logo
२०८१ मंसिर ६ बिहीवार



हरितालिकाको हरिबिजोग

विचार/दृष्टिकोण |




वीणा सिन्हा

राजधानीको कृष्ण पार्टी प्यालेसमा १५० जना महिला नेपाल–भारतमैत्री सङ्घको केन्द्रीय महिला सदस्यहरूको निम्तामा जम्मा भएका थिए । कार्यक्रमको सुरुवात राष्ट्रियगानबाट भयो । आरम्भमा कार्यक्रम सञ्चालकले तीजको महŒव चर्चा गरे । मधेसी महिला वक्ताद्वारा तराईमा तीजको महŒव र मनाउने तरिकाको जानकारी प्रस्तुत गरियो । साथै अतिथि वक्ताहरूले तीजको पारम्पारिक महŒव र वर्तमानमा त्यसको उपयोगितामाथि प्रकाश पारे । महिला सशक्तीकरण तथा व्यक्तिकरणको माध्यमका रूपमा तीजको कार्यक्रम उपयोग गर्न सुझाव आयो । यही मौकामा देशको पहिलो महिला साझा यातायात चालकको पनि सम्मान भयो ।
यस्तै नेपाल इन्जिनियर समिति समाजको तीजसम्बन्धी कार्यक्रममा पनि समाजमा राम्रो काम गरिरहेका महिलाहरूको सम्मान तथा आममहिलाद्वारा लिखित पुस्तक ‘मनको कुरा’ को लोकार्पण भयो र महिलाहरूलाई पे्ररित र जागृत गर्नेसम्बन्धी व्याख्यान वक्ताहरूले दिए ।
यो प्रसङ्ग यसका लागि उद्धृत गरिएको छ कि तीजको दरको कार्यक्रम यसरी सार्थक बनाउनुपर्छ । केही दिनअगाडि ललितपुरका प्रमुख जिल्ला अधिकारीले टीभी समाचारमा एउटा आदेश पढेर सुनाउनुभएको थियो, “तीजको दरको कार्यक्रममा महिलाहरू भड्किलो पहिरनमा भारी गरगहना लगाएर पार्टी प्यालेस तथा रेस्टुरेन्टमा पुग्छन् र ठूलो स्वरमा देशी–विदेशी अश्लील र भड्किलो स्वरको गीत–सङ्गीतमा नाच्ने गाउने गर्छन्, जसले समाजको वातावरणमा नकारात्मक असर पर्छ । त्यसैले उनीहरूलाई भड्किलो पहिरन तथा गरगहनाको प्रदर्शन नगर्ने र ठूलो स्वरमा गीत–सङ्गीत बजाउन संयम अपनाउनु आग्रह छ । ’ ललितपुरका जिल्ला अधिकारीले मात्र होइन, अरू जिल्लामा पनि यसरी रोक लगाउनका लागि सूचना जारी गरिएको छ ।
सत्य हो, आजकल तीजको दर खाने–खुवाउने नाममा विभिन्न विकृति भित्रिएको छ । पहिले–पहिले दरका रूपमा मिठाइ, खीर तथा दूधले बनेका परिकारको चलन थियो भने हिजोआज माछा–मासुको प्रयोग हुन थालेको पाइन्छ । सहरी क्षेत्रमा तीज आउनु महिना दिनअगाडि नै महिलामा दर खुवाउन चन्दा माग्ने र टिकट बेची रकम असुल्नेहरूको प्रतिस्पर्धा देखिन्छ । रेस्टुरेन्ट, पार्टी प्यालेसमा भव्य रूपमा तीजको दर खाने व्यवस्था हुन्छ । यसरी आयोजना गरिएका कार्यक्रमहरूमा धार्मिक भावनाले ओतप्रोत भई आपसी सद्भाव र पे्रम बाँड्दा राम्रो हुन्छ तर त्यहाँ त्यसो नभई, गरगहना र पहिरन प्रदर्शन हुन्छन् । दिदीबहिनीहरू एकैठाउँमा जुटेर मनका भावना एवम् सुख–दुःख साटासाट गर्ने र दर खाने चलनले यतिखेर सामाजिक विकृतिको रूप धारण गरेको छ । कुन संस्थाले कति धन सङ्ग्रह गरेको छ र तीज कार्यक्रम भव्यतासाथ सम्पन्न गरेको छ कि छैन भन्ने चासोको विषय बन्न गएको छ । वास्तवमा चाडपर्व समाजका धनी–गरिबबीचको व्यवहार एवम् लवाइ–खवाइको दूरीको द्योतक बनिरहेको छ ।
