नेपालगञ्ज र सुर्खेत क्षेत्रमा भएको सामूहिक गौहत्या प्रकरणले मानव सभ्यताको खिल्ली उडाएको छ । हत्याहिंसा अप्रिय हर्कत हुन् भनेर सबैभन्दा धेरै प्रवचन दिने प्राणी मानिस नै हो तथापि धेरै हत्याहिंसा मानिसबाटै हुँदै आएका छन् । गाई नेपालको राष्ट्रिय जनावर, आमनेपालीको धार्मिक प्रतीकमात्र होइन बहुसङ्ख्यक नेपालीको जनजीविकासँग जोडिएको प्राणी पनि हो । हालै भएको गौहत्या तथा चोरी निकासीका घटनासँगै धेरै प्रश्न उब्जेका छन् । प्रचलित ऐन कानुनविपरीतका यस्ता गतिविधि यसअघि पनि हुँदै आएका समाचार सार्वजनिक भएकै थिए । यति हुँदाहुँदै पनि कानुन कार्यान्वयन गर्नुपर्ने तथा गैरकानुनी कार्य रोक्नुपर्ने निकायले घटनाबारे स्पष्ट पार्न नसकेकाले घटनाको गहनता र संलग्नताबारे थप आशङ्का उब्जेका छन् ।
राष्ट्रिय जनावर भएर मात्र होइन कुनै जीवित प्राणीको नृशंस हत्याहिंसा मानव विवेक तथा मुलुकी कानुनको पनि बर्खिलाप हुन्छ । यी घटनामा सरकारी निकायको प्रत्यक्ष संलग्नता र गाईगोरुको खुलेआम अवैध निकासी भएको स्पष्ट हुन्छ । जङ्गलमा लगेर सयौँको सङ्ख्यामा गाईगोरु छाड्ने वा मार्ने कार्य कहाँबाट, कसरी र कुन प्रयोजनका लागि गरिएको थियो भन्ने बारेमा आगामी दिनमा स्पष्ट हुने नै छ तर तत्कालका लागि भने यस्ता अमानवीय गल्ती सच्याउनु मात्रैले पनि प्राथमिक समाधान हुनसक्छ । नेपालको फौजदारी संहिता, २०७४ मात्र नभएर विश्व दस्तावेजसमेतले पशु अधिकारका बारेमा बोलेका छन् । असाध्यै अव्यावहारिक भएर पशुपन्छीको उपभोग गर्नै हुँदैन भनियो भने पनि समस्या समाधान हुँदैन । मानिसले उपभोग गरेकै कारण कतिपय पशुपन्छी लोप हुनबाट पनि बचेका छन् । प्राणी उद्विकासको इतिहास हेर्ने हो भने मानिसले उपभोग नगरेका धेरै यस्ता पशुपन्छी पृथ्वीबाट लोप भएका छन् । डाइनोसर मानिसले खाएर लोप भएको होइन । उपभोग कसरी र केका लागि भन्ने प्रश्न मानव संस्कृतिसँग जोडिन पुग्छ । पछिल्ला वर्ष मानिसको आवश्यकता पूरा गर्न उमेर नपुग्दैका बाच्छी तथा पाडीलाई इन्जेक्सनद्वारा गर्भिणी बनाइने र उनीहरूको जीवन दोहन गर्ने प्रवृत्ति बढेको छ । अनावश्यक औषधि तथा उपायद्वारा छिटो र धेरै शोषणका कारण जनावरको प्रजननमात्र होइन स्वस्थ रहन पाउने अधिकार पनि मानिसले खोसेको छ । यसलाई प्राणीको उचित उपयोग मान्न सकिँदैन । साथै उमेर रहेसम्म फाइदा र रवाफका लागि पाल्ने त्यसपछि यातनापूर्ण तरिकाले कुकुरलगायतका पशुलाई घरबाट बहिर्गमन गराउने दुष्चर मानव व्यवहारमा अङ्कुश लगाउनैपर्छ । । स्वस्थ मानवजीवनका लागि ब्रह्माण्डमा उपलब्ध सबै प्राणी र वनस्पतिको पारिस्थितिक (इकोलजिकल) महŒव हुने भएकाले यस्ता स्रोतको उपयोग जगत्मैत्री हुन आवश्यक हुन्छ ।
नेपालले मात्र नभएर विश्व अर्थतन्त्रले चौपायालाई धन भनेको छ । यसमाथि व्यक्तिको लगानी पर्छ र प्रतिफलको अपेक्षा गरिन्छ । लगानी र प्रतिफलका रूपमा गाईलगायतका जनावरलाई लिइने भएपछि यसको व्यवस्थापनमा त्यस्तै प्रकारले ध्यान दिनुपर्ने हुन्छ । त्यसैले गाईपालन व्यवसाय गर्ने व्यक्ति स्वयं त्यसको व्यवस्थापनमा जिम्मेबार हुनुपर्छ । जसरी जल तथा वायुजन्य लगायतका प्रदूषण नियन्त्रण नगरी उद्योग सञ्चालन गर्न विद्यमान कानुनले रोकेका छन् त्यस्तै दृष्टिकोण गाईपालनका सन्दर्भमा पनि राख्नु सान्दर्भिक हुनेछ । साथै बुढा गाईगोरुको व्यवस्थापन पेचिलो बन्दै आएकाले कानुन र प्रचलनले मात्र उपचार गर्न सम्भाव नभएकाले यिनको विसर्जनबारेमा राज्य स्पष्ट हुनुपर्ने बेला आएको छ । कसैलाई गाई पाल्न उत्प्रेरित गरिन्छ भने त्यसको व्यस्थापनबारे पनि जिम्मेवार बनाउनु आवश्यक हुन्छ ।
मृत प्राणीको व्यवस्थापनलाई आयआर्जनसँग जोड्न सक्दा यस्ता समस्याको दीर्घकालीन समाधान गर्न सकिन्छ । मासु तथा छाला प्रयोजनले गाईगोरुभन्दा भैँसीराँगाको व्यवस्थापन सहज हुनुका कारणलाई हामीले कठोर समीक्षा गर्नैपर्छ । सरकार, स्थानीय तह तथा यस्ता व्यावसायिक संस्थाले किसानसँगको सहकार्य, आवश्यकता र बीमाको अवधारणमा मृत पशु विसर्जनका कार्य गराउन सकिन्छ । सडकमा मर्नु न बाँच्नुको अवस्थाले छट्पटाएको बाच्छोलाई सहज मरण गराउनु हत्या हुँदैन भन्नुहुने महात्मागान्धीको मान्यता यहाँ बिर्सन हुँदैन । चिकित्सको सल्लाहमा अशक्त, रोगी प्राणीको मरणलाई स्वाभाविक बनाउने र पशु विसर्जनका उपायतिर धेरै नकारात्मक हुनुले समस्या समाधान होइन हालैका घटनाको पुनरावृत्तिलाई प्रश्रय दिने निश्चित छ ।