माधव शर्मा
हामीले गर्व गर्ने केही विषयमध्ये हाम्रो प्राचीन एवम् पुरातात्त्विक महत्त्वका धार्मिक मठमन्दिर र त्यसमा रहेको मूर्तिहरू एक हो । जनसङ्ख्या र भूगोलको हिसाबले साना भएको अवस्थामा पनि नेपालमा युनेस्को सम्पदा संरक्षण सूचीमा परेका ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्वका सम्पदाहरूको सङ्ख्या हामीकहाँ धेरै छन् । युनेस्कोको संरक्षण सम्पदा सूचीमा रहेका ११ सम्पदामध्ये काठमाडौँ उपत्यकामा मात्र आठवटा ऐतिहासिक र पुरातात्त्विक महत्त्वका मन्दिर र दरबार छन् । त्यसैले पनि काठमाडौँ उपत्यकाले मन्दिर नै मन्दिरले भरिएको ठाउँ हो भनेर प्रसिद्धि पाएको छ ।
तर, दुःखका साथ भन्नुपर्दछ– हाम्रा मठमन्दिर जनताका आस्थाका घरोहर रहेको मन्दिरभित्रको देवीदेवताहरूको उचित संरक्षण एवम् सम्बद्र्धन हुन सकेको छैन । सर्वसाधारणले चढाएको दानदक्षिणाको कुनै लेखाजोखा र संरक्षण छैन । एउटा सामान्य डोकामा साग बेच्नेहरूले आफ्नो आम्दानीअनुसार स्थानीय सरकारलगायतकालाई कुनै न कुनै किसिमको आयकार तिर्दछन् । तिरिरहेका पनि छन् । तर, करोडौँमा उठ्ने दानदक्षिणा, भेटी ग्रहण गर्नेले कुनै प्रकारको कर तिर्नुपर्दैन । यो कर प्रणालीको कुरालाई चर्चा नगर्ने हो भने पनि आम्दानीको बलियो स्रोत रहेको मठमन्दिर परिसरहरू अत्यन्त फोहोर, दुर्गन्धित र वातावरण प्रदूषणयुक्त बनेका छन् । सबैभन्दा चिन्ताको विषय त मन्दिरभित्र रहेको देवीदेवताका मूर्तिहरू सबै विनाश हुने सङ्घारमा छन् । हाम्रा पुर्खाले हाम्रो सम्पदाहरू जतनसँग जोगाएर हामीलाई हस्तान्तरण गरेका हुन् । तर, हाम्रो मन्दिरमा पूजा गर्ने यही विधि र तरिका कायम रहिरहने हो भने पुर्खाले हामीलाई हस्तान्तरण गरेका महŒवपूर्ण ऐतिहासिक सम्पदाहरू अब आउने पुस्ताका लागि संरक्षण हुने लक्षण देखिँदैन ।
पुराताŒिवक अमूल्य सम्पदा विशेषतः मन्दिरभित्र रहेको देवीदेवताका मूर्तिहरू धेरै खिइँदै त्यसको मूल स्वरूप नै विकृत बन्दै छन् । यस्तो हुनुमा हाम्रो मन्दिरमा गर्ने पूजाआजा, विधि नै अवैज्ञानिक र वातावरणमैत्री नभएकाले हो । प्रायःजसो मन्दिरमा सर्वसाधारण आफैँ मूर्तिसम्मुख पुगेर पूजा गर्ने प्रचलन छ । पूजा गर्दा रसायनयुक्त अविर, एसिडयुक्त दूघ, दही र कतिपय अवस्थामा घरेलु मदिरा मन्दिरको शिरमै चढाउने चलन छ । त्यो हानिकारक रसायनमुक्त अविरकेशरी र एसिडयुक्त दही, दूध र घरेलु मदिराले मूर्तिलाई दिनहुँ नकारात्मक असर पु¥याइरहेका छन् । पलपल मूर्तिहरू खिइँदै गएका छन् । यो अवस्था दक्षिणकालीको मूर्तिमा प्रस्टसँग अनुभूति गर्न सकिने कुरा जानकारहरू बताउँछन् । यस्तै अवस्था प्रसिद्ध मनकामना माताको मूर्तिमा पनि रहेको कुरा त्यहाँका पुजारीकै भनाइ छ ।
मन्दिरको हाता अत्यधिक प्रदूषित फोहोर र दुर्गन्धित हुनुमा सबैभन्दा ठूलो कारण बलि दिने प्रथा हो । त्यसको साथसाथै मन्दिरमा चढाइएको अवस्थित फलफूल, माला, सड्ने, गल्ने, त्यहाँ चढाइएको अछेता पानीमा भिजेर कुहिने कारण मन्दिर परिसरवरपर पूरै दुर्गन्ध आउने गरेको अनुभव जोकोहीले पनि गर्न सक्छ । मनकामना मन्दिरका पुजारी स्वयम्का अनुसार भीडभाड नभएको सामान्य पूजाका दिनमा मन्दिरमा छरेको एक दिनको अछेताले मात्र पनि ६ जनालाई बिहान बेलुका भात खान पुग्छ । चाडपर्वका दिन भएको भीडभाडका दिनको त कुरै नगराँै ।
