गोकर्ण अर्याल
यतिबेला मुलुकको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समसामयिक राजनीतिक घटनाक्रम र देशको समग्र रूपान्तारणका सन्दर्भमा आफूलाई कुन रूपमा उभ्याएर विचार प्रस्तुत गरिरहेको छ भन्ने चासो देखिन थालेको छ । यससँगै काँग्रेसले पार्टीका संरचनाहरूलाई कुन रूपमा सञ्चालन गरिरहेको छ भन्ने पनि छ । राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको र संसदीय शासन प्रणालीको अनुभव बोकेको काँग्रेसले देशमा प्राप्त लोकतान्त्रिक मूल्य–मान्यता स्थापित गराउने दिशामा कस्तो भूमिका निर्वाह गरिरहेको छ र आफूभित्रको आन्तरिक लोकतन्त्रलाई कसरी अगाडि बढाउँदै छ भन्ने कुराले चर्चा पाउनु स्वाभाविक हो ।
यतिखेर मुलुकसामु उठेका प्रश्नका सन्दर्भमा काँग्रेसले कस्तो भूमिका खेलिरहेको छ भन्ने जिज्ञासा र चासो पनि यही सन्दर्भमा जोडिएर उठ्ने गरेका हुन् । काँग्रेसले जनताका पक्षबाट उठाउनुपर्ने विषयमात्र होइन, उसले आफ्नो आन्तरिक जीवनमा सुधार गर्नुपर्ने थुप्रै पक्ष छन् । सबैभन्दा ठूलो कुरा वर्तमान संविधान जारी गर्ने नेतृत्व गरेको काँग्रेसले त्यस संविधानअनुरूप पार्टीको संरचना निर्माण गर्न सकिरहेको छैन । वर्तमान संविधान जारी भएको चार वर्ष बितेको छ ।
त्यस संविधानअनुरूप तीनै तहमा सरकार निर्माण भएको लामो समय भइसक्दासमेत काँग्रेसले त्यसअनुरूप पार्टीका संरचना बनाउन सकिरहेको छैन । यी संरचना नबन्दा पार्टीको तर्फबाट स्थानीय सरकारमा रहेकाहरूको कामको अनुगमन र मूल्याङ्कन प्रभावकारी रूपमा हुन पाएको छैन । सबैलाई नीति, नियम र विधि सिकाउने हैसियत बोकेको दल यसमा पछि पर्न हँुदैनथ्यो । भलै ढिलै भए पनि सङ्घ, जिल्ला, प्रदेश, क्षेत्र, नगर, गाउँपालिका हुँदै वडा र टोल कमिटीसम्मका संरचना बनाउने कुरामा काँग्रेसमा सैद्धान्तिक सहमति जुटेको छ । यसले चाँडै मूर्त लिन सक्यो भने काँग्रेसको सङ्गठन समाजको तल्लो निकायसम्म पुग्छ ।
यी संरचनाहरूको निर्माण हुन नसक्दा पार्टीका सङ्गठन कमजोर हुन पुगेका छन् । दलका कार्यकर्ता निलम्वनमा परेका सिपाहीजस्ता भएका छन् । विवेक प्रयोग गरेर काम गर्न पनि नपाउने, गर्न खोजे अङ्कुश लगाउने पुरानै परिपाटी पार्टीमा अझै हटेको छैन । यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुँदैन ।
काँग्रेसलाई चलायमान गराउने महŒवपूर्ण निकाय भनेका यसका भ्रातृ संस्थाहरू नै हुन् । यी संस्थाहरूको सक्रियताले नै काँग्रेसको सिङ्गो जीवन प्रभावकारी हुन्छ । समाजको हरेक निकायमा यी संस्थाहरूको पहुँच र सक्रियताका कारण नै काँग्रेसको जीवन दीर्घ भएको हो । तर, यतिबेला काँग्रेसका धेरै भ्रातृ संस्थाहरू विघटनका अवस्थामा छन् र विघटन नभएकाहरू पनि निष्क्रिय छन् ।
यी संस्थाहरू सक्रिय नहुँदा पार्टीका गतिविधि जनताको तहसम्म पुग्न सकेको छैन । एक हिसाबले पछिल्लो युवा पुस्तालाई नेपाली काँग्रेसले आफ्नो राजनीतिसँग घुलमिल हुने नीति र कार्यक्रम दिन सकिरहेको छैन । यो वर्ग र शक्ति टाढिँदै जाने अवस्थाले काँग्रेसको शक्तिलाई कमजोर गराइरहेको छ ।
युवा वर्गलाई सङ्गठित र ऊर्जाशील बनाउने नेपाल विद्यार्थी सङ्घ विघटनको अवस्थामा छ भने तरुण दलको अवस्था पनि उस्तै छ । महिला सङ्घको नेतृत्वबारे सचेत महिलाले नै थाहा पाउने अवस्था छैन । किसान सङ्घ, दलित सङ्घ र भूतपूर्व सैनिक सङ्घलगायतका यस्ता धेरै सङ्घ–संस्था निष्क्रिय र प्रभावहीन बनेका छन् ।
