logo
२०८१ मंसिर ८ शनिवार



जनगणनामा व्यक्तिको भूमिका (सम्पादकीय )

विचार/दृष्टिकोण |




‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ नेपालको १२ औँ राष्ट्रिय जनगणना दुई वर्षपछि हुँदैछ । हरेक १० वर्षमा गरिँदै आएको जनगणना २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । नेपालमा वि.सं. १९६८ बाट सुरु भएको जनगणना त्यसपछि लगभग प्रत्येक १० वर्षमा हुँदै आएका छन् । वि.सं. १९९८ सम्म सञ्चालन भएका जनगणना व्यक्ति गणनाका आधारमा गरिन्थ्यो जसबाट नीति तथा योजना निर्माणका लागि आवश्यक अन्य तथ्याङ्कगत जानकारी प्राप्त हुँदैनथे तर २००९ र ११ सालदेखि गरिएका जनगणना अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम गरिएकाले त्यसपछिका जनगणना वैज्ञानिक मानिन्छन् ।
जनगणनाको तथ्याङ्कबाट देशलाई प्रत्यक्ष देख्न सकिन्छ । जनसङ्ख्याको क्षेत्रगत मात्र नभएर उमेरगत वितरणले जनसङ्ख्या नीति बनाउनेदेखि विकास निर्माण र आर्थिक योजनाका लागि पनि यस्ता जानकारी आवश्यक हुन्छन् । सिद्धान्ततः जनगणनाका आधारमा देशको आर्थिक तथा सामाजिक विकासका नीति, योजना बन्ने भएकाले हरेक व्यक्ति गणनामा समेटिनुपर्ने मात्र होइन आफ्नो गणना कसरी भइरहेको छ भन्नेमा सचेत हुनैपर्छ । आफ्नो समुदायको जनसङ्ख्या, भाषा, फैलावट, सांस्कृतिक पक्षलगायतमा कसरी गणना हुँदैछ भनेर सबैले चनाखो हुनु आवश्यक छ । त्यसैले आगामी २०७८ जेठमा हुने जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागिता’लाई सार्थक बनाई मुलुकको नक्सामा आफू र आफ्नो समुदायको कस्तो चित्र बनाउने हो भनेर सबैले विशेष जागरुकता देखाउनुपर्ने हुन्छ ।
राष्ट्रिय जनगणनाका लागि उच्च प्रविधिको पनि प्रयोग गर्नु आवश्यक हुन्छ, जसबाट तथ्याङ्क प्राप्तिमा सहजता, सुरक्षा, विश्वसनीयता र बहुउपयोगमा प्रयोग गर्न सकिनेछ । वि. सं. २०२८ सालको सातौँ जनगणनाको लगत प्रशोधनका लागि पहिलोपटक कम्प्युटर प्रयोग गरिएकोमा यसपटक थप प्रविधि र मोडल प्रयोग गरिने जनाइएको छ । प्रविधि र विश्वस्तरका मान्यतामा जनगणना गरेर नेपालले आफ्ना लागि आफैँले उदाहरण बनाउन सक्छ । विगतका अनुभवलाई हेर्दा जनगणनालाई सरकारको तुलनामा नागरिकले महŒव कम दिने गरेको पाइएको छ । त्यसपछि केही सामाजिक सङ्घसस्ंथाले गणनाका तथ्याङ्कमा कमीकमजोरी रहेको बताउने गरेका पनि छन् । कमीकमजोरी नभएको कुनै रचना हुन सक्दैन त्यसमा पनि जनगणनाजस्तो सामाजिक अध्ययनलाई आग्रहमुक्त बनाउन विशेष होसियारी अपनाउनुपर्छ । यस अर्थमा तथ्याङ्क वा जानकारीलाई वैज्ञानिक बनाउनुपर्छ भन्नेमा कुनै विवाद रहन सक्दैन तर गणनाका बेला उदासीन रहने र त्यसपछि आलोचना गर्ने कामले कसैलाई पनि रचनात्मक बनाउँदैन । राष्ट्रिय जनगणना सरकार र सरकारी निकायको मात्र सरोकार नभएर हरेक व्यक्तिको चासोको विषय बन्नुपर्ने यसै कारणले पनि हो ।
व्यापक प्रचारप्रसार, सहज तरिकाले उत्तर दिनसक्ने अवस्था, कतिपय व्यक्तिगत जानकारीको गोपनीयताजस्ता पक्षमा ध्यान दिन सकिएन भने अपेक्षित जानकारी नआउन सक्छ । चौतारामा बसेर गरिएको जनगणना वा मुखियालाई सोधेर भरिएका फारमजस्ता विगतमा लाग्ने गरेका आरोपबाट मुक्त हुन विभागले पनि प्रशस्त गृहकार्य गर्नुपर्ने हुन्छ । जतिसुकै गृहकार्य गरिए पनि सेवा करारमा लिइएका गणकहरूले तथ्याङ्क लिने भएकाले उनीहरूलाई बढी जिम्मेबार बनाउनु आवश्यक हुनेछ । साथै गणकले गरेका कामको छड्के जाँचपरीक्षण गर्ने संयन्त्र बनाउन स्थानीय तह र वडालाई संस्थागतरूपमा परिचालन गर्न सकिनेछ । गणकहरूलाई विशेष उत्तरदायित्वका लागि कानुनीरूपमै जिम्मेबार बनाउन विभिन्न उपाय गर्न सकिन्छ । दुई महिना खाने जागिर त हो नि भन्ने मानसिकताले मिथ्याङ्क सङ्कलन गरियो भने राष्ट्रिय अपेक्षा पूरा हुनेछैन । हरेक गणकले आफूलाई सरकारको सच्चा प्रतिनिधि हुँ भनेर साँचो जानकारीका लागि क्रियाशील राख्न सक्दा मुलुकले सही जानकारी पाउनेछ भने गणकले विशेष दक्षता हासिल गर्ने छन् । विगतमा सशस्त्र द्वन्द्वका कारण कतिपय जिल्लामा गणक पुग्न नसकेर विभिन्न प्रक्षेपण र अनुमानका आधारमा ती जिल्लाको जनगणना गर्नुपरेको अनुभवमा मुलुकभर भरपर्दो शान्ति सुरक्षा, सहज यातायात, गणकहरू सम्बन्धित स्थलमा पुगेको स्पष्ट गर्ने भौगोलिक सूचना प्रणालीको उपयोगजस्ता विधिले जनगणना र त्यसका तथ्याङ्कलाई अति विश्वसनीय बनाउने कार्यमा सरोकारी निकाय बढी सचेत हुनु आवश्यक छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?