logo
२०८१ बैशाख २६ बुधवार



नेपाल–भारत सम्बन्धको आयाम

विचार/दृष्टिकोण |




देवेश झा

मिडियामा सबैभन्दा बढी चर्चा हुने विषयमध्ये नेपाल–भारत सम्बन्ध पनि एक हो । एउटै सांस्कृतिक विरासतका साथै दैनिक जीवनयापनका लागि परस्पर निर्भरताका कारणले पनि कहिले गुलियो त कहिले अमिलो भइरहने यी दुई नातेदार छिमेकीबीचको सम्बन्ध दुनियाँमै दुर्लभ रहेको भन्नु अत्युक्ति नहोला । एकै प्रकारको खानपान, एउटै लिपि देवनागरीलाई प्रयोग गर्ने समान धार्मिक आस्था भएका यी दुवै मुलुकको विचारधाराबारे भिन्नता देखाइए पनि वास्तविकता त्यस्तै होइन । खुला सिमानाले गर्दा उत्पन्न हुने गरेको जटिलताका बावजुद पनि दुवै देशका जनताको आवतजावतलाई ध्यान दिएर सहज बनाइराख्न सरकारहरू प्रयत्नशील रहँदै आएका छन् ।
संयोगवश काठमाडौँ र दिल्लीमा एकैपटक ठूलो जनमतसहितका शक्तिशाली सरकार छन् । यस महŒवपूर्ण अवसरको सदुपयोग हुनु जरुरी छ । पछिल्ला दिनमा यसका उपलब्धि पनि आउने क्रम जारी छ । धेरै अघिदेखि विचाराधीन अवस्थामा रहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो परियोजना प्रारम्भ गरेर सुरुङ निर्माणको कामलाई अगाडि बढाइएको छ भने पेट्रोलियम पाइपलाइनको परीक्षण सम्पन्न भइसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनपश्चात् भारतीय पर्यटकहरूको बढोत्तरी भएर अहिले सो क्षेत्रका होटल व्यवसायमा गुणात्मक परिवर्तन देखापर्दैछ । त्यस्तै काठमाडौँमा सम्पन्न भएको लगानी सम्मेलनमार्पmत भारतको प्रतिष्ठित ताज होटल ग्रुपले संयुक्त लगानीका लागि सहमतिपत्रमा हस्ताक्षर गरेको छ । गतवर्ष तिलगङ्गास्थित चार सय शैयाको पशुपति धर्मशालाको उद्घाटन र हस्तान्तरण दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा भइसकेको छ । यसैगरी रामायण सर्किट, बौद्घ सर्किटलगायतका धार्मिक पर्यटकीय महŒवका संयुक्त परियोजना कार्यान्वयनको प्रक्रियामा छन् ।
नौलो विचारधारा र दर्शनका साथ हातेमालो गरिरहेका दुवै देशका सरकारले सम्बन्धका परम्परागत संरचनालाई सकारात्मक दिशातर्पm अगाडि बढाउने क्रम जारी राख्दै नयाँ आयाममा प्रवेश गर्नुपर्ने पनि उत्तिकै महŒवको विषय हो । नेपाल र भारतको एउटै साझा संस्कृति हो । आज समस्त विश्वले योग र ध्यानलाई अङ्गीकार गरेको छ । योगको उत्पत्ति संसारमा कुनै पनि धर्मभन्दा पहिलेको रहेछ । आज विश्वका लोकतान्त्रिक, समाजवादी, इस्लामिक अथवा अन्य कुनै पनि मान्यता भएका देशमा योगलाई स्वीकार्य बनाइएको छ । पतञ्जलिको परिकल्पना बाबा रामदेवका साथै आचार्य बालकृष्ण बिना साकार हुन सक्दैन ।
पर्यावरणले आज पूरा विश्वलाई चिन्तित तुल्याएको छ । नेपाल र भारत सांस्कृतिकरूपमा प्रकृति पूजनको माध्यमबाट प्रकृति संरक्षकहरूको देश हो । यहाँ पहाड, नदी, वन, पशु, पक्षी र वृक्षहरूको भगवान्सरह पूजा गर्ने चलन छ । हामी वृक्षको तुलना सन्तानसँग गर्छौं भने नदीहरूलाई आमाको स्वरूप मानिन्छ । ‘वृक्षाद् वर्षति पर्जन्यः पर्जन्यादन्न सम्भवः’ अर्थात् वृक्षको कारणले जल, जलबाट अन्न र अन्नबाट नै जीवन सम्भव छ । वन जङ्गललाई मानव जीवनका लागि अपरिहार्य