डा. सुनीलबाबु श्रेष्ठ
विज्ञान विषय पढाइने नेपालको पहिलो पब्लिक साइन्स कलेज (पस्कल) को पछि अमृत साइन्स कलेज (अस्कल) नामकरण गरियो । यसै कलेजको स्थापना दिवसको अवसर पारेर नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवसको रूपमा २०७० सालदेखि मनाइँदै आइएको छ ।
पहिलो दिवसको नारा होस् या २०७६ सालमा मनाउन लागिएको साताँै राष्ट्रिय विज्ञान दिवसको नारा “विज्ञान, प्रविधि र नवप्रवर्तन ः सामाजिक आर्थिक रूपान्तरण” होस् सबैले विज्ञान, प्रविधि र नवप्रवर्तनमार्फत देशको दिगो विकास, सामाजिक आर्थिक रूपान्तरण र समृद्धिमा जोड दिएको देखिन्छ । नारा तय भए अनुसार प्रत्येक वर्ष कार्यान्वयन पक्ष कस्तो भयो ? लक्ष्य प्रगतिमा भएको भिन्नता, कठिनाइ र अवसर एवं भावी कार्यदिशाको सबै पक्ष मिली विस्तृत समीक्षा गर्नु आवश्यक देखिन्छ । समीक्षापछि आगामी वर्षको लागि एकीकृत रूपमा बनेको कार्ययोजनाप्रति प्रतिबद्धता प्रकट गर्ने दिनको रूपमा राष्ट्रिय विज्ञान दिवस मनाउन सके मात्र विज्ञान, प्रविधि र नवप्रर्वतनमार्फत सरकारले लिएको मूल लक्ष्य “समृद्ध नेपाल – सुखी नेपाली” लाई साकार पार्न सहज हुन्छ ।
नेपालको संविधान २०७२ मा दिगो विकास, शान्तिर समृद्धिको आकाङ्क्षा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत पूरा गर्ने कुरा उल्लेख छ । संविधानले शिक्षा, स्वास्थ्य, स्वच्छ पानी, आवास, स्वच्छ वातावरण, खाद्यसुरक्षा जस्ता कुरा मौलिक हकमा नै व्यवस्था गरेको छ । यस्तै नेपालले सन् २०३० सम्म संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित दिगो विकास लक्ष्य हासिल गरिसक्ने प्रतिबद्धता जाहेर गरेको छ । सन् २०२२ सम्म अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० सम्म मध्यम आय वर्गको मुलुकमा पुग्ने लक्ष्य पनि लिएको छ । यस सन्दर्भमा राष्ट्रको सर्वाङ्गीण विकासका लागि विज्ञान र प्रविधिको अनुसन्धान एवं विकास गर्ने÷गराउने, स्वदेशी प्रविधिको संरक्षण र आधुनिकीकरण गर्ने÷गराउने, उपयुक्त विदेशी प्रविधि पहिल्याई सोको हस्तान्तरण गर्न सहजकर्ताको भूमिका निर्वाह गर्न ३७ वर्ष अघि स्थापित स्वायत्त संस्था नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले राष्ट्रिय विज्ञान दिवसको नाराले इङ्गित गरेबमोजिमका लक्ष्य प्राप्तिमा खेल्न सक्ने भूमिका गहन हुन जान्छ ।
संविधानमा व्यवस्था भएका मौलिक हक जनतालाई दिलाउन सङ्घीयताअनुसार प्रादेशिक सन्तुलन हुने गरी वैज्ञानिक अध्ययन, अनुसन्धान एवं प्रविधि विकास र विस्तार तथा नवप्रवर्तनात्मक प्रयासको अधिकतम उपयोग गर्नु आवश्यक छ । वैज्ञानिक अनुसन्धानात्मक निकायबीच आवश्यक सहकार्य, समन्वय र लगानी वृद्धिका लागि उपयुक्त वातावरण निर्माणका साथ नयाँ नीतिको आवश्यकता ठानी परिमार्जित नीति ल्याइएको छ । यस परिप्रेक्ष्यमा नेपालको विज्ञान, प्रविधिको विकास र प्रवद्र्धनको क्षेत्रमा काम गर्ने संस्था नास्टले नवप्रवर्तनलाई आफ्नो कार्यक्रममा प्राथमिकताका साथ राखेको छ । नवप्रवर्तनले नयाँ वा सुधारिएको प्रक्रिया वा उत्पादित वस्तु वा विचारलाई इङ्गित गर्छ । मुलुकमा रहेका विश्वविद्यालय, सरकारी अनुसन्धान निकाय, औद्योगिक प्रतिष्ठान, अनुसन्धानमुखी निजी क्षेत्रका सङ्घसंस्थाका जटिल तर अन्तर सम्बन्धको परिणामले देखाउँछ । तसर्थ सर्वसाधारण, उद्यमी, वैज्ञानिक सङ्घसंस्थाबीच प्रविधि र नवप्रवर्तनसम्बन्धी आवश्यक सूचना, सहकार्यको विधि र प्रक्रिया राष्ट्रले निर्माण गर्न सके नवप्रवर्तनका क्रियाकलाप एक प्रणाली अन्तर्गत सञ्चालित हुनजान्छ । जसबाट विज्ञान र प्रविधिको विकासले मुलुकको सामाजिक, आर्थिक रूपान्तरण हुनसक्ने देखिन्छ । यसलाई राष्ट्रिय नवप्रवर्तन प्रणाली भनिन्छ । विज्ञान र प्रविधिमार्फत समृद्धिको मार्गमा पाइला चालिरहेका मुलुक चीन, भारत, दक्षिण कोरियादेखि विकसित मुलुक जापान, अमेरिकासम्म आफ्नै प्रकारको नवप्रवर्तन प्रणाली छ । नास्टले पनि राष्ट्रिय नवप्रवर्तन प्रणाली विकास गर्न आफ्नो प्रयास थालनी गरी यसै आर्थिक वर्षभित्र तयार पार्ने गरी कार्य अगाडि बढाएको छ । सन् २०१९ को भूमण्डलीय नवप्रवर्तनात्मक सूचकाङ्क (ग्लोबल इनोभेसन इन्डेक्स) अनुसार नेपाल १०९ औँ स्थानमा छ । छिमेकी मुलुक भारत र चीनको स्थान क्रमशः ५२औँ र १४औँ स्थानमा रहेछ जब कि सन् २०१८ मा नेपाल, भारत र चीनको स्थान क्रमशः १०८, ५७ र १७ औँ स्थानमा थियो । सूचकाङ्कको स्थान मापन अङ्कको आधारमा भर पर्दछ । मापन अङ्कको विभिन्न कारक विषयमा भर पर्छ । ती कारक विषयहरू पहिचान गरी सूचकाङ्कमा सकारात्मक सुधार गर्न सके मुलुकको नवप्रवर्तन सूचकाङ्कमा सुधार ल्याउन सकिन्छ । मुलुकको नवप्रवर्तन सूचकाङ्कमा सुधार ल्याउन विज्ञान र प्रविधि क्षेत्रमा गर्ने लगानीमा पनि निर्भर हुन्छ । आर्थिक वर्ष २०७६÷०७७ को कुल बजेट १५ खर्ब ३२ अर्बमध्ये शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक खर्ब ६८ अर्ब (१०.९६%) पाएको देखिन्छ । यस वर्षको बजेट मन्त्रालयमा छुट्याएको बजेटको करिब ०.२५ प्रतिशत मात्र पाएबाट विज्ञान र प्रविधि क्षेत्रमा बजेट कति न्यून रहेछ भन्ने अनुभूति गर्न सकिन्छ ।
वि.सं. २०५३ मा विज्ञान तथा प्रविधि मन्त्रालय स्थापना भई २०६१ सालमा राष्ट्रिय विज्ञान तथा प्रविधि नीति मुलुकले पायो । हालसालै १५ वर्षपछि नवप्रवर्तनसमेत थप गरी राष्ट्रिय विज्ञान, प्रविधि र नवप्रवर्तन नीति प्राप्त गरेको छ । कुल गार्हस्थ उत्पादनको न्यून लगानी रहेको स्थितिमा नयाँ नीतिले नवप्रवर्तन र लगानी अभिवृद्धिप्रति जोड दिएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा निजीक्षेत्रको लगानी महŒवपूर्ण हुन्छ । जस्तो जापानमा विज्ञान र प्रविधिको क्षेत्रमा सम्पूर्ण लगानीको करिब ८० प्रतिशत निजी क्षेत्रबाटै हुने गरेको छ । तसर्थ नेपालले भूमण्डलीय नवप्रवर्तनात्मक सूचकाङ्कसँग मिल्ने खालको राष्ट्रिय नवप्रवर्तन सूचकाङ्क निर्माण गर्न जरुरी छ । यसो भएमा नवप्रवर्तनात्मक सूचकाङ्कलाई सुधार गर्न आवश्यक सुधारात्मक कार्य गर्न सहज हुनेछ । नास्टले राष्ट्रिय नवप्रवर्तनात्मक सूचकाङ्कसमेत बनाउन विज्ञको तयारी समिति गठनसमेत गरी कार्य प्रारम्भ गरिसकेको छ । नास्टले हाल आएर “समाजका लागि विज्ञान र समृद्धिको लागि नवप्रवर्तन” भन्ने मूल नारा लिएर आफ्ना गतिविधि अगाडि बढाइरहेको छ । सन् २०१९ लाई विज्ञान, प्रविधि र नवप्रर्वतनात्मक विकासको आधारशिला तयार गर्ने आधार वर्ष र सन् २०२१ लाई विज्ञान, प्रविधि र नवप्रवर्तनलाई व्यापक रूपमा उत्पादन र विकाससँग जोड्ने तथा नवप्रवर्तन वर्षको रूपमा मनाउने सोचका साथ अघि बढाउनु जरुरी छ । सन् २०१९ जुन १७ का दिन नेपालको झण्डा अङ्कित नानो स्याटेलाइटलाई अन्तरिक्षको कक्षमा छाड्ने सफलता गर्वको दिन भएको छ । यसैको निरन्तरतास्वरूप नास्ट राष्ट्रिय अन्तरिक्ष प्रविधि केन्द्र स्थापना गर्न अग्रसर भइरहेको छ । यसै सिलसिलामा सन् २०२१ मा अन्तरिक्ष प्रविधिसम्बन्धी विज्ञहरूलाई निमन्त्रणा गरी भावी कार्यदिशा र सहकार्यको अवसर जुटाउन अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी गर्ने योजना निर्माण हुँदैछ ।
बौद्धिक प्रतिभाको संरक्षण एवं वैज्ञानिक अध्ययन, अनुसन्धान र उन्नयनमा लगानी वृद्धि गरी नेपालको संविधानले समग्र रूपमा दिगो विकास गर्नेतर्फ निर्देशित गरेको छ । यस सन्दर्भमा विज्ञान र प्रविधिका क्षेत्रमा कार्यरत प्रतिभाशाली वैज्ञानिक तथा प्राविधिज्ञलाई प्रोत्साहन गर्ने उद्देश्यले एक दर्जनजति विभिन्न विधाका पुरस्कार विगत वर्षदेखि नै नास्टले प्रदान गर्दै आएको छ । नवप्रवर्तनलाई हालसालै आएको विज्ञान, प्रविधि र नवप्रवर्तन नीतिले जोड दिएको हुँदा कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार, महिला वैज्ञानिकलगायतका पुरस्कार यस वर्षदेखि प्रदान गर्ने गरी प्रस्ताव गरिएको छ ।
“समृद्धिका लागि नवप्रवर्तन” कार्यक्रममार्फत नेपालभरिबाट नवप्रवर्तनका परियोजना प्रस्ताव आह्वान गरी परियोजना सञ्चालन गर्ने कार्य यस आर्थिक वर्षबाट सुरुवात गरिने भएको छ । नवप्रवर्तनात्मक कार्यलाई उद्यमशीलता र उत्पादनसँग जोड्ने लक्ष्यका साथ कार्यविधि निर्माण गर्ने कार्य भइसकेको छ । यस कार्यक्रमबाट अनुभव लिँदै समृद्धिका लागि नवप्रवर्तन केन्द्र स्थापना गर्ने लक्ष्य छ । नेपालमा विज्ञान र प्रविधिका क्षेत्रमा कार्यरत अनुसन्धानकर्मीको आधिकारिक तथ्याङ्क व्यवस्थित रूपमा नभएको हालको अवस्थामा नास्टले यसै आर्थिक वर्षबाट अनलाइनमार्फत छोटो व्यक्तिगत सूचना भरेपछि नेपाल अनुसन्धानकर्ता परिचय नम्बर (एनआरआई) प्राप्त गर्ने कार्यक्रमको सुरुवात गरेको छ । अनुसन्धानकर्तालाई आवश्यक जानकारी दिन र वैज्ञानिक लेखनकार्यलाई सहजीकरण गर्न विज्ञान, प्रविधि र नवप्रवर्तन(एसटीआई)टक सुरुवात गर्न कार्य प्रारम्भ गरेको छ । नेपालमा विज्ञानप्रविधिको क्षेत्रमा कार्यरत विज्ञ, अनुभवी र प्रतिभावान वैज्ञानिक र प्राविधिज्ञहरूको छोटो चिनारी “हु इज हु” प्रकाशन गर्न आवश्यक कार्य पनि भइरहेको छ ।
