logo
२०८१ मंसिर ७ शुक्रवार



प्रतिबद्धता र अपेक्षा

विचार/दृष्टिकोण |




अच्युत कुइँकेल

राजनीतिबाट तय भएका नीतिगत अवधारणा, कानुनी प्रबन्धलाई संस्थागत र व्यवस्थित गर्दै आम नागरिकमा अपनत्वको भावना विकास गराउने नजिकको सेवक निजामती सेवा हो । राज्य व्यवस्थाको सञ्चालन निश्चित पद्धति, प्रक्रिया र मापदण्डका आधारमा गरिन्छ । राज्यको उत्थानमा विधिको शासनको प्रभावकारी कार्यान्वयन जरुरी हुन्छ । राज्यका अवयवहरूको प्रभावकारी सञ्चालनका लागि निर्धारित नीति एवं कार्यक्रमको सञ्चालनमा निर्धारित विधि, प्रक्रिया र मापदण्डको प्रभावकारी कार्यान्वयन हुन सके उक्त कार्यक्रमको सबलताबाट मुलुकमा शान्ति, विकास र समृद्धि प्राप्तिमा सफलता प्राप्त गर्न सकिन्छ ।
स्थायी संयन्त्रका रूपमा रहेको कर्मचारीतन्त्रको व्यवसायीकरण हुन सके राज्यले लिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनसक्छ । मुलुकले अवलम्बन गरेका दीर्घकालीन सोचलाई नीतिगत रूपमा दिगोपना एवं कार्यान्वयन तहमा प्रभावकारी बनाउन कर्मचारीतन्त्रको पूर्ण सहयोगको अपेक्षा रहन्छ । योग्यताक्रमको आधारमा कर्मचारी छनोट गर्ने, कार्यविभाजन हुने, कार्य विशिष्टीकरण हुने, पदसोपानमा आधारित सङ्गठन रहने, निष्पक्षता पद्धतिको अवलम्बन गरिने जस्ता विशेषता रहने आधार लिई विद्वान् म्याक्स वेबरले कर्मचारीतन्त्रलाई चिनाउने प्रयास गर्नुभएको छ । उहाँले उल्लेख गरेका विशेषताका आधारमा कर्मचारीतन्त्रलाई विशिष्टीकृत रूपमा बुझ्न थालियो । निजामती कर्मचारीको अवधारणात्मक विकासका शुरुवाती चरणमा कर्मचारी दास मनोवृत्तिबाट गुज्रने गरेका र आफ्ना निहित स्वार्थमा केन्द्रित हुने अवस्थाबाट क्रमशः माथि उठेर निजामती प्रशासनले व्यावसायिकतातर्फ लम्कन सके बढ्दो जनअपेक्षा पूरा गर्न सहायक सिद्ध हुनसक्छ ।
नागरिक सेवामुखी हुनुपर्ने निजामती सेवाका आ–आफ्नै सीमा छन् । प्रचलित ऐननियमको पालना, उचित कार्यविधिको अवलम्बन, उचित कानुनी प्रक्रिया, पदसोपान कार्यविधिको अवलम्बन, प्रक्रियामुखी आदि यसका सीमा छन् । नेपालमा वि.सं २०१३ मा निजामती सेवा ऐनको तर्जुमा भएपछि निजामती सेवाले गति लिएको पाइन्छ । सेवाप्रवाहको उपलब्धता सन्दर्भमा बढ्दो जनअपेक्षा समेट्नुपर्ने, व्यापक क्षेत्र, विशिष्टीकृत सेवा एवं सक्षम जनशक्तिको अपर्याप्तता आदिका कारण निजामती सेवा आलोचनामुक्त हुनसकेको छैन । सेवाप्रवाहको कुनै बिन्दुमा जनताले अपेक्षाकृत सेवा नपाउँदा समग्र निजामती सेवाको अवस्थाको सन्देश प्रवाह हुन्छ । हाम्रा जनशक्तिलाई दीक्षित गर्ने, प्रेरित गर्ने, आवश्यकतानुसार दण्डित गर्ने सन्दर्भमा अझ थप काम गर्न बाँकी देखिन्छ । कर्मचारीबाट सेवाप्रवाह सन्तोषजनक भएर मात्र हुँदैन । गुणस्तरीय सेवाको प्रत्याभूति हुन सक्नुपर्छ । गुणस्तरीय सेवा प्रदान गर्ने जनशक्ति सधैँ दक्ष, जुझारु, सिर्जनशील एवं जागरुक बन्न सक्नुपर्छ ।
काम गर्ने र नगर्नेबीच विभेद नहुने, दण्ड र पुरस्कार, पद्धति वस्तुनिष्ठ नहुने, जनताका पृष्ठपोषणको उचित कदर नहुने हो भने सेवाप्रवाहलाई दुरुस्त, स्तरीय बनाउन थप मेहनत गर्नुपर्ने हुन्छ । प्रतिस्पर्धामा खरो उत्रिएर नियुक्त हुने निजामती कर्मचारीले आफ्नो दक्षता परीक्षणका क्रममा देखाउनुपर्छ । आफ्नो क्षमताको पूर्ण सदुपयोग गरी निजामती सेवालाई थप व्यवस्थित विश्वसनीय, प्रभावकारी र वैज्ञानिक बनाउन दृढ सङ्कल्प गर्नुपर्छ । ‘सक्षम निजामती प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस २०७६ मनाइँदैछ । निजामती सेवा दिवसले आफूले हासिल गरेका उपलब्धिको संस्थागत स्मरण संरक्षण गर्दै आगामी दिनमा थप प्रभावकारिताका साथ सेवाक्षेत्रमा लाग्ने प्रण गर्न सम्पूर्ण निजामती कर्मचारीमा स्वउत्प्रेरणा जगाउन सके विगतदेखि मनाइँदै आइएको यस दिवसको महŒवमा वृद्धि हुन्छ । अपेक्षा र उपलब्धिबीचमा शून्यता हुन सक्छ । सबै अपेक्षा पूरा नहुन सक्छन् तर वैध अपेक्षा पूरा गर्नु कर्तव्यभित्र पर्न आउँछ ।
