logo
२०८१ मंसिर ७ शुक्रवार



सुधारको निरन्तरता (सम्पादकीय)

विचार/दृष्टिकोण |




चालु आर्थिक वर्ष २०७६÷०७७ को साउनमा नेपालको व्यापार सुधारात्मक देखिएको भन्सार विभागले दाबी गरेको छ । विभागका अनुसार आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब छ अर्ब ७२ करोड रुपियाँको आयात गरिएको छ, जुन अङ्क अघिल्लो आर्थिक वर्षको सोही महिनाको तुलनामा ११.५१ प्रतिशतले कम हो । यस अवधिमा नेपालले करिब १४ अर्ब रुपियाँ कमको आयात गरेको छ । यस वर्ष निर्यात व्यापार पनि सुधार देखिएको छ । अघिल्लो साउनको तुलनामा यसपटक २७.६८ प्रतिशतले निर्यात बढेर आठ अर्ब ८३ करोड ७० लाख रुपियाँ पुगेको छ । चालु वर्षको साउनमा व्यापार घाटाको प्रवृत्तिमा पनि सुधार देखिएको छ । गत वर्ष साउनमा एक खर्ब २७ अर्ब रुपियाँको कुल अन्तर्राष्ट्रिय व्यापार भएकोमा यो साउनमा ९.३९ प्रतिशतले घटेर एक खर्ब १५ अर्ब रुपियाँ पुगेको छ । आयात निर्यातमा देखिएको सुधारले आयात निर्यात अनुपातमा सुधार ल्याएको विभागले स्पष्ट गरेको छ । निर्यातको हिस्सा समग्र व्यापारमा ४०.८३ प्रतिशतले बढेर गत साउनको ५.४ प्रतिशतबाट बढ्दै ७.६ प्रतिशत पुगेको छ । आयातको हिस्सा ९४.६ बाट घटेर ९२.२ प्रतिशत पुगेको छ ।
नेपालले आयात गर्ने मुख्य वस्तु पेट्रोलको आयात सामान्यमात्रै बढेको भए पनि डिजेलको आयात भने छ तर के कारणले डिजेललगायत आयात घटेको छ भन्ने विश्लेषण गर्नुपर्ने देखिएको छ । यतिमात्र होइन, सत्यको अर्को पाटो पनि खोतल्नुपर्छ । सरकारले कर र विजकमा कडाइ गरेपछि अनधिकृत तरिकाबाट आयात हुनेछ भनेर यसअघि केही व्यवसायी तथा अर्थशास्त्रीले अनुमान लगाएका थिए । साधारणतया जनसङ्ख्यासँगै उपभोक्ता वृद्धिका कारण आयातको आकार बढ्छ । कि त्यसलाई स्वदेशी उत्पादनले विस्थापित गर्नुपर्छ कि आयातमा प्रशासनिक वा करजन्य नियन्त्रण गरिएको हुनुपर्छ । सामान्य अवस्थामा पनि आयात घट्छ भने यसको बाटो र पाटो फरक परेको हुन सक्छ । नेपालजस्तो औद्योगिक वस्तु उत्पादनमार्फत खुला अर्थतन्त्रमा प्रतिस्पर्धा गर्न नसक्ने मुलुकले बाँच्नका लागि आयात नै गर्ने हो । आयातमा लगाइने करको दुरुपयोग नहुने हो भने मुलुकले करबाट मात्र पनि आम्दानी गर्छ । नेपालजस्ता मुलुकका लागि आयात भनेको राज्यले गर्ने आम्दानीको स्रोत पनि हो, जो जनताले तिर्छ ।
हामी आयात बढेकोमा जति चिन्तित छौँ, आयातका कारण राज्यले प्राप्त गरेका कर÷राजस्वको आँकडा पनि सार्वजनिक गर्ने हो भने अवस्था स्पष्ट हुन्छ । यो साउनमा आयात घटेको छ भन्नुको अर्थ आयातबाट राज्यले प्राप्त गर्ने कर पनि त घटेको होला । जहाँसम्म निर्यात बढेको सन्दर्भ छ, यो सकारात्मक परिणाम हो । कानुनतः कर तथा राजस्व तिरेर निर्यात गरिन्छ भने यसले सुखद आर्थिक सङ्केत देखाउँछ तर स्वाभाविक अवस्थामा पनि आयातमा कमी भएको छ भने यसका कारण खोजेर गैरकानुनी क्रियाकलापका कारण यसो भएको हो भने त्यसको कठोर उपचार गरिनुपर्छ ।
व्यापार घाटा नेपालको समस्या र बाध्यता हो, साथै समाधान पनि । उद्योग गर्न नसक्ने राज्यले व्यापार गर्छ, यो सत्य हो । उद्योगबाट नाफा कमिन्छ भने व्यापार÷व्यवसायमार्फत कर सङ्कलन गरिन्छ । यस अर्थमा व्यापार घाटा असाध्यै ठूलो समस्या होइन । समस्या कर छलीको हो । पेट्रोलको आयात बढ्नु तर डिजेलको घट्नुको सामाजिक कारण खोज्ने हो भने निजी सवारीसाधनमा इन्धनको खपत बढेको अनुमान गर्न सकिन्छ । सार्वजनिक सवारीसाधनमा प्रयोग हुने डिजेल कम आयात हुनुको अर्थ सार्वजनिक यातायाताको सुविधा खुम्चेको त होइन भन्ने प्रश्न पनि उठ्न सक्छ । अर्काेतिर यो एक महिनाको तथ्याङ्कमा उत्साहित भइहाल्नुु आवश्यक देखिँदैन । यस अवधिमा नेपालको सबैभन्दा ठूलो बजार भारतमा भएको निर्वाचन, नेपालमा आएको बाढीपहिरोजस्ता गैरआर्थिक कारणले पनि आयातमा प्रभाव पारेको हुन सक्छ । जेहोस् विलासी वस्तुको बढ्दो प्रयोगलाई निरुत्साहन गर्दै निर्यात बढाउने र आयात कम गर्न सकियो भने प्रसंशनीय पहल हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?