त्यस्तो व्यापार घाटा अत्यधिक बढिरहेको हाम्रो मुलुकमा मन्दिरमा वर्ष दिनमा चढाउने अबिर, केशरी र बाल्ने सिन्केधुपमात्र अर्बांै रुपैयाँको आयात हुने तथ्याङ्कले देखाएको छ । पूजा विधिलाई व्यवस्थित गरी भारतका मन्दिरमा जस्तो पर्यावरणीयमैत्री व्यवस्था गर्न सके धनको खर्च जोगिनुका साथै मन्दिरवरपर स्वच्छ वातावरण निर्माण गर्न सहयोग पुग्नुको साथै पुँजीको खर्च अनाव्यश्यक पनि बचाउन सकिन्थ्यो ।
यस कुरामा हाम्रा इतिहासविद्, धर्मगुरु मन्दिरका पुजारी वर्ग र सामाजिक अभियन्ताहरू एकै थलोमा बसेर एउटा वैज्ञानिक अवधारणा विकास गर्न सके धेरै राम्रो हुन्छ ।
यस्तो रचनात्मक सोच भएका स्वामी महाराजको नेपालमा कमी छैन । एउटा प्रसङ्गमा स्वामी महाराजहरूले राष्ट्रिय स्वाभिमानलाई उच्च राख्दै अनावश्यक धन खर्च गरेर विदेशको तीर्थाटनमा जानुभन्दा आफ्नै देशभित्र रहेका तीर्थस्थलको यात्रा गर्दा राम्रो हुने कुरा बताउँदै आउनुभएको छ । त्यसैगरी उहाँहरूले मन्दिर परिसर स्वच्छ र पर्यावरणमैत्री राख्न बलिप्रथालाई निरुत्साहित गर्ने, भोको जनताले पेट भर्ने चामल मन्दिरमा छरेर दुर्गन्ध फैलाउने काम रोक्न र देवीदेवताका मूर्तिहरू क्षयीकरण हुनबाट बचाउनसमेत अत्यन्त बाधक रहेको सर्वसाधारणको पूजाआजा गर्ने तौरतरिकामा वैज्ञानिक परिवर्तन ल्याउन पहल गर्नुपर्छ भन्नेमा दुईमत नहोला ।
अहिले सबैले देखेको कुरा हो, देवताको मुखमै सडेका लड्डु, पेडा र बर्फीहरू बुझोमाथि बुझो लगाएर कोच्ने परम्परा छ । यो आफैँले पुज्ने देवताको सम्मान हो कि अपमान ? यस्तो अवैज्ञानिक पूजा विधिलाई निरुत्साहित गरी आफ्नो आस्थाका घरोहरलाई तरिकाले सम्मान र पूजा गर्न आवश्यक छैन र । यस कार्यमा सरोकारवाला निकायहरू पुरातŒव विभाग, गुठी संस्थान, स्थानीय भक्तजनका गुठी गुठियार सबै सचेत र गुरु पुरोहित, पुजारी, साधु महाराज र सम्पूर्ण धर्म संरक्षण संस्थाहरू एउटै थलोमा बसेर विचार मन्थन गरी एउटा सभ्य विधि बनाउन अबेर भइसकेको छ ।
यसमा हाम्रो छिमेकी मुलुक भारतमा रहेको मठमन्दिर, देवस्थलको स्थलगत अवलोकन गराउनका लागि पनि सरोकारवालाले पहल गर्नुपर्दछ । समस्या विकराल छन् । यस्तो बेलामा एउटा निष्कर्षमा पुग्न सके हामीले हाम्रा प्राचीन कला, संस्कृति र पुराताŒिवक धरोहरको संरक्षण गर्न समर्थ हुनेछौँ । फेरि कतै यसो भनिरहँदा धर्मका नाममा व्यापार व्यवसाय गर्नेहरूले आफ्नो व्यापार व्यवसायमा आँच ल्याउने भयो भन्दै यस मुद्दालाई धार्मिक मान्यता र अन्धतासँग जोडेर विषयान्तर गरी सर्वसाधारणको धर्मिक आस्थामा प्रहार गर्न खोजेको आरोप पनि आउन सक्छ ।
तर, प्रबल र सचेत वर्ग एवम् समाज सुधारकहरूले जरुरी बलिप्रथाविरुद्ध निरन्तर आवाज बन्द गर्दै आउनुभएको कारणले गर्दा धेरै मठमन्दिरमा क्रमशः बलिप्रथा निस्तेज हँुदै छ । यसैगरी, समाज सुधारका वौद्धिक व्यक्तित्वहरूले यस कुरामा थोरैमात्र पनि चासो दिएको खण्डमा अवैज्ञानिक पूजाबाट सिर्जना भएको वातावरणीय होस् र मन्दिरवरपरको प्रदूषण र दुर्गन्धबाट सिर्जित वातावरणीय प्रदूषण रोकेर एउटा सुन्दर रमणीय मन्दिर परिसरको विकास गर्न सकिन्छ ।
जसले गर्दा हामीले हाम्रा बाँकी सन्ततिलाई हाम्रो संस्कृति, कला र सम्पदाहरू यथावत् रूपमा हस्तान्तरण गर्न सक्षम हुनेछाँै । त्यसभन्दा पनि महŒवपूर्ण कुरा लगातार रसायनको प्रभावले क्षण हुँदै गएको हाम्रा अमूल्य सम्पदाका रूपमा रहेको मन्दिरभित्रका हजारौँ वर्ष पुराना मूर्तिहरूको संरक्षण गर्न हामी सर्मथ हुनेछौँ । त्यसको मूल स्वरूप बचाउन समर्थ हुनेछाँै ।
(लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ । )