logo
२०८१ मंसिर ७ शुक्रवार



तीजको मौलिकता बचाउन हम्मे

विचार/दृष्टिकोण |




डा. नम्रता पाण्डे

तीजको व्रत बस्छु म त खान्न पानी पनि
वर माग्छु स्वामीज्यूलाई केही नहोस् भनी
मैं राम्री भएको तिम्रै लागि हो
मैं मन्दिर गएको तिम्रै लागि हो .....
हिन्दु नारीहरूको एक महŒवपूर्ण पर्वका रूपमा चिनिने तीज पर्व बिल्कुल पारिवारिक पर्व हो । हाम्रो जीवनयापनको माध्यम नै कृषि थियो र अहिले पनि छ । वर्षा ऋतुमा पर्ने यो पर्व वर्षे खेतीपाती विशेषगरी धान रोप्ने, गोडमेल गर्ने काम सकेर थोरै फुर्सदको अनुभूति गरी चेलीहरू कर्मघरबाट माइतीघर फर्की आराम गर्ने एउटा अवसर पनि हो तीज । धार्मिक पुराण र किंवदन्तीमा पार्वतीले शिवको आराधना गरेको प्रसङ्ग पनि प्रेम र परिवारसँग नै जोडेर हेर्न सकिन्छ । अहिले आधुनिकता र सम्पन्नताको आधारमा तीजका लवाइखवाइमा परिवर्तन आएको भए पनि यसको मौलिकता आफ्नै छ ।
वर्षा ऋतुमा प्राप्त तरकारी, फलफूलको प्रयोग गर्ने, महिलाहरू आफ्नो सौभाग्य पहिरनमा सजिएर प्रसन्नता र प्रफुल्लता अभिव्यक्त गर्ने र पारिवारिक जमघट गर्ने एउटा महŒवपूर्ण अवसरको पर्व हो यो । वर्षाभरि पानीमा भिजेर खेतीपातीमा लगाएको शरीरलाई चिसोबाट मुक्त गर्न अनदीको चामललाई घिउमा फुराएर खाजा अर्थात् चाम्रे भात र साथमा कर्कलो, करेला, भिण्डी, घिरौँला जस्ता मौसमी तरकारी खाने, वर्षाको समय दूध पनि प्रशस्त उपलब्ध हुने हुँदा खीरको परिकार बनाएर खाने प्रचलन यसको मौलिकता हो । खेतीपाती गर्दा सफा र नयाँ कपडा लगाइँदैन । त्यसैले साँचेर राखेको रातो सारी, पोते, चुरा, सिन्दूर लगाएर पर्वोत्सव मनाउने गरेका हुन् हाम्रा हजुरआमा, आमाहरूले । गहना र कपडाको देखासिकी र बढिबढाउ नगरीकन पनि हाम्रा हजुरआमा, आमाहरूले पर्वको महŒवलाई कायम राखेका थिए ।
श्रीमान्को नाममा व्रत बस्नु प्रेमको अभिव्यक्ति हो, मन्दिर जानु श्रद्धा र भक्तिको परिचय हो । उपवास वैज्ञानिक हिसाबले शरीरलाई सफा राख्ने एउटा अवसर हो । पर्वलाई तोडमोड गरेर जति तडकभडक बनाए पनि भित्रबाट मन प्रसन्न र प्रफुल्ल छैन भने बाहिरी शृङ्गार र देखावटी क्षणिक अभिव्यक्ति मात्र बन्न जान्छ । पहिरनले कसैको परिचय झल्किँदैन । वास्तविक परिचय त व्यक्तिको प्रेमिल, करुणादायी भावना, निष्कपट, स्वच्छ मन, सहयोगी भावना र आफैँमा सुखी अनि आनन्दित रहने गुणबाट प्रष्टिन्छ ।
