गोपीनाथ मैनाली
आचार्य चाणक्यका अनुसार राज्य सञ्चालनको जिम्मेवारी बोक्ने कर्मचारीमा विलक्षण गुण हुनुपर्छ । आधुनिक प्रशासनका अध्येता विड्रो विल्सनका अनुसार जो कुनै व्यक्ति निजामती कर्मचारी बन्न सक्दैन, त्यसका लागि खास गुणहरू आवश्यक पर्छ । चाहनाले मात्र कोही पनि निजामती कर्मचारी बन्न सक्दैन, सापेक्षिक रूपमा उम्दा कार्यसम्पादन क्षमता, सीप र प्रतिभा भएमा मात्र कोही निजामती जिम्मेवारीमा पुग्नसक्छ । विश्वविद्यालयबाट दीक्षित, कार्यसम्पादन सीप, असल आचरण शौर्य व्यक्तित्वसहितको सेवाभावले भरपूर व्यक्ति नै निजामती सेवामा रही राष्ट्रनिर्माणको जिम्मेवारी वहन गर्न सक्दछन् । समाजशास्त्री म्याक्स वेवरले यस्ता कर्मचारीलाई ‘आदर्श कर्मचारीतन्त्र’ भनेका छन् ।
भनिन्छ, निजामती सेवाले अनुमति दिएभन्दा उम्दा शासन व्यवस्था हुँदैन । सरकारको प्रभावकारिता, निजामती सेवाको क्षमता, इमानदारी, व्यावसायिकता र क्रियाशीलतामा भर पर्छ । राजनीतिक प्रणाली सरकारको नेतृत्वमा रहन्छ, निजामती सेवाले प्रणालीको नेतृत्व गर्दछ । यस्तो महŒवपूर्ण कार्यभूमिका निर्वाह गर्ने निजामती कर्मचारी र निजामती सेवाका खास गुण र मूल्यहरू हुन्छन् । राज्य समाजको सबैभन्दा बृहद् नैतिक संस्था हो र निजामती सेवा त्यो बृहद् नैतिक संस्थालाई क्रियाशील बनाउने नैतिक पात्र हो । पात्रको पवित्रताबेगर संस्था नैतिक बन्न सक्दैन । यसर्थ निजामती कर्मचारी हुनु भनेको पवित्र हुनु हो । दोस्रो, स्वयं उत्साह उसको अर्को सद्गुण हो । कोही उत्प्रेरक बनेर वा धकेलिएर निजामती सेवा परिचालित हुने होइन कि राष्ट्रिय विकासका लागि स्वयं परिचालित हुने आभ्यन्तरिक उत्साह उसमा हुन्छ । तेस्रो गुण सत्यवादिता हो । निजामती कर्मचारी सधँै सत्यमा रहन्छन् । निजामती सेवाबाट सम्पादित कामहरू सधँै प्रमाण र ज्ञानमा आधारित हुन्छन् ।
सर्वसाधारणका चाख र चाहनाप्रति सजग रहने, सामाजिक सङ्केत टिप्ने, सर्वसाधारणका समस्याप्रति संवेदनशील बन्ने सद्गुण निजामती सेवामा रहन्छ । निजामती कर्मचारी सधैँ स्वयं सचेत र स्वयं जानकारीमा रहनुपर्छ । परिवेशले ल्याएका जोखिमप्रति जानकारी र सजग रहनु उसको कर्तव्य पनि हो । सार्वजनिक जिम्मेवारी वहन गर्ने भएकाले नजान्नु पनि एकहदमा अपराध हो । ऊ सर्वसाधारणको ट्रस्टी हो, ट्रस्टीको कर्तव्य सर्वसाधारणको हकहित र कल्याणका लागि समर्पित रही सेवाग्राहीप्रति निष्ठावान हुनु हो । ऊ सार्वजनिक जीवनका मूल्य र सिद्धान्तबाट निर्देशित हुन्छ । त्यसैले उसलाई
‘राष्ट्रसेवक’ भनिएको हो, ‘कर्मचारी’ कहलिएको हो । राष्ट्रसेवक बन्नु भनेको सार्वजनिक काम दक्षता र इमानदारीपूवर्क गर्नुभन्दा पनि बढी हो, यो जनता र राष्ट्रप्रति पूर्ण समर्पित हुनैपर्छ । त्यसैले निजामती सेवा सद्गुणहरूको सङ्गम हो ।