राज्यको सेवामा समर्पित हुनुपर्ने निजामती कर्मचारी व्यक्तिगत स्वार्थकेन्द्रित कार्यमा समर्पित भएको गुनासो सुन्न थालिएको छ । निजामती कर्मचारीको सेवा प्रभावकारी बनाउनु यससँग आबद्ध कर्मचारी सङ्घ, सङ्गठनको समेत भूमिका महŒवपूर्ण हुन्छ । आफ्ना हकहितको रक्षाका लागि ट्रेड युनियनका अधिकारको मात्र कुरा नगरी आफूले प्रवाह गर्ने सेवाको विषयमा समेत प्रतिबद्धता व्यक्त हुन जरुरी छ । नागरिकका सेवा सुविधाका लागि निजामती कर्मचारीको व्यवस्था गरिएको हुन्छ । राज्यले नागरिकलाई प्रदान गर्ने सेवाको प्रभावकारिता अभिवृद्धि प्रभावकारी, चुस्त, प्रशासनबाट मात्र सम्भव हुन्छ । प्रशासन सञ्चालन गर्ने अवयवमध्येको मानव स्रोतका रूपमा रहने जनशक्तिलाई आकर्षण गर्ने र टिकाइराख्ने समस्याका वावजुद सेवा सुरक्षाको प्रत्याभूतिका लागि निजामती सेवाको गठन भएको पाइन्छ ।
शासकबाट सेवकतिर, आशाभन्दा त्यागतिर लाग्नुपर्ने वर्ग निजामती कर्मचारीको कुशल कार्यसञ्चालनबाट राज्यले जनताका सामु गरेका प्रतिबद्धता कार्यान्वयन तहमा सार्थक हुनसक्ने देखिन्छ । निजामती सेवालाई स्थायी सरकारका रूपमा लिइन्छ । यद्यपि यसलाई पुरातन कार्यशैलीयुक्त, अवसरवादीहरूको झुण्ड भनी आलोचना पनि नभएको होइन । आफ्नो योग्यता परीक्षण गराएर निश्चित कामलाई वृत्ति मानेर आफ्नो जीवनको महŒवपूर्ण ऊर्जाशील समय व्यतित गरेका कर्मचारीको त्याग र योगदानको अवमूल्यन पनि गरिनुहुँदैन । कर्मचारी नियुक्तिका बेग्लै मापदण्ड, तरिका छन् । ज्ञान, सीपयुक्त कर्मचारी आफ्नो क्षमताको प्रयोग गरी राष्ट्रसेवा गर्ने लालसामा शपथ लिई नियुक्त भएका हुन्छन् तर कार्यसम्पादनका तहमा तिनका शपथ÷प्रतिज्ञा क्रमशः फिका हुन्छन् । अधिकार प्राप्तिप्रति प्रबल हुने कर्मचारी कर्तव्यपालनामा कमजोर रहन्छन् भन्ने गरिन्छ । कर्मचारीले व्यक्तिगत तवरमा सुरुवात गरेका राम्रा काम पनि नेतृत्व तहबाट ओझेलमा पार्ने गरिन्छ भन्ने गुनासोको व्यापकता पाइन्छ । निजामती कर्मचारी आफ्नो सेवा, शर्त, सुविधाप्रति बढी जागरुक÷उत्सुक हुन्छन् ।
निजामती कर्मचारीबाट मुलुक र जनताको हितमा गरिने हरेक कामका नतिजा सकारात्मक हुन्छन् । कर्मचारी वर्गलाई यन्त्र चलाउने उत्प्रेरकका रूपमा लिइन्छ । राजनीतिक तत्वका अमूर्त निर्णयलाई कार्यरूपमा लाने प्रभावकारी संयन्त्र कर्मचारीतन्त्र नै हो । कर्मचारीतन्त्रको सहयोग प्राप्त गर्न नसक्ने हो भने राजनीतिक तहलाई आफ्नो योजना कार्यान्वयन गर्न सहज हुँदैन । राजनीतिक नेतृत्वको साथ विना कर्मचारीवर्गले आफ्ना सोचलाई कार्यान्वयनमा ल्याउन सम्भव हुँदैन । निजामती सेवाले विश्वसनीयता आर्जन गर्नका लागि समेत कानुनको उचित परिपालना जरुरी हुन्छ । निजामती कर्मचारीको सेवाको सुरक्षासँगै निजहरूउपर गरिने विभागीय कारबाहीमा निष्पक्षता, पारदर्शिता जरुरी हुन्छ । कानुनी कारबाहीका सन्दर्भमा देखिने कमजोरीउपर बेलाबखत टीकाटिप्पणी हुने गरेको पाइन्छ । जनअपेक्षा अनुसार हामीले सेवाप्रवाह गर्न सकेनौँ भने दिवसको औचित्य पुष्टि गर्न गाह्रो हुन्छ । दिवसले हामीमा ऊर्जा थप्छ, विगतको समीक्षा आगामी दिनको योजना तर्जुमाका लागि समेत दिवस महŒवपूर्ण रहन्छ ।

(लेखक प्रशासकीय अदालतका रजिष्ट्रार हुनुहुन्छ । )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?