logo
२०८१ जेष्ठ ६ आईतवार



विश्वविद्यालयमा उल्टो दौड

विचार/दृष्टिकोण |




डा. प्रमोद ढकाल

सुनिन्छ, नेपाली विश्वविद्यालयहरूमा नयाँ ‘राजा’ छनोट गर्नका लागि दौड सुरु भइरहेको छ । यो दौड पनि विगतका दौडहरू जस्तै महŒवपूर्ण छ, किनकि यो दौडले राष्ट्र निर्माणका लागि अत्यावश्यक र अति उच्चतम संस्थाको भविष्यसँग सम्बन्ध राख्छ । विद्यावत् अर्थतन्त्रको द्रुत निर्माण भइरहेको वर्तमान विश्व सन्दर्भमा कुनै पनि राष्ट्रका लागि विश्वविद्यालय जस्तो विद्याका उच्चतम संस्थाको महŒव कति होला भनेर कुनै लेखले अथ्र्याउन आवश्यक पर्दैन ।
सन्तानको विद्या आर्जनका लागि पहिले नेपालमा शुल्क तिर्ने र पछि विदेशमा ‘फिस’ तिर्ने नेपाली अभिभावकलाई थाहा छ– विद्या कति ‘मूल्यवान्’ हुन्छ भनेर । विद्या आर्जन गर्न विदेश जाने युवालाई थाहा छ किन ऊ जसरी पनि विदेश नै बस्नुपर्छ ? नेपालमै विद्याको व्यापार गर्न सफल उद्यमीलाई थाहा छ, विद्याको विनिमयदर कतिसम्म उच्च हुन सक्छ ? ती इतरका उद्यमीलाई थाहा छ विद्याको विनिमयदर कतिसम्म न्यून हुनसक्छ ? अनि धमिलो पानीमा माछा मार्न सजिलो मान्ने नेपालीलाई विद्याको धमिलो पानी कति उपयोगी वस्तु हो भनेर थाहा छ । अनि ती अवसरबाट वञ्चित नेपालीलाई पनि थाहा छ – ऊ कसरी विद्याबाट ठगिएको छ वा ऊ विद्याका कारण मूलप्रवाहमा नअटाएर मझेरीको कसिङ्गर झैँ बढारिएर कसिङ्गरदानीमा फ्याँकिएको छ ।
देश र विश्वविद्यालयमा राजनीति गर्नेहरूलाई लाग्छ, विद्यावत् उत्पादन अमेरिका र चीनमा भएर के भो त उनका हातमा पनि सेलफोन बजेकै छ र उनका फेसबुकमा पनि संवाद चलेकै छ । देशमा रोजगारी नभएर के भो त रेमिट्यान्सको फल फलेकै छ । शिक्षित नेपाली विदेश गएर के भो त विदेशी लगानीकर्ताले ठूलाठूला सम्झौतापत्रमा यहाँ रोजगारी ल्याइदिने आश घोलेकै छन् । विश्वविद्यालयलाई राजनीतिक खेल मैदान बनाएर के भो त अमेरिकी विश्वविद्यालयलाई पनि चिनियाँ विद्यार्थीले केके पढे मलाई बताओ भनेर ट्रम्पले भनेकै छन् । तर पनि नेपाली विश्वविद्यालयमा समस्याको चाङ बढेकै छ । एकगठ हुनुपर्ने नेपालीबीचको खुट्टा काटाकाट र विमतिको पारो चढेकै छ । विद्यावत् बन्ने नेपाली सपना बिरामी भएर लडेकै छ ।
त्यसो भए समस्याको चुरो के हो त ? दुर्भाग्यवश त्यसको एउटा चुरो छैन, समस्याका धेरै चुरा छन्, धेरै चिरा छन् । यहाँ यही सम्मुखमा रहेको दौडको आयोजनाको मात्र कुरा गरौँ । सम्झौँ, पौडीको दौडको आयोजना पानीमा गरिन्छ, म्याराथन दौडको आयोजना सडकमा र रिले दौडको आयोजना खास मैदानमा । त्यस्तै राजनीतिको दौड राजनीतिक मैदानमा, प्रविधिको दौड प्राविधिक मैदानमा र विद्याको दौड विद्याको मैदानमा गरिनु स्वाभाविक हो । मानव सभ्यताले धेरै पहिले त्यो कुरा जानेको हो । चाणक्यले विद्याको दौडमा भाग लिन पटना छोडेर तक्षशिला गएको र राजनीतिको दौडमा भाग लिन तक्षशिला छोडेर पटना जानुभएको हो ।
