माथवरसिं बस्नेत
लौहपुरुष गणेशमान सिंह, बाहिर जति कठोर देखिनुहुन्थ्यो, भित्रबाट उत्तिकै नरम र कोमल । उहाँ सबैका कुरा सुन्नुहुन्थ्यो तर गर्नुहुन्थ्यो त्यही, जे अन्तरात्माले सही ठान्थ्यो । नेपाली काँग्रेसको राजनीति, जब आदर्श र सिद्धान्तको बाटो छाडेर काबुबाहिरको अवस्थामा पुगेको अनुभव भयो, तब उहाँले बीपी कोइरालासँग मिलेर आफैँले स्थापना गरेको पार्टी परित्याग गरेर आफूलाई “वाचडग” को भूमिकामा सीमित राख्न थाल्नुभयो । विक्रम संवत् १९९७ मा सहिद धर्मभक्त माथेमाका माध्यमबाट गङ्गालाल श्रेष्ठसँग प्रजापरिषद्मा सामेल भएदेखि २०५४ साल असोज २ गते भौतिक शरीर त्यागेर अनन्तमा लीन हुनुअगाडि उहाँको आह्वान र नेतृत्वमा भएको २०४६ सालको ऐतिहासिक जनआन्दोलन र त्यसको सफलताले पुनस्र्थापित गरेको प्रजातन्त्रको इतिहासले उहाँको महत्ता बताएकै छ । त्यही प्रजातन्त्रको राजमार्गमा अघि बढेर देशले थप परिवर्तनको यात्रा गरेको छ ।
गणेशमान सिंहमाथि जिद्दी र हठी भएको आरोप लाग्ने गरेको छ । उहाँले प्रजातन्त्रका मामलामा कसैसँग कहिल्यै सम्झौता गर्नुभएन । स्ङ्घर्षको बाटो पनि छाड्नुभएन । त्यसैलाई एकथरी सम्झौतावादी नेताले जिद्दी र हठी मानेका छन् । हठलाई अङ्ग्रेजीमा आउडासिटी भन्छन् । त्यसको शाब्दिक अर्थ हुन्छ– साहसी, निडर । अर्को शब्दमा भन्ने हो भने मूर्खताको हदसम्मको अडान । गणेशमान सिंह, त्यही श्रेणीका हठी हुनुहुन्थ्यो । उहाँको हठ थियो– निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना । कालान्तरमा त्यो रूपान्तरित भयो, निरङ्कुश पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनस्र्थापना । त्यसका निम्ति आफ्नो घरपरिवार र सुख–सुविधा सबै त्याग्नुभयो । त्यसैले त गणेशमान हुनुभयो– कसैसँग नझुक्ने, निडर, निर्भीक तथा साहसी ।
तिनै गणेशमान सिंहलाई जीवनमा तीनवटा घटनाले जीवनभरि तर्साउने गरेको थियो भन्दा धरैलाई पत्याउन गाह्रो हुन्छ । त्यसमध्ये पहिलो हो, सहिद दशरथ चन्दले सुम्पेको विश्वासको निर्वाह, दोस्रो, सहिद गङ्गालालले शहादत प्राप्त गर्न प्रस्थान गर्दा भनेका वाक्य, ‘गणेशमान दाइ, डु नट फर्गेट माइ ब्लड’ र तेस्रो हो, क्रान्ति सफल भएको घोषणाअघिको आममाफीमा २००७ साल माघ २७ गते सदर झ्यालखानाबाट रिहाइ भएर टुँडिखेल पुग्दा स्वागत गर्न आएका जनसमुदायले स्वतःस्फूर्त रूपमा लगाएको ‘हाम्रो नेता जिन्दावाद’ को नाराले बोकाएको भारी ।
