रमाकान्त शर्मा
पुस्तक ज्ञानको स्रोत हो । ज्ञानविज्ञानको गहिराइसम्म पुग्ने विभिन्न क्षेत्रको साङ्गोपाङ्ग ज्ञान प्राप्त गर्ने माध्यम हो । व्यक्तिले आफ्नो सिङ्गो जीवनको भोगाइ एक पुस्तकमा समेट्न सक्छ । भनिन्छ, एक व्यक्तिले एउटा मात्र जीवन बाँच्ने हो, एकमात्र जीवनको अनुभव गर्ने हो तर पुस्तक पढ्नेले धेरै जीवनको अनुभव प्राप्त गर्न सक्छ ।
संसारका साहित्यकार, वैज्ञानिक, अर्थशास्त्री, इतिहासकार, भूगर्भविद् तथा जुनसुकै क्षेत्रका प्रख्यात व्यक्तिको जीवनीलाई हेर्ने हो भने उनीहरूले धेरै पुस्तक अध्ययन गरेको पाइन्छ । त्यस्ता व्यक्तिले जीवनको प्रारम्भिक अवस्थामा पुस्तकालयको सेवा सुविधा प्राप्त गरेको भेटिन्छ । जीवनको प्रारम्भिक उमेरमा नै पढ्ने बानी बसाएको पाइन्छ । कसैलाई पुस्तक ज्ञान मात्र होइन, आनन्द लिने, खुसी हुने, मन बहलाउने उपाय हुनसक्छ भने कसैलाई पुस्तक ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ पनि हुनसक्छ ।
पुस्तक पढ्ने बानी भएका व्यक्तिले बसमा यात्रा गर्दा, विभिन्न कामको चापको बीचमा, पैदल यात्राबाट थाकेको अवस्थामा पनि ध्यानमग्न भएर गहिरिएर पढ्न सक्छ । पुस्तकमा लेखिएका अधिक पाठबाट सार खिची निचोड निकाल्न सक्छ । बानी नभएकालाई पुस्तक पढ्नका लागि विशेष समय छुट्याउनुपर्ने, लामो समय पढ्दा पनि मेसो नचल्ने हुनसक्छ । त्यसैले पनि समाजमा पुस्तक पढ्ने, ज्ञान प्राप्त गर्ने, ज्ञानका विभिन्न पक्षमा बहस गर्ने अभियान सञ्चालनको आवश्यकता छ । समाजको परिवर्तन चाहने, समाजबाट अज्ञानता हटाउन चाहने, ज्ञानमा आधारित सचेत समाज निर्माण गर्न चाहनेले पठन संस्कृति स्थापित गर्ने प्रयास गर्नुपर्छ । यस्तो महŒवपूर्ण कार्यको जिम्मा विद्यालय तथा विश्वविद्यायलाई मात्र सुम्पेर सीमित गर्नु उपयुक्त हुँदैन । पठन संस्कृति निर्माणकार्य समाजका अगुवा, नेतृत्वमा रहेका व्यक्तित्वहरूको चासोको विषय हुनुपर्छ । पठन संस्कृति निर्माणमा पुस्तकालय ठूलो सहयोगी हुनसक्छ ।
व्यक्तिको आनिबानी निर्माणमा परिवार र समाजको प्रत्यक्ष प्रभाव हुन्छ । परिवार, समाज, परिवेशमा हुने कार्यमा सहभागी हुँदाहुँदै व्यक्तिको बानी निर्माण हुने हो । परिवारमा बाबु–आमा, ज्येष्ठ सदस्यले मात्र होइन, समाजका अग्रजहरूले गर्ने कार्य र बसाएका बानीहरूको प्रभाव हुर्कदै गरेका नयाँ पुस्तामा परिरहेको हुन्छ । आफूभन्दा बढी उमेरका व्यक्ति र पुस्ताले बसाएका बानी नयाँ पुस्ताले सजिलै ग्रहण गर्न सक्छ । घरपरिवारमा वा समुदायमा पुस्तक पढ्ने संस्कृति छ, पुस्तकालय छ र अग्रजहरूले पुस्तक पढ्छन् भने कलिला नानीमा पुस्तक पढ्ने र पुस्तकबाट सिक्ने बानी बस्न सहज हुन्छ ।
