नारायणप्रसाद पौडेल
त्रिभुवन विश्वविद्यालयका वनस्पतिविद् डा. मोहन पन्थीलाई दुईवटा विषयले साह्रै पिरल्दोरहेछ । जलस्रोतमा विश्वको दोस्रो धनी देश मानिएको नेपालका तारेहोटलमा पिउनेपानी विदेशबाट आयात गरेकोमा र प्रतिगोटा तीन हजार तिरेर दक्षिण भारतको मद्रास (चेन्नई) बाट करिपत्ताका बिरुवा मगाउने गरेको देखेर । फालाफाल छन् दुवै नेपालमा । ‘घरकी मुर्गी साग बराबर’ मानेर हो कि, नजानेर हो, प्रयोग नगरेर हो कि, नबुझेर हो हँ ?
विनापानी चल्दैन कुनै पनि प्राणीको जिन्दगानी । हरेक नेताले भाषण गर्दा भन्छन्– अरबको पेट्रोल र हाम्रो देशको पानी उस्तै–उस्तै हो । ’ हुन त हो, तर भन्नेमात्र, गर्ने कसैले केही होइन । आफ्नै देशका गण्डक नहरकिनारका किसानले घरछेउका बारी र टारीका किनारबाट बगेको नदीमा सानोतिनो बाँध बाँधेर र कुलो खनेर सिँचाइ गर्छु भन्दा पनि पाइँदैन । पम्पिङ्सेटले पानी तानेर अलिकति लिन्छु, बीउ छर्छु र खेत पनि रोप्छु भन्दा पाइन्न ।
नेपालमा जतासुकै पाइने बकाइनो नै मद्रासबाट मगाइने करिपत्ता हो भन्ने भनाइ वनस्पतिविद डा. पन्थीको छ । त्यसैले रहेछ– उहाँको चित्त दुखेको पनि । ‘बकाइनोभन्दा अलि सानो हुन्छ र करिपत्तालाई हाम्रोतिर बूढी बकाइनी भनिन्छ’ कृषि केन्द्र नेपालगन्जका गोपाल वैद्यको भनाइ छ । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित नेपाली वृहत् शब्दकोशको पृ. ९२७ मा ‘बकाइनो ः वकनिम्ब– निमको जस्तो पात हुने, कलेजी रङ्गको फूल फुल्ने, नपाक्दा हरिया र पाक्दा पहेँला हुने, झुप्पाझुप्पा परेका स–साना फल फल्ने, कमलोखालको काठ हुने एकजातको रूख । आयुर्वेदमा कफ, कीरा, कुष्ट र विषनाशक तथा ठन्डा गुण मानिएको एक जातको निम, महानिम्ब’ भनेर प्रस्ट्याइएको छ । करिपत्ता, बूढी बकाइनी वा बकाइनोसँग ठ्याक्कै मिल्दोजुल्दो छ, यो परिचय । बकाइनो तीतो हुन्छ र करिपत्ताको स्वाद अलि फरकखालको टर्रो, परपराउँदो हुन्छ । बकाइनोका पात गाढा हरियो देखिन्छ भने करिपत्ताको सुगा रङ्गको हुन्छ, गन्धमा पनि फरक पर्छ । तराई÷मधेस, चुरे र महाभारतभरि उष्णप्रदेशीय क्षेत्रमा जता गयो उतै पाइन्छ, बूढी बकाइनी (करिपत्ता) । केही समय पहिले डडेल्धुरा, कञ्चनपुर र कैलालीतिरबाट अनियन्त्रित रूपमा भारततिर निकासी गरेका खबर पनि आएकै थिए । अहिले रोकिएजस्तो छ ।
दक्षिण भारत पूरै र विशेषगरेर चेन्नईतिर करिपत्ता नहालीकन कुनै पनि दाल, तरकारी पकाइन्न । अचार र पुलाउ बनाइन्न । पुङ्गल
(खिचडी) र उपमा (सुजीको नुनिलो परिकार) पाक्दैन । रसम् र मोर (मही) पनि बन्दैन । चट्नी पिसिन्न र केही पनि झानिन्न । श्रीलङ्कातिर पनि त्यस्तै छ । इन्डोनेसियामा पनि मसलाका रूपमा प्रयोग गरिने प्रचलन रहेको कुरा पोषणविद् डा. अरूणा उप्रेतीले आफ्नो आलेखमा उल्लेख गर्नुभएको छ । जसमा भनिएको छ– ‘यसमा रेसादार पदार्थ, क्याल्सियम, फस्फोरस, भिटामिन ‘ए’ र फोलिक एसिड पनि हुन्छ । यी सबै कुरा गर्भवती र सुत्केरीका लागि त अति जरुरी नै हुन्छ । फोलिक एसिडको प्रयोगले भ्रुणलाई स्वस्थ पार्छ र मेरुदण्ड विकसित नहुने समस्याबाट बँच्न मद्दत गर्छ ।
करिपत्ताले पाचन प्रणालीमा पनि मद्दत गर्ने कुरा अनुसन्धानबाट देखिएको छ । मधुमेह भएकाहरूलाई पनि यसले फाइदा गर्छ । किनभने यसले शरीरभित्र रहेको हार्मोन ‘इन्सुलिन’को गतिविधिलाई प्रभावित गरेर रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । अर्को अनुसन्धानले शरीरमा रहेको कलेस्टेरोल नामक बोसोलाई कम गर्न मद्दत गर्ने कुरा देखाएको छ । यसको अर्थ हो, मुटको रोगबाट बच्न पनि मद्दत गर्छ ।
