कमल रिजाल
धर्मशास्त्रमा गणेश प्रथम उपास्यदेव मानिएका छन् । हरेक काममा पहिले उनको पूजा गर्ने चलन छ । ऋग्वेदले कुनै पनि शुभकार्य गर्दा पहिले गणेशको सम्झना गर्नुपर्छ । अन्यथा विघ्न पर्छ भनेको छ । ऋग्वेद १० उपनिषद् दर्शनले त्यसै भनेको छ । इतिहास र पुराणले पनि त्यसै भनेको छ । यसमा व्यक्तिक्रम हुँदा गणेशकै दाजु देवसेनापति कुमारले समेत पटक–पटक मार खाएका छन् ।
रूपमा पार्वतीका पुत्र हुन्– गणेश । तर, शिवजीका औरसपुत्र भने होइनन् । पार्वतीले तपोबलद्वारा उत्पन्न गरेकी थिइन् उनलाई । उनको हात चारवटा छन् । टाउको हात्तीजस्तो छ, । रातो वर्ण छ । रातो रङ्ग मन पराउँछन् । मुसालाई वाहन बनाएका छन् । यस्तै–यस्तै तर सारमा ती सबै प्रतीक हुन् । मुसोको स्वभाव चञ्चल हुन्छ । यो रजोगुणको प्रतीक हो । रजोगुण सृष्टिको प्रतीक हो । सृष्टिका लागि कम्पन आवश्यक हुन्छ । यसको अर्थ उनी रजोगुणलाई आफ्नो वशमा राखी सृष्टि प्रक्रियामा सहयोग पु¥याउँछन् भन्ने हो । उनले हातमा पासा र अङ्कुश लिएका छन् । यो भनेको संहारको प्रतीक हो । संहारका देवता पनि उनै हुन् । जसको उत्पत्ति हुन्छ, उसको संहार अनिवार्य छ । पासा र अङ्कुशमार्फत उनले त्यो सन्देश दिएका छन् ।
वेदले गणेशलाई परब्रह्म परमात्माको विशिष्टम अवतार मानेको छ । यहाँ उनलाई प्रथम उपास्यदेवमात्र भनिएको छैन । प्रथम पुरुष, पुरुषोत्तम, देवस्वामी, महाज्ञानी, कीर्ति तथा ऋद्धिसिद्धिका धारक भन्दै समग्र जगत्को आधार मानेको छ । (ऋग्वेद २।३।१) यस्तै प्रसङ्ग कृष्ण यजुर्वेद (२।३।१४) र त्रिपुरातापिन्युपनिषद् (३) मा पनि छ । उपनिषद् दर्शनले पनि यस्तै अर्थ लगाएको छ । गणपत्याथर्व शीर्षका अनुसार चराचर जगत्को सृष्टिकर्ता पनि उनै हुन् । धारणकर्ता पनि उनै हुन् ।
भरणकर्ता पनि उनै हुन् । संहारकर्ता पनि उनै हुन् । सर्व. खल्विदं ब्रह्म भनेका पनि उनै हुन् । परब्रह्म परमात्मा भनेका पनि उनै हुन् । वाङ्मय, चिन्मय, आनन्दमय, परमानन्दमय, सच्चिदानन्दमय, ज्ञानमय, विज्ञानमय, गुणत्रयातीत, कालत्रयातीत, देह त्रयातीत, शक्तित्रयात्मक सबै उनै मानिएका छन् ।
(गणपत्याथर्वशीर्षंम् ५) शुक्लयजुर्वेद, कृष्ण यजुर्वेद, बौधायन गृह्यसूत्र, गणेशपुराण, वृहद् परासरस्मृति आदि ग्रन्थमा पनि यस्तै प्रसङ्ग छ ।