वास्तवमा वीर गणेशमान, जिन्दावाद भन्दासम्म उहाँलाई अवर्णनीय आनन्द र खुसी लागेको थियो तर जब टुँडिखेलभरि लहरिएको मानव सागरले हाम्रो नेता, जिन्दावाद भन्यो, तब आफूलाई नपाएको पगरी गुथाउने काम भएकोजस्तो लाग्यो र उहाँले त्यसको विरोध गर्नुभयो । उहाँले त्यो नारा बन्द गराउन धेरै प्रयास गर्नुभयो, सहयोगी साथीलाई सम्झाउने प्रयास गर्नुभयो तर केही सीप लागेन । उहाँ भन्नुहुन्छ, “कस्तो विचित्रको अवस्था थियो भने मेरा नाममा जिन्दावादको नारा लगाउने त थुप्रै थिए तर मेरो कुरा सुन्नेचाहिँ कोही भएनन् । जति गर्दा पनि केही सीप नचलेपछि मैले पनि नेता बन्ने निश्चय गरेँ र गजक्क परेर उभिएँ ।”
सहिद दशरथ चन्द, प्रजापरिषद्का प्रमुख नेतामात्र होइन, विचारक र चिन्तक पनि हुनुहुन्थ्यो । तत्कालीन विश्व परिस्थितिको गहिरो अध्ययन र मननले उहाँलाई समकालीन नेताहरूमा वरिष्ठको श्रेणीमा उकालेको थियो । भारतमा अध्ययन गरेका र धेरै सहपाठीसँग सम्पर्क र सम्बन्ध जीवन्त राखेकाले वर्षमा एक÷दुईपटक उनीहरूसँग भेट र विचार–विमर्श गर्न भारतका प्रमुख सहरको परिक्रमा गरिरहनुहुन्थ्यो । पत्रपत्रिकाको नियमित अध्ययन, उहाँको दिनचर्या नै थियो । जहाँ पुगे पनि पत्रपत्रिका कुन माध्यमबाट मगाउने, त्यसको व्यवस्था पहिले नै गरिसक्नुहुन्थ्यो । मानौँ, तिनका अभावमा उहाँ सास फेर्नै बिर्सनुहुन्थ्यो । उहाँको त्यही आदतले विश्व परिस्थितिका बारेमा आफूलाई जानकार गराइराख्न सहज र सुगम तुल्याएको थियो । त्यसरी आर्जन गरेको ज्ञान र अनुभवको उपयोग, उहाँ भारतका विभिन्न पत्रपत्रिकामा नेपालको निरङ्कुश राणा शासनको क्रूरतापूर्ण अत्याचार, शोषण, गरिबी र पिछडापन उजागर गर्नुहुन्थ्यो । तिनताका पट्नाबाट प्रकाशित हुने जनता साप्ताहिकमा सेवासिंहको नामबाट जुन लेखहरू प्रकाशित हुन्थे, तिनले राणा शासनका अत्याचारको भण्डाफोर गर्ने गरेकाले ती पत्रिका, कलकत्ताको बजारमा जति पाइन्छ, त्यत्ति खरिद गरेर तिनको कटिङ काठमाडौँका साथीहरूलाई पठाउनुहुन्थ्यो । राणा शासनका विरुद्ध नेपाली जनतालाई विद्रोहका निम्ति प्रेरित गर्ने विचारोत्तेजक लेखहरूका लेखक उनै दशरथ चन्द हुन् भन्ने सिंहले पक्राउ परेर सिंहदरबारभित्र थुनामा परेपछि मात्र चाल पाउनुभएको हो । उनी प्रजापरिषद्का नेता हुन् भन्ने परिचय पाएदेखि नै श्रद्धाले नतमस्तक हुनुहुन्थ्यो, झन् सेवासिंहको छद्म नामबाट निर्भीक लेख लेख्ने क्रान्तिकारी पनि उनै हुन् भन्ने जानेदेखि दशरथप्रतिको आदर द्विगुणित हुन पुगेको थियो ।