सय वर्षअघिका नेपालीले पनि विद्यामा दौडन काशी जाने, सुनधनका लागि दौडन बर्मा र कुतीतिर जाने, जागिर र पेन्सनका लागि दौडन लाहोर वा गोरखपुरतिर जाने, अनि गाउँको जिम्मा र भन्सारको ठेक्काका लागि दौडन राणाका दरबारतिर जाने ठीक हो भनेर जानेका थिए । आज राजनीति बदलिएको छ, अर्थतन्त्र बदलिएको छ, जागिर र पेन्सनका केन्द्र बदलिएका छन र विद्याका क्षेत्र र केन्द्र पनि बदलिएका छन् । विश्व समुदाय नै विद्यावत् हुनेछ भन्ने हल्ला छ ।
हल्ला र शक्तिकेन्द्रहरू बदलिएर के गर्ने ! हिजो ठेउले खोलाका दहमा खेलेको पौडीलाई पौडीकुण्ड (स्विमिङ् पुल) मा सारे पनि पौडी पौडी नै हो, पानीले आफ्नो धर्म बदलेको छैन । आज पनि राजनीति राजनीति नै हो, त्यसको खेलका नियम बदलिएका छैनन् ।
त्यस्तै हो शिक्षा, विद्या, विज्ञान, नवप्रवर्तनको कुरा पनि । तिनको खेल मैदान राजनीतिमा सरेको छैन । पौडीकुण्डमा हालिनु पर्ने पानी भलिबल मैदानमा हालेर के गर्ने पानीले पृथ्वीको गुण लिएको छैन ।
तर नेपालको कुरा बेग्लै छ । राष्ट्रको समृद्धिका लागि आवश्यक सबै खेलको मैदान राजनीतिमा सारिएको छ । यो कुरा आजका शासकलाई मात्र भन्न मिल्दैन, आज प्रतिपक्षमा बञ्चरो लिएर बसेका हिजोका शासकलाई र भोलिको शासक बन्न लालायित नवराजनीतिज्ञहरूलाई पनि भन्नैपर्छ– विद्या र राजनीति दुवै आवश्यक कुरा हुन् र पनि ती भिन्न हुन् । विद्याको आत्मगत, संस्थागत चरित्र र विद्याका पारखी खेलाडीको चरित्र राजनीतिक हुँदैन । तर नेपालमा भने विद्यावत् संस्थाका ‘राजा’ छान्ने दौडको आयोजना राजनीतिक खेल मैदानमा भइरहेको छ ।
समस्यालाई स्थायित्व दिन राजनीतिका बादशाहलाई विद्याको पनि बादशाहका पदमा राखिएको छ । नेपालका सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्रीलाई बनाइएको छ । त्यस्तो गर्नुहुँदैन भनेर लडिएको खुला विश्वविद्यालयमा त्यो पद शिक्षामन्त्रीकहाँ सारिएको छ, कुरा मूलतः उही नै हो । त्यसैले सके सोझै बादशाहको र नसके दलाल (ब्रोकर) को फेरो समातेर राजनीतिक दौडको अग्रपङ्क्तिमा को आउने हुन् उनीहरूले नै बाँडिचुँडी यहाँका उपकुलपति आदि नाम गरेका राजा रजौटाका पदहरू प्राप्त गर्छन् ।
मलाई सम्झना छ मैले नेपाली संसद्मा बुझाइएको खुला विश्वविद्यालयसम्बन्धी दस्तावेज विश्वविद्यालय अनुदान आयोगका तात्कालिक अध्यक्षलाई बुझाउन जाँदा उहाँ आफूले त्रिवि जीवनमा जहिलेसुकै उच्च प्रशासनिक पदमा काम गरेको र कहिल्यै अर्काको मुनि बस्न नपरेको बताउनुभएको थियो । उहाँलाई यो बताउन कुनै आवश्यक परेको थिएन कि उहाँले ज्ञानविज्ञानको कुन क्षेत्रलाई नयाँ मोड दिनुभयो, के नयाँ कुरा आविष्कार गर्नुभयो, कसरी उहाँको पेसा विद्यावत् थियो, विद्यावत् अभियानको कस्तो रूपान्तरणकारी योजना र लगावद्वारा उहाँको संस्थाका विद्यार्थी, शिक्षक र कर्मचारीको मन जितेका कारण वा कुन प्रतिस्पर्धा जितेका कारण उहाँका अरू साथीहरूलाई नदिइएका पदहरू उहाँलाई दिइएको थियो ।