मानिएको छ । हिन्दुधर्मका चार महत्वपूर्ण चरणमध्ये ब्रह्मचर्य, वानप्रस्थ र सन्यासको प्रत्यक्ष सम्बन्ध वनसँग जोडिन्छ । हाम्रा हिमालय पर्वत शृङ्खला देवताहरूको वासस्थान मानिएका छन् । कैलाशलाई भगवान् शिवको बसोवास हुने ठाउँ भनिन्छ । भौतिक एवं प्रौद्योगिकी विकासका कारण विश्वमा धेरै सुविधा थपिए पनि पर्यावरणको दृष्टिले अवस्था चिन्ताजनक रहँदै आएको छ । हरियो वन सखाप पारेर उद्योग र कङ्क्रिटका जङ्गल बनाएका पश्चिमा जगत्का लागि आफ्ना भावी सन्ततिलाई प्राकृतिक जीवन उपलब्ध गराउनु चुनौती बन्दैछ । कार्बन उत्सर्जनबाट जनजीवनमा पर्दै आएको नकारात्मक प्रभाव कम गर्न विश्व समुदायका लागि हामी उदाहरण दिने हैसियतमा छौँ । भारतमा पवित्र गङ्गा नदीलाई सफा पार्न ठूलो अभियान सञ्चालन गरिएको थियो । नेपालका नदीहरूलाई पनि सफा बनाउने प्रयास अगाडि बढेको छ र यसै क्रममा सगरमाथालगायतका हिमालसम्मको बृहत् सफाइ कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
भौतिकताको चरम विकास भइरहेको युगमा मानवता लोप हुँदै गएको देखिन्छ । औद्योगिक विकासको तीव्रगति अनुसरण गर्दा पारिवारिक मूल्य र मान्यता विस्मृतिमा परेका छन् । व्यापार र धन–सम्पदा बटुल्ने क्रममा पारिवारिक विखण्डनका घटना वृद्घि भएका छन् । नेपाल र भारतमा सम्बन्धविच्छेदको दर १० प्रतिशतभन्दा कम छ भने अमेरिकामा ४६ प्रतिशत लक्जम्बर्गमा ६६ प्रतिशत, पोर्चुगलमा ७१ प्रतिशतसम्म पुगेको छ । कतिपय देशमा यो दर ८७ प्रतिशतसम्म पुगिसकेको देखिन्छ । आज दुनियाँका धेरै देश यो समस्याबाट आजित छन् । व्यापार र धन–सम्पत्ति मात्रले अमनचैन हुन नसक्ने कुरा बुझिरहेका छन् । आफ्ना सन्तानलाई राम्रो वातावरणमा हुर्काउन खोजेकाले आज विश्व योग र ध्यानप्रति आकर्षित भएको छ । जैविक उत्पादन र सहज संयुक्त पारिवारिक संरचना अहिले सर्वाधिक चासोको विषय हो । त्यसको कारण पनि आफ्ना मूलतिर फर्किने चाहना नै हो तर पुर्खाले सिकाएको सहजतापूर्वक जीवन बाँच्ने तरिका हाम्रा लागि सम्पत्ति हो जुन विश्व समुदायलाई दिन सकिन्छ ।
नेपाल र भारतबीच कतिपय मतान्तरका विषय पनि रहने गरेका छन् । यो स्वाभाविक पनि हो तर राजनीति र कूटनीति बाहेकका अन्य मुद्दामा कार्यगत एकता वृद्घि गर्दा परिणाम सकारात्मक हुने देखिन्छन् । व्यापार घाटा नेपाल–भारतबीच सर्वाधिक चर्चित विषय बन्दै आएको छ । नेपालले वार्षिक लगभग ७० अर्ब रु. बराबरको भारतसँग व्यापारघाटा ब्यहोर्दै आएको छ । यो घाटाको मुख्य कारण पेट्रोलियम पदार्थको अत्यधिक खरिद हो । यसलाई पूर्ति गर्ने उपायका रूपमा नेपालको विद्युत् भारतलाई बिक्री गर्ने सोचका साथ अगाडि बढाइएका परियोजना समयमा निर्माण हुन नसक्दा व्यापारघाटा थपिँदै गएको छ । महाकाली सम्झौता अन्तर्गतको पञ्चेश्वर परियोजनाको शिलान्यास २० वर्ष अघि भइसक्दा पनि आजसम्म अपूर्ण नै छ । उता भारतमा वैकल्पिक ऊर्जाको तीव्र विकास भएकाले नेपाली विद्युत्को माग क्रमशः घट्दै जाने देखिन्छ । तथापि घरेलु खाना पकाउने ग्यासलगायतका नेपालको आन्तरिक खपतमा विद्युतीय उपकरणको प्रयोग बढाएर पेट्रोलियम आयातलाई कम गरी व्यापारघाटा कम गर्न सकिन्छ ।
