logo
२०८१ मंसिर १२ बुधवार



स्यानिटरी प्याडका कुरा

विचार/दृष्टिकोण |





राधा पौडेल

‘देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन बजेट व्यवस्था गरेको छु । ’
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०६७÷७७ को बजेट सम्बोधनका क्रममा यी वाक्य उल्लेख गर्दानगर्दै संसारबाट पङ्क्तिकारलाई सामाजिक सञ्जाल, फोनबाट बधाई ओइरिन थाल्यो । खुशी लाग्नु स्वाभाविक थियो । पहिलोपटक उच्च राजनीतिक तहबाट (मेघान मार्कर, बेलायत) महिनाबारीका पक्षमा उभिनु, भारतीय चलचित्र उद्योगमा प्याडम्यान नामक चलचित्र बन्नु, ‘पिरियड एन्ड द सेन्टेन्स’ वृत्तचित्र ओस्करमा छानिनुले यसको पक्षलाई झल्काएको थियो । सृष्टिको सुरुदेखि प्राकृतिक, अनिवार्य शर्तको महिनाबारीलाई विश्व मानवअधिकार र विकासको सन्दर्भमा बिर्सिएको, हेलचेक्र्याइँ वा बेवास्ता गरिएको विषयले एकाएक संसार हल्लाउने गरी भएका यी आयाम सकारात्मक छन् ।
तर अन्तरहृदय भने त्यति खुसी भएन । के महिनाबारी भएकी छात्रा मर्यादित भएर बाँच्न प्याड नै अन्तिम र अपरिहार्य साधन हो ? नेपालमा भएका महिनाबारी सामग्रीले संविधान र नेपाल पक्ष राष्ट्र भएर हस्ताक्षर गरेका दर्जनाँै अन्तर्राष्ट्रिय मानवअधिकार दस्तावेजले प्रदान गरेको अधिकार दिन सक्छ वा ती छात्रा मर्यादित भएर वा उनको भाइसँगैको हैसियतमा बाँच्न सक्छिन् ? आदि प्रश्न मनमा उब्जियो ।
अझै पनि सामुदायिक विद्यालयमा छात्रा नआउने वा पढाइ छोड्ने कारण निम्टिएको छैन । विकासका विभिन्न अवयवबाट उछिट्टिएका वा पिँधमा थिग्रिएका समूह जो लैङ्गिक, जातीय, वर्गीय र भौगोलिक विभेदले थिलथिलो परेका छन्, त्यस्ता घरघरबाट छात्रा विद्यालय आउँछन् । अहिले पनि कतिपय अभिभावकलाई छोरीले पढेर केही हुन्छ भन्ने विश्वास छैन । त्यस्ता समुदायका अधिकांश छात्र फुर्सदमा विद्यालय जान्छन् । न घरले विद्यालयतर्फ धकेल्न सक्छ न विद्यालयले छात्रालाई तान्न सक्छ ।
एकछिन कल्पना गरौँ, विद्यालयमा प्याड निःशुल्क पाइन्छ । त्यहाँ छात्राका लागि छुट्टै चर्पी छ, साबुन छ, पानी पनि छ । के अब छात्रा विद्यालय आउँछन् त ? अहँ आउँदैनन्, दुई चार दिन रमाइलो हुन्छ, एक दुईवटा पत्रपत्रिकामा राम्रो भयो भन्ने पढ्न पाइएला तर छात्राहरूको विद्यालय निरन्तरता वृद्धि हँुदैन र शिक्षाको गुणस्तर पनि बढ्दैन ।
नेपालमा यस किसिमको अनुसन्धान भेटिएको छैन । हुन त नेपालमा अनुसन्धान नै भयो भने पनि नतिजा यही आउँछ किनभने सिलाइ बुनाइ तालिम गरेर उद्यमी बन्न नसकेका व्यक्तिलाई के ग¥यो भने पैसा आउन सक्छ वा कस्तो तालिम चाहिएको छ भनेर सोध्यो भने जवाफ एउटै हुन्छ – सिलाइ बुनाइ । देशदौडाहाका बेला भेटिएका शिक्षक र छात्रालाई मर्यादित महिनाबारीका लागि के सहयोग गरुँ भनेर सोध्यो भने उनीहरूको पहिलो जवाफ हुन्छ– धुन नपर्ने प्याड भए सजिलो हुने थियो । उनीहरूलाई माग गरेको प्याड वा लगाउन नपाएको प्याड करिब दुई सयदेखि एक हजार वर्षसम्म कुहिंदैन भन्ने जानकारी छैन । उनीहरूले जीवनभर यही प्याड प्रयोग गरे भने करिब साढे एक क्वीन्टल प्याड हुन्छ । उनीहरूको खेत र जङ्गल प्याडले भरिन्छ, जुन प्लास्टिकजन्य प्रदूषणमा पाँचौँ नम्बरमा पर्छ । उनीहरूलाई प्याडमा प्रयोग हुने रासायनिक पदार्थले पाठेघरसम्बन्धी क्यान्सरलगायत बाँझोपन हुनसक्छ भन्ने जानकारी छैन ।
