logo
२०८१ मंसिर ७ शुक्रवार



पेट्रोलियममा नयाँ आयाम (सम्पादकीय)

विचार/दृष्टिकोण |





प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले मङ्गलबार संयुक्तरूपमा मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नुभएसँगै पेट्रोलियम ढुवानीमा ऐतिहासिक सफलता पाएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि सन् २००४ मा भएको सम्झौता र सन् २०१५ को अगस्टदेखि निर्माण सुरु गरिएको यो परियोजनाको सफलताबाट नेपाल–भारतको व्यापार सम्बन्ध थप सुदृढ भएको छ । दक्षिण एसियाकै पहिलो क्रसबोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको यस परियोजनाको सफलतापछि नेपालमा पेट्रोलियमको आयात, भण्डारण र वितरणमा सहजता हुनेछ । उद्घाटनसँगै पाइपबाट डिजेल आउन थालेपछि मङ्गलबारदेखि नै डिजलेको मूल्य प्रतिलिटर दुई रुपियाँ घटाइएको छ । सुरुमा डिजेलमात्र ल्याइने यो पाइपबाट भौतिक पूर्वाधार र अन्य तयारीपछि पेट्रोल तथा हवाई इन्धन पनि आउने हुनाले ती क्षेत्रमा पनि मूल्यमा कमी आउनेछ । दुवै देशका प्रधानमन्त्रीले सूचना प्रविधिमार्फत संयुक्तरूपमा परियोजनाको उद्घाटन गर्दै नेपाल र भारतबीचको सम्बन्धमा थप सकारात्मक परिणाम प्राप्त भएको विश्वास व्यक्त गर्नुभएकाले आगामी दिनमा यो परियोजना थप परिणाममुखी हुने निश्चित छ ।
प्रधानमन्त्री ओलीले परियोजना नेपाल र भारतको ‘ट्रेड’ तथा ‘ट्रान्जिट’ ‘कनेक्टिभिटी’ को सर्वश्रेष्ठ उदाहरण हुने बताउनु भएको छ । यसबाट अबका दिन हाम्रो ध्यान भारतबाट आयात हुने ग्यास पनि पाइपबाटै ल्याउन सकिनेमा केन्द्रित हुनेमा विश्वास बढेको छ । भारतका प्रधानमन्त्री मोदीले विकासका लागि दुई देशबीचको साझेदारी बढाउँदै नयाँ नयाँ क्षेत्रमा सहयोग वृद्धि हुने विचार व्यक्त गर्नुभएको सन्दर्भमा पाइपमार्फत ग्यासको आपूर्तिका लागि नयाँ अवसर प्राप्त गर्न सक्नेछौँ ।

पाइपलाइनबाट इन्धन आउन थालेसँगै भारतबाट नेपालमा हुने पेट्रोलियम पदार्थको ढुवानीमा समय बचत, पेट्रोलियमलगायत सबै सामग्रीको ढुवानी भाडामा कमी, इन्धनको परिमाण र गुणस्तरमा आधिकारिकता कायम हुनेछ । साथै वायु प्रदूषणमा कमी हुने पनि देखिन्छ । नेपालतर्फ ३६ किमी र भारततर्फ २७.२ किमी रहेको मोतीहारी–अमलेखगञ्ज पाइपलाइनलाई दुवै देशले उच्च महŒव दिएका छन् । यो प्रयोग र सफलता नेपाल भारतबीचमात्र नभएर दक्षिण एसियाकै लागि उदाहरण बनेको छ । विश्व अर्थतन्त्रमा उदीयमान भारतसँग नेपालको ठूलो व्यापार हुन्छ भने नेपाल भारतको ठूलो बजार हो । अर्थशास्त्रका बिक्रेता र क्रेताबीचको व्यापार विस्तारमा यस्ता प्रयोग थप परिणाममुखी हुनेछन् । दुवै देशले पाइपको सुरक्षा तथा नियमित मर्मतसम्भारमा पनि आपसी सहयोग निरन्तर गर्नुले हाम्रो आर्थिक मात्र नभएर सामाजिक सम्बन्धलाई थप उचाइमा पु¥याउन सहयोग गर्नेछ ।
पेट्रोलियम पाइपको उपयोगबाट नेपालमा पेट्रोलियम आपूर्तिमा सहजता हुने भए पनि भण्डारणमा नेपालले गर्नुपर्ने धेरै गृहकार्य छन् । सबै प्रदेशमा पेट्रोलियम भण्डारगृहको निर्माण योजनामा अब सरकारको थप ध्यान जानु आवश्यक छ । पेट्रोलियमको मूल्य र आपूर्ति हाम्रा दुई देशका सरोकार मात्र हुन सक्दैन । अन्तर्राष्ट्रिय कारण तथा बजारले यसमाथि प्रभाव पारेको हुन्छ । करिब १६ हजार किलोलिटर तेल भण्डारण क्षमता रहेको अमलेखगञ्ज पेट्रोल पम्प डिपोमा थप क्षमताको भण्डार आवश्यक पर्न सक्छ भने देशका साना ठूला सहरमा प्रशस्त सङ्ख्यामा भण्डार बनाउनुपर्ने देखिन्छ, जसबाट दुईचार दिनको आपूर्ति अवरोधले उपभोक्तालाई प्रभाव नपारोस् ।

नेपालमा खपत हुने डिजेलमध्ये करिब ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएकाले यस क्षेत्रको सुरक्षा र विकासका अतिरिक्त नेपालले वैकल्पिक ऊर्जा उपयोगमा प्राथमिकता दिनु आवश्यक छ । व्यापार घाटाको सबैभन्दा ठूलो अंश बोक्ने पेट्रोलियमको सहज आपूर्तिलाई अनियन्त्रित उपयोगको अवसरमा बुझियो भने यसले व्यापार असन्तुलनलाई थप चुल्याउनेछ । सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएअनुसार अबका केही वर्षमा हामीले पेट्रोलियमको उपभोग घटाउन सक्नुपर्छ । जलविद्युत्को प्रचुर सम्भावना रहेको नेपालले पेट्रोलियमको उपभोग घटाउँदै विद्युतीय जीवनशैलीलाई प्रधानता दिन सक्नेछ । यस्तो अवस्थामा जति पेट्रोलियम पदार्थ ल्याइन्छ त्यसलाई वैज्ञानिक र विश्वस्त माध्यमबाट ल्याइँदा तत्कालीन र दीर्घकालीन फाइदा रहन्छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?