logo
२०८१ मंसिर ८ शनिवार



भौतिक एकत्व

विचार/दृष्टिकोण |




प्रा. डा. उदयराज खनाल

भौतिकवादी द्वन्द्वबारे सधैँ सुन्छौँ तर एकत्वबारे विरलै । अन्तरीक्षका विशाल संरचनादेखि न्युट्रोनभित्रका क्वार्कलाई एकै सूत्रमा गाँस्न खोज्ने सिद्धान्तको नाम हो– थियोरी अफ एवरिथिङ । यस्ता प्राकृतिक नियमको खोजमा हात लाग्ने प्रविधिबाट सबैजसो मानवोपयोगी यन्त्र जन्माउन भौतिकशास्त्री सफल छन् । यही धनको विज्ञानमात्र समृद्धिको साधन हो । यो नबुझेको हाम्रै वैज्ञानिक नेतृत्वले नेपालमा उच्च प्रविधि केन्द्र खोल्न आएका नोबेल पुरस्कृत अब्दुस सलामलाई निराश फर्काए ।
गुरुत्वपछि उपयोगमा आएका विद्युतीय र चुम्बकीय अन्तक्र्रियामा उस्तै ध्रुवले विकर्षण र भिन्नले आकर्षण गर्ने डाइपोलर द्वैधताबाहेक, हजारौँ वर्षसम्म कुनै सम्बन्ध देखिएन । प्रकृतिपुरुषको जस्तो मोहात्मक द्वैधतालाई, न्युट्रोनीय क्रिया प्रतिक्रियाले द्वन्द्वतासम्म पु¥यायो । तीन सय वर्षअघिको खोजमा विद्युत् धारानजिक चुम्बकत्व र धातुनजिक चुम्बक हल्लाउँदा विद्युत् धारा उत्पन्न भएर सम्बन्ध खुल्यो । यो प्रमाणित गर्न फराडेले खर्चेको आठ वर्षमा, यसको के काम भन्दै अर्थमन्त्रीले खिस्याउँदा, यसबाट कर उठ्ला भन्ने उत्तर आयो । गरिबीमा ठिहुरिने नरवेले गाउँका पानीघट्टमा जनरेटर जोडेर घर न्यानो पार्दै विश्वकै उत्कृष्ट समाज बनाए । एसियाकै अग्रणी जलविद्युत् उत्पादक हामीले बच्चालाई चिसो कक्षामा पढाउँदै सहस्राब्दीयौँ पुरानो भूक्षय प्रतिरोधक खेत र राजकुलो भत्काएर, रहेका ढलमती पुर्दै ढुङ्गेधारा सुकाएर, निकास थुन्दै एक दिनको वर्षामा डुब्ने बस्ती बसालेर दोस्रो जलधनको गफ हाँक्छौँ ।
फराडेका जस्ता नतिजाहरूको पुनर्भाष्यबाट माक्स्वेलले बनाएको विद्युत् चुम्बकीय क्षेत्र
(फिल्ड) सिद्धान्त नै, भौतिक अन्तक्र्रियाको पहिले एकीकरण हो । ती सूत्रद्वारा इङ्गित तरङ्ग उत्पन्न प्रसारण र प्राप्त गरेर हर्ट्जले थालेको रेडियो सञ्चारले सबैलाई स्मार्ट फोन थमायो । यिनै तरङ्गको पिण्डहीन प्रकाशाणु (फोटोन) को मध्यस्थताबारे क्वान्टम विद्युत् गतिशास्त्र यति सफल भयो, कोठाभरिको कम्प्युटर ल्यापटपमै अटायो । भिन्न सिद्धान्तको एकीकरण फलदायी हुन्छ । सन् १८९६ मा बेकरेलले रेडियोधर्मिता पत्ता लगाएर, न्युट्रोनलाई प्रोटोनमा परिणत गर्ने दुर्बल (विक) अन्तक्र्रिया उजागर गरेको सत्तरी वर्षजति पछि, सलाम, वाइनबर्ग, ग्लाश्वोहरूले एकीकृत विद्युत् दुर्बल सिद्धान्त बनाए । तदनुसारका तीन पिण्डशील दुर्बल मध्यस्थकर्ता, दुई भिन्न विद्युत् चार्जका डबल यु र चार्जहीन जी पनि भेटिए । यिनले पिण्ड प्राप्तिमा खाएको हिग्स ओकलेर प्रकाशाणुजस्तै पिण्डहीन बनेको हेर्न एलएचसीले पद्म डिग्रीभन्दा बढी तापक्रम उत्पन्न गर्छ ।
