logo
२०८१ मंसिर ७ शुक्रवार



सहकालको इन्द्रजात्रा

विचार/दृष्टिकोण |




शैलेन्द्र पौडेल

उपत्यकामा इन्द्रजात्रा पर्व वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी अत्यन्त धुमधाम र हर्षोल्लासपूर्वक मनाइन्छ । इन्द्रले आफ्नी आमालाई पूजाका लागि फूल खोज्दै काठमाडौँमा आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले बाँधी राखेपछि इन्द्रकी आमा स्वयम् काठमाडौँ आएर छोराको बदलामा कुहिरो फिर्ता दिने वाचा गरी इन्द्रलाई फर्काएर लगेको र यसपछि इन्द्रजात्रा पर्व मनाउन थालिएको भन्ने किंवदन्ती पाइन्छ । यो जात्रा राजा गुणकामदेव मल्लले सुरुवात गरेका हुन् ।
यो जात्रा भाद्र शुक्लपक्ष द्वादशीको दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहित लिङ्गो ठड्याएपछि प्रारम्भ हुन्छ । जात्रा विभिन्नप्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । पञ्चाङ्ग निर्णायक समितिबाट निर्णय भई प्राप्त साइतअनुसार जात्राका लागि आवश्यक पर्ने लिङ्गो लिन वन प्रस्थान गर्ने, उपयुक्त वृक्ष छनोट गरी त्यसलाई काट्ने, नगर प्रवेश गराउने, इन्द्रध्वजोत्थान गर्ने, कुमारी यात्रा गर्ने, नानिचा यात्रा गर्ने, इन्द्रध्वज पतन गर्नेलगायतका कार्यहरू गरी यो जात्रा समापन गरिन्छ । जात्राका लागि चाहिने ३६ हात लामो, चार हात गोलाइ भएको लिङ्गो भक्तपुर जिल्लाको चित्तपोल सामुदायिक वनबाट ल्याइने प्रचलन छ । लिङ्गो लिन वन जाने, लिङ्गो काट्ने, लिङ्गोलाई भक्तपुरको जङ्गलबाट तानी हनुमानढोकासम्म पु¥याउने र विधिपूर्वक ठड्याउनेजस्ता काम केन्द्रीय मानन्धर सङ्घबाट गरिने परम्परा छ । साथै यस्तो महŒवपूर्ण कार्यहरूमा लाग्ने सम्पूर्ण खर्चको जोहो गुठी संस्थानबाट हुँदै आएको छ ।
हनुमानढोका दरबार क्षेत्रको कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधिअनुसार केन्द्रीय मानन्धर सङ्घले नेपाली सेनाको सहयोगमा उक्त भक्तपुरको जङ्गलबाट ल्याइएको लिङ्गो ठड्याएपछि इन्द्रजात्राको सुरुवात भएको सन्देश पाइन्छ । त्यसपछि नगरमा इन्द्रजात्राको चहलपहल सुरु हुन्छ । लिङ्गो ठड्याएपछि फेदमा हात्तीमा चढेका इन्दको प्रतिमाको पूजा गरिन्छ । उक्त अवसरमा नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टन र विभिन्न बाजागाजाका समूहले मङ्गलधुन बजाई जात्रालाई थप रमाइलो र आकर्षक बनाउँछन् ।
जात्राको मुख्य आकर्षण हनुमान ढोकालगायतका क्षेत्रमा जीवित देवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा हो । यी तीनवटै रथहरू मर्मत सम्भार गर्ने, रङ्गरोगन गर्ने तथा अन्य साजसज्जालगायतका कार्यहरू साबिकदेखि नै गुठी संस्थानबाट हुँदै आएको छ । साथै जात्रामा खटिने व्यक्तिहरूका लागि दिइनुपर्ने बलम्भोज, जीवित देवी कुमारीका लागि तयार गरिनुपर्ने विशेष प्रकृतिका रोटी, मिठाइ, दानदक्षिणा, साबिकदेखि जात्राका विभिन्न चरणमा सहभागी रकमीहरूका लागि वितरण गर्नुपर्ने, चिउरा, स्याबजीलगायत अन्य जिन्सी सामग्रीहरूलगायतमा भएको खर्चहरू हेर्दा गुठी संस्थानले हरेक वर्ष यो जात्रामा झन्डै ५० लाख रुपियाँको हाराहारीमा खर्च बेहोर्दै आइरहेको छ ।