निजामती सेवामा किन सद्गुणहरू चाहिन्छ ? किनकि यो निजामती सेवा जीवन्त प्रणाली हो, जसको आविष्कारमा नर्थकोट–टे«भेलियन, विड्रो विल्सन, म्याक्स वेवर, डेनहार्ट–प्लास्त्रिक लगायतका अध्येता र थुप्रै विचारकको योगदान, लामो अध्ययन र अन्वेषणका आधारमा निजामती सेवाको गुण र कार्यभूमिकाको व्याख्या, बहस र निर्माण भएको हो । भनिन्छ, निजामती सेवाको क्रियाशीलताबेगर संविधान, नीति, कानुन र कार्यक्रमजस्ता राज्य इच्छाका ‘एजेण्डा’ ‘एक्सन’ मा परिणत हुन सक्दैनन् । राम्रा नीतिका पृष्ठभूमिमा निजामती कर्मचारी रहन्छन् । प्रभावकारी नागरिक सेवा व्यवस्थापन उसको कार्य हो, जवाफदेहिता र जिम्मेवारी निर्वाह उसको कर्तव्य हो ।
एक शब्दमा भन्दा सुशासन निजामती सेवाको परिणाम हो । सुशासन कायम गर्न निजामती सेवाले परामर्शकारी र कार्यकारी भूमिका खेल्छ । ऊ सरकारको व्यावसायिक सल्लाहकार हो । लोककल्याणकारिता विस्तार उसको धर्म हो । सरकारका नीति कानुनको विस्तृत र व्यवस्थित कार्यान्वयनका सन्दर्भमा कार्यकारी भूमिका निर्वाह गर्दछ । नीति निर्माण राजनीतिक कार्यकारीका तर्फबाट घोषणा हुने भए तापनि त्यसको सूत्राधार निजामती सेवा हो । यसले सर्वसाधारणका लागि सेवा प्रदायकको भूमिका खेल्छ । सेवा भूमिकाका सन्दर्भमा यसले आफँै सेवा व्यवस्थापन पनि गर्दछ वा अन्य सहयोगी सेवासंयन्त्रलाई परिचालन पनि गर्दछ ।
अर्को, सरकार र सर्वसाधारणबीचको सम्बन्ध सेतुको भूमिका पनि निर्वाह गर्दछ । सरकारका निर्णय सर्वसाधारणसम्म पु¥याउने र सर्वसाधारणका चाख, चाहना, आवश्यकता, आकाङ्क्षा र पृष्ठपोषणलाई सरकारसम्म पु¥याई राष्ट्रनिर्माणमा उन्नयन गर्ने सम्बन्ध सूत्र निजामती सेवा हो । नीति, कार्यक्रम तथा अन्य राज्यइच्छाको कार्यान्वयनका लागि वित्तीय, भौतिक, सूचना तथा संवेगात्मक साधनको परिचालन गर्ने काम निजामती सेवाकै हो ।
संस्थागत निरन्तरता र प्रणाली निर्माणमार्फत शासकीय भूमिका खेल्छ । परिवर्तनको सर्जक र विकासको सोपान पनि निजामती सेवा हो । राज्यभन्दा बाहिरका पात्रहरूलाई राज्यइच्छा अनुरूप परिचालन गर्ने, नियमन गर्ने र नियन्त्रण गर्ने भूमिका पनि यसैको हो । निजामती सेवाको निष्पक्षता, व्यावसायिकता, आर्जित स्वायत्तता र सन्तुलनकारी भूमिकाका कारण विविध विचार, वर्ग, सम्प्रदाय र क्षेत्रले राष्ट्रिय विकासको महाअभियानमा आफूलाई समाहित गर्ने अवसर पाउँछ । त्यसैले भनिन्छ, निजामती सेवा पलपलको राष्ट निर्माण हो ।
निजामती सेवा आफ्नो विज्ञता, अनुभव, प्रामाणिकता र जानकारीका कारण सधँै आविष्कारको प्रक्रियामा रहन्छ । त्यसैले यो सद्गुणहरूको सङ्गम हो । सद्गुणको सङ्गम नहुने छुट निजामती सेवालाई छैन । किनकी भोलिका लागि असल प्रणाली निर्माण र हस्तान्तरण गर्ने नैतिक दायित्व पनि उसैभित्र छ । यो सद्गुणहरूको सङ्गम आदर्श निजामती सेवामा चुनौतीका खात थपिएका छन् । चुनौतीहरू व्यक्तिगत, साङ्गठनिक, संरचनागत र परिवेशजन्य तहमा देखिएका छन् । सेवाग्राहीका सन्तुष्टिका स्वाद परिवर्तन हुँदा पनि निजामती कर्मचारीमा त्यो पु¥याउने चुनौती थपिन्छ । राजनीतिक कार्यकारीसँग सधँै रहेर पनि गैरराजनीतिक (तटस्थ) भूमिका निर्वाह गर्ने चुनौती एकदमै वजनदार छ । त्यो क्षमता र सामथ्र्य नभए निजामती सेवाको पहिचान गुम्न गई स्थापित मूल्यहरू धराशायी हुने सम्भावना हुन्छ, त्यो क्षमता र सामथ्र्य उपयोग गर्दा वृत्ति जोखिमको खतरा पनि रहन्छ ।
