेर अन्य मुलुकको उक्साहटमा पारमाणविक ऊर्जाको विकास गर्ने नाउँमा विकीरणयुक्त फोहोर थुपार्ने डम्पिङ साइट बन्ने कार्यमा नफसियोस् भन्नेतर्फ सजगता अपनाउनैपर्छ ।
(लेखक सञ्चार अनुसन्धाता हुनुहुन्छ । )