logo
२०८१ मंसिर ७ शुक्रवार



विकृत बन्दै तीज

विचार/दृष्टिकोण |





लीला दाहाल

हिन्दु नारीले स्वतन्त्र र आनन्दरूपमा मनाउने एउटा महŒवपूर्ण चाड तीज हो । यसलाई हरितालिका पनि भनिन्छ । यो चाड भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान् शिवको आराधनाका साथै मनोरञ्जन गर्ने गरिन्छ । साथै अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमी पनि तीजपर्वकै रूपमा मनाइन्छ । खासगरी यसमा स्त्रीहरूले पतिको निमित्त निराहार बसी भगवान् शिव र पार्वतीसँग प्रार्थना गर्छन् ।
यसरी तीज मनाउनमा धार्मिक पृष्ठभूमि पनि छ । जसअनुसार पार्वतीलाई पर्वतराजले भगवान् विष्णुसित बिहे गरिदिने कुरा गरे तर पार्वतीलाई यो कुरा मन परेन । उनले भगवान् शिवलाई पतिका रूपमा पाउँ भनी घर छाडेर जङ्गलको एकान्त ठाउँमा तपस्या गरी बसिन् । छोरी हराएपछि पर्वतराज भावविह्वल भएर छोरी खोज्न निस्किए । छोरी कडा तपस्यामा बसेको देखेर राजाले किन यसो गरेको भनी सोधे । उनले आफ्नो मनबाट नै शिवलाई पति मानेको र अरूसित बिहे गर्न नसक्ने कुरा बताइन् । यो कुरा सुनेर पर्वतराजले पार्वतीको बिहे शिवजीसँग गरिदिए । उनले भाद्र शुक्लपक्ष तृतीयाको दिन व्रत उपवास बसी शिवलाई पाएको हुनाले यस दिन अहिले पनि व्रत उपवास बसी पूजा गरेमा आफूले रोजेको पुरुषलाई पतिको रूपमा पाउने र बिहे भइसकेको पतिको आयु बढ्ने विश्वास छ ।
समाजमा तीजपर्वको महŒवपूर्ण पक्ष छन् । हामीले व्रत उपवास बस्दा फाइदा पनि छ । यसले मानिसलाई शारीरिक रूपमा स्वस्थ र रोगमुक्त हुन सहयोग पु¥याउँछ । बेला बेलामा उपवास बस्दा शरीरको स्वास्थ्यमा सुधार आउँछ । ध्यानमग्न भई बस्ने उपवासले मानसिक पवित्रता र स्वच्छता सिकाउँछ । यो एउटा वैज्ञानिक पाटो हो । अर्को महŒवपूर्ण पाटो मानसिक फाइदा हो । तमाम महिलामा पर्ने मनोवैज्ञानिक प्रभावमा ध्यानपूर्वक परिश्रम र धैर्य हो । पार्वतीले जसरी ध्यान अनि धैर्य गरी लगनशीलताले आफ्नो उद्देश्य प्राप्त गर्नुभयो, मेहनत गर्दा फल पाइने कुरा प्रमाणित भयो । हरेक मानिसले गर्ने जुनसुकै काममा पनि यस्तो तपस्या, त्याग र योगदानको जरुरी हुन्छ । यही मार्ग नै सफलता प्राप्त गर्ने कडी हो ।
त्यस्तै धर्मको उद्देश्य आत्मअनुशासन हुनाले दैविशक्तिको ध्यान र भक्ति गर्नाले आफूलाई अनुशासित बनाउन सहयोग गर्छ । यसैगरी यसले अन्य पारिवारिक सामाजिक र सांस्कृतिक फाइदा गर्छ । बिहे गरेर टाढा भएका दिदीबहिनीको माइत आएर आफ्ना आमाबुवा इष्टमित्र साथीसँगीसित भेट्नाले घर माइतको सम्बन्धलाई पुनःनवीकरण गर्दै गाढा सम्बन्ध बन्छ । वर्षभरिको