प्रा. डा. रमेश श्रेष्ठ
विश्वमा सबैभन्दा पहिला करिब सात सय वर्ष इसापूर्व मुद्राको प्रादुर्भाव भए पनि नेपालमा करिब एक हजार चार सय वर्ष अगाडि लिच्छवि राज्यकालमा सोको प्रचलन भएको प्रमाण पाइन्छ । हाम्रो देशको यस गौरवमय तथ्यले नेपाल पनि एक अत्यन्त पुरानो मुलुक हो भन्ने बुझाउँछ । नेपालको इतिहासको अध्ययन तथा अनुसन्धानको क्रममा मुद्रा पनि एक प्रमुख आधार हो जसबाट त्यस समयको ऐतिहासिक तथ्य, कालक्रम, संस्कृति, धर्म, रहनसहन, अर्थव्यवस्था, वाणिज्य आदिका बारेमा थाहा पाउन सकिन्छ ।
विश्वमा पहिलो मुद्रा : लगभग दुईहजार सातसय वर्ष अगाडि वर्तमान समयको टर्कीको (एसिया माइनर) आसपासको प्राचीन आयोनिया राज्यको लिदियामा सबैभन्दा पहिला मुद्राको सुरुवात भएको मानिन्छ । मुद्रासँग मानव इतिहासको एकदम गहिरो नाता छ । मुद्राको आर्थिक क्रय विक्रय शक्ति र धातुको मूल्य आदि कारण मुद्राप्रति मानिसको आकर्षण विगतदेखि नै रहिआएको बुझाइ छ ।
नेपाल भारत लिच्छवि इतिहास
वर्तमान भारतको बिहार राज्यअन्तर्गत तत्कालीन प्राचीन बैशाली राज्यमा लिच्छवि वंशका शासकले अन्य ससाना समकालीन राजवंशसँग मिली गणतान्त्रिक तथा राजतन्त्रात्मक शासन प्रणाली राज्यव्यवस्था सञ्चालन गरिरहेका थिए । सोही समयमा शक्तिशाली मगध राज्यका हर्याकाँ वंशका राजा अजातशत्रुले सो गणराज्यमाथि आक्रमण गरेर तिनीहरूको नाश गरिदिए । त्यसपछि त्यहाँका ससाना राज्यका शासकहरू, जसमध्ये कोही नेपालमा आएर गोप्य रूपमा बसोबास गरेका थिए । उनीहरू पछि लिच्छवि राजवंशका रूपमा देखा परेर राज्य सञ्चालन गर्न थालेको विश्वास गरिन्छ ।
नेपालमा लिच्छवि
नेपालमा लिच्छवि राज्यकालको कालक्रम पाँचौँ शताब्दीदेखि सुरु भएको भनिन्छ । लिच्छवि समयमा स्थापना भएका थुप्रै शिलापत्रको आधारमा उनीहरूको राज्यकाल इ.सं. ४६४ देखि ८८० सम्म रहेको अनुमान गरिन्छ । तर केही अस्पष्ट स्रोतका आधारमा इ.सं. १८५ देखि नै लिच्छविहरू नेपालमा देखापर्न थालेका थिए भनिन्छ । इतिहासकारहरूले लिच्छवि राज्यकाललाई नै नेपालको प्राचीन इतिहास भनेर अध्ययन गर्छन् ।
नेपालको प्रारम्भिक मुद्रा :