पौराणिक दर्शनमा पनि गणेशबारे प्रशस्तै चर्चा छ । पौराणिक ग्रन्थहरूले एकै स्वरले उनलाई प्रथम पुज्य मानेर उपासना गर्न सिकाएका छन् । गणेश पुराणका अनुसार ओमकार स्वरूप साक्षात् परब्रह्म परमात्मा भनेकै उनै हुन् । यसको अर्थ हो– गणेश परब्रह्म हुन् । परमात्मा हुन् । उनको आदि पनि छैन, अन्त्य पनि छैन । पार्वतीपुत्र उनको एक अवतारमात्र हो, मूलरूप होइन । उनको मूलरूप महागणपति रूप हो । जुन पञ्चमुखी गणेशको नामले परिचित छ । जुन शिव–पार्वतीको विवाहपूर्व पनि थिए । लक्ष्मीनारायणको विवाह पूर्व पनि थिए ।
गणेश कुनै अमूर्त देवताविशेषमात्र होइनन् । मूर्त तŒव हुन् । जसले संसार बनाएको छ, चलाएको छ, उपनिषद्ले यही अर्थमा लिएको छ । (अथर्वशीर्षोपनिषद् १।१) शुक्ल यजुर्वेदमा यसबारे सुन्दर व्याख्या भेटिन्छ । ‘गणानां त्वा गणपति गुँ हवामहे प्रियाणां त्वा प्रियपतिगुँ हवामहे निधीनां त्वा निधिपतिगुँ हवामहे ...।’ (शुक्लयजुवेद २३।१९) यहाँ तीन प्रसङ्ग छ– ‘गणपति, प्रियपति र निधिपति । ’ गणपति शब्दले गणको मालिक भन्ने बुझाउँछ । गणपति भन्नु र गणेश भन्नु एउटै हो । गण समूहवाचक शब्द हो । यो सुरक्षा फौजसित सम्बन्धित शब्दजस्तो लाग्छ ।
पुलिसमा, आर्मीमा बढी प्रयोग हुन्छ यसको । तर, यो त्यतिमा सीमित भने छैन । यसले शिवगण, देवगण, मनुष्यगण, राक्षसगण, समूह, जमात, वर्ग, दल, झुन्ड, हुल, ग्रह, नक्षत्र, समूह, थुप्रो, बगाल, बथान, हुल फौज, रास, ओइरो, छन्दशास्त्रका आधार, व्याकरण शास्त्रका इकाइ यावत् पक्षलाई बुझाउँछ । गणपति यिनीहरूकै स्वामी, मालिक, नेता, नायक हुन् । गणपतिको वन्दना गर्नु भनेको उल्लिखित गणसमुदायको सम्मान, स्मरण, सदुपयोग, संरक्षण गर्नु हो । उनीहरूप्रति वफादार नभई, कसैको पनि हित हुँदैन, समुन्नति हुँदैन । गणेशको पहिलो पूजा गर्नुपर्छ अन्यथा काम पूरा हुँदैन । विघ्न पर्छ भन्नुको अर्थ यही हो ।
प्रियपतिको आशय पनि त्यस्तै हो । तर, यहाँ पनि पहिले प्रिय शब्दकै अर्थ खोज्नुपर्ने हुन्छ । सामान्यतया प्रियको अर्थ हुन्छ मन परेको व्यक्ति । समूह वा पदार्थ । प्रिय शब्दको अर्थ बुझेपछि प्रियपतिको अर्थ स्वतः बुझिन्छ । आफूलाई प्रिय लाग्ने व्यक्ति, समूह, पदार्थ तथा प्रिय मान्ने व्यक्ति वा समूहको मालिक वा स्वामी भन्ने नै हो, अर्थ । गणपतिको उपासन गर्नु भनेको यिनै पक्षको संरक्षण, सदुपयोग र हितकारी काम गर्नु हो । गणेशको पहिलो पूजा गर्नुपर्छ भनेको पनि त्यही हो । जहाँ मन परेका वा मन पर्ने चीजको जतन हुन्छ, त्यहाँ मन पराउने वा हित गर्ने चीजको सम्मान भएको हुन्छ । अन्ततः