अरू नभएर उहाँ नै ओहोदामा बस्नुले उहाँको संस्थामा उस्तै प्रकृतिका अन्य संस्थामा भन्दा के कति रूपान्तरण आएको थियो । म यो अनुमान गर्छु कि उहाँले आफ्नो राजनीतिक पार्टीभित्र आफ्नो खेमाको नेतालाई अवश्य भन्न सफल हुनुहुन्थ्यो, कुन कारणले अरूभन्दा माथिल्लो मर्यादाका हुन् । प्राज्ञिक पेसाको मैदानमा दौडनुपर्ने दौड राजनीतिक पेसाको मैदानमा दौडिएको हुनाले उहाँलाई विद्यावत् रूपान्तरणबारे चर्चा गर्न पनि आवश्यक परेन होला । यो प्रवृत्तिको व्याप्तताले नेपालका विश्वविद्यालयको गरिमाले उचाइ चुम्यो कि अधोगतिको पिँध चुम्यो त्यो यहाँ बताइरहनु पर्दैन ।
त्यसैले नेपाललाई आफ्नो देश पनि विद्यावत् होस् भन्ने कुनै प्रेम र लगाव छ भने जो जुन कुलको मानिस हो ऊ उही कुलको कुलपति हुनुपर्छ अरू अरूका कुलको कुलपति हुने होइन भन्ने ज्ञान हुनुपर्छ । राजनीतिक नेता राजनीतिक कुलको पति हुने र गच्छे अनुसार राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, मेयर वा वडासदस्य हुने कुरा त तर्कसम्मत हो तर ऊ नै विश्वविद्यालयको कुलपति, सहकुलपति हुने र उसका कुलका सिपाहीलाई विद्यालय विश्वविद्यालयका पदाधिकारी बनाउने कुरा समाजका लागि नितान्त घातक हो ।
विद्या र राजनीतिको मिसमासलाई घातक जानेर नै प्राचीन समयमा ऋषि र राजाको आसन छुट्याइएको थियो । फलस्वरूप न ऋषिका आसनमा राजा बस्थे, न राजाका आसनमा ऋषि । विद्यावत् कुलका मानिस आफैँले आफ्नै कुलबाट जोजसलाई रोजे उनी नै उनका कुलका अधिकारीहरू हुन्थे । अनि राजालाई राजगद्दी त्यागेर कठोर प्रायश्चित्त नगरेसम्म ऋषिका पद दिन निषेध गरिएको थियो र ऋषिलाई पनि ऋषिकुल नत्यागेसम्म राजा वा राजाको सिपाही बनाइँदैनथ्यो ।
त्यसैले भन्न सकिन्छ, विद्या र राजनीतिको क्षेत्रलाई छुट्याएर मात्रै राजनीतिमा पनि र विद्यालय, विश्वविद्यालयमा पनि इमानदारीले स्थान प्राप्त गर्छ । यो कुरा बुझेर, के हाम्रा नेताहरूले राजा र ऋषिको कुल छुट्याउने आँट गर्लान् ? के विद्यालय, विश्वविद्यालयको जागिर खाएर पनि राजनीतिज्ञको फेरो समाउनेहरूलाई विद्याबाट च्युत भइसकेका र राजनीतिक कुलमा पसिसकेका मानिस मान्न उनीहरू तयार होलान् ? के हाम्रा विद्यालय, विश्वविद्यालयलाई राजनीतिक पार्टीका अखडा नबनाएर ज्ञान, विज्ञान, नवप्रवर्तन र नयाँनयाँ विचारका उत्पादन र प्रसारण केन्द्र बनाउने हिम्मत उनीहरूले लिन सक्लान् ? के विद्याको राजा छान्ने दौड राजनीतिको मैदानमा गराउने प्रथा तोड्न सक्लान् ? अर्थात् के काशीको राजा छान्ने दौड कुतीमा गराउन छोड्लान् ?

(लेखक इञ्जिनियरिङ र विज्ञानको क्षेत्रबाट दर्शन, रणनीतिक सोच र स्वतन्त्र चिन्तन क्षेत्रमा सक्रिय हुनुहुन्छ । )
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?