यस्ता संस्थाहरूको केन्द्रीय कार्यालय खुला रहेको विरलै देख्न पाइन्छ । यी संस्थाहरू गतिशील हुन नसक्दाको परिणाम समग्रमा काँग्रेसले भोगिरहेको छ । यस्ता संस्थालाई पार्टी नेतृत्वले जबरजस्त ढङ्गले आफ्नो नियन्त्रणमा ल्याउन अङ्कुश लगाउनुभन्दा निर्वाचनको माध्यमबाट नेतृत्व चुन्ने वातावरण बनाउनुपर्छ । काँग्रेसले विधि र प्रक्रिया छाड्दैन भन्ने विश्वासका कारण नै यसप्रति जनविश्वास बढेको हो । नीति, नियम र विधिविपरीतका निर्णय गर्न खोज्दा के हुन्छ भन्ने कुरा काँग्रेसले बुझ्न बाँकी छैन होला ।
यतिबेला समाजमा बेथिति बढेर गएको छ । बजार भाउ बढेको बढ्यै छ, सुशासनको कुरा प्रतिबद्धतामा मात्र सीमित भएको छ । जनतालाई परेका समस्या वा नीतिविपरीत हुने गरेका गतिविधिका विषयमा जनताका प्रतिनिधिले नबोल्ने राजनीतिक प्रवृत्ति हाबी हुँदै जान थालेको छ । आफू र आफ्नो दल अनुकूलका कुरामात्र गर्ने आमनागरिकका वास्तविक पीडामा मौन रहने राजनीतिक चरित्रलाई कुनै पनि समाजले ग्रहण गर्न सक्दैन । यस्ता कमीकमजोरीलाई प्रतिपक्षी दलले आवाज उठाउनुपर्छ भन्ने गलत मान्यता रहिआएको छ । देश र जनताका पीरमर्का र गुनासाका पक्षमा जोसुकै जनप्रतिनिधिले बोल्दा पनि अन्यथाको विषय हुन सक्दैन । प्रमुख प्रतिपक्षी दल मुलुकको वैकल्पिक राजनीतिक शक्ति हो । अहिले जनताका तर्फबाट उठाउनुपर्ने धेरै विषय छन्, यसलाई काँग्रेसले किन सङ्गठित रूपमा उठाउन सकिरहेको छैन ? काँग्रेसले जनताको मन जित्नेगरी काम गर्न किन सकिरहेको छैन ? यस्ता प्रश्नहरूले काँग्रेस नेतृत्वलाई झक्झक्याइरहेको छ । कतिपय सन्दर्भमा उसले उठाएका विषयवस्तु जायज हुँदाहँुदै पनि बीचैमा छोडेकाले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन भन्ने गुनासा पनि सुनिन्छ ।
संसद्मा उठाउनुपर्ने थुप्रै विषयवस्तु हुँदा पनि काँग्रेसले उठाएन वा आफ्ना एजेन्डालाई छोडेर अन्य दलको एजेन्डा बोक्न पुगेको आरोप पनि काँग्रेसमा छ । यी सबैको परिणाम आन्तरिक रूपमा तयार नगर्नु र पार्टीले उठाउनुपर्ने विषयका बारेमा राम्रो छलफल र बहस नहुनु रहेको पाइन्छ । यसैको अभावमा एउटै विषयमा दलका नेताहरूको फरक–फरक धारणा आउने गरेको छ । यस्ता दृष्टिकोणले समाज र कार्यकर्ताको तहमा भ्रम पैदा हुने गरेको छ ।
काँग्रेस भित्री रूपमा कहाँनेर कसरी उभिएको छ, थाहा छैन तर सतहमा हेर्दा आन्तरिक विवादमा रुमलिएको छ । यथार्थमा काँग्रेस पार्टीमा मौलाउँदै गरेको गुट र उपगुटका कारण देशको कुनै पनि मुद्दामा दह्रो रूपमा उभिन सकिरहेको छैन । चाहे संसद्मा प्रस्तुत हुने विषयमा होश चाहे देशका जल्दाबल्दा र महŒवपूर्ण विषयमा किन नहोस् काँग्रेसले आफूलाई सशक्त र प्रभावकारी रूपमा प्रस्तुत गराउन सकेको छैन ।
एकाध घटनाबाहेक संसद् र संसद्बाहिरबाट देश र जनताको पक्षमा उठाउनुपर्ने विषयमा काँग्रेसको स्वर उच्च देखिने गरेको छैन । यसो हुनुमा सबैभन्दा ठूलो कुरा काँग्रेसले आफूभित्रको आत्मविश्वासलाई कमजोर बनाउँदै जानु हो । त्यसका लागि आफू नीति, विधि, प्रक्रिया र पद्धतिबाट अगाडि बढ्न सक्नुपर्छ । अहिले काँग्रेसभित्र यही आवाज चर्को रूपमा उठ्ने गरेको छ ।
यिनै कुरालाई व्यवस्थापन गर्न नसक्दा बेलाबखत समस्याहरू आउने गरेका छन् । पार्टी विधि र प्रक्रियाबाट चल्ने अवस्था रह्यो भने पार्टीभित्र रहेको गुट उपगुट स्वतः समाप्त भएर जान्छन् । कतिपय सन्दर्भमा नेतृत्वले विधि र प्रक्रियालाई मिचेर अगाडि बढ्न खोज्दा त्यसलाई रोक्न वा सच्याउनका लागि गुटहरू खडा हुनु अस्वाभाविक होइन तर काँग्रेसका गुटहरू यत्तिमा मात्र सीमित छैनन् । यतिखेर गुटहरूको व्यवस्थापन काँग्रेसका लागि चुनौती बनेको छ ।
यी गुटहरूको राम्रो व्यवस्थापन हुन सक्यो काँग्रेस अझ सबल र सुदृढ हुनेछ । यही सुदृढ र मजबुत शक्तिले देशका समस्या समाधानमा निर्णायक भूमिका निर्वाह गर्नेछ । यी समस्या समाधान र सुधारका लागि पनि काँग्रेसमा मजबुत शक्तिको आवश्यक छ ।
(लेखक गोरखापत्रका कार्यकारी सम्पादक हुनुहुन्छ । )