डा. खगेन्द्रप्रसाद सुवेदी
तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको विशेष पहलमा वि.सं. २०१३ भदौ २२ गते निजामती सेवा ऐन ल्याएसँगै निजामती सेवाको प्रारम्भ भयो । तथापि निजामती सेवा दिवस भने वि.सं. २०६२ सालबाट प्रारम्भ भई मुख्यसचिवको नेतृत्वमा मनाउन थालियो । प्रत्येक निजामती दिवसको अवसर पारेर नयाँनयाँ उत्साह पैदा गर्ने ध्येय राखेर नाराहरु बनाई निजामती कर्मचारीलाई जाँगर थप्ने प्रयत्न गरिएको छ । यसका साथै निजामती कर्मचारीलाई उक्त अवसरमा पुरस्कृत गरिने र यसलाई नयाँ उत्साहपूर्वक पर्वका रुपमा रुपान्तरण पनि गरिँदैछ ।
विश्वमा उद्योगहरुको भर्खर भर्खर स्थापना हुँदै गर्दा कर्मचारी अथवा कामदारलाई जतिसक्दो काम लगाउनुपर्छ, काम गरिरहँदा त्यसबाट धेरै मालवस्तुको उत्पादन हुन्छ भन्ने मान्यता थियो । कामदारलाई भौतिक रुपमा उपस्थित गराएर उनीहरुलाई डर, धम्की दिएर भए पनि यथासक्दो बढीभन्दा बढी समयसम्म काममा लगाउने मनोग्रन्थिबाट ग्रस्त थियो । त्यसरी काम लगाउँदा पनि उत्पादनमा घटीबढी भइरहने स्थिति देखापरेपछि उत्पादनमा वातावरण र मानवीय सम्बन्धको बारेमा भएको एउटा अध्ययन अद्यापि प्रचलित रुपमा उल्लेख गर्ने गरिएको पाइन्छ ।
हावथ्रोन प्लाण्टको इलेक्ट्रिक कम्पनीमा सन् १९२० मा इल्टन मायो र फ्रिज रोइथिल्सबर्गरले कामदारको मनोसामाजिक पक्ष र सङ्गठनमा मानव व्यवहारका बारेमा अध्ययन गर्नुभएको थियो, त्यहाँ विभिन्न पटक विभिन्न पक्षको प्रभाव र असरबारे व्यक्तिमा, समूहमा अध्ययन गरिएको थियो । अध्ययनका क्रममा कसरी विभिन्न कोठामा उज्यालोको मात्रा, समूह–समूहमा साथीहरुको फेरबदल, रुचिपूर्ण कार्यक्षेत्र र कम रुचिपूर्ण क्षेत्र, आराम अथवा विश्राम पनि कति हुँदा पुनः जाँगर चल्ने, कति हुँदा अझ अल्छी बढ्ने पक्षलाई लिइएको थियो । यसैगरी कस्तो काममा कति–कति समयमा विश्राम खाजा खाने, सुपरभाइजरका के–कस्ता शैलीले काममा जाँगर र कस्तो शैलीले काममा निराशा पैदा गर्ने जसको परिणाम उत्पादनमा देखिने जस्ता विभिन्न अध्ययन गरिए ।
त्यस्तै कामदारको घरको मनोवैज्ञानिक अवस्था, बालबच्चा परिवारको स्थिति, सामाजिक दृष्टिकोण आदिले व्यक्तिको काममा प्रभाव कसरी परिरहेको छ, कर्मचारीको मानसिक एवं शारीरिक सन्तुलनको अवस्था र उत्पादन अथवा नतिजामा त्यसको परिणाम तथा प्रभाव कस्तो परिरहेको छ, जस्ता विभिन्न पक्षको अध्ययन भएका थिए । अहिले विश्वका धेरै विशेषगरी निजी कम्पनीले कर्मचारीहरुको शारीरिक, मानसिक, सामाजिक परिस्थिति र व्यक्तिको रुचिसँग उसका प्रोत्साहन, उत्साह, अभिप्रेरणा दिई मानसिक तथा अन्य पक्षमा जोड दिइरहेको पाइन्छ । जसले उत्पादनको मात्रा, गुणस्तर र कम्पनीमा अपनत्व महसुस गराउने वातावरणको सिर्जना गराउन सहयोग गर्छ ।
नेपालको निजामती सेवामा हेर्दा कुनै एक समयमा विचार नमिल्ने कारणले उसलाई हटाउन सकिन्थ्यो । त्यसबाट बच्न सङ्घ÷सङ्गठनको स्थापना हुने पुगे । विदेशी सहयोगको नाममा बजेट आउँदा त्यसका लागि विकासका कर्मचारीसमेत राखियो । हाल उक्त कर्मचारी हटिसकेका छन् । यहाँ जोड्न खोजिएको कुरा उक्त समयमा विकासका कर्मचारीले अन्य कर्मचारीभन्दा धेरै गुणा तलब र सुविधा प्राप्त गर्दथे ।