जात्राको मुख्य दिन र रथयात्राको पहिलो दिन हनुमानढोकाको गद्दी बैठकमा राष्ट्रप्रमुखको उपस्थिति हुने गर्छ । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीगण, संवैधानिक निकाय प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसमेतको उपस्थितिमा हनुमानढोकामा जात्राको विशेष समारोह हुने प्रचलन छ । यो रथयात्राको पहिलो दिन पनि हो । श्री कुमारी, श्री गणेश र श्री भैरवको रथारोहण भएपछि राष्ट्रपतिलगायत हनुमानढोकास्थित गद्दी बैठकमा उपस्थित विशिष्ट पाहुनाहरूले श्रीहरूको टीका र प्रसाद ग्रहण गर्छन् । त्यसपछि रथारोहण भइसकेका रथहरूमा गद्दी बैठकको बरन्डाबाट सिक्का अर्पण गरी राष्ट्रपतिबाट अगाडि बढ्न इसारा गरेपछि रथयात्रा सुरु गरिन्छ ।
यसै दिन तलेजु भवानीको तान्त्रिक विधिद्वारा गुप्तपूजा गरिन्छ । तलेजु भवानीले कुमारीका रूपमा यसै दिन साक्षात् दर्शन दिन्छिन् भन्ने जनविश्वास छ । यसैगरी, हनुमानढोकाआसपासका क्षेत्रमा अन्य दुई दिन तीनवटै रथको यात्रा गराइने चलन छ । जात्राका क्रममा भक्तपुरको महाकाली नाच, मजिपाटको लाखेनाच, इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा किलागलको पुलुकिसी नाच, देवी नाच, हल्चोक भैरवको आकाश भैरव नाच नचाउने गरिन्छ । यी नाचहरू र परम्परागत रूपमा प्रदर्शन गरिने भेषभूषा र बजाइने बाजाहरूले जात्रालाई थप रौनक प्रदान गर्छन् । त्यस्तैगरी जात्राको अन्तिम दिन नानिचा यात्राको दिन महिलाहरूले मात्र रथ तान्ने गरिन्छ । साथै सोही दिन राति साइतअनुसार लिङ्गो ढाली तानेर बागमतीमा सेलाएपछि इन्द्रजात्रा पर्व समाप्त हुन्छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै धार्मिक, साँस्कृतिक, सामाजिक महŒव बोकेको इन्द्रजात्रा पर्वलाई यस वर्ष अझ विशेष बनाउने प्रयास गरिएको छ । हाम्रो सँस्कृतिलाई विश्वभरि प्रचार–प्रसार गर्ने उद्देश्यले पहिलोपटक विदेशी पाहुनाहरूलाई इन्द्रजात्राको अवसरमा राष्ट्रका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा हुने विशेष समारोहमा सहभागी हुन आमन्त्रण गरिएको छ । पाँच राष्ट्रका १६ वटा सहरप्रमुखसहित ४८ जना विदेशी पाहुना यो जात्रा अवलोकनका लागि नेपाल आउने कार्यक्रम छ ।
नेपाल, नेपालीलाई चिनाउने यिनै साँस्कृतिक जात्रा, पर्व नै हाम्रा पर्यटन व्यवसायका आधार स्तम्भ हुन् । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हुन लागेको यो जात्रालाई हामीले सही रूपमा उपयोग गर्न जात्राको व्यापक प्रचार–प्रसार गर्दै यसलाई व्यवस्थित, अनुशासित, मर्यादित र शान्तिपूर्वक रूपमा सम्पन्न गर्नुपर्छ । यसका लागि सम्बद्ध पक्ष जिम्मेवार गुठी संस्थान, काठमाडौँ महानगरपालिका, नेपाली सेना, सम्बद्ध गुठी खलः, गुठियार रकमी विभिन्न सङ्घ संस्थालगायत शान्ति सुरक्षाको व्यवस्था गर्ने नेपाल प्रहरीका साथै सम्बद्ध सरकारी निकायहरूको आपसी सहयोग, समन्वय, सहभागिता र प्रतिबद्धता हुन अत्यन्त आवश्यक देखिन्छ ।
नेपाल र नेपालीको पहिचानका रूपमा रहेका हाम्रा साँस्कृतिक मठमन्दिर, जात्रा, पर्वहरूको संरक्षण र सम्बद्र्धन गर्न सम्बद्ध पक्षको सहयोग, समन्वय र सहभागितामा राज्य नै बढी जिम्मेवार र जवाफदेही हुन आवश्यक छ । राष्ट्रलाई सुन्दर बनाउन गहनासरी रहेका यिनै ऐतिहासिक र साँस्कृतिक क्रियाकलापमा रमाउन हरेक वर्ष विश्वका कुनाकाप्चाबाट लाखौँ लाख पर्यटक यहाँ आउँछन् । यसबाट प्रशस्त रोजगारी सिर्जना भई पर्यटन व्यवसाय फस्टाउँदै आर्थिक विकासमा टेवा पुग्छ ।

(लेखक गुठी संस्थान, शाखा कार्यालय काठमाडौँका कार्यालय प्रमुख हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?