नेपालकै कुरा गर्दा निजामती सेवा गठन हुँदा करिब एकसय पचासको हाराहारीमा स्नातक व्यक्ति थिए, अहिलै घरघरै स्नातक छन् । नागरिक तहमा बढेको चेतनास्तरले निजामती कर्मचारीको कार्यसम्पादनको शैली, प्रक्रिया र स्तरमाथि धावा बोलेको छ । आफूले सम्पादन गर्दै आएको कतिपय काम, कार्यक्षेत्र, अधिकार नागरिक तहमा छा्ड्न, सहकार्य गर्न नियन्त्रकबाट सहयोगी बन्न अझ भनौँ शासकबाट सेवक बन्न इतिहासमै महसुस नगरिएको दबाब निजामती सेवाले खेपिरहेको छ । कार्यक्षेत्र खुम्चिँदा, अधिकार घट्दा, आफूमाथि प्रश्न तेर्सिंदा, आलोचना हुँदा पनि समन, संयम, विनय देखाई भूमिकामा झनै निख्खर प्रस्तुति हुने सद्गुणको फेरि माग भएको छ । बढ्दो चेतना, लोकतन्त्र, सामाजिक सञ्जालीकरण, डिजिटल अन्तरक्रिया, पारदर्शिताले पुनः असल कार्यसंस्कृति र सरल व्यवहारको पुष्टि, पुनर्पुष्टि गर्नु जरुरी भएको छ । तर के भुल्नुहुँदैन भने पवित्रता, सरलता, र आदर्श भएर मात्र निजामती सेवाले युगीन दायित्व पूरा गर्न सक्दैन, यसका अतिरिक्त आक्रामक, जुझारु र ‘डिस्परप्टिभ’ बन्नुपर्ने आन्तरिक माग र बाह्य दबाब छ ।
तर पारिवेशिक तहमा केही असजिला पक्ष छन् । निजामती सेवामा सद्चरित्र, निष्ठा र व्यावसायिकता संस्थागत गर्न परिवेशका चुनौती सम्बोधन नगरी धरै छैन । इमानदारी निर्वाहमा राजनीतिक तहबाट अभिभावकत्व लिने परिपाटी कसरी विकास गर्ने ? गम्भीर प्रश्न छ । परिवेशका अन्य पात्रले निजामती सेवाको वृत्तिईष्र्या गरिरहेका कारण पनि प्रणालीभित्र सद्गुणको संयोजन गर्न असजिलो देखियो । उभयपक्षको असफलताको भारी निजामती सेवामाथि बोकाइने प्रवृत्ति कसरी रोक्ने ? वृत्तिमार्गमा तगारा पनि तेर्सिएका छन् । परिवेशले लगाएको नानाभाँतीका आरोपबाट कसरी माथि उक्लिने ? द्वन्द्व र सङ्क्रमणको मार पनि निजामती सेवाले व्यहो¥यो । राज्यसंरचना बाहिरबाट आलोचना, आरोप र प्रत्यालोचना भइरहेको छ । यसले स्वयंउत्साही हुने इमानदार कर्मचारीलाई अल्मल्याएको छ । तैपनि अकण्टक सेवा, सदा समर्पण र व्यावसायिक निष्ठाको नाम निजामती सेवा हो । निजामती सेवा नाम होइन, काम हो ।
कसैले उसलार्ई माया वा आलोचना गर्छन्, त्यो कामकै आधारमा हो । आफूमाथि भएको आलोचना र अतिक्रमणको जवाफ पनि कामले दिने हो । त्यसैले सद्गुणहरूको सङ्गम भएकाले निजामती सेवाले सोचोस्, आफ्नो मनोवृत्ति सुधार कसरी गर्ने, वृत्ति सेवकबाट राष्ट्रसेवक कसरी बन्ने, आफूहरूको विकास होइन, नागरिकको सशक्तीकरण कसरी गर्ने, अवसरको पिछा होइन, जिम्मेवारी वहनमा कसरी खरो उत्रने ? यसका लागि यो पनि सोचोस् कि बानीव्यवहार बदल्नैपर्छ, सेवाग्राहीको मन जित्नैपर्छ र सेवाग्राहीको हृदयमा बस्नैपर्छ । अनि बन्नेछ सधैँको ‘आदर्श निजामती सेवा’ ।
(लेखक नेपाल सरकारका सचिव हुनुहुन्छ । )