logo
२०८१ मंसिर ८ शनिवार



आर्थिक रूपान्तरणमा विज्ञान प्रविधि

विचार/दृष्टिकोण |





डा. दिनेशराज भुजु

दुई हजार वर्षअघि इस्वी संवत् प्रारम्भ हुँदा विश्वमा अधिकांश देशको आर्थिक अवस्था कमजोर थियो । प्रायः मानिस गरिब थिए । आर्थिक इतिहासका प्राध्यापक एङ्गस म्याडिसन (सन् १९२६÷२०१०) ले यही दुई हजार वर्षको आर्थिक वृद्धिको तालिका तयार पार्नुभएको छ । तालिकानुसार पहिलो शताब्दीमा विश्वको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ४६७ अमेरिकी डलर मात्र थियो । यो अङ्कलाई पाँच सय नाघ्न १५ सय वर्ष लाग्यो, एक प्रकारले त्यो सरलरेखामा तन्किरह्यो । सन् १८२० पुग्दा यो उत्पादन ६६६ अमेरिकी डलर पुग्यो । त्यसपछि भने आर्थिक विकासको त्यो रेखा द्रुुतगतिमा उक्लिन थाल्यो । अर्को सय वर्ष नपुग्दै सन् १९१३ मा आर्थिक उत्पादनको त्यो अङ्क दुगुना फड्को मारेर एक हजार ५२४ अमेरिकी डलर पुग्यो । म्याडिसनको तालिकाले सन् २००८ सम्मको आर्थिक वृद्धिलाई समेटेको छ, जुन वर्ष विश्वको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन सात हजार ६१४ अमरिकी डलर पुगेको थियो । लामो समयसम्म एकनासले समतलमा हिँडिरहेको रेखा एकाएक माथि चढेको अवस्थालाई ‘हकी–स्टिक ग्राफ’ भनिन्छ । विगत् दुई हजार वर्षको विश्वको आर्थिक विकासको चित्र यस्तै देखिन्छ ।
झन्डै एक हजार आठ सय वर्षसम्म पाँच सय अमेरिकी डलरभन्दा कममा घस्रिरहेको विश्वको आर्थिक उत्पादन एकाएक कसरी उँभो लाग्नसकेको होला भन्ने कौतुहल स्वभावतः सबैमा जाग्छ । एक प्रकारले त्यो रहस्यमय जादुको छडी झैँ प्रतित हुन्छ । तथापि यो अनुमान लगाउन गाह्रो छैन कि विश्वलाई गरिबीको खाल्डोदेखि उद्धार गरेर समृद्धिको धुरी चढाउने त्यो साधन अरू केही नभएर औद्योगिक क्रान्ति हो जुन वाष्प इञ्जिनको आविष्कारसँगै अठारौँ शताब्दीमा प्रारम्भ भएको थियो । विभिन्न चरण हुँदै अहिले यो चौथो चरणमा पुगेको छ । औद्योगिक क्रान्तिको मूल आधार प्रविधि विकास र आविष्कार हो, प्रविधिको स्रोत विज्ञान र वैज्ञानिक चिन्तन हो, कुनै तिलस्मी वा अलौकिक शक्ति त्यो होइन ।
सन् १८०० सम्म विश्वमा जुन आर्थिक उत्पादन र जे जस्तो सम्पन्नता हासिल भयो, त्यसमा ठूलो भूमिका भारत र चीनको थियो । तत्कालीन विश्वको कुल गार्हस्थ उत्पादनमा ती दुई देशको योगदान ५० प्रतिशतभन्दा बढी रहन्थ्यो । युग अनुसारको ज्ञान र प्रविधि जेजस्ता थिए त्यसमा पनि यिनै दुई देश युरोपभन्दा अगाडि थिए, अमेरिका पछाडि नै थियो । तर ती प्रविधि यान्त्रिक थिएनन्, मानिसहरू नै तिनमा खट्थे, बढीमा चौपायाहरूको प्रयोग गरिन्थ्यो । पानीघट्ट, हावामिल, कपडा बुन्ने तान, घिर्नी उत्तोलकको प्रयोग, नहर प्रणाली, चक्रेबाली, गह्राखेती आदिको विकास भइसकेको थियो । तर तिनको उपयोग सीमित थियो, आर्थिक उत्पादनमा गुणात्मक फड्को ल्याउन सक्ने तागत तिनमा थिएन । रोगव्याधिले धेरैको ज्यान जान्थ्यो, के कारणले रोग सर्छ भन्ने वैज्ञानिक ज्ञानको प्रादुर्भाव भइसकेको थिएन । देश हेरिकन मानिसको सरदार आयु ३० देखि ४० वर्ष मात्र थियो । यसकारण मानिसको जनसङ्ख्या अनुसार आर्थिक उत्पादनको मात्रा निर्धारण हुन्थ्यो जुन माल्थूसेली जालोमा फँसिरहन्थ्यो । सन् १८०० मा विश्व जनसङ्ख्या एक अर्ब पुगेको थियो, जसको ३० प्रतिशत चीनमा र २४ प्रतिशत भारतमा समेटिएको थियो । जनसङ्ख्याको यही प्रतिशत माथि उल्लिखित आर्थिक उत्पादनको ग्राफमा प्रतिविम्बित हुन आएको हो ।