नेपालको आफ्नै पहिलो स्वदेशीय मुद्राको शुरुवात पाँचौँ – छैटौँ शताब्दीतिर लिच्छवि राज्यकालमा भएको थियो । नेपालको त्यही पहिलो मुद्रालाई श्री मानाङ्क भनिन्छ । श्री मानाङ्क मुद्राको अग्र भागमा एउटा पञ्जा उठाई उठिरहेको सिंह र गुप्त लिपिमा श्री मानाङ्क भन्ने शब्द लेखिएको छ । त्यसैगरी पृष्ठ भागमा कमलमा आसीन महिला र गुप्त लिपिमा श्री भोगिनी भन्ने शब्द लेखिएको छ । साथमा दुवै भागमा साना साना थोप्लाले सजाइएको छ । सो मुद्राको आकृति प्राचीन भारतको मगध राज्यका गुप्ता वंशका राजाहरूले आफ्ना मुद्राहरूमा समुद्रगुप्तले श्री पराक्रमाङ्क (चौथो शताब्दीमा) तथा चन्द्रगुप्त द्वितीय (विक्रमादित्य)ले श्री विक्रमाङ्क (चौथो पाँचौँ शताब्दीमा) भनेर लेखे जस्तै नेपालका मुद्राहरूमा पनि श्री मानाङ्क लेखेर सोही ढाँचा अङ्गीकार गरेको पाइन्छ ।
नेपालको प्रारम्भिक मुद्रा लिच्छवि राजा मानदेव प्रथमको पालामा उनैले सुरुवात गरेको धेरै इतिहासकारले भन्दै आएका छन् । यसको प्रमुख कारण मुद्राको अग्रभागमा गुप्त लिपिमा लेखिएको श्री मानाङ्क शब्द नै हो । लिच्छवि राजा मानदेव प्रथमको शासनकाल इ.सं. ४६४ देखि ५०५ सम्म थियो जुन अर्थले श्री मानाङ्क मुद्रा सोही समयभित्र निस्केको हुनुपर्छ । तर यो विषयमा थुप्रै अध्ययन अनुसन्धान भएपछि सो भनाइप्रति वर्तमान समयमा केही नयाँ तथ्य प्राप्त भएको छ । नयाँ भनाइ अनुसार श्री मानाङ्क मुद्रा मानदेव प्रथमको पालामा नभई लगभग एक शताब्दी जति पछि मात्र राजा शिवदेव प्रथमको पालामा श्री अंशुवर्मनले सुरुवात गरेका थिए । यसका केही प्रमाण निम्नानुसार विवेचना गर्ने प्रयास गरिएको छ ।
शिलापत्रहरूको अध्ययन : लिच्छवि राज्यकालमा स्थापित शिलापत्रहरूको अध्ययनपश्चात् मानदेव प्रथमले आफ्ना शिलापत्रमा थुप्रै विषयको बारेमा लेखे पनि मुद्रासम्बन्धी कुनै कतै उल्लेख गरेको पाइएको छैन । मानदेव प्रथम पछाडि लगभग एक शताब्दी जति पछिका राजा शिवदेव प्रथमको (शासनकाल इ.सं. ५९० देखि ६०५) मिति उल्लेख नभएको एउटा शिलापत्रमा मुद्रासम्बन्धी शब्द प (पण) लेखिएको छ र यो नै हालसम्म प्राप्त सम्भवतः मुद्रासम्बन्धी उल्लेख भएको पहिलो शिलापत्र हो । त्यसैगरी इ.सं. ५९८ को अर्को शिलापत्रमा मुद्रासम्बन्धी शब्द ताम्रपण लेखिएको छ । अंशुवर्मनको हाँडीगाउँको इ.सं. ६०६ र ६०८ को शिलापत्रमा पनि मुद्रासम्बन्धी शब्द प (पण) लेखिएको छ । यस प्रमुख कारणले गर्दा मानदेव प्रथमको पालामा नभई राजा शिवदेव प्रथमको पालामा मात्र श्री अंशुवर्मनले श्री मानाङ्क मुद्राको सुरुवात गरेको भन्ने तथ्यमा निकै बल पुगेको छ ।
मुद्राको सञ्चित थुप्रोको अध्ययन : हालसम्म प्राप्त लिच्छविकालीन मुद्राको सञ्चित थुप्रोमा श्री मानाङ्क मुद्राको मात्र सञ्चय नभई साथमा पछाडि प्रकाशन भएका अंशुवर्मनका श्री महाराजाधिराजस्य तथा कामदोही मुद्राका साथमा प्रायः सङ्ग्रहित भइरहेको पाइएको कारणले पनि यो सिद्धान्तलाई बल पुगेको छ ।
