logo
२०८१ मंसिर ७ शुक्रवार



सम्बन्धको निरन्तरता (सम्पादकीय)

विचार/दृष्टिकोण |




परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणमा नेपालको औपचारिक भ्रमणमा रहनुभएका मित्रराष्ट्र चीनका राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी मङ्गलबार अपराह्न स्वदेश फर्कनुभएको छ । तीनदिने भ्रमणका क्रममा दुई देशबीच भएका समझदारी, द्विपक्षीय वार्ता, उच्चस्तरीय राजनीतिक भेटघाट र आगामी दिनका प्रतिबद्धतालाई नेपाल–चीनबीच विद्यमान हार्दिक सम्बन्धको निरन्तरताका रूपमा हेरिएको छ । भ्रमणका क्रममा पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन् । यस प्रकारका भ्रमणले सङ्क्रमणकालीन राजनीतिक अवस्था पार गर्दै समद्धिको यात्रामा रहेको नेपाल र ‘नयाँ युगमा समाजवादी आधुनिकीकरण’ को बृहत् अभियानमा अग्रसर चीनलाई अझ बढी एकआपसलाई बुझ्न सहयोग गर्ने विश्वास गर्न सकिन्छ । यसअघि परराष्ट्रमन्त्री ज्ञवालीलगायत आपसी उच्च राजनीतिक भ्रमणमार्फत दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिँदै आएकै निरन्तरतामा यो भ्रमण भएको छ ।
विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा भएका सममmदारी र आर्थिक सहयोग मानवीय सेवामा केन्द्रित छन् । कुनै पनि देशबाट कति सहयोग पाइयो वा दिन सकियो भन्ने अङ्कगणितबाट विशिष्ट ऐतिहासिक मित्रता रहेका देशको परराष्ट्र सम्बन्ध र कूटनीति निर्धारण गर्दैन । यस्ता उच्चस्तरीय भ्रमण एकआपसका अवस्था र आवश्यकता बुझ्न तथा एकआपसका चाहना अनुमोदन गर्न सहयोगी हुनेछन् भन्ने विश्वव्यापी सत्यलाई दिनु र लिनुसँग तुलना गर्न मिल्दैन । विशिष्ट पाहुनाको स्वागतसँगै नेपालको परिवर्तित राजनीतिक अवस्था, जनताको चाहना तथा आवश्यकता चीनलाई बुझाउन सकिएको छ । भ्रमणका क्रममा विदेशमन्त्री वाङ यीद्वारा अभिव्यक्त विचारले चीनले नेपालीको विकास चाहनालाई अनुमोदन गरेको स्पष्ट हुन्छ । यसैगरी विश्व राजनीतिक मञ्च तथा अर्थ–बजारमा प्रभावी बन्दै गएको चीनको सुरक्षा चासो, एक चीन नीति तथा ‘नयाँ युगमा चिनियाँ चरित्रको समाजवाद’ जस्ता अभियानलाई नेपालले गर्दै आएको सम्मान दोहो¥याउने अवसर पाएको छ । हाम्रा सम्बन्ध भौतिक वस्तु वा सेवाको लिनादेनाबाट होइन एकआपसको सुखदुःखको बुझाइबाट निर्धारण हुँदै आएको छ र हुनुपर्छ भन्ने यथार्थलाई भ्रमणले पुष्टि गरेको छ । प्रधानमन्त्री केपी ओलीले विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपालको भूभाग कुनै पनि छिमेकी राष्ट्रका विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको र चीनका तर्फबाट प्रतिबद्धताप्रति दर्शाइएको विश्वास हाम्रा सम्बन्धका आधार हुन् ।
चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता र गतवर्ष नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएपछि पूर्वाधार विकासको नेपाली चाहना सम्बोेधन हुने भएको छ । बीआरआईले विश्वव्यापी यातायात सम्पर्क (कनेक्टिभिटी) लाई उच्च महŒव दिएकाले भौतिक पूर्वाधारको विकासमा नेपालले यसबाट अपेक्षित लाभ लिन सक्छ । केरुङ–काठमाडौँ रेलमार्गलाई नेपालीले उच्च महŒव दिएको चीनले बुझेको छ । भ्रमणका क्रममा दुवै देशले उक्त रेलमार्गको सम्भावना र आवश्यकतालाई निरन्तरता दिएका छन् । यसैगरी नेपाली जनता र सरकार चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतार्थ आतुर रहेका सन्देशमा चीन सकारात्मक र इच्छुक रहेकाले विदेशमन्त्री वाङ यीको भ्रमणको बहुआयामी महŒव पुष्टि भएको छ ।
नेपाल विश्वका दुई अर्थतन्त्र भएका मुलुक भारत र चीनको विकासबाट फाइदा लिन सक्ने अर्थ–बजार नीति तथा कार्यक्रममा केन्द्रित हुनुपर्छ । नेपालका ठूला विकास साझेदार यी मुुलुकमा शान्ति तथा सम्पन्नता हुन् । त्यसैले नेपालको विकासमा भारत तथा चीनले आर्थिक तथा नैतिक सहयोग गर्दै आएका हुन् । यस्ता सहयोगलाई आफ्ना हित अनुकूल अधिकतम परिचालन गर्ने राजनीतिक कला नेपाली पक्षमा रहनुपर्छ । ‘उसैले मात्र पहाड सम्याउन सक्छ, जसले नजिकका साना ढुङ्गा पन्छाउन सुरु गर्छ’ भन्ने प्रचलित उखानबाट दीक्षित चिनियाँले ‘रेल पनि तेल पनि’ ल्याइदिन्छन् भनेर बसियो भने नेपालीले चाहेको विकास सम्भव छैन । आवश्यकता र प्राथमिकतामा स्पष्ट भई हाम्रा चाहनामा सहयोगी राष्ट्रमार्फत स्रोतसाधान परिचालन गर्नुले हामीलाई समृद्ध बनाउनेछ । मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यीको भ्रमणलाई द्विपक्षीय बृहत् हित र दीर्घकालीन सम्बन्धका यिनै अध्यायका रूपमा बुझ्नुपर्छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?