तीजको अर्को मौलिकता भनेको वर्षभरि साँचेर राखेका, हृदयबाट सिर्जित भएका भावनाहरूलाई तीजे लोकभाकाको माध्यमबाट प्रस्तुत गरी लोकनृत्यको माध्यमबाट आफूभित्र रहेका कुण्ठालाई छताछुल्ल पारी खाली हुनु हो । जसरी भाँडामा रहेको पुरानो चिजलाई नफ्याँकी नयाँ सामान राख्न योग्य हुँदैन । त्यसैगरी मनरूपी भाँडोभित्र रहेका पुराना कुण्ठालाई नफ्याँकी नयाँ शुद्ध विचार आउने अवसर रहँदैन । भावनात्मक अभिव्यक्ति तीजे गीतका मौलिकता हुन् । जसमा परिवारका गुनासा, खुसी, दिदीबहिनीको प्रेम, आमाबुबा र दाजुभाइको महŒवलाई आफ्नै रचनाबाट प्रस्तुत गरिन्छ । यी रचना हृदयबाट प्रस्फुटन हुन्छन् । निर्मल, कोमल, स्वच्छ, नैतिकवान र पारिवारिक परिवेशमा सुन्न सकिने र सुन्दा हृदयको झङ्कार र आँखाबाट आँसु झर्ने खालका हुन्छन् । के आजकल प्रस्तुत हुने तीजे गीतले यस्तो महŒवलाई समेट्न सकेका छन् ? के आजकल मनाइने तीजको दर÷ खानपान र लवजले हाम्रो संस्कृति र मौलिकतालाई जीवन्त राखेको छ त ?
हाम्रा पर्व र तिनलाई मनाउने तरिकाले सामाजिक, आर्थिक, भावनात्मक र पारिवारिक रूपमै व्यावहारिकता झल्किने खालको हुनुपर्छ । तीजलाई कहाँ र कसरी मनाउने मुद्दामा अल्झिनुभन्दा पनि यो प्रत्येक घरको पारिवारिक पर्व भएकोले आफूले कसरी यसलाई सरल, सहज र नैतिकवान भएर महŒवका साथ मनाउन सकिन्छ, त्यसमा ध्यान दिनु उपयुक्त हुन्छ । हाम्रा पर्वले सहरमा बस्नेहरूको मात्र प्रतिनिधित्व गर्दैनन् । हाम्रो गाउँ, हाम्रो ठाउँ, हाम्रो पहिचान के हो, आजै भुलिहाल्न सकिने अवस्था छैन । सहर पस्नु रहर नभएर बाध्यता भएकाहरूले आफ्नो वास्तविकतालाई भुल्नु व्यावहारिक र दीर्घकालीन समाधान पक्कै होइन ।
ऋतु, मौसम, प्राकृतिक सुन्दरता र स्वभावलाई सम्झाउन आउने पर्वहरूलाई अप्राकृतिक तरिकाले मनाउन थाल्यौँ भने हाम्रो संस्कार कुसंस्कारमा धकेलिन सक्छ । नजानिँदो तरिकाले हामीले नै अप्राकृतिक जीवनशैली र तडकभडकलाई प्रश्रय दिइरहेका छौँ र जसको सिकार हामी आफैँ पनि भएका छौँ । कस्तो खाने, कस्तो लगाउने, कस्तो जीवनशैली अरूका सामु प्रस्तुत गर्ने र यसले हाम्रो स्वास्थ्य, मनस्थिति र परिस्थितिलाई कतातिर लैजान्छ भन्नेसमेत थाहा पाउँदैनौँ भने हामीले खोज्ने समृद्धि कस्तो खालको होला ? अधिकार र स्वतन्त्रताको नाममा आफ्नो मौलिकता नै गुम्छ कि ख्याल गर्नुपर्ने समय आएको छ ।
विकासको परिचय त आफ्नो आत्मविकासमा खोज्नुपर्छ । दुई चार पैसा कमाउन सक्ने भयौँ भन्दैमा त्यसको दुरूपयोग किन गर्नुप¥यो र ? “साग र सिस्नु खाएको बेस आनन्दी मनले” भनेझैँ हामीले कति आर्जन गरेका छौँ, भौतिक रूपमा कति सम्पन्न छौँ भन्ने कुरालाई हामी भित्रबाट शान्त, प्रसन्न, आनन्दित छौँ कि छैनौँ त्यसले मापन गर्छ । सहजता, सरलता, प्रसन्नता, करुणा जस्ता विना मूल्य प्राप्त भएका हाम्रा अमूल्य गहनाको जतन गर्न जान्यौँ र तिनै गहनाले सिँगारिन जान्यौँ भने हाम्रो मौलिक परिचय झल्किनेछ ।  

(लेखक स्वतन्त्र सामाजिक परामर्शदाता हुनुहुन्छ । )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?