स्पष्ट छ, तीज मनोरञ्जन प्रदर्शन गर्ने साधन बनिरहेको छ । अहिले हरेक क्षेत्रमा आधुनिकताको प्रभाव बढिरहेको छ । कमाइका आधारमा उच्च वर्गका मानिस लाखजति छन् भने मध्यम वर्गका दुई करोड एक लाखको हाराहारीमा छन् । साथै हाम्रो देश गाउँप्रधान मुलुक हो । यस्तो स्थितिमा उच्च वर्गले आफ्नो धर्म–संस्कृति र परम्परालाई आधुनिकता दिने नाममा खालि नाचगान र खानेकुरामा मात्र केन्द्रित हुन खोजेका छन् । त्यसको हावाले बिस्तारै ग्रामीण भेगका महिलालाई पनि छुन थाल्छ । अर्काको देखासिकीका आधारमा पर्व परिष्कृत हुँदैन ।
आजको लोकतान्त्रिक युगमा हरेक पक्षमा आएको परिवर्तनले तीज मनाउने चालचलन र प्रक्रिया परिवर्तन हुनु स्वाभाविक छ । स्वास्थ्यमा नकारात्मक असर पार्नेगरी व्रत बस्ने, गरगहना र पहिरनको प्रतिस्पर्धा गर्ने, गीतमा अभद्र, अश्लील शब्दहरूको प्रयोग गर्नेजस्ता विविध समस्या निराकरण गरी यस पर्वलाई माया, ममता, आस्था, आदर, सम्मानको चाड बनाउनुपर्छ । पर्वको प्राचीन महŒव कायम राखी यसको सकारात्मक पक्ष उजागर गरी महिलाको पर्वका रूपमा स्वीकार्नुपर्छ । आडम्बर र प्रदर्शनको पर्व बनिरहेको ‘तीज’ लाई वास्तविक तीज पर्व हो भन्ने भावना जोड्नुपर्छ ।
महिलाले तीजलाई आफ्नो पीडा र दुःख अभिव्यक्तिको माध्यम बनाउनुका साथसाथै सरोकारवालासम्म आफ्नो आवाज पु¥याउने साधन बनाउनुपर्छ । महिला सचेतना र जागरण कार्यक्रम बनाई देशभर सञ्चालन गर्नुपर्छ । आममहिलाले यो मौकाको फाइदा लिनु आवश्यक छ ।
तीज प्रत्येक वर्ष भाद्र शुक्लपक्ष तृतीयाको दिन उपवास बसेर उल्लासपूर्वक मनाइने पवित्र चाड हो । पौराणिक कथाअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी निराहार व्रत बसेर तपस्या गरेपछि यो चाडको सुरुवात भएको मान्यता छ । शिवलाई पतिका रूपमा पाएपछि उनले सो कार्यमा सहयोग पु¥याउने सङ्गिनीहरूलाई भेला गरी नाचगानसहित भोज खुवाएकी थिइन् र सोही धार्मिक विश्वासअनुसार हिन्दु धर्मावलम्बी महिलाहरू तीजमा तीज गीत गाउने, नाच्ने र विभिन्न परिकार बाँडीचुडी खाने गर्छन् । पार्वतीलाई सङ्गिनीहरूले हरण गरी लगेकाले त्यस दिनलाई ‘हरितालिका’ भनिएको हो । तर, अहिले यो पर्वको हरिबिजोग गराइन थालिएको छ ।