त्यही कार्य नै पूर्ण भई चाहेको प्रतिफल पाउन सकिन्छ । प्रश्न उठ्न सक्छ– प्रिय लाग्ने चीज भनेका के होलान् त ? यो भनेको अरू केही होइन, आफ्नै घरपरिवार, परिसर, पशुपक्षी, हावापानी, माटो, वन–जङ्गल नै हो । यिनले नै आवश्यकता पूरा गर्छन् । तर, उनीहरूले त्यतिबेला आवश्यकता पूरा गरिदिन्छन्, जतिबेला उनीहरूको सम्मान वा सदुपयोग गर्न सकिएको हुन्छ ।
अब आयो निधिपतिको कुरा । यहाँ पनि पहिले निधिकै बारेमै प्रस्ट हुनु जरुरी हुन्छ । निधि भनेको खरखजाना वा धन–सम्पत्तिको समूह हो । निधि शब्दको अर्थ बुझिसकेपछि निधिपतिको अर्थ बुझ्न खासै अप्ठेरो पर्दैन । तिनकै मालिक वा स्वामी हुन्– निधिपति । निधि सबैका जीवनमा चाहिने चीज हुन् । यिनका अभावमा कसैको पनि जीवन सुखी हुँदैन, समृद्ध हुन सक्दैन । यसलाई प्राप्त गर्न तिनका मालिकलाई खुसी पार्नुपर्छ । त्यो भनेको तिनकै आधारभूत तहको सम्मान, सदुपयोग र संरक्षण हुनुपर्छ भन्ने हो । जतिबेला हामी त्यसप्रति वफादार हुन सक्छौँं, त्यतिबेला उनीहरू खुसी हुन्छन्, वरदायक बन्न सक्छन् ।
गणेशका अनन्त स्वरूप छन् । अनन्त काम छन् । उनी जतिबेला जस्तो रूपमा प्रकट हुनुपर्छ, त्यस्तै रूपमा प्रकट हुन्छन्, हुन सक्छन् । अनि जुन कामका लागि आएका हुन् वा उपासना गरिएको हो, सो काम फत्ते पारेर फर्कछन् । उनी पूर्णतः निरपेक्ष रूपमा रहन्छन् । उनको आफ्नो र पराई भन्ने नै हुँदैन । उनका लागि सबै बराबर हुन्छन् । तिनै गणेश राम्रो काम गर्नेका लागि विघ्नकर्ता बन्छन् । नराम्रो काम गर्नेका लागि विघ्नकर्ता बनिदिन्छन् । उनी आध्यात्मिक रूपले मूलाधार चक्रमा निवास गर्छन् । जसले प्राणीमात्रकै शरीरलाई सक्रिय पारी सञ्जीवनी ऊर्जा प्रदान गर्छन् । आधिदैविक रूपमा महागणपति स्वरूप मानिएका छन् ।
जसले तीन अक्षर (अ, उ, मको संयुक्तावस्था ओमकार), तीन लोक (भूः भुवः स्वः), तीन गुण (सत्व, रज, तम), तीन काल (भूत, भविष्य, वर्तमान), तीन गण (दैव, मानुस, स्थावर), तीन कर्म, (कर्म, अकर्म, विकर्म) तीनवटा स्थिति (जाग्रत, स्वप्न, सुषुप्ति), तीन रूप (विश्व, तैजस, प्राज्ञ), तीन अवस्था (ठोस, तरल, ज्ञास), तीन तŒव (अग्नि, वायु, सूर्य), तीन आकाश (घटाकाश, मठाकाश, महाकाश) आदिको व्यवस्थापन गर्छ । आधिभौतिक रूप सबैलाई थाहा भएकै कुरा हो, जो गौरीपुत्र वक्रतुण्ड, गजानन, विकट, लम्बोदर आदि नामले परिचित छन् ।
(लेखक गोरखापत्रका पूर्वप्रधानसम्पादक हुनुहुन्छ । )