वैदेशिक लगानी भिœयाउने योजनालाई विभिन्न मुलुकले प्राथमिकता दिएका छन् । खासगरी, अल्पविकसित र विकासोन्मुख देशले आफ्ना आवश्यकता पूरा गर्न विदेशी लगानीको भर पर्नुपर्ने वर्तमान विश्व अर्थतन्त्रको विशेषता नै भएको छ । वैदेशिक लगानी निम्त्याउनु भनेको सो लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुनेछ भनेर लगानीकर्तालाई आश्वस्त बनाउनु पनि हो । प्रतिफलको सुनिश्चितताविना चाहे स्वदेशी वा विदेशी; कसैले पनि लगानी गर्दैनन् । आवश्यक तथ्याङ्क, वित्तीय व्यवस्थापन, राजनीतिक स्थिरता, प्रशासनिक खासगरी करको सुनिश्चितता, श्रम–कानुनका प्रावधान र श्रम अधिकार, घरेलु वातावरणलगायतका विषयलाई लगानीकर्ताले गम्भीरतापूर्वक समीक्षा गरी लगानी गर्न उपयुक्त वा अनुपयुक्त ठान्दछ । यी सबै विषयको आधिकारिक र विश्वले मान्यता दिने एकीकृत सूचनाको दस्तावेज नै देशको साख परीक्षण अर्थात् ‘कन्ट्री क्रेडिड रेटिङ’ हो । नेपालमा पहिलोपटक वैदेशिक लगानीका लागि प्रमुख सर्त मानिएको साख परीक्षणको गृहकार्य भइरहेको छ । योजनाअनुसार काम भए सन् २०१९ को अन्त्यसम्म अर्थात् आगामी पुससम्ममा नेपालको साखको स्तर निर्धारण भइसक्नेछ ।
वर्तमान सरकारले द्रुत आर्थिक विकास र समृद्धिका योजना अघिसारेको छ । त्यसका लागि आवश्यक पर्ने ठूलो लगानी नेपालभित्रबाट मात्रै जुटाउन सम्भव नहुने भएपछि वैदेशिक लगानी आकर्षित गर्न विभिन्न पहल गरिएको छ । यसैक्रममा बैङ्क तथा वित्तीय संस्थाले विदेशी बैङ्कबाट ऋण ल्याउन पाउने नीतिगत व्यवस्था यसअघि नै गरिएको छ । दुईपटक गरिएका लगानी सम्मेलनमार्फत विभिन्न परियोजनामा लगानी आह्वान गरिएअनुसार केहीमा लगानीको प्रतिबद्धता प्राप्त भएका छन् । ऋणदाता संस्था तथा लगानीकर्ताले लगानी जोखिमको स्तर, राजनीतिक स्थिरता, रोजगारीको अवस्था, लगानीको वातावरण, करको सुनिश्चितताजस्ता विषयको एकीकृत जानकारी दिई आगामी दिनमा वैदेशिक लगानी बढाउन यो परीक्षण महŒवपूर्ण पहल हुनेछ ।
साख परीक्षण कुनै पनि देश आफैँले गर्दैन, यसका लागि विश्वभरिका लगानीकर्ताले विश्वास गरेका एजेन्सीलाई जिम्मा दिनुपर्ने हुन्छ । नेपालले पनि ख्यातिप्राप्त एजेन्सीलाई नै परीक्षण गर्न लगाउने तयारी गरिरएको अर्थ मन्त्रालयले जनाएको छ; जुन स्वाभाविक छ । परीक्षणका परिणामबाट नेपालले आफ्ना वास्तविक अवस्था बोधमात्र गर्ने छैन, विश्वका लगानीकर्ताले पनि यसकै आधारमा लगानी योजना बनाउनेछन् । विश्वका लगानीकर्ताले सहजै विश्वास गर्दै आएका एजेन्सीले नै नेपालको साख परीक्षण गर्ने भएकाले यसमा कुनै पनि बाह्य वा आन्तरिक आग्रहको गुञ्जायस रहने छैन । नेपालको लगानी वातावरण र आर्थिक, राजनीतिक अवस्था कस्तो छ भनेर विश्वलाई सुसूचित गर्न यो विधि सहायक हुनेछ । साख अध्ययन गर्ने एजेन्सीहरूले संस्थागत, आर्थिक, बाह्य तथा वित्तीय र मौद्रिक पाटोको विशेष अध्ययन गर्ने र यसमा दोहोरो मापनका आधारमा गे्रडिङ प्रदान गरिने भएकाले नेपालको यकिन अवस्थामा विश्वजगत् विश्वस्त हुनेछ ।
साख परीक्षणपूर्व गर्नुपर्ने गृहकार्यमा नेपालले विशेष ध्यान दिनु आवश्यक छ । खासगरी मुलुकको तीनखम्बे आर्थिक नीतिको सशक्त साझेदार निजी क्षेत्रको सहभागिता र सहमति यस कार्यका लागि महŒवपूर्ण मानिन्छ । यसैगरी, विश्व अनुभवबाट पनि नेपालले शिक्षा प्राप्त गर्न सक्छ । लगानी र विश्वव्यापीकरणका सन्दर्भमा साख परीक्षण अपरिहार्य भइसकेको जस्तो देखिए पनि ५२ देशले यस्तो परीक्षण गरेको पाइँदैन । भोलिका दिनमा साख परीक्षणमा नेपाल नकारात्मक सूचीमा प¥यो भने पनि यहाँ वैदेशिक लगानीको वातावरण बिल्कुलै खराब छ भन्ने हुँदैन । साख परीक्षणअनुसार छिमेकी मुलुक चीन ‘ए’ समूह र भारत ‘बी’ समूहमा रही स्थिर सूचीमा परेका भए पनि ती देशका सबै प्रान्त वा क्षेत्र समान रूपले लगानीका लागि आकर्षक छन् भन्न सकिँदैन । नेपाल सकारात्मक सूचीमा प¥यो भने पनि हरेक क्षेत्रको लगानीमा योग्य छ भन्ने हुँदैन । जसले जेसुकै भने पनि नेपालमा जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रमा नै बढी सम्भावना देखिन्छ । देशको साखको स्तर (रेटिङ) ले वैदेशिक लगानी आकर्षित गर्न सकिन्छ । अहिलेको आवश्यकता पनि यही हो ।