हुन त पुस्तक किनेर पनि पढ्न सकिन्छ । पुस्तक किनेर मात्र पढ्दा निकै खर्चिलो हुनसक्छ । पुस्तकालयको सुविधा छ भने एउटै पुस्तकबाट धेरै व्यक्तिले फाइदा उठाउन सक्छन् । पुस्तक किन्ने रकमको अभाव भएकाले पनि पुस्तकालयमा पुस्तक पढ्न सक्छन् । पुस्तकालय निर्माणले समाजका धेरै व्यक्तिलाई पुस्तकको सेवा पु¥याउन सकिन्छ । पुस्तकालयको राम्रो व्यवस्थापन गर्न सकेमा वातावरणले नै पढौँ पढौँ लाग्ने अवस्था सिर्जना हुनसक्छ । पुस्तकालयले असल सामाजिक र सांस्कृतिक वातावरण निर्माणमा सहयोग गर्न सक्छ । पुस्तकालयलाई एक आपसमा भेटघाट गर्ने, सामाजिक सम्बन्ध बलियो पार्ने र विभिन्न विषयमा सार्वजनिक बहस गर्ने स्थानसमेत बनाउन सकिन्छ । पुस्तकालयले पत्रपत्रिका र अन्य सामाजिक अभिलेखको संरक्षण गर्न सक्छ ।
पुस्तकालय व्यक्तिगत वा निजी, सार्वजनिक वा सामुदायिक, शैक्षिक संस्था र सामाजिक सङ्घसंस्थाका पनि हुन सक्छन् । पुस्तकालय डिजिटल र घुम्ती पनि हुन्छन् । घुम्ती पुस्तकालयबाट समुदायलाई पढ्नका लागि उत्प्रेरित गर्न सजिलो हुन्छ । डिजिटल पुस्तकालयले घरघरमै सेवा पु¥याउन सक्छ ।
नेपालको संविधानले समुदायलाई सेवा वितरणको कार्यमा स्थानीय तहलाई जिम्मेवार बनाउन खोजेको छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ ‘ज’ को १९ ले स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन र व्यवस्थापनको अधिकार स्थानीय तहलाई सुम्पेको छ । केही नगरपालिका र गाउँपालिकाले पुस्तकालय स्थापनाका लागि बजेट छुट्याएको र पुस्तकालय स्थापनाका लागि प्रयास गरेको देखिन्छ भने अधिकांश स्थानीय तहले यस क्षेत्रमा ध्यान पु¥याउन सकेको देखिँदैन । पुस्तकालय तथा वाचनालय स्थापनाका लागि तत्काल ठूलो मात्रामा बजेट छुट्याउन नसके पनि सानो बजेटबाट पनि सुरुवात गर्न सकिन्छ । हालसम्म जिल्लामा तथा समुदायमा स्थापना भएका पुस्तकालय पनि सरकारको लगानीमा नभएर समाजका सचेत अगुवाको चन्दा, दान, उपहार र मेहनतको भरमा स्थापना भएका हुन् । सरकारको स्वामित्वमा रहेका राष्ट्रिय पुस्तकालय राजगुरु हेमराज पाण्डेको पहलमा, डिल्लीरमण पुस्तकालय डिल्लीरमण रेग्मीको पहलमा, केशर पुस्तकालय केशर शम्सेरको प्रयासमा, मदन पुरस्कार पुस्तकालय दीक्षित परिवारको गुठीबाट स्थापना र सञ्चालन भएका हुन् ।
विगतमा कतिपय पुस्तकालयलाई तत्कालीन सरकारले अप्ठ्यारो पारेका उदाहरण पनि छन् । अधिकांश पुस्तकालय काठमाडौँ र जिल्लाको सदरमुकाममा सीमित छन् । स्थानीय समुदायको पहुँचमा निकै कममात्र छन् । विगतमा जस्तो अवस्थामा भए पनि अब गाउँपालिका र नगरपालिकाले समाजलाई सचेत पार्न, ज्ञानमा आधारित समाजको निर्माण गर्न, समाजका नयाँ पुस्तालाई असल संस्कृति बसाउन पुस्तकालय स्थापना र पठन संस्कृतिको निमाण गर्न स्रोत साधन छुट्याउनुपर्ने देखिन्छ ।