नेपालको जलविद्युत्का लागि बजारको कमी छैन । काठमाडौँमा भएको बिमस्टेक सम्मेलनमा भएको सहमति अनुसार ‘इन्टरनेशनल ग्रिड कनेक्शन’ मार्पmत नेपालको बिजुलीलाई बङ्गलादेशदेखि म्यानमार र थाइल्याण्डसम्म पु¥याउन सकिन्छ । तसर्थ नेपाल–भारत सम्बन्धको बदलिँदो आयामलाई स्वागत गर्दै देशको अर्थतन्त्रमा गुणात्मक वृद्घिको दिशामा सकारात्मक प्रयास गर्नु आवश्यक छ ।
व्यापारघाटाको पूर्ति जागिर गरेर पाउने मासिक तलब (रेमिट्यान्स) बाट सम्भव हुँदैन । व्यापारिक प्रयोजन बाहेकका विकल्पमा गएर सकारात्मक परिणाम प्राप्त गर्न सकिँदैन । नेपालको कुल गार्हस्थ उत्पादनमा कृषिक्षेत्रको योगदान २७ प्रतिशतभन्दा बढी देखिन्छ । राज्यबाट यस क्षेत्रमा प्रोत्साहन दिएर कृषिलाई निर्यातमुखी बनाउन सके भारतसँगको व्यापार घाटामा कमी ल्याउन सकिन्छ ।
नेपालमा विदेशी मुद्रा आर्जनको महŒवपूर्ण माध्यममध्ये रहेको पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ । विशेषरूपमा भारतबाट आउने पर्यटक लक्षित कार्यक्रम राखेर व्यापारघाटा कम गर्न सकिन्छ । अहिलेसम्म अधिकांश भारतीय पर्यटक तीर्थयात्रीका रूपमा आउने गरेका छन् । चार–पाँच लाखको सङ्ख्यामा आउने गरेका यी पर्यटकको ध्यान देवीदेवताको दर्शनमा केन्द्रित हुने गरेकोले न्यूनतम खर्च गर्दा अन्य व्यापारिक क्षेत्रका लागि खासै लाभकारी हुने गरेको देखिँदैन । पर्यटन वर्ष २०२० लाई ध्यानमा राखेर सरकारले २० लाख पर्यटक भिœयाउने योजना राखेको छ । वर्तमानमा आउने लगभग सात लाखको हाराहारीमा रहेको पर्यटक सङ्ख्याको हिसाबले यो उत्साहप्रद देखिए पनि विश्व बजारमा यो थोरै हुन्छ । सिङ्गापुर, फिलिपिन्स, थाइल्याण्डलगायतका एसियाली मुलुकले बर्सेनि एक करोडभन्दा बढी पर्यटक भिœयाउने गरेका छन् । नेपालमा पनि पर्यटनलाई उच्च प्राथमिकतामा राख्दै परम्परागत पर्यटकीय क्षेत्रभन्दा पनि एडभेन्चर टुरिज्म, इको टुरिज्म जस्ता आधुनिक धारणालाई अगाडि सार्नु उपयुक्त हुनेछ ।
हामी जस्तै भोगोलिक अवस्थिति भएको भारतका उत्तराखण्ड राज्यले इको टुरिज्मका माध्यमबाट राजस्व सङ्कलनमा गुणात्मक वृद्घि प्राप्त गरेको छ । नेपालको सीमासँग जोडिएका अत्यधिक गर्मी हुने विहार र उत्तरप्रदेश जस्ता राज्यमा बस्ने भारतीयलाई यहाँको शीतल र स्वच्छ वातावरणसहितको इको टुरिज्मका प्याकेज उपलब्ध गराएर ठूलो सङ्ख्यामा पर्यटक भिœयाउन सके भारतसँगको व्यापारघाटामा सकारात्मक परिणाम आउने निश्चित छ । सीमा जोडिएका देशहरूमा विवाद भइरहनु सामान्य विषय हो । यो समस्या दुनियाँका प्रायःजसो सबै मुलुकमा देखापर्छ । तर सीमा विवादलाई थाती राख्दै परस्पर व्यापार र अन्य व्यवहारलाई प्राथमिकतामा राखेर सबैले आफ्नो छिमेक सम्बन्धलाई सहज बनाउने गरेका छन् । मित्र परिवर्तन हुन सक्छ तर छिमेकी परिवर्तित हुँदैन । नेपाल र भारतबीच रहेका विवादित विषयको समाधान समयसापेक्ष ढङ्गले हुँदै जानेछन् तर यही विषयमा अड्किनु बुद्घिमानी होइन ।

(लेखक राजनीतिक/कूटनीतिक विश्लेषक हुनुहुन्छ । )

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?