सङ्घीय संरचनाअन्तर्गत सातवटा प्रदेशमा विज्ञान र प्रविधिलाई प्रदेशको आवश्यकता र उपयुक्तताको आधारमा नास्टले प्रदेश सरकारसँग सहकार्य गरी प्रत्येक प्रदेशमा एक÷एक वटा विषयगत उत्कृष्टता केन्द्र स्थापना गर्न प्रारम्भिक स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पार्न एक अध्ययन टोली गठन गरिसकेको छ । यसैगरी यसै आर्थिक वर्षबाटै युवा वैज्ञानिक फोरम र महिला वैज्ञानिक फोरम स्थापित भई कार्यान्वयनमा आउनेछ । नास्टले “स्मार्ट नास्ट” कार्यक्रम लागु गर्ने कार्य पनि अघि बढाएको छ ।
परम्परागत प्रविधि, सीप र ज्ञानको धनी नेपाल भएकोले यसको डिजिटल नक्साङ्कन र डकुमेन्ट्री तयार गर्ने कार्य योजना तय भएको छ । पछि यस्ता प्रविधि, सीप र ज्ञानलाई वैज्ञानिक ढङ्गले आवश्यक परिमार्जित गरी सेवामुखी र उपयोगितामा वृद्धि ल्याउने कार्यक्रमसमेत नास्टले आफ्नो कार्यक्रममा समेटेको छ । नास्टले विज्ञान प्रविधिको क्षेत्रमा व्यावसायिक सङ्घसंस्था, सरकारी, गैरसरकारी र विकास साझेदार संस्थासँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्य नीति लिए अनुसार यसै वर्षदेखि विभिन्न संस्थासँग सहकार्य गर्न लागेको छ ।
नास्टले “ब्रेन पुलिङ्ग नेपाल”भन्ने कार्यक्रम कार्यविधिसहित अगाडि ल्याएको छ । यसको उद्देश्य स्वदेश वा विदेशमा कार्यरत उत्कृष्ट प्रतिभाशाली नेपाली नागरिक वा गैर आवासीय नेपालीको ज्ञान र सीपको माध्यमबाट विज्ञान प्रविधिको क्षेत्रमा योगदान पु¥याउने, विदेशमा कार्यरत इच्छुक दक्ष जनशक्तिलाई जन्मभूमिमा भिœयाई विकासमा योगदान पु¥याउने वातावरण निर्माण गर्ने र स्वदेश एवं विदेशमा रही विज्ञान र प्रविधिको क्षेत्रमा कार्यरत नेपाली नागरिक वा गैर आवासीय नेपालीको डाटाबेस तयार पार्ने छ ।
मुलुकको समृद्धि चाहने हो भने राष्ट्रिय विज्ञान दिवसले दिएको नारामा मात्र सीमित नभई जनताले अनुभूति गर्ने गरी परिणाम ल्याउन सक्नुपर्छ । यसका लागि नागरिक, सरकारी, निजीक्षेत्र सबैले आ–आफ्नो जिम्मेवारी मनन गर्नुपर्छ । आर्थिक र राजनीतिक पक्षमा मात्र केन्द्रित कूटनीतिक क्षेत्रले पनि विज्ञान कूटनीतिमा ध्यान दिई मुलुकमा विज्ञान र प्रविधिका परियोजना भिœयाउन, प्रविधि हस्तान्तरण र विज्ञानमा आधारित भई अन्तर्राष्ट्रिय सरोकारका विषयमा बहस चलाउन पहल गर्नुपर्छ ।
सरकारले पनि विज्ञान र प्रविधिको क्षेत्रलाई प्राथमिकतामा राखि लगानी बढाउन विशेष जोड दिनु आवश्यक छ । निजीक्षेत्रले पनि अनुसन्धान र विकासमा आफ्नो लगानी बढाउने र विश्वविद्यालय, प्राज्ञिक संस्थासँग औद्योगिक प्रतिष्ठानको सहकार्यमा ध्यान दिनुपर्ने देखिन्छ । नागरिकले पनि वैज्ञानिक सचेतनाका साथ विज्ञान र प्रविधिक्षेत्रको विकासका लागि सहयोगी भूमिका खेल्न नैतिक समर्थन दिनुपर्ने देखिन्छ । यसो भएमा समाजले विज्ञान र प्रविधिको क्षेत्रबाट सेवा र सुविधाको अनुभूति गर्न सक्नेछ । मुलुकले ‘समृद्धि नेपाल र सुखी नेपाली’ को लक्ष्य अवश्य चुम्न सक्नेछ ।
(लेखक नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपकुलपति हुनुहुन्छ ।)