पखाला लागेको बेलामा पनि करिपत्ताको प्रयोग उपयोगी हुन्छ र पातमा रहेको रसायनमा कीटाणुसँग लड्ने र सङ्क्रमण कम गर्ने गुण पनि रहेको हुन्छ । यसका लागि करिपत्तालाई पिसेर वा सुकाएर, धूलो बनाएर प्रयोग गर्न सकिन्छ । यसमा रहेको रेसादार पदार्थले कब्जियत कम गराउन पनि मद्दत गर्छ । यसलाई पानीमा उमालेर खाँदा पनि पेटमा रहेको गडबडीलाई निको गर्छ । यसरी पानीमा पकाएर खाँदा अलिकता कागती र बीरेनुन पनि हाल्न सकिन्छ । यसमा रहेको फोलिक एसिड र लौह तŒवलाई शरीरमा रगतको मात्रा बढाउन र हड्डी बलियो बनाउन पनि मद्दत गर्छ । गर्भवती आमालाई दिनमा तीन÷चारवटा हरियो पत्ता चपाए पनि फाइदा पुग्छ । सङ्क्रमण, लुतो, डन्डिफोर आदि निको पार्न निम प्रयोग गरेजस्तै करिपत्ता पनि प्रयोग गर्न सकिन्छ । गर्भवती महिलालाई हुने वाकवाकी मेट्न पनि यसले मद्दत गर्छ । यसको भिटामिन ‘ए’ ले आँखाको स्वास्थ्यमा पनि महŒवपूर्ण भूमिका खेल्न सक्छ तर दुःखको कुरा करिपत्ता बढी पाइने तराईमा नै भिटामिन ‘ए’ को कमीले बालबालिका र गर्भवती महिलामा आँखाको समस्या देखापर्छ ।
प्राकृतिक रूपमा प्राप्त पुष्टकारी माने हुन्छ कुरिलो (करिर) लाई । नेपाली वृहत् शब्दकोशमा ‘हरिया–पहेल्छ्या मसिना पात हुने, स–सानो सेतो फुल्ने र रातो गोल फल फल्ने एक जातको काँडादार बोट (यो ठूलो र सानो दुई किसिमको हुन्छ । यसका टुसा तरकारीका निम्ति खासगरी बिरामीलाई खुवाउन प्रसिद्ध छ) पृ. २५२’ भनेर प्रस्ट्याइएको छ । प्राचीनकालदेखि नै अति पौष्टिक, प्रशस्त मात्रामा प्रोटिन र खनिज गुणले सम्पन्न यो वनस्पतिलाई विशेषतः बाजीकरण हुने, शरीरलाई कसिलो बनाउने, दूध आउने, पीडानाशक र शक्तिबद्र्धक भनेर जानिन्छ । यसका टुसा वा जरा दुवै तरकारी वा दालमा मिसाएर पकाएर, झोल बनाएर खाँदा कमजोरी भाग्छ भन्ने चलन छ । गाउँघरतिर गाई, भैँसीले दूध दिएन भने, सुत्केरी महिलाको दूध आएन भने खोजेर ल्याएर खुवाउने चलन छ ।
शल्यक्रिया गराएर कमजोर भएका बिरामीलाई घरमा गएर कुरिलोको तरकारी खाए छिट्टै तङ्ग्रिने सुझाव दिने रहेछन् काठमाडौँका कतिपय अस्पतालले । तराई र पहाडमा जहाँतहीँ पाइने यो वनस्पतिका बिरुवा केही समयपहिलेसम्म अधिकांश वन कार्यालयले वितरण गर्दथे । सामुदायिक वनहरूमा पाइन्छ, प्राकृतिक रूपमै पनि हुन्छ, वनद्दजङ्गलहरूमा । साउने (राँके) सङ्क्रान्तिमा लुतो फाल्ने चलन भएका ठाउँमा वनतिर गएर कुरिलो खोजेर ल्याउने गर्छन्, खुब खोजी गरिन्छ त्यो दिन ।
हरेक परिवारले दिनहुँ खाने दालभात र रोटी तरकारी आदिमा कुरिलो र करिपत्ता मिसाएर पकाउने गरे सुपोषणका लागि शरीरलाई आवश्यक पर्ने तŒव प्राप्त भएपछि कुपोषण लाग्ने सम्भावना घट्छ, बढ्दैन । किन्न पर्दैन करिपत्ता र कुरिलो । घरमै ल्याएर लगाउने हो भने पनि हुन्छ । जुठेल्ना र करेसाबारीमा जहाँ लगाए हुन्छ, र हुन्छ– कौसी र गमालामा पनि । यति सजिलो र सामान्य कुरा पनि प्रयोग नगरेर औषधि खोज्ने, कुपोषण हटाउनका लागि भनेर परियोजना बनाएर दाता गुहार्ने काम राम्रो हैन । सुपोषणका लागि सहजीकरण गर्ने र हरेक गाउँमा रहेका स्वास्थ्य स्वयम्सेविका तथा स्वास्थ्यकर्मीले आफू रहेका ठाउँमा सिकाउने, बुझाउने र आफैँले पनि प्रयोग गरे हुने अति उपयोगी कुरा हो यो ।
(लेखक पत्रकार हुनुहुन्छ । )