सत्रौँ शताब्दीसम्म आइपुग्दा युरोपमा सामाजिक जागरणले उचाइ लिइसकेको थियो, यसमा ठूलो योगदान वैज्ञानिक तर्क र चिन्तनको रह्यो । वैज्ञानिकहरूले निर्भीकतापूर्वक अघि सारेको प्रमाणवादको दर्शन, भौतिक ब्रह्माण्डको अस्तित्व, प्राकृतिक नियम र जीवविकासको सिद्धान्त यति धेरै प्रभावकारी भए कि समाज र आर्थिक विकासको इतिहाससमेत विज्ञानको आँखाबाट हेर्ने परिपाटीको विकास भयो । आइज्याक न्युटनको वैज्ञानिक चिन्तनबाट सन् १६८७ मा एउटा सरल तर सारगर्भित प्राकृतिक सिद्धान्त प्रतिपादन भयोस् हरेक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया हुन्छ । त्यही सिद्धान्तमा टेकेर १० वर्षपछि बेलायतमा वाष्प–इन्जिनको आविष्कार भयो, जुन प्रविधिलाई जेम्स वाटले स्तरोन्नति गरेर व्यावसायिक प्रयोगमा ल्याउनुभयो । यसरी वाष्प इन्जिनको आविष्कार भएपछि औद्योगिक क्रान्तिको पहिलो चरण (सन् १७६०–१८२०) सुरु भयो । वाष्प–इन्जिन औद्योगिक क्रान्तिको पर्याय बन्यो । सन् १८२० को दशकतिर वैज्ञानिकहरूले विद्युत् र विद्युतीय गुणहरूको व्याख्या गरे । केही वर्षपछि आम तवरमा विद्युत् उत्पादनको प्रविधि विकास भयो । विद्युत्ले औद्योगिक क्रान्तिको दोस्रो चरण निर्माण ग¥यो । केही वर्षपछि प्रतिव्यक्ति गार्हस्थ उत्पादन एक हजार डलर नाघ्यो ।
औद्योगिक क्रान्ति भएपछि विश्वको गार्हस्थ उत्पादन र आर्थिक विकासले पनि कोल्टे फे¥यो । जनसङ्ख्या धेरै भए तापनि चीन र भारत आर्थिक विकासमा पछि पर्दै गए । जनसङ्ख्या कम भएका बेलायत र अन्य युरोपेली मुलुक समृद्ध हुँदै गए । यस्तो अनुमान गरिन्छ कि सन् १८२० मा विश्वको जनसङ्ख्या करिब एक अर्ब पुगेको थियो, जसमा भारतको २० प्रतिशत र पश्चिम युरोपको १६ प्रतिशत समेटिएका थिए । त्यही वर्ष, विश्वको कुल गार्हस्थ उत्पादनमा भारतको भागमा १२ प्रतिशत र युरोपको २४ प्रतिशत रह्यो । केही वर्ष चीनले आफ्नो जनसङ्ख्याको आकार अनुसार गार्हस्थ उत्पादन कायम राख्न सफल भए तापनि पछिल्ला वर्षमा उसको आर्थिक हैसियत क्रमशः खस्कँदै गयो, युरोपभन्दा ऊ पछाडि प¥यो । कारण युरोपले औद्योगिक क्रान्तिको क्रममा प्रविधि विकास र यान्त्रीकरण तीव्र पार्दै लग्यो । चीन र भारत उपनिवेशका रूपमा रहन गई तिनले प्रविधि विकास गर्न पाएनन् ।
सन् १९६० को दशकमा पारमाणविक ऊर्जाको उपयोग र जीव–प्रविधिको विकास भयो । लगत्तै औद्योगिक क्रान्ति तेस्रो चरणमा प्रवेश ग¥योे । सन् १९७३ पुग्दा प्रतिव्यक्ति गार्हस्थ उत्पादन चार हजार डलर नाघ्यो । एक्काइसौँ शताब्दीको प्रारम्भ पुग्दा नपुग्दै विज्ञानले डिजिटल प्रविधि विकासको द्वार खोलिदियो । अहिले हामी चौथो औद्योगिक क्रान्तिको चरणमा प्रवेश गरिसकेका छौँ । विश्व बैङ्कका अनुसार गतवर्ष विश्वको प्रतिव्यक्ति गार्हस्थ उत्पादन ११ हजार २९६ डलर पुग्यो । विज्ञान–प्रविधिको प्रयोगले विश्वलाई समृद्धिको यो उचाइमा पु¥याइदियो ।
