logo
२०८१ बैशाख ११ मंगलवार



पुरुषको व्रत ‘अट्वारी’

विचार/दृष्टिकोण |




लक्की चौधरी

थारू समुदायको मौलिक पर्व हो ‘अट्वारी’ । यो पर्वको मुख्य विशेषता पारिवारिक सम्बन्ध बनाइराख्ने हो । पश्चिम नेपालका थारू समुदायले विशेषगरी यो पर्व मनाउँछन् । थारू पुरुषले व्रत बस्ने पर्वका रूपमा पनि यो चिनिन्छ । थारू महिलाले कृष्णजन्माष्टमी (अष्टिम्की) मा व्रत बस्छन्, पुरुष अट्वारीमा पाँच पाण्डवमध्येका कुन्तीका महिला पुत्र भीम (भेवाँ) को व्रत बस्छन् । पश्चिम नेपालका थारूको वर्षदिनमा व्रत बस्ने पर्व यिनै दुईवटा हुन् । वर्षभरि अनेकौँ पर्व आउने गरे पनि अन्य पर्वमा थारू समुदाय व्रत बस्दैनन् ।
थारू समुदायको देवथानमा अरु देवतासरह पाण्डवको उच्च स्थान छ । महाभारतकालीन प्रसङ्ग जोडिन्छ । महाभारत युद्धका प्रमुख ‘हिडन’ निर्देशक भगवान् कृष्ण थिए । धर्म र अधर्मको लडाइँमा ‘धर्म र सत्य’कै जीत हुनुपर्छ भन्ने मूल उद्देश्यसाथ भगवान् कृष्ण मानव अवतारमा पृथ्वीमा जन्मनुभएको थियो । पाण्डव र कौरवबीच घमासान युद्ध भयो । पाण्डव धर्म र सत्यको पक्षमा थिए । कौरवहरु अधर्म र असत्यको । कौरवको नेतृत्व हस्तिनापुरका राजा धृतराष्ट्रले गरे । धृतराष्ट्र–गान्धारीका दुर्योधनसहित सयजना छोरा थिए । पाण्डव पक्षको नेतृत्व युधिष्ठिरले गर्नुभएको थियो । कुन्तीका छजना छोरा कर्ण, युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव थिए । तर जेठा छोरा कर्ण कौरवको पक्षमा युद्ध लड्नुभयो । दुर्वासा ऋषिले सिकाएको मन्त्रलाई परीक्षणका लागि जप गरेपछि सूर्यदेव प्रकट हुनुभयो । सूर्यदेवले कुन्तीलाई पुत्रका रूपमा ‘कर्ण’ उपहार दिनुभयो । तर कुन्ती अविवाहित भएकाले समाजको डरले कर्णलाई नदीमा बगाउनुभो ।
पाण्डव जन्म
हस्तिनापुरका राजा पाण्डु दुवै पत्नी (कुन्ती र माद्री) सहित शिकार गर्न जङ्गल गएका बेला मृगको जोडीलाई मैथुनरत देखे । पाण्डुले ती दुवै मृगलाई घाइते बनाउनुभयो । मर्दैगर्दा मृगले पाण्डुलाई श्राप दिए, “राजन ! तिमी धेरै क्रूर पुरुष रहेछौ । मलाई मैथुनको समय बाण हानेर ठूलो गल्ती ग¥यौ । जब तिमी कसैसँग मैथुनरत हुनेछौ, त्यतिबेला तिम्रो मृत्यु हुनेछ । ” श्राप सुनेर राजा पाण्डु दुःखी हुनुभयो । दुई रानी भए पनि सन्तान थिएनन् । उहाँले दुवै रानीसँग भन्नुभयो, “हे देवीहरु ! अब म आफ्नो सबै वासना त्यागेर वनमा एक्लै बस्छु, तिमीहरु हस्तिनापुर फर्केर जाऊ । ” यो कुरा सुनेर दुवै रानीले भन्नुभयो, “हे नाथ ! हामी तपाईंविना एक क्षण जीवित रहन सक्दैनौँ । आफूसँगै हामीलाई पनि वनमै बस्ने कृपा गरिदिनुहोस् । राजा पाण्डुले दुवै रानीलाई आफूसँगै वनमा बस्ने अनुमति दिनुभयो ।