एकैपटक ठूलो पुस्तकालयको कल्पना गरेर सम्भव नहुन सक्छ । सानो भए पनि पुस्तकालय स्थापना गरी पुस्तक सङ्कलन गर्ने, दर्ता गर्ने, पुस्तक लिने र बुझाउने पद्धति बसाल्न सकेमा विस्तारै पुस्तकालयको आकार बढाउन सकिन्छ । हाल हरेक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक सिकाइ केन्द्र सञ्चालित छ । यस्ता सिकाइ केन्द्रको मातहतमा पुस्तकालय स्थापना गर्नसकेमा स्थानीय स्तरमा पुगेको स्रोत साधनलाई पनि सदुपयोग गर्न सकिन्छ । एकैपटक पुस्तकालय भवनका लागि ठूलो खर्च गर्न नसकिने अवस्थामा समायोजन भएर खाली भएका विद्यालयका भवन, प्रयोग नभएका सार्वजनिक भवन, समाजको सुधार गर्न चाहने दाताले उपलब्ध गराउने भवन पनि प्रयोग गर्न सकिन्छ । कुनै सार्वजनिक भवनको कोठाबाट पनि पुस्तकालयको सुरुवात गर्न सकिन्छ ।
पुस्तकालय स्थापना गर्न ‘रुम टु रिड’ र त्यस्तै गैर सरकारी संस्थाले पनि सहयोग पु¥याउन सक्छन् । पुस्तकालय स्थापना गर्न, पुस्तकालय पद्धतिको स्थापना गर्न यस क्षेत्रका विज्ञ व्यक्ति, पुस्तकालयमा लामो समय काम गरेको कर्मचारीको पनि स्वयंसेवा लिन सकिन्छ । पुस्तक जुटाउन समाजका व्यक्ति, अन्य धेरै पुस्तक सङ्कलन गरेर अध्ययन गरेका व्यक्तिसँग दानस्वरूप माग्न पनि सकिन्छ । आपूmले किनेर पढेका पुस्तक सदुपयोग हुन्छन् भन्ने विश्वास भएमा पुस्तक दान दिन चाहने व्यक्ति प्रशस्त भेट्टाउन सकिन्छ ।
पुस्तकको अभिलेख राख्ने, पुस्तक पढ्नका लागि वितरण गर्ने, फिर्ता लिने, पुस्तकको संरक्षण गर्ने, नियमित पत्रपत्रिका लिने, व्यवस्थापन गर्ने जस्ता कार्य गर्न जनशक्तिको आवश्यकता पूरा गर्न सुरुमा समिति गठन गर्न सकिन्छ । समितिका सदस्य तथा स्वयंसेवकलाई आलोपालो गरी जिम्मेवारी तोक्न पनि सकिन्छ । पुस्तक र पाठक वृद्धिसँगैै कर्मचारीको व्यवस्था गर्न सकिन्छ । विदेशी नागरिक जोन उडले नेपाली बालबालिकाका लागि विकट क्षेत्रमा पुगेर पुस्तकालय स्थापना गर्नुभयो । हाम्रै समाजमा पनि त्यस्ता सहयोगी व्यक्ति नपाइने कुरै छैन । स्थानीय तहले समुदायका सचेत व्यक्तिको सहयोगमा पुस्तकालय स्थापना सम्बन्धमा छलफल गर्ने, योजना बनाउने, बजेट र जनशक्तिको व्यवस्था गर्ने, बनेका पुस्तकालय स्तरवृद्धि गर्ने, आधुनिकीकरण गर्ने, पाठकको आकर्षणको केन्द्र बनाउने जस्ता कार्य गर्न सकेमा समाजलाई सचेत पार्ने मात्र होइन, पुस्तकालय देशकै समृद्धिका औजार हुन सक्छन् ।
(लेखक शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख हुनुहुन्छ । )