भीमलाल गौतम
आगामी वर्षलाई २० लाख पर्यटक भिœयाउनेगरी नेपाल भ्रमण वर्षका रूपमा मनाइँदै छ । स्वर्गीय रवीन्द्र अधिकारी पहिलोपटक मन्त्रिमण्डलमा आगमनसँगै घोषणा भएको यो महŒवाकाङ्क्षी योजनामा उहाँको अकल्पनीय अवशानले केही ‘ब्रेक’ लाग्यो । तर पनि अझै चार महिना बाँकी छ र भर्खर ऊर्जाशील युवा नेता योगेश भट्टराईले साँस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँले १४१ बुँदाको एकवर्षे कार्यक्रम सार्वजनिक गर्नुभएको छ । संसारभरि सन् २०१९ लाई विश्व आदिवासी भाषा वर्षका रूपमा मनाइँदै आएको देखिन्छ, नेपालमा सन् २०२० को भ्रमण वर्षलाई पर्यटन र नागरिक उड्डयनमा मात्र केन्द्रित गरेको देख्दा कतै सरकार, मन्त्री र सम्बन्धित मन्त्रालय वास्तविक कुराबाट बाहिरिँदै गएको हो कि भन्ने शङ्का लाग्छ ।
नेपालमा २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेका विभिन्न सरकारबाट समेत पर्यटन मन्त्रालयलाई भ्रष्टाचार र अनियमिताको अखडाका रूपमा प्रयोग गरिँदै आएको देखिन्छ । लाउडा प्रकरण, धमिजा काण्ड, चेज एयर हुँदै हाल आएर वाइड बडीमा देखिएको भ्रष्टाचारको पोतोले यो मन्त्रालयको जिम्मेवारी हवाईजहाजको दलाली प्रवद्र्धन गर्नेमात्र हो कि भन्ने लाग्छ । अब यस्तो विगतबाट मुक्त भएर नेपालको संस्कृति तथा पर्यटन क्षेत्रमा केही साना तथा सामान्य उपायहरू अवलम्बन गर्दा पनि मन्त्रालयको प्रभावकारिता महसुस गर्न सकिनेछ ।
विविधताको प्रचार
सन् २०१९ लाई संसारभरि अन्तर्राष्ट्रिय आदिवासी भाषा वर्षका रूपमा विभिन्न सभा, सम्मेलन, गोष्ठी तथा भाषिक साँस्कृतिक कार्यक्रमहरू गरेर मनाइँदै आएको छ । यो वर्ष सकिनैलाग्दा पनि नेपालजस्तो विविध भाषा, संस्कृति र परम्परा भएको मुलुकमा युनेस्कोले तयार पारेको नारालाई वास्तविक रूपमा प्रयोग गरिएको देखिँदैन । भाषा, संस्कृति र परम्परा संरक्षणको जिम्मा लिएका सम्बन्धित निकायहरू पनि रनभुल्लमा देखिन्छन् । हामीसँग स्रोत र साधन हुँदाहँुदै पनि यो त अरू कसैले गरिदिए हुने भन्ने परम्पराले जरो गाडेको छ । संस्कृति मन्त्रालय र यसअन्तर्गतका निकायहरूले जति धेरै हाम्रो भाषिक र साँस्कृतिक विविधतालाई प्रचार–प्रसार गर्न सक्छन्, त्यति नै बढी मात्रामा नेपालमा पर्यटक भिœयाउन सकिन्छ । नेपालमा बोलिने एक सयभन्दा बढी भाषाभाषीहरू, तिनीहरूका फरक–फरक भाषिक–साँस्कृतिक एवम् परम्परागत विशेषताहरूलाई नेपाल भ्रमण वर्ष–२०२० को प्रसङ्गमा लैजान सकियो भने नेपालको बहुभाषिक एवम् बहुसाँस्कृतिक विविधताको चर्चा संसारभर हुन सक्छ जसले अरू बढी पर्यटक आकर्षित गर्न सकिन्छ । यति सानो भूपरिवेष्ठित मुलुकमा रहेको भौगोलिक विविधतासहितको धार्मिक, साँस्कृतिक एवम् भाषिक विविधता संसारको अरू कुनै पनि मुलुकमा छैन ।