कामको मूल्याङ्कन, विकासका लागि छुट्याएको बजेट कति सकियो र त्यसले काम कति भयो भन्ने पश्चिमी मूल्याङ्कन पद्धति थियो । बजेट जति खर्च भयो त्यो अनुसार काम भए नभएको मूल्याङ्न उचित थियो । त्यसैका आधारमा नेपालमा मूल्याङ्कनको आधार बनाइयो । जसको परिणाम बजेट सक्नु पर्ने रहेछ भन्ने दबाब पर्न थाल्यो । जसले गर्दा बिल मिलाउनुपर्छ भन्ने संस्थागत मनोग्रन्थि बनेर गयो । अहिलेसम्म पनि बजेट नै खर्च गर्न सक्नुभएन भन्ने कुराको टीकाटिप्पणी गरेको सुन्न, लेखेको पढ्न हेर्न पाइन्छ । त्योभन्दा पनि काम यति भयो, गुणस्तर यति छ, लक्ष्य यति थियो, यति पूरा भयो भन्ने कुरामा जोड हुनुपर्ने हो । कर्मचारीलाई काज (विशेष काम सम्पन्न गरेर आउन दिएको जिम्मेवारी हुन्छ ) दिएर यति दिनसम्म यति रुपियाँ पाउने, यति दिन पुगेपछि त्यसको आधा पाउने, त्यो के काम गराउन खोजेको हो, त्यसले कस्तो मनोवृत्ति जन्माउँछ भन्नेबारे बौद्धिक एवं व्यावहारिक छलफल गर्नुपर्छ । कर्मचारीले जागिर त गर्ने नै भए तर त्यसपछि उसले के गरेवापत बढुवा पाउँछ भन्ने कुरा र कहिले बढुवा हुन्छु र कहाँ कहाँ सरुवा हुन्छु भन्ने विषयमा अन्योल छ । त्यसपछि त्यो कर्मचारीको मानसिक पक्ष कस्तो हुन्छ ? राम्रो काम गरेवापत बढुवा पाउने कि ? मेहनत गरेर पढे वापत पाउने, यी विषयमा प्रष्ट हुनु जरुरी छ ।
विगतमा कसरी बढुवा भयो भन्ने विषय खुलाउन छोडेर हिजोका कमजोरी सुधार्दै जानुपर्छ । कार्यालयमा सँगैको साथी पढिरहन्छ, अर्को २÷४ दिन काम गर्छ । काम गर्नेले चाकरी शब्द र भेटघाट एकदमै कम र प्रयोजनपरक मात्र गर्दछ तर जो काम पनि कम गर्छ वा भनौँ गर्दैन, उसले मिठा शब्द र आदरार्थीका साथ विभिन्न भेटघाट गरी आफू आश्वस्त भएर बस्छ, उही फुर्तिलो हुन्छ । सुपरीवेक्षकले जसले काम गरिरहेको छ, उसैलाई थप काम दिई दबाबमा राख्दछ । अनि त्यसको प्रभाव काम समयमा सम्पन्न नहुने, न्यून गुणस्तरका हुने, कर्मचारीलाई निरन्तर काम काममा मात्र भएकोले मानसिक र शारीरिक स्वास्थ्यका साथै सामाजिक सम्बन्धमा न्यूनता आउँछ । जसका कारण फाट्टफुट्ट आत्महत्याका परिणाम देखापर्न थालेको छ । धेरै कर्मचारी मानसिक समस्यामा हुन सक्छन् । अहिले सेवाग्राहीले उच्चस्तरको अपेक्षाकृत सेवा नपाएको गुनासो गरिरहेका छन । सरकारका उच्चपदस्थ नेतृत्वले समेत कर्मचारीप्रति समय समयमा गुनासो पोख्ने गरेको पाइन्छ, यसको निरुपण जरुरी छ ।
मुलुकको रूपान्तरणसँगै निजामती सेवाको यो गति र अवस्थाको गतिलो निदान गर्ने अहिले अवसर छ । हिजोका कमजोरीका पृष्ठभूमि र मनोग्रन्थिलाई विश्लेषण गर्न मनोवैज्ञानिक, सामाजिक र कर्मचारीको कार्य वातावरणीय पक्षको अध्ययन जरुरी देखिन्छ । विशेषगरी विश्व नै एउटा गाँउमा रूपान्तरित भैसकेको अवस्थामा सूक्ष्म ढङ्गले अल्पकालीन र दीर्घकालीन अध्ययन गरी निचोड निकाली अघि बढ्नुपर्ने देखिन्छ ।
(लेखक लोकसेवा आयोगका सहसचिव हुनुहुन्छ । )