सन् १९१७ सम्ममा, रदरफोर्डले परमाणुको सानो नुक्लियसभित्र कैयन प्रोटोन देख्न सके । त्यत्तिका प्रोटोनको विद्युत् विकर्षणलाई दबाएर नुक्लियसभित्र बाँध्ने सबल (स्ट्रङ) अन्तक्र्रियाका तीन ध्रुवको नाम प्राथमिक त्रिरङ्गमा राखियो– रातो, हरियो, नीलो । सदैव श्वेत रहने प्रोटोनजस्ता प्रत्येक बेरिओनमा निबद्ध तीन क्वार्कले, आठ किसिमका रङ्ग परिवर्तनकारी ग्लुओन साट्दै भिन्न रङ्ग धारण गर्न, कहिल्यै नएक्लिने प्रण गर्छन्, द्वन्द्व होइन । चुम्बकका नछुट्टिने दुई धुव पनि न्युट्रिनोसम्मैका पिण्डशील कणमा भेटिन्छन् । अल्पायुका रङ्गहीन
(कालो) मेजोनमा क्वार्क प्रतिक्वार्क जोडी हुन्छ । एलएचसीले क्वार्क– ग्लुओन प्लाज्मा पनि हेर्दै छ । इलेक्ट्रोन– न्युट्रिनोका दुर्बली लेप्टोन जोडीको जस्तै, भिन्न रस (फ्लेबर) का दुई सदस्य रहेका सबल क्वार्कका तीन पुस्ता भेटिए । न्युट्रिनोको रसान्तरण देख्नुभन्दा अघि, रस गतिशास्त्र बढेको छैन । क्वान्टम रङ्ग गतिशास्त्र समेटिने भव्य
(ग्राण्ड) एकीकरणका प्रतिरूपहरूमध्ये एकलाई प्रयोगले सिद्ध गर्ला । निरन्तरको प्रयोगमा सिद्ध हुने सिद्धान्त, एकैमा खण्डित पनि मिथ्या । चारमध्ये पछिका तीन भौतिक बल एकीकरणको सङ्घारमा पुग्दा, गुरुत्व टाढै छ ।
इस्वी १९औँ शताब्दीमा, ताप गतिशास्त्रको तीव्र विकासले तथ्याङ्कीय रूप लिँदै थियो । तापक्रम र चापजस्ता व्यापक गुणबाट वृहत् प्रणालीको विवरण गर्दा, असङ्ख्य सूक्ष्माङ्गको सूचना विलुप्तीबाट उत्पन्न हुने अनियमिततालाई एन्ट्रोपी भन्न थालियो । कार्यले कुल एन्ट्रोपी बढाउनै पर्ने दोस्रो नियमअनुसार, पीठोको एन्ट्रोपी घटाएर फेरि गहुँ बनाउन सकिन्न । यसैले अनन्त चल्ने पर्पेचुअल मिसिन निषेध गर्छ । एन्ट्रोपी बढ्ने दिशामै काल लम्किन्छ । तापशास्त्रबाटै तरङ्ग र कणको एकीकरण गर्ने क्वान्टम सिद्धान्त उब्जियो ।
सारा ऊर्जा अप्राप्य एन्ट्रोपीमा परिणत भएर ब्रह्माण्डको ताप मृत्यु हुने निष्कर्षलाई द्वन्द्वताको प्रतिकूल मान्दै एङ्गेल्स र माक्र्सले गरेका चिट्ठीपत्रबारे चर्को बहस छ । द्वन्द्वलाई सामाजिक गतिको कारक मान्दा तापशास्त्र निर्माण हुँदै थियो भने दुर्बल र सबल अन्तक्र्रिया, क्वान्टम र सापेक्षताको ज्ञात नै थिएन । बिग बाङ्गमा ईश्वरको हात देखिने त्रासमा, प्रवर्तक फ्रिडमानकै देशको सोभियत शासकले थप अनुसन्धान दुरुत्साहित गरे । अहिले बिग बाङ्ग मान्ने नास्तिक ठहरिन्छ । ताप गतिशास्त्रको विधि ब्ल्याकहोलदेखि सूचना र सामाजिक विज्ञानमा उपयोगी छन् । व्यापक गुणको परिवहनसम्बन्धी बोल्ट्जमान ट्रान्सपोर्ट समीकरण र क्वान्टम अवस्थान्तरणको सम्भाव्यता निकाल्ने फेनमान पथ समाकलनबाट अर्थ–सामाजिक गतिको अध्ययन हुन्छ ।
