logo
२०८१ मंसिर ७ शुक्रवार



समृद्धिका लागि सक्षम प्रशासन (सम्पादकीय)

विचार/दृष्टिकोण |




‘सक्षम निजामती प्रशासन ; विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ आज देशभर १६ औँ निजामती सेवा दिवस मनाइँदैछ । जुनसुकै नामले सम्बोधन गरिए पनि कर्मचारी संस्था मुलुकको स्थायी सरकार भएकाले नेपालको सन्दर्भमा सरकारको दक्षता प्रदर्शन गर्ने प्रमुख सहायक निजामती सेवा हो । २०१३ सालेदेखि निजामती सेवा ऐनमार्फत सङ्गठित गरिएको भए पनि निजामती र जङ्गी सेवा नेपालका पुराना संस्था हुन् जसमार्फत सरकारले जनता र राष्ट्रका लागि सेवा तथा सुरक्षा प्रदान गर्दै आएको छ । निजामती सेवामा आबद्ध कर्मचारीले विभिन्न राजनीतिक उतारचढावमा पनि आफ्नो कर्तव्य निर्वाह गर्दै आएका छन् । सिद्धान्ततः व्यक्तिगत सुखसुविधा त्यागेर देशको सेवामा कटिबद्ध रहनुपर्ने हुनाले निजामती कर्मचारीलाई गरिमामयी राष्ट्रसेवक शब्दले सम्बोधन गरिएको छ । हरेक वर्ष दिवस मनाइँदै गर्दा हरेक कर्मचारीलाई आफ्नो जिम्मेवारी र सेवक शब्दको गरिमाले निर्दिष्ट गर्न सकोस् भन्ने सन्देश यी दिवसका नाराले दिँदै आएका छन् । वर्तमान सरकारले समृद्धिमार्फत जनताको मुहारमा सन्तुष्टि र खुशी देख्न चाहेकाले यो बृहत् लक्ष्य हासिल गर्न निजामती सेवा दिवसले सबै कर्मचारीलाई थप प्रतिबद्ध र समर्पित हुन प्रेरणा दिनेछ ।
कर्मचारी सरकारका प्रतिनिधि भएकाले उसका कार्यको जसअपजस सरकारसँग जोडिन पुग्छन् । कर्मचारी स्वयंले आफूलाई व्यक्ति नभई संस्थाका रूपमा बुझेर सेवाप्रवाह गरुन् भन्ने जनताको अपेक्षा रहन्छ । साथै जनताका पनि प्रतिनिधि भएकाले उनीहरूका सुखदुःखका अनुभव र आवश्यकता आफू मातहतका उच्च निकायमा सम्पे्रषित गर्ने मध्यस्थ साधन पनि कर्मचारी नै हुन् । यस्ता कर्मचारीमाथि विभिन्न आरोप र बहानामा विगतमा भौतिक कारबाहीदेखि बलात् सेवानिवृत्त हुनुपर्नेसम्मका घटना भएका छन् । उहाँहरू सबैप्रति दिवसले विशेष सम्मान व्यक्त गर्ने नै छ । यसैगरी कार्यसम्पादनका क्रममा कतिपय कर्मचारीले कानुनी त्रास र प्रशासनिक उल्झन ब्यहोर्नुपरेका समाचार पनि प्रकाशित हुँदै आएका छन् । कर्मचारीलाई प्रचलित कानुनको परिधिमा रहेर उत्प्रेरणात्मक विधिमार्फत निर्बाध काम गर्ने वातावरण दिनु राज्यको दायित्व हो । राज्यका यस्ता दायित्व निर्वाह गर्न निजामती कर्मचारीले आफूलाई सिर्जनशील सेवक बनाउनुपर्ने वर्तमान माग हो ।
नेपालको प्रशासनमाथि परिणाममुखीभन्दा प्रक्रियामुखी भएको गुनासो रहँदै आएको छ । कानुनी प्रावधान र कार्यविधिले निर्दिष्ट गरेअनुसार कर्मचारीले काम गर्नुपर्ने भएकाले कहीँकतै यस्ता समस्या छन् भने पद्धतिमा सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ । पद्धतिका कमीकमजोरीका कारण व्यक्ति र पूरै संंस्थालाई लाञ्छना लाग्ने अवस्थाको निराकरणमा निजामती सेवाको उच्च तहले प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ ।
उल्लासका साथ निजामती सेवा दिवस मनाइँदै गर्दा आफूहरूलाई जनता र सेवाग्राहीले कसरी हेर्छन् भन्ने मनन कर्मचारी स्वयंले गर्नुपर्छ । सेवाग्रहीको हृदयमा सुन्दर वा भद्दा छाप अङ्कित गर्ने कालिगढीमा कर्मचारी नै बढी जिम्मेबार रहन्छन् । वर्तमान सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै स्वच्छ प्रशासनका लागि मार्गचित्र कोरेको छ । आजको आवश्यकता सक्षम मात्र होइन स्वच्छ प्रशासन पनि भएकाले सरकारले प्रत्येक कर्मचारीले कार्यालय प्रवेश गर्दा ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न’ भनेर सपथ लिनुपर्ने व्यवस्थासिहत निजामती सेवामा सदाचार स्थापना गर्न चाहेको छ । सरकारको यो अभियानमा कर्मचारीले सघाउँदै कार्यालय प्रवेश गर्दा लिएको सपथजस्तै निवास फर्कने क्रममा छातीमाथि हात राखेर ‘मैले भ्रष्टाचार गरिनँ, मैले भ्रष्टाचार हुन दिइन’ भन्न सक्ने हो भने ‘सेवक’ शब्द मात्र उजिलिने छैन कर्मचारी संस्थाप्रति सेवाग्राहीको अगाध स्नेह चुलिनेछ ।
राजनीतिक प्रतिबद्धताको सङ्घीयता सफलीभूत बनाउन कर्मचारी संस्थाको प्रमुख दायित्व छ । नयाँ राजनीतिक संरचनाका कारण निजामती सेवामा नयाँ अभ्यास भएका छन् र हुँदैछन् । यस्तो अवस्थामा कर्मचारी अझ बढी जनतामुखी हुनुपर्ने आवश्यकता एकातिर छ भने अर्कोतिर जीवनका उर्वर घडी मुलुकको सेवामा खर्चेका कर्मचारीले पायक स्थानबाट सेवा प्रदान गर्न पाउनुपर्र्नेे मागको विवेकसम्मत सम्बोधन गरिनु त्यत्तिकै आवश्यक देखिन्छ । पछिल्ला दिन कर्मचारीले सरुवा वा समायोजन भएर जान तत्परता नलिएका जस्ता समाचार आएका पनि छन् यस्ता सन्दर्भमा कानुन र व्यावहारिकताको संयोजन गर्न विशिष्ट प्रकारको नेतृत्वकला अपेक्षित देखिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?