आपसी रिक्तता मनमुटावलाई समेत सफा गर्ने अवसर मिल्छ । त्यसैगरी सरसफाइ, चोखा कपडाले राम्रै प्रभाव पार्छ । सबैजना भेला भएर नाचगान गर्नु र मीठो भोजन गर्दा एकआपसमा सहयोग, सद्भाव सुमधुरता बढाउँछ । वर्षभरि मनमा दबिएका पीडा, मर्म, वेदना र दुःखका थुप्राहरू गीतसङ्गीतको माध्यमबाट प्रस्तुत हुने हुँदा मानसिक शान्ति मात्र होइन, सिर्जनशीलता र मौलिकताको विकास हुन्छ ।
यसरी पहिला आफ्ना मनका पीडा धेरै समयपछि भेटेका माइतीमा साथीसँग गीतको माध्यमले पोख्ने र मन हलुङ्गो बनाउने गरिन्थ्यो । आजको तीज मनाउने प्रक्रिया अलि फरक भएको छ । परापूर्वकालदेखि हालसम्मको तीजलाई नियाल्दा निकै भिन्नता देखिन्छ । विज्ञान र प्रविधिको विकासले समाजमा आधुनिकीकरणको असर पर्दै गएको छ । प्रशस्त नवीन स्रोत साधन उपकरणले विकृति भिœयाएको छ । विकृति र विसङ्गति झन् हुर्कदै र बढ्दै गएको देखिन्छ । नारीको महान् चाड तीजलाई पनि चुनौती विकृति र विसङ्गतिले गाँज्दै आएको छ । गरगहना क्षेत्रमा पनि उस्तै अराजकता छ । पुरानो सामन्ती वास्तविकता नबुझी गहनामा लिप्त मानसिकता बढेको छ । धनी महिलाले गरगहनामा प्रतिस्पर्धा गर्दा गरिब असाध्यै मनोवैज्ञानिक र आर्थिक तनावमा छन् । आत्मअनुशासन र सांस्कृतिक मूल्य मान्यता तथा परम्पराको दायराभन्दा अगाडि भड्किलो देखावटी तडकभडक र अनुशासनहीन प्रवृत्ति बढेको छ । चाड सांस्कृतिक विचलनको मार्गमा अगाडि बढिरहेको छ । सक्दो कस्मेटिक प्रयोगका कारण तीजको सफलता हास्यास्पद भइरहेको छ ।
तीजमा गरगहनाले सजिनुपर्छ भन्ने न धार्मिक मान्यता छ न त आवश्यकता नै । स्वयं शिवले पार्वतीलाई गरगहना दिएका थिएनन् । पार्वतीले पनि गरगहना लगाएकी थिइनन् । परापूर्वकालदेखि पितृसत्तात्मक लक्ष्यको घेराबन्दी र सिकार नारीलाई बनाइयो । पुरुषप्रधान सोचले नारीलाई पाशविक बनाएर राखिने र लदाउने प्रयत्न भए । आफ्नो शासनमा कजाउन गहना नामको बन्धन भिडाइयो । महिलाले घाँटीमा लगाउने नेक्लेस, सिक्री र माला पुरुषको दाम्लो हो । खुट्टामा लगाउने पाउजु पुरुषको नेल हो । हातमा लगाइएका चुरा, ब्रासलेट आदि पुरुषको अधीनमा रहने हतकडी हो । अन्य गहनाका नाममा सामग्री पनि यस्तै यस्तै हुन् । यी सबैको एउटै उद्देश्य नारीलाई पुरुषको कब्जामा पारेर स्वतन्त्रताबाट वञ्चित गरी पुरुषले सधैँ आफ्नो अधीनमा राख्ने षड्यन्त्र हो । अनि सबै महिलाले गहना नामको दाम्लो, हतकडी र नेल स्वीकार गरिरहने कि त्यागेर विद्रोह गर्ने ? महिलाले सोच्ने विषय हो ।

(लेखक साहित्यकार हुनुहुन्छ । )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?