आन्तरिक र बाह्य पर्यटनमा जोड
२०७२ को संविधान लागू भइसकेपछि नेपालमा तीन तहका सरकारहरू क्रियाशील छन् । यी तीनै तहमा पर्यटन र यससँग सम्बन्धित व्यवसायलाई सरकारले खासै जोड दिएको देखिन्न । विशेषगरी प्रदेश र स्थानीय सरकारले आन्तरिक पर्यटकीय स्थानहरूको पहिचान गर्दै सङ्घीय सरकारमा आफ्ना कामहरूको रिपोर्ट दिनुपर्ने हुन्छ । लुकेर रहेका विविध साँस्कृतिक परम्पराहरूको संरक्षण र सम्बद्र्धन गर्दै हरेक प्रदेशमा एउटा विशेष भाषिक, साँस्कृतिक सङ्ग्रहालयको स्थापना गर्न सकिन्छ । प्रादेशिक र स्थानीय सरकारहरूले आफ्नो क्षेत्रमा भएका सबै किसिमका धार्मिक, साँस्कृतिक र परम्परागत पहिचानहरूलाई विशेष ध्यान दिने हो भने आन्तरिक र बाह्य पर्यटनले नेपालको आर्थिक उन्नयन गर्न सकिन्छ । सङ्घीय सरकारले पनि स्थानीय र प्रदेश सरकारका कामहरूमा अवलोकन र मूल्याङ्कन गर्दै विशेष सहुलियतको व्यवस्था गरेमा नेपाल घुम्न आउने बाह्य पर्यटकहरू नेपाल बसाइ लम्बाउने वा फेरि अर्कोपटक आउन आकर्षित हुन सक्छन् । नेपाल पयर्टन बोर्ड र यससँग सम्बन्धित निकायले मात्र नेपालको पर्यटनको जिम्मा लिएको हो कि भन्ने भ्रमले गर्दा नेपालको पर्यटन व्यवसाय ओझेलमा परेको देखिन्छ । त्यसैले स्वयम् पर्यटन एवम् संस्कृति मन्त्रालय सम्बन्धित निकायहरू र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ ।
अनुगमन
नेपाल सरकारका अन्य मन्त्रालयहरूभन्दा संस्कृति तथा पर्यटन मन्त्रालय अलि बढी महŒव र विविधताले भरिएको देखिन्छ । पहिले संस्कृतिलाई शिक्षा मन्त्रालयअन्तर्गत हेरिन्थ्यो तर अहिले यो पर्यटन मन्त्रालयसँग जोडिएर आएको छ, जसले गर्दा संस्कृतिसम्बन्धी कार्यहरू छायाँमा परेको देखिन्छ । देशभित्र र बाहिर पर्यटन तथा नागरिक उड्डयनको आकर्षणले गर्दा मन्त्रीहरू पनि प्रायः जहाज र धावनमार्गको उद्घाटन, व्यवस्थापन र विकासमा कुदेको देखिन्छ तर पर्यटकहरू किन र के कारणले आउँछन् भन्ने कुरामा खासै ध्यान दिएको पाइन्न । पशुपति, लुम्बिनी र जनकपुर भएपछि अरू साँस्कृतिक सम्पदाको स्वतः विकास हुन्छ भन्ने भ्रम देखिन्छ । यसका लागि जसरी प्रधानमन्त्री कार्यालयमा अनुगमन समूह बनेको छ, त्यसरी नै यो मन्त्रालयमा पनि पर्यटन, संस्कृति तथा नागरिक उड्डयनका विविध निकायहरू हेर्ने एउटा छुट्टै अधिकारप्राप्त विज्ञ समूह भयो भने यसले ती निकायहरूमा भइरहेका र हुने कामहरूका बारेमा अनुगमन र मूल्याङ्कन गरी सिधै मन्त्रालयमा प्रतिवेदन दिन सक्छ । उदाहरणका लागि संस्कृति मन्त्रालयअन्तर्गत भाषा आयोग बनेको तीन वर्ष भइसक्यो तर यसले न त प्रदेशमा आफ्ना शाखाहरू विस्तार गर्न सकेको छ न त यो आयोगमा सरकारले सबै प्रदेशको प्रतिनिधित्व हुने गरी सदस्यहरू चयन गर्न सकेको छ ।