पहाडी क्षेत्रभन्दा तराईमा तीजको स्वरूप र मनाउने तरिका भिन्न छ । पहाडी क्षेत्रमा तीज विवाहित र अविवाहित सबै महिला र युवतीले मनाउँछन् । तर, तराई क्षेत्रमा मात्र विवाहित महिलाहरू आफ्नो विवाहित जीवनको दीर्घायुको कामना गर्दै व्रत बस्छन् । दर खाने–खुवाउने चलन छैन । व्रत बस्नका लागि नवविवाहिताहरू माइती जान्छन् । माइतीबाट भाइहरू, ससुरालीका सदस्यहरूलाई लगाइदिनका लागि गरगहना, साडी, लुगा र खानेकुराहरू फलपूmल, मिठाइ, दही लिएर आउनुपर्छ । माइतीले पठाएको सामान मन नपराएको स्थितिमा ससुराली पक्षको तीतो र पीडादायक कुरा सुन्नुपर्छ । व्रतालुका लागि नयाँ साडी लगाउनु अनिवार्य छ तर रातो रङ जरूरी छैन । तीजमा लगाइने चुरा र निधारमा लगाइने सिन्दुर बिहेमा दिइएको लगाउनुपर्छ । भाद्र द्वितीयाको राति तीन बजे उठी हरेक व्रतालुको सरगही अर्थात् दहीचिउरा खाने गरिन्छ । किनकि अर्को बिहान निराहार व्रत बस्नुपर्छ ।
पहाडी क्षेत्रका महिलामा तीजको व्रतमा शिव मन्दिरहरूमा गएर दिनभर पूजा, नाचगान गर्ने चलन छ । तराई क्षेत्रमा भने पण्डित पुरोहितलाई घरमा बोलाएर बालुवाको शिवपार्वतीको प्रतिमा बनाएर पूजा गरिन्छ । पूजामा फलफूलसँग पिडिकिया (सुजी मैदाको परिकार) र ठेकुआ पकाएर चढाउँछन् । पण्डितले भगवान् शिव–पार्वतीको बिहेको कथा सुनाउँछन् । पछि शिव–पार्वतीसम्बन्धी लोकगीत गाउँछन् । रातमा पूजा गरिसकेपछि व्रतालुहरूले जाग्राम बसी भोलिपल्ट दानपुण्य गरी समग्र पूजाको सामग्री र बालुवाको शिव–पार्वतीको प्रतिमा नदीमा बगाएपछि अन्न, जल आदि खाने गर्छन् । तत्पश्चात् आफन्तलाई निम्ता दिएर प्रसाद र मीठो खानेकुरा खुवाउँछन् ।
मिथिला क्षेत्रमा तीजको प्रचलन न्यून छ । ब्राह्मण समुदायका महिला तीज मनाउँदैनन् । कायस्थ, क्षत्रीय र वैश्व समाजमा बिहे भएपछि अनिवार्य रूपमा यो व्रत बस्नुपर्छ ।
प्रायः तीजमा स्त्री निर्जला, निराहार व्रत बसेका हुन्छन् भने पुरुष वर्ग अथवा पति भट्टीमा गई मद्यपान र मासु खान्छन् । स्पष्ट छ– जसको दीर्घायुको वा राम्रो पति पाऊँ भन्ने कामना गरेर महिलाहरू व्रत बस्ने गर्छन् तर उनीहरूमध्ये अधिकांश यसको महŒव नबुझेर या जानी–जानी यस्तो विकृति अपनाउँछन् । थोरै पुरुषमा मात्र महिला या आफ्नी श्रीमतीप्रति पे्रमभाव हुन्छ । पुरुषहरूलाई पनि स्वस्थ रहनका लागि निराहार व्रत बस्न उचित हुन्छ किनकि अनुसन्धानमा पनि आएको छ कि निराहार बस्नु स्वास्थ्यका लागि फाइदाजनक छ ।
भन्न कुनै सङ्कोच छैन– तराईमा तीजको व्रत धार्मिक भावना लिएर मनाइने गरिन्छ तर पहाडी क्षेत्रमा तीजको धार्मिक पक्ष ओझेलमा परिरहेको छ ।

(लेखक नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हुनुहुन्छ । )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?