श्री मानाङ्क मुद्राको लिपिको अध्ययन : लिपि विशेषज्ञहरूका अनुसार मानदेव प्रथमको पालामा प्रयोग भएको लिपिजस्तो नभर्ई पछिल्लो कालको लिपिजस्तो श्री मानाङ्क मुद्रामा प्रयोग हुनु पनि एउटा अर्को भरपर्दो प्रमाण भएको छ ।
राजा शिवदेव प्रथमको राज्याभिषेक : एउटा अर्को सम्भावित कारण शिवदेव प्रथमको इ.सं. ५९० (?) मा भएको राज्याभिषेककै समयमा आफ्नो कीर्तिवान् पुर्खा मानदेव प्रथमलाई समर्पण गरेको पनि हुनुपर्छ । यस समयमा अंशुवर्मन राजा शिवदेव प्रथमका प्रमुख सामन्त (आजको समयमा प्रधानमन्त्री बराबर) थिए र निजकै कारण उक्त मुद्राको निष्काशन भएको हो भन्ने पनि एक समूह छ ।
मान शब्दको प्रयोग : मान शब्दको भावार्थमा अलि गहन अध्ययन गर्दा यसको अर्थ सम्मान, आदर, स्नेह, संस्कारपूर्ण आदि जनाउने हुनाले शिवदेव प्रथमले भर्खर नयाँ प्रकाशन गरेका मुद्राहरूमा मान शब्दको प्रयोग गरेको हुन सक्ने सम्भावना पनि प्रचुर मात्रामा रहेको तथ्यलाई नकार्न सकिन्न ।
यी सबै कारणका आधारमा श्री मानाङ्क मुद्रा मानदेव प्रथमको पालामा नभई राजा शिवदेव प्रथमको पालामा श्री अंशुवर्मनले सुरुवात गरेका थिए भने विषयमा बलियो तर्क गर्न सकिने आधार छन् ।
श्री मानाङ्क मुद्राको प्राविधिक स्वरूप : विभिन्न स्रोत तथा प्रमाणहरूका आधारमा श्री मानाङ्क मुद्राको मूल्य आजकालको एक पैसा बराबरको थियो जसलाई त्यसबेला पण (वा ताम्रपण) भनिन्थ्यो । पछि पछि पुराण तथा पणपुराण भन्ने शब्दहरू पनि प्रयोग गरेको पाइन्छ । गणितीय हिसाब किताबका लागि कर्शपण (१६ पण बराबर १ कर्शपण) भन्ने शब्द पनि प्रयोग भएको देखिन्छ । श्री मानाङ्क मुद्रा गोलो तथा संवत्रहित छ । सो मुद्राका थुप्रै नमुनाको तौल अध्ययन गरेपछि प्रत्येक मुद्राको सालाखाला १२ दशमलव ३२ ग्राम तथा व्यास लगभग २५ मिलिमिटर छ । तिनीहरू प्रायः तामाको धातुले बने तापनि केही फलाम मिसिएको तामामा पनि मुद्रण भएका नमुनाहरू प्राप्त भएको छ । श्री मानाङ्क मुद्रा बनाउन मुद्राको ढाँचामा पगालिएको तामालाई चिस्याएर बनाएको गोलामा पछि मुद्राको साँचोले छापेर बनाएको जस्तो देखिन्छ ।