सभा–सम्मेलनहरूको आयोजना
पर्यटनको अर्को महŒवपूर्ण आधार अध्ययन, अनुसन्धान र त्यसको बारेमा छलफल र बहस पनि हो । नेपालमा आउने विदेशीहरूको घुम्ने उद्देश्यमात्र नभएर, यहाँको भाषिक, साँस्कृतिक, धार्मिक एवम् परम्परागत विविधताको अध्ययन, अनुसन्धान गर्न लामो समय बस्ने गरेको पाइन्छ । अध्ययन, अनुसन्धानका लागि नेपाल उर्वर भूमि हो । सन् २०१२ मा फ्रान्सको लियोन सहरमा भएको समर स्कुलमा सहभागी हुँदा त्यहाँ पढ्न आएका लगभग १५० भाषाशास्त्रीहरूमध्ये अधिकांश अफ्रिका र ल्याटिन अमेरिकामा अनुसन्धानमा जाने गरेको सुनियो । दक्षिण एसिया र नेपाल पनि भाषिक विविधताले भरिएको छ र यहाँ युरोपियन र अमेरिकीहरू आउनुपर्छ भन्दा धेरैले चाख लिएका थिए । मेरो कुरालाई तत्कालीन युनेस्कोको साँस्कृतिक विभाग प्रमुख डा. अनाहित मिनसयानले टिपोट गर्नुभएको रहेछ र पछि मलाई सन् २०१३ मा नेपालको भाषिक योजनाबारे कार्यपत्र प्रस्तुत गर्न पेरिसमा बोलाउनुभएको थियो । त्यसपछि हाम्रै सम्पर्कबाट पनि फ्रेन्च, जर्मनी, अङ्ग्रेज, अमेरिकी, नर्वेजियन, स्वीस मित्रहरू नेपाल आउने–जाने र अध्ययन, अनुसन्धान गरिरहनुभएको छ । त्यसकारण नेपालमा स्थापित र कार्यरत अनुसन्धानमा क्रियाशील संस्थाहरू जस्तै भाषाविज्ञान समाज नेपाल, नेल्टा, लोकवार्ता समाज, सोसान आदिलाई पनि नेपाल भ्रमण वर्षको अभियानमा समाहित गराउन सकियो भने राम्रो हुन सक्छ । यसका लागि सन् २०२० सालभरि अन्तर्राष्ट्रियसभा, सम्मेलन र गोष्ठी गर्ने सङ्घ–संस्थाहरूलाई विशेष किसिमको प्रोत्साहनको व्यवस्था गर्न सकिन्छ । कम्तीमा सम्मेलनमा सहभागी विदेशीहरूलाई नेपाल भ्रमण वर्षको लोगोसहितको उपहारमात्रै दिन सकियो भने एकातिर आयोजकहरूलाई थप हौसला हुनेछ भने अर्कोतिर नेपालको आतिथ्यलाई विदेशीहरूले फरक कोणबाट विश्लेषण गर्नेछन् ।
‘भिजिट नेपाल’ को नारालाई एक वर्षका लागि मात्र भन्दा पनि दिगो विकासको लक्ष्यतिर रूपान्तरण गर्न सकियो भने सुखी नेपाली, समृद्ध नेपालको सपना पूरा हुन्छ । नेपालको पर्यटनले नेपालीपनमा स्थापित भाषिक, साँस्कृतिक विविधताको संरक्षण, सम्बद्र्धन एवम् विकास गर्दै स्थायी रूपमा यो व्यवसायलाई थेग्न सक्छ । वर्तमान प्रधानमन्त्रीले देखेका सपनाहरू वास्तवमा असम्भव र ठूला छैनन्, मात्र हामीमा त्यसतर्फ उन्मुख हुने सकारात्मक अठोट र साहस जरुरी छ । भाषिक, साँस्कृतिक विशेषतासहितको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने अभियानमा हामी सबै लाग्नुपर्छ ।
(लेखक त्रिवि, भाषाविज्ञान विभागअन्तर्गत प्राध्यापनरत हुनुहुन्छ ।)