राजा पाण्डु गल्तीबाट दुःखी हुनुहुन्थ्यो । त्यही समय पाण्डुले अमावस्याको दिन ऋषिमुनिहरुलाई ब्रह्माको दर्शनका लागि जाँदै गरेको देख्नुभयो । आफूलाई पनि साथ लैजान पाण्डुले ऋषिसँग आग्रह गर्नुभयो । एक ऋषिले भने, “राजन ! निःसन्तान पुरुष ब्रह्मलोक जाने अधिकारी हुन सक्दैन । अतः हामी तिम्लाई लैजान असमर्थ छौँ । ” ऋषिको कुरा सुनेर पाण्डुले पत्नी कुन्तीसँग भन्नुभयो, “हे कुन्ती ! मैले जन्म लिनु व्यर्थ छ । सन्तानहीन व्यक्तिले पितृऋण, ऋषिऋण, देवऋण, मनुष्यऋणबाट मुक्ति
पाउन सक्दैन । के तिमीले पुत्र प्राप्तिमा मलाई सहयोग गर्न सक्छौ ?” राजाको कुरा सुनेर कुन्तीले भन्नुभयो, “हे आर्यपुत्र ! दुर्वासा ऋषिले मलाई यस्तो मन्त्र सिकाउनुभएको छ, जसबाट म कुनै पनि देवतालाई बोलाएर मनोवाञ्छित (मनमा चिताएको) वस्तु प्राप्त गर्न सक्छु । तपाईं आज्ञा गर्नुहोस्, म कुन देवतालाई बोलाउँ । ”
कुन्तीको कुरापछि पाण्डुले धर्मराजलाई आमन्त्रित गर्न भन्नुभयो । दुर्वासा ऋषिको मन्त्र पढेपछि धर्मराज देवता प्रकट हुनुभयो । धर्मराजले कुन्तीलाई छोरा उपहार दिनुभयो । छोराको नाम युधिष्ठिर राखियो । फेरि अर्को पुत्रका लागि कुन्तीले वायुदेवलाई आमन्त्रित गर्नुभयो । वायुदेवले पुत्र उपहार दिनुभयो । जसको नाम भीम राखियो । अर्को आमन्त्रणमबाट प्रकट हुनु एका इन्द्र देवताले अर्जुन उपहार दिनुभयो । सोही मन्त्र कुन्तीले सौतेली बहिनी माद्रीलाई सिकाउनुभयो । माद्रीले अश्विनीकुमार देवतालाई स्मरण गर्नुभयो । जसबाट नाम नकुल र सहदेवको जन्म भयो ।
बकासुर वध
बकासुर एक दानव थियो । पाण्डवहरुको अज्ञातवासका बेला उनको बध भीम (भेवाँ) ले गर्नुभएको थियो । भारतको इलाहावाद जिल्लामा पर्ने चक्रनगरीमा किसानहरु बस्थे । पाँच पाण्डवहरु १२ वर्षे वनवास सकेर एकवर्षे अज्ञातवासमा थिए । अज्ञाताासका बेला हस्तिनापुरका कुनै सदस्यले देखेमा (चिनेमा) पुनः १२ वर्ष वनवास र एकवर्षे अज्ञातवास थपिने शर्त राखिएको थियो । त्यही भएर पाण्डव अज्ञातवासका समय लुकेर बस्थे ।