दिक्कालको सापेक्षताबाट आइन्सटाइनले चार महाभूतलाई ऊर्जाकै रूप देखे । हजारौँ वर्षअघिको पूर्वाभाषमा, कपिलमुनिले ‘दिक्कालावाकाशादिभ्य’ (साङ्ख्यसूत्र २ः१२) लेख्दै, काललाई आकाशकै अर्को आयाम बताएका थिए । आठ मिनेटअघिको सूर्यदेखि १३ अर्ब वर्ष अघिको बालब्रह्माण्डका अंशुबाट सेचित हामीले भूतमात्र देख्छौँ । क्वान्टम अवस्थान्तरणको निश्चित भविष्यवाणी छैन, घटित र सम्भव इतिहासको समाकलनबाट कुनै भविष्यको सम्भाव्यतामात्र निस्किन्छ । सामान्य सापेक्षताद्वारा ऊर्जालाई दिक्कालको गुरुताŒिवक वक्रतामा हालेर, साङ्ख्यको प्रकृतिपौरुष एकीकरण गर्दै आइन्सटाइनले आकाशमात्र आदिभूत छोड्छन् । उनले प्रस्ताव गरेको चौध्रुवीय गुरुत्वाकर्षक तरङ्ग भेटाउनै सय वर्ष लाग्यो, दिक्कालाणुबीच क्वान्टम अन्तरक्रिया गराउने गुरुत्वाणु कहिले भेटिने ? ताराभित्र पदार्थ च्याप्दै सबल भट्टी चलाउने, अझ च्याप्दै ह्वाइट ड्वार्फ, अनि न्युट्रोन ताराभित्र क्वार्क–ग्लुओन प्लाज्मा बनाउने र चरम चापमा दिक्काल नै च्यातेर ब्ल्याक होलभित्र कोच्ने गुरुत्वाकर्षक एकत्व अघि सबै द्वन्द्व साम्य ।
कालुजा र क्लाइनले सापेक्षतामा पाँचौँ आयाम थपेर माक्सवेलको सिद्धान्तसमेत निकाले । कालगतिसँग तीन आयाम फैलिँदा यसरी थपिएका क्वान्टम गुणधारी छ– आयामहरू आदिसूत्र
(सुपरस्ट्रिङ) को वरिपरि खुम्चिएर गुरुत्वाणुसमेतका सबै कण उत्पन्न गर्छन् । त्यसैले ‘थ्यौरी अफ एवरिथिङ’ त भनियो तर चेतना र प्राण समावेश नभएसम्म अपूर्ण मानिदै छ । आकाश नै सचेत देख्ने कपिल तथा मनात्मा र दिक्काललाई महाभूतमा थपेर नवद्रव्य बनाउने कणादमुनिको बाटोमा लागेका जोसेफसन, पेनरोज, गेलमानहरू यसैको खोजमा छन् ।
ऋग्वैदिक नासदीय सुक्त (१०.२९) को भावअनुरूप, सचेत प्राणिन् ब्रह्माणविक क्वान्टम शून्यताको अस्थिर भवसागरबाट उछिटिएका छिटामध्ये हाम्रो ब्रह्माण्ड एक हो । सारा मानवलाई एक अफ्रिकी गाउँका केही हजार पुर्खामा समेट्ने विज्ञान अगाडि जातजातिको भ्रामक विभक्ति टिक्दैन ।
शून्यताबाट अणुदेखि करुणासम्म सृष्टि गर्ने क्वान्टम प्रकृतिको मानववादमात्र एक धर्म छ । ब्रह्माण्डकै सीमा देखिएको युगमा, मानवको व्यक्तित्व र चैतन्यमात्र असीमित छन् । अग्नि नियन्त्रणबाट थालिएको विज्ञान यात्रामा, अपार फ्युजन ऊर्जाको जेबी स्रोत चाँडै पाइएला भने वर्महोल खोलेर चाहेको दिक्कालीन बिन्दुमा पु¥याउने कालयानको निकै प्रतीक्षा गर्नुपर्ला ।

(लेखक भौतिकशास्त्री हुनुहुन्छ । )

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?