पछिल्लो समय चीन र भारतले गरेको आर्थिक विकासबारे खुबै चर्चा हुन्छ । अहिले विश्वको कुल गार्हस्थ उत्पादन ८६० खर्ब अमेरिकी डलर रहेको विश्व बैङ्कको तथ्याङ्क छ । यसमा पहिलो स्थानमा रहेको संयुक्त राज्य अमेरिकाको योगदान २४ प्रतिशत छ भने दोस्रो स्थानमा रहेको चीनको १६ प्रतिशत र सातौँ स्थानमा रहेको भारतको तीन प्रतिशत छ । आर्थिक विकासको सूचकाङ्कका रूपमा देखिने यो गार्हस्थ उत्पादनको प्रत्यक्ष सम्बन्ध वैज्ञानिक अनुसन्धान र प्राविधिक विकाससित जोडिएको देखिन्छ ।
सन् १९९० मा चीनको प्रतिव्यक्ति ग्राहस्थ उत्पादन एक हजार ५१६ अमेरिकी डलर थियो र भारतको त्यसभन्दा केही बढी एक हजार ७७३ थियो । सन् २००० मा यो उत्पादन चीनको तीन हजार ६७८ पुग्यो र भारतको दुई हजार ५२१ भयो । अर्को १० वर्ष, सन् २०१० मा चीनको नौ हजार ४३० डलर पुग्यो र भारतको चार हजार ४०५ डलर पुग्यो । चीनको गार्हस्थ उत्पादनमा यसरी उत्साहपूर्वक विकास हुनमा एउटा कारण वैज्ञानिक अनुसन्धान र प्राविधिक विकासमा उसले गरेको लगानी हो । सन् १९९० मा चीनको यस्तो लगानी कुल गार्हस्थ उत्पादनको ०.८ प्रतिशत थियो, सन् २००० मा यो बढेर १.० प्रतिशत र सन् २०१० मा १.७ प्रतिशत पुग्यो । त्यही समयावधिमा अनुसन्धान र विकासमा भारतको लगानी भने ०.८ प्रतिशतमा सीमित रह्यो । पछिल्लो वर्ष चीनले यो लगानी २.१ प्रतिशत पु¥याएको छ, जुन अमेरिकाको हाराहारीमा पुग्दैछ ।
विश्व बैङ्कको तथ्याङ्क तालिकाअनुसार सन् २०१८ मा नेपालको कुल गार्हस्थ उत्पादन २८.८ अर्ब डलर थियो, विश्वको कुल गार्हस्थ उत्पादनमा यसको अंश ०.३ प्रतिशत हुन्छ । नेपालको प्रतिव्यक्ति गार्हस्थ उत्पादन पनि खासै ठूलो छैन । सन् १९९० मा हाम्रो प्रतिव्यक्ति गार्हस्थ उत्पादन एक हजार १९८ डलर थियो जुन २०१० पुग्दासम्म एक हजार ९९७ पुग्यो । यस अवधिमा वैज्ञानिक अनुसन्धान र प्राविधिक विकासमा हामीले गरेको लगानी पनि न्यून छ, जुन सन् १९९० मा ०.२ प्रतिशत र सन् २०१० मा ०.३७ प्रतिशत मात्र हो । अनुसन्धान र विकासमा गरिएको यो लगानी औसतभन्दा अत्यन्तै कम हो । अनुसन्धान र विकासमा विश्वको अहिलेको लगानी दुई प्रतिशत पुग्छ ।
नेपालले आर्थिक समृद्धिको सपना देख्न थालेको एक दशक भइसकेको छ । यो गणतन्त्र स्थापनापछि देखिएको आमचाहना हो । हाम्रा प्राकृतिक स्रोत र मानव संसाधनको उपयोग गर्दा समृद्धि हासिल गर्न कुनै लामो समय पर्खनुपर्ने देखिन्न । तथापि स्रोत आफैँमा आर्थिक विकास होइन, उत्पादनमा त्यसको दिगो उपयोगबाट मात्र त्यस्तो सम्भव हुन्छ जसका निम्ति अनुसन्धान र विकासमा लगानी गर्नु पहिलो शर्त हुन आउँछ ।
वैज्ञानिक अनुसन्धान र प्राविधिक विकासमा कुल गार्हस्थ उत्पादनको कम्तीमा एक प्रतिशत खर्च गर्नुपर्ने कुरा धेरैचोटी उठिसकेको छ । राजनीतिक नेतृत्व र सरकारमा बस्ने जिम्मेवार निकायले पनि बेलाबखत सार्वजनिक रूपमै यसमा प्रतिबद्धता व्यक्त गरिसकेका छन् । अब यसलाई व्यवहारमा उतार्न ढिलाइ नहोस् । विज्ञानप्रविधि र नवप्रवर्तनमार्फत देशको सामाजिक तथा आर्थिक रूपान्तरण गर्ने यस वर्षको राष्ट्रिय विज्ञान दिवसको नारा मात्र नारामै सीमित नहोस् ।

(लेखक नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्राज्ञ हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?