नकुहिने प्याडको नेपालमा विकल्पबारे राज्यले प्राथमिकता दिनुपर्छ । संसारमा प्याडको पहिलो प्रयोग हुन थालेको झन्डै एक शताब्दीपछि नेपालमा राज्यस्तरबाट प्याडको कुरा हुनु जति उत्साहपूर्ण छ उति नै अपुरो, उधारो र सतही ।
सन् १९२० ताका संसारमै पहिलो स्यानिटरी प्याड कटेक्स आएपछि अहिलेसम्म थुप्रै प्रकारका प्याडको विकास भएको पाइन्छ । साथै महिनाबारी सामग्री पनि बजारमा छन् । जस्तो टेम्पोन, कप, महिनाबारी पेन्टी । यसमा पनि कुनै कुहिन्छन् त कुनै कुहिंदैनन्, कुनै रगत सोस्ने हुन्छन् त कुनै जम्मा गर्न मिल्ने, कुनै लामो समय, कुनै यौनाङ्गभित्र घुसाउने हुन्छन्, कुनै बाहिर राख्ने हुन्छन् । कपडाको टालो वा लँगौटीलाई परम्परागत महिनाबारीको सामग्रीमा गनिन्छ । महिलाले आफ्नै अनुभव र प्राप्त सामग्रीका आधारमा प्रयोग गर्न थालेका यही कपडालाई अलिकति आकार वा संरचना बदलेर बनाइएको प्याड हो बजारमा हालसालै देखिएको पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड ।
बजारमा पाइने हरेक महिनाबारी सामग्रीका फाइदा, बेफाइदा छन् । कुन सामग्री मेरो खल्ती र शरीरलाई उपयुक्त छ भन्ने थाहा पाएर मात्र पुग्दैन, आफूले रोजेको वा आफ्नो वरपर भएको सामग्रीमा कस्तो कच्चापदार्थ प्रयोग गरिएको छ, रासायनिक पदार्थ प्रयोग भएको छ कि छैन भन्ने हेक्का हुुनुपर्छ । छैन भने पनि बनाउने बेलामा बढी सुगन्धित बनाउन वा बढी सेतो वा चम्किलो बनाउन कुनै रासायनिक पदार्थ राखिएको छ कि हेर्नुपर्छ । प्रयोग गरिसकेको महिनाबारी सामग्री कहाँ कसरी विसर्जन गर्ने, कुहिन्छ कि कुहिँदैन, कति दिनमा कुहिन्छ वा वातावरणलाई कसरी र कस्तो असर पार्छ जानकारी राख्नुपर्छ ।
धेरैको भनाइ छ, कपडाबाट बनाइएका पुनः प्रयोग गर्न मिल्ने सामग्री वातावरणमैत्री, सजिला, सस्ता हुन्छन् । त्यसको प्रमाण के छ ? हामीले बजारबाट कुनै कपडा किन्यौँ भने त्यहाँ हात वा मेसिनले धुन हुने कि नहुने, कति तापक्रममा कतिञ्जेल सुकाउने भन्ने जानकारी भएजस्तै कपडाबाट बनेको प्याडको रगत सोस्न सक्ने क्षमता, प्रयोग गर्न सकिने समयावधि, त्यसबाट सुरक्षाको ग्यारेन्टी, त्यसलाई सफा गर्न आवश्यक पर्ने साबुन, सुकाउन र भण्डारण गर्न आवश्यक तापक्रम आदि सबै जानकारी आवश्यक पर्छ । कुनै व्यक्ति वा संस्थाले जुनसुकै महिनाबारी सामग्री बनाउँदा मापदण्ड र गुणस्तरमा ध्यान दिनुपर्छ । मापदण्डको आधारमा कुनै पनि वस्तु गुणस्तरीय छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ । जसरी खानेकुरा, इन्धन वा कुनै मेसिनको लागि मापदण्डर गुणस्तर हुन्छ, त्यसैगरी हरेक महिनाबारी सामग्रीको पनि मापदण्ड र गुणस्तर हुनुपर्छ ।
एक महिला आफ्नो प्रजनन उमेरमा कम्तीमा पनि सात वर्ष महिनाबारी हुने र उनको महिनाबारीले समाजको हरेक पक्षलाई प्रभाव पारेर शान्ति, सशक्तीकरण, मानवअधिकार, दिगो विकास लक्ष्यलाई नै अल्पकालीन र दीर्घकालीन प्रतिकूल असर पार्ने भएकाले यो समाजको सरोकारको विषय हुनुपर्छ ।