‘‘सिंहदरबारभित्रको घोडाको तबेला नजिकैको दुईतले स्कुल भवन खाली गराएर हामीलाई त्यसैमा थुनिएको थियो । बयान लिनेक्रम चलिरहेको थियो, त्यसैले कसैले कसैलाई भेट्न र बोल्न निषेध थियो । कहिलेकाहीँ दिसापिसाब गर्न जाँदा अचानक जम्काभेट भइहाल्यो भने पनि बोलचाल नपाइने कठोर प्रतिबन्ध थियो । त्यस्तो बन्धनमा पनि एक न एक सिपाही साथ लागेकै हुन्थ्यो । स्कुल भवनदेखि केही टाढा पल्टनियाँहरूका लागि बनाएको चर्पीघरमा गएर हामी आफ्ना नित्य कर्म गथ्र्यौ । त्यहीक्रममा साथीहरूसँग देखादेख हुँदा प्रतिबन्ध तोडेर एक÷दुई शब्द बोल्ने अवसर छोपिहाल्थे । सिपाहीहरू पनि त्यस्ता बेलामा आँखा चिम्लिदिन्थे ।’’
त्यही स्कुल र चर्पीबीचको चउरजस्तो खुला ठाउँमा एक दिन अचानक दशरथ चन्दसित गणेशमान सिंहको पहिलो भेट भएको थियो । मध्याह्न, गणेशमान नुहाएर आफैँले धोएका धोती र लँगौटी सुकाएर अर्धनग्न अवस्थामा चउर पल्टेर घाम तापिरहनुभएको थियो । चर्पीतिरबाट दशरथ चन्दलाई आफूतर्फ आइरहेको देखेपछि जुरुक्क उठेर अदबसाथ सलाम गर्नुभयो । सलामको जवाफ फर्काउनुको बदला दशरथ चन्दको अनुहार कालो नीलो भयो र आँखा तरेर हाँडीमा भुट्न लागेको मकै पड्केजस्तै पड्किनुभयो, “त्यो धर्मेलाई मैले त्यत्रो सम्झाएको थिएँ, काजीको नाति, त्यो गल्लीको गुण्डालाई कुनै हालतमा पार्टीमा लिनुहुन्न भनेर । नमानेर लियो । अहिले परिणाम भोग्नुप¥यो । एउटा सडेको माछाले प्रजापरिषद्को पोखरी पूरै गन्हायो ।” त्यत्ति भनेर जवाफसमेत नपर्खी उहाँ फटाफट अघि बढ्नुभयोे ।
गणेशमान सिंहलाई लाग्यो, उहाँको शरीरबाट सिफलिस रोग लागेकाले खटिराबाट (भिरिङ्गी) बगेको पानीले गर्दा जुन दुर्गन्ध फैलिन्थ्यो, त्यसकारण सबैले छिःछि र दूरदूर गर्थे, त्यही दुर्गन्ध कम गर्न उहाँ दिउँसो कार्बोलिक साबुनले नुहाएर घाममा बस्ने गर्नुहुन्थ्यो । त्यसैलाई लिएर आफूलाई गाली गरेका होलान् । नेता भएपछि अभिभावकको भूमिका पनि थपिन्छ । त्यही दर्शाएका हुन् ।
तर, एक साताभित्र मिलेको दोस्रोपटकको त्यस्तै अवसरमा पनि दशरथ उत्तिकै कठोर देखिनुभयो । उहाँले मुखै छाडेर गाली गर्नुभएको थियो । त्यसपछि पक्का भयो, दशरथ चन्द, आफूसित आगो भएका रहेछन् । राणाको यातनाका अतिरिक्त रोगको पीडा पनि स्याहारिरहनुभएका गणेमानमाथि आफ्नै पार्टीका नेताको त्यस्तो व्यवहारले थप कष्ट पुग्ने नै भयो ।
वास्तवमा दशरथ चन्द, साँच्चै उहाँसित रिसाउनुभएको थियो । धर्मभक्तले गणेशमान र गङ्गालाललाई प्रजापरिषद्को सदस्यता प्रदान गरेदेखि गोपनीयता भङ्ग भएको र गङ्गालालको घरबाट अङ्ग्रेजीमा छरिएको पर्चाको मस्यौदासमेत बरामद भएकाले उहाँको शङ्काको सुई गणेशमानप्रति तेर्सिनु अस्वाभाविक पनि थिएन । कुनै पनि शङ्काको पुष्टि अथवा खण्डनको गुञ्जायस त्यहाँ थिएन, किनभने थुनामा रहेका कसैले कसैलाई भेट र कुरा गर्ने अवस्था पटक्कै थिएन । त्यसकारण पनि दशरथको सम्पूर्ण आक्रोश गणेशमानमाथि केन्द्रित हुन पुगेको थियो ।