श्री मानाङ्क मुद्राको आकृति तथा ढाँचा : श्री मानाङ्क मुद्राका आधारभूत ढाँचा धार्मिक महŒवका आकृतिबाट निकै प्रेरित भएको छ जस्तै, सिंह तथा कमलमा आसीन महिला श्री भोगिनी र अन्य आकृतिहरू । मुद्रामा सिंहको समावेशबाट राजसी चिन्हको प्रतीक तथा श्री भोगिनीलाई कुनै देवीका रूपमा लिइएको देखिन्छ । यिनीहरूको गहन अवलोकनबाट देख्न सकिन्छ कि यी मुद्राको आकृति तथा ढाँचा एकदम राम्रो थियो । श्री मानाङ्क मुद्रा धेरै समयसम्म मुद्रण भएको हुनाले थुप्रै प्रकारका नमुना प्राप्त भएका छन् । थुप्रै प्रकारका भएकाले मुद्रा अनुसन्धानकर्ता तथा इतिहासकारहरूका लागि तथा अध्ययन अनुसन्धान गर्नेहरूका लागि पनि उर्वर क्षेत्र हुन सक्छ । साथै मुद्रा सङ्कलकहरूले पनि थोरै पैसा खर्चेर विभिन्न प्रकारका श्री मानाङ्क मुद्राहरू सङ्कलन र संवद्र्धन गर्न सक्ने देखिन्छ ।
श्री मानाङ्क मुद्राको अग्रभाग : हालसम्म प्राप्त नमुनाको गहन अध्ययन गर्दा सामान्यतया जम्मा चार प्रकारका भए तापनि प्रमुख तीन प्रकारमा श्री मानाङ्क मुद्रालाई छुट्याउन सकिन्छ ।
क) पहिलो प्रकार ः पञ्जा उठाई उठिरहेको सिंहको अगाडि सादा स्थान ।
ख) दोस्रो प्रकार ः पञ्जा उठाई उठिरहेको सिंहको अगाडि फूल ।
ग) तेस्रो प्रकारः पञ्जा उठाई उठिरहेको सिंहको अगाडि राजदण्ड ।
श्री मानाङ्क मुद्राको पृष्ठभाग ः उपरोक्त सबै प्रकारका मुद्रामा कमलमा आसीन महिला र श्री भोगिनी लेखिएको छ । महिलाले दायाँ हात उठाइरहेको र अर्को हात कुममा राखेकी छिन् । पृष्ठभागमा पनि श्री मानाङ्क मुद्रामा थोरबहुत फरक फरक पाइन्छ ।
भोगिनी शब्दको अर्थ ः प्राचीन तथा पुराना शब्दहरूको अध्ययन गर्दा नाट्यशास्त्र अन्तर्गत भोगिनी शब्दको अर्थ भित्रिनी हो तर तिनीहरू राजाका विशेष वर्गका महिला हुन् जो अत्यन्तै बुद्धिमान्, दक्ष, मानयोग्य, सहयोगी आदि नै हो भन्ने बुझिन्छ ।
श्री मानाङ्क मुद्राको दुर्लभता ः सम्भवतः श्री मानाङ्क मुद्रा थुप्रै समयसम्म मुद्रण भइरहेको हुनाले सामान्यतः यिनीहरू पर्याप्त मात्रामा पाइन्छ । तर तेस्रो प्रकारको पञ्जा उठाई उठिरहेको सिंहको अगाडि राजदण्ड भएको प्रकार अलि दुर्लभ छ । त्यसपछि दोस्रो प्रकार थोरै दुर्लभ छ तर पहिलो प्रकारका मुद्राहरू सबैभन्दा सामान्य र पर्याप्त मात्रामा पाइने गरेका छन् । श्री मानाङ्क मुद्रा एकहजार चारसय वर्ष अगाडि नै प्रचलनमा ल्याइएको हुनाले विश्वसामु हाम्रो देशले आफ्नो एक विशिष्ट स्थान दर्शाउन सक्ने अवस्था छ । यस तथ्यलाई ध्यानमा राखी नेपाल सरकार, विश्वविद्यालयहरू तथा अन्य सरोकारवालाले प्राथमिकतासाथ थप अध्ययन, अनुसन्धान, संरक्षण तथा प्रचारप्रसार गर्नुपर्ने देखिन्छ ।
(लेखक प्राकृतिक विज्ञान सङ्ग्रहालयका पूर्व प्रमुख तथा न्युमिस्मेटिकका स्वतन्त्र अन्वेषक हुनुहुन्छ । )