अज्ञातवास भएकै बेला पाँच पाण्डव आमा कुन्तीसहित घुम्दैफिर्दै चक्रनगरीमा पुगे जहाँ बकासुर राक्षसको आतङ्क थियो । हरेक दिन पालैपालो गाउँबासीले दानव बकासुरलाई गुफामा गएर भोजन (खाना) पु¥याउँथे । भोजनसँगै गाउँको एक सदस्यलाई उसले मारेर खान्थ्यो । गाउँको एक घरमा पाँच पाण्डवले केही दिनका लागि शरण लिएका थिए । खाना पु¥याउने पालो त्यही घरको आयो । घरमा श्रीमान्, श्रीमती, एक छोरी र एक छोरा थिए । घरका सदस्यबीच दानवलाई खाना पु¥याउनेबारे छलफल चल्यो । कुन्तीले आफ्ना पाँच छोरामध्ये एकजना राक्षससँग जाने बताउनुभयो । उहाँको कुरा घरका सदस्यले मान्न तयार भएनन् । पाहुनालाई कसरी राक्षसको आहारा बनाउने ? पाप काम हुन्छ भने । तर कुन्तीको सल्लाहपछि घरका सदस्य तयार भए । कुन्तीले गाउँको समस्याबारे आफ्ना पुत्रहरुलाई जानकारी दिनुभयो । कुन्तीले भीमलाई राक्षस बकासुरकहाँ खाना पु¥याउन निर्देशन दिनुभयो । भीम लहरु (बयलगाडा) मा खाना राखेर जङ्गलमा रहेको राक्षसको गुफामा पुग्नुभयो । राक्षसका लागि लगेका सबै खाना भीम आफैँले खानुभयो । चाल पाएपछि राक्षस गुफाबाट बाहिर निस्क्यो । खाना खाएको देखेर राक्षस क्रुद्ध बन्यो । भीममाथि आक्रमण ग¥यो । दुवैबीच घमासान युद्ध भयो । अन्तिममा भीमले राक्षस बकासुरको वध गर्नुभयो । चक्रनगरका गाउँबासी खुसी भए । अब गाउँका कुनै सदस्यले ज्यान गुमाउनु नपर्ने भयो । खुसीले गाउँमा भोजभतेर लगाए । भीमले गाउँबासीको रक्षा गरे ।
अट्वारीको प्रसङ्ग
भेवाँ (भीम) सहित पाँच पाण्डव जहाँ शरण लिएर बसेका थिए, त्यो चक्रनगर थारूगाउँ थियो । गाउँका सदस्यलाई दानवको चङ्गुलबाट जोगाएकै कारण थारूले भीमलाई देवताको रूपमा स्वीकारे । पाँच पाण्डवलाई देवथानमा स्थान दिए । आज थारूगाउँका सबै देवथान
(मर्वा) मा पाँच पाण्डवको स्थान सुरक्षित छ । जुनसुकै पूजामा पुजिन्छन् । थारूमन्त्रमा शिव, पार्वती, ब्रह्मा, विष्णुसँगै पाँच पाण्डवको प्रसङ्ग छ । राक्षसबाट थारूचेली तथा गाउँबासीलाई रक्षा गरेकै सम्झनामा थारूपुरुष अट्वारीमा भीमको व्रत बस्छन् । पूजा गर्छन् । राक्षस बकासुरको वधपछि गाउँबासी गाउँमा खुसियाली र भोजभतेर गरी रमाएको स्मरणमा व्रतपछि थारू व्रतालुले आफ्ना विवाहित चेलीबेटीलाई उपहारका रूपमा मीठा परिकार पु¥याउँछन् । यसरी पु¥याइने मीठा परिकारलाई ‘अग्रासन’ भनिन्छ । यसवर्ष भदौ १५ गते थारू समुदायले अट्वारी पर्व मनाउँदैछन् । अट्वारी पर्व हरेक वर्ष कुशेऔंसी पछिको पहिलो आइतबार मनाइन्छ । अट्वारी पर्व मनाउनेबारे थारू समुदायमा अनेक किम्वदन्ती छन् ।

(लेखक गोरखापत्र दैनिकका उप सम्पादक हुनुहुन्छ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?