त्यसको करिब दुई महिनापछि त्यही ठाउँमा दशरथसँग फेरि भेट भयो । माघेसङ्क्रान्ति अथवा मसान्तको दिन परेकाले सिपाहीहरू घरबिदामा जाने तयारीमा लागेकाले होला एकजना चपटेबाहेक आसपासमा कोही थिएनन् । दशरथलाई देख्नेबित्तिकै जुरुक्क उठेर सलाम गर्न गणेशमानले छाड्नुभएको थिएन । भलै त्यसपछिको गालीले उहाँको मन कँुडिने गरेको किन नहोस् । तर, त्यस दिन अचम्म भयो । उहाँले कुनै भूमिका नबाँधी भन्नुभयो, ‘‘हेर गनेसे, तँलाई म कति घृणा गर्छु, त्यो भनिरहन पर्दैन । तँ पनि मलाई फुटेका आँखाले हेर्न चाहन्नस् । तैपनि मलाई कताकता तैँले राणा शासन हटाउन र प्रजातन्त्र ल्याउन केही न केही गर्छस् जस्तो लाग्छ । किन लाग्छ भनेर सोधिस् भने त्यसको जवाफ मसँग छैन । तर, मेरो ‘इन्ट्युसन’ले भन्छ– तैँले प्रजातन्त्र ल्याउन अरूले गर्न नसकेको काम गर्नेछस् र तँ ठूलो मान्छे हुन्छस् ।’’ बडो आर्द्र भएर उहाँले विश्वासपूर्वक भने– राणा शासनको अन्त्य निकट छ । प्रजातन्त्र आउँछ, आउँछ । तर, त्यो मैले देख्न पाउने छैन । किनभने केही दिनमै हाम्रो मुद्दा छिनिन्छ र त्यसपछि मलाई ज्युँदो राख्दैनन् । त्यसैले म तँसँग एउटा कुरा माग्छु, पूरा गर्ने वचन दिन सक्छस् ?
कुरा सुनेर भावुक बन्नुभएका गणेशमानले सोध्नुभयोे, ‘‘भन्नोस्, मैले गरेर हुने जे पनि गर्न तयार छु । तपाईं आदेशमात्र दिनोस् ।’’
दशरथले भन्नुभयो, ‘‘हेर, मैले अघि नै भनेँ, तैँले कसरी सङ्घर्षलाई तार्किक निष्कर्षमा पु¥याएर आफूलाई ठूलो मान्छे साबित गर्छस्, त्यो म भन्न सक्तिनँ । तर, मेरो अन्तरआत्माले भन्छ– तैँले त्यो काम अवश्य गर्छस् । गरिस् र ठूलो मान्छे भइस् भने मेरो एउटा काम गरिदे, त्यो के भने मेरो एकजना भतिजा छन्, उसको नाम ललित चन्द हो । अहिले ऊ भारतको नानपाडामा पढ्दै छ । उसको हेरविचार मैले गर्नुपर्ने थियो, अब त्यो जिम्मा तेरो भयो ।’’ गणेशमानले भन्नुभयो, ‘‘निश्चिन्त रहनोस्, मैले सक्ने र हुने सबै गर्नेछु । धन्दा मान्नुपर्दैन ।’’ सात सालको क्रान्तिपछि ललित चन्दलाई अध्ययन जारी राख्नमात्र होइन, ०१५ सालको चुनावमा टिकट दिएर जिताउन र सहायकमन्त्री बनाउन पनि गणेशमान सिंहले योगदान गरेर सहिदको ऋण तिर्नुभएको थियो ।
(लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ ।)