सोख र अतिरिक्त मनोरञ्जनका साधनमा त मापदण्ड र गुणस्तर हुनुपर्छ भने महिनाबारी जस्तो जैविक अवस्थामा प्रयोग गरिने सामग्रीका विषयमा बेवास्ता गर्नु मानवअधिकारको हनन हो । नेपालमा अधिकांश शिक्षित र सहरिया महिलालाई कमै आफ्नो पाठेघर र यौनाङ्गबारे थाहा छ । यौनाङ्गले प्राकृतिक रूपमा रस निकाल्छ, जसको पीएच भ्यालु ३.५ देखि ४.५ अम्लीय प्रकृतिको हुन्छ । यसले यौनाङ्गलाई बाहिरी सङ्क्रमणबाट जोगाउँछ । तर यो रसमा प्रतिकूल हुनेगरी वा कमसल महिनाबारी सामग्री प्रयोग भएमा रसको प्रकृतिमा तलमाथि हुन जान्छ र सङ्क्रमण हुने सम्भावना बढ्छ । यसरी सङ्क्रमण हुँदा, सङ्क्रमण टक्सिस सक सिन्ड्रोम भई कहिलेकाहीँ मृत्यु नै हुन सक्छ । यहाँनेर उठाउनैपर्ने प्रश्न के हो भने बजारमा उत्पादित र वितरित सामग्रीका कारण झन् जीवन जोखिममा पारेर के ती सामग्री लगाउनैपर्छ त ?
नेपालमा महिनाबारीको सामग्रीमा मापदण्ड र गुणस्तरीय खासै अभ्यास भएको देखिँदैन । नकुहिने खालको स्यानिटरी प्याड अस्पताल हँुदै सहरतिर, धनी महिलाले मात्र प्रयोग गर्दै आएको देखिन्छ । सन् २०१८ को एक अध्ययनअनुसार नेपालमा प्रतिमहिना सात लाख प्याड सहरकेन्द्रित प्रयोग भएका छन् । नेपालका केही पर्यटकीय क्षेत्र र सुपरमार्केटमा ‘टेम्पुन’ प्याड पाइन्छ, जुन महँगो छ । यसैगरी केही संस्थाले ‘कप’ नामक प्याड बेचेको वा प्रयोग गर्न सहयोग गरेको अवस्था छ । यहाँ धेरै चलेको भनेको पुरानो कपडाबाट बनाइएको प्याड वा लँगौटी हो । विशेषगरी सन् २०१४ देखि कपडाको पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने र बाँड्ने क्रम बढ्दै गइरहेको छ ।
महिनाबारीका विषयमा कुरा गर्न लजाउने समाजले प्याड बनाउन सिकाउनु, प्याड निःशुल्क बाँड्नु सकारात्मक पक्ष त हुन् तर यी नै समाधानका औजार हुनसक्दैन । यी सामग्रीको प्रयोगले मात्र महिनाबारी भएकी छात्राले मर्यादित भएको अनुभव गर्न सक्दिनन् । उनी मर्यादित भएको सूचकाङ्क के हो ? छात्रामा महिनाबारीका बेला देखिने स्वास्थ्य समस्या, विद्यालयमा चर्पी, पानी, प्याडको समस्याभन्दा पनि महिनाबारी हुँदा छुन हुने कि नहुने, हिँडडुल गर्न हुने कि नहुने, खान हुने कि नहुने जस्ता झन्डै ४० भन्दा बढी प्रकारका बार्ने अभ्यास र महिनाबारी अशुद्ध र फोहोरी हो भन्ने मान्यताविरुद्ध समाजमा जोरी खोज्न विद्यालय आउन सकिरहेका छैनन् ।
मर्यादित महिनाबारीको अवधारणागत बुझाइ, महिनाबारीसँग सम्बन्धित मिथ्या धारणा वा अभ्यास, महिनाबारीका सामग्रीको मापदण्ड र गुणस्तर, सामग्रीको छनोटको अधिकार, महिनाबारीले व्यक्तिगत, पारिवारिक र सामाजिक परिवेशमा पारेको असर, सामाजिक, आर्थिक, राजनीतिक, प्राविधिक, वातावरणमाथि छलफल नगरिकनै वितरण गरिएका प्याड एक परियोजनाको काम मात्र नभई महिनाबारीको रगत लुकाउनुपर्छ, यो लाज हो भन्ने मान्यतालाई पोषण गर्नु हो ।
मापदण्ड र गुणस्तर, महिनाबारी मर्यादित बनाउने एक माध्यम त हो तर यसका लागि सरोकारवालाहरू सँगसँगै हिंड्नुपर्छ । यसका लागि सरकारले अनुगमन संयन्त्र बनाउनुपर्छ । सन् २०१८ मा नेपाल सरकार, खानेपानी तथा सरसफाइ मन्त्रालयको अगुवाइमा महिला, शिक्षा तथा स्वास्थ्य मन्त्रालयको समन्वयसहित विज्ञहरूको टोलीले मर्यादित महिनाबारी नीति मस्यौदा तयार गरेको छ । यो मस्यौदामाथि बृहत् छलफल गरी कार्यान्वयन गर्न विलम्ब भयो भने आफ्नो खुट्टामा आफैँ बन्चरो हान्ने जस्तो हुनेछ । सरकारले नै प्राथमिकतामा राखेर यसको नेतृत्व लिनुपर्छ ।
(लेखक नर्स तथा मदन पुरस्कार विजेता हुनुहुन्छ । )

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?