रामहरि पौड्याल
ग्रेटा थनवर्गको जन्म ३ जनवरी २००३ स्वीडेनमा भएको थियो । उनले स्वीडनको संसद्मा पेरिस सम्झौताअनुसार कार्बन उत्सर्जन कम गर्नका लागि स्कुल नगएर संसद्बाहिर विरोध प्रदर्शन गरिन् । ग्रेटा ‘स्कुल स्ट्राइक फर क्लाइमेट मुभमेन्ट’ को संस्थापक हुन् । यो आन्दोलनको सुरुवात गत वर्ष २०१८ को अगस्ट महिनामा सुरु भएको थियो । उनले जलवायु परिवर्तनमाथि केही कार्य गर्नका लागि आफ्ना विद्यार्थी साथीहरूलाई प्रेरित गर्दै विरोध प्रदर्शनमा सहभागी हुन मनाएकी थिइन् । आफ्ना स्कुले साथीहरूलाई वातावरणबारेमा सोच्न र त्यसका लागि एक दिन स्कुल नगएर विरोध जनाउने उनको सानो प्रयासले एउटा विश्व आन्दोलनको रूप लियो । स्कुल बन्द गर्ने कार्यको नेतृत्वले उनलाई वातावरण अभियन्तामात्र बनाएन, एउटी नमुना सेलेब्रेटीमा रूपान्तरण ग¥यो ।
‘संसारको प्रदूषणलाई रोक्न बूढाहरूको भर गरेर हँुदैन, हामी किशोरकिशोरीहरू नै अघि बढ्नुपर्छ, भोलिको हाम्रो भविष्य बचाउन ।’ उनको यो विचारलाई युरोपभरिका विद्यार्थीले साथ दिए । यो अभियान २७० सहर र बीस हजार स्कुलमा फैलियो । उनी रातारात नयाँ नेता बनिन्, वातावरण अभियन्ता भएर ।
‘हाम्रो घरमा आगो लागिसकेको छ, परिवार र पृथ्वी सङ्कटमा छन् !’
‘सबै कुरा परिवर्तित हुनुपर्छ र त्यो आजैबाट थालिनुपर्छ ।’ आगो निभाउने कार्यको सुरुवात ती स्वीडिस बालिका वातावरण अभियन्ता ग्रेटा थनवर्गले सुरु गरिन् । संसारभरिका एक लाख ‘टिनएजर’ फलोअरले साथ दिएका छन्, उनको सराहनीय कार्यलाई ।
गत चार वर्षमा पृथ्वीको तापक्रम रेकर्डेड बिन्दुमा पुगेको छ । कार्बनडाइअक्साइडको उत्सर्जन सन् २०१८ मा उच्चतम भएको छ । वातावरणलाई १.५ डिग्रीमा झार्न हाम्रो प्रयासलाई पाँच गुणा बढाउनुपर्ने हुन्छ । प्रौढहरू सधैँ हामीले युवाको भविष्यका लागि यो ग¥यौँ, त्यो ग¥यौँ भन्दै आशा देखाउँछन् । तर, मलाई तपाईंहरूको आशा चाहिँदैन । म आशावादी बन्न पनि चाहन्न । म चाहन्छु, हजुरहरू दुःखी बन्नुहोस् । म चाहन्छु, हजुरहरूले पनि हरेक दिन मैले अनुभव गर्ने वातावरणीय डर महसुस गर्नुहोस् । म चाहन्छु, हजुहरूले आसन्न सङ्कटको महसुस गर्नुहोस् । यो बुज्नुहोस् कि ‘हाम्रो घरमा आगो लागिसकेको छ, परिवार र पृथ्वी सङ्कटमा छन् ।’
मान्छे सफलताको कुरा गर्छन् । उनीहरूले गरेको सफलतालाई मौद्रिक उपलब्धि सम्झेर व्याख्या गरिन्छ तर मौसम परिवर्तन ‘ग्लोबल वार्मिङ’ को कुरामा हामी सधैँ फेल हुन्छौँ । जबसम्म हामीहरू यो हारलाई स्वीकार्दैनौँ, त्यसको नतिजा हामीले भन्न नसकिने दुष्परिणामको सिकार हुनेछौँ । थनवर्ग त्यो पारम्परिक चेतावनीलाई मान्दिनन्– वातावरणको विषय कम्प्लेक्स छ ! उनी अधैर्य हुँदै बढिन् । उनलाई यस्तै सिकाउँदै आइयो कि ‘स्ट्रकचरल रिफर्म’ गर्न सजिलो छैन । यो संवेदनशील छ, धेरै गाह्रो छ, समय लाग्छ, अनि भनिन्छ जीवनमा केही पनि कुरा कालो सेतो हँुदैन ।
यतिखेर उनी अमेरिकाको संयुक्त राष्ट्रसङ्घको वातावरण समिटमा भाग लिन न्युयोर्क पुगेकी छन् । जानुपूर्व उनले आफ्नो अमेरिकी यात्राले कति कार्बन उत्सर्जन गर्छ भन्ने हिसाब गरिन् र वातावरण अभियन्ताको साँचो नमुना प्रस्तुत गरिन् । प्लेनबाट ६ घन्टामा पुगिने ठाउँमा उनले जिरो कार्बन बाटो रोजिन् र बेलायतको प्लेमाउथबाट १४ दिनको कठिन यात्रा रोजिन् सहर्ष । विशेषप्रकारको भेसल जुन सोलारबाट चल्ने र जिरो कार्बन उत्सर्जन गर्ने उपाय रोजिन् ।
वल्र्ड इकोनोमिक फोरमको अनुसार हवाई उद्योगले २७ ट्रिलिअन डलरको विश्व व्यापार गर्छ । यसका लागि १४ मिलियन लिटर तेलको प्रयोग हुने गर्छ, जसबाट नौ सय मिलियन टन कार्बन उत्सर्जन हुने गर्छ । यो अनुपातलाई आधा घटाउन २०३० सम्म कति नवीकरणीय ऊर्जाको विकास र प्रवद्र्धन गर्नुपर्छ ? हामी सबैले सोच्नु, गम्नुपर्ने बेला आएको छ ।
संसार एकपटक ती किशोरीको वातावरणप्रतिको निष्ठा देखेर नतमस्तक भयो, ‘फरक कुरा गर्न कोही पनि अति सानो हँुदैन ।’
धेरै मान्छेका कथनी र करनी फरक देखिन्छ । क्षण भरमै रङ बदल्छन् मान्छे । आफ्नो अडानमा टिक्न सक्दैनन् । बेलायतका राजकुमार ह्यारीले अघिल्लो महिना वातावरणसम्बन्धी एउटा कार्यक्रममा यस्तै चिन्ता व्यक्त गरे । संसारको वातावरण जनसङ्ख्या वृद्धिको चिन्ता व्यक्तमात्र गरेनन्, आफूले दुईवटा मात्र सन्तान जन्माएर वातावरणलाई बचाउने बताए । भोलिपल्ट ब्रिटिस पत्रिकाले प्रिन्स ह्यारीको प्रशंसामा ‘बाइलाइन’ समाचार छापे । दुई हप्तापछि तिनै वातावरणका मसिहा ह्यारी युरोपको ‘होलिडे’मा निजी विमान चढेर हानिए एक हप्तामा तीनपटक । पत्रिकाहरूले खिसिट्युरी गर्दै दुई हप्ताअघिको प्रतिबद्धता सम्झाए ।
आज विश्व जलवायु परिवर्तनको गम्भीर सङ्कटबाट गुज्रिरहेको छ । पर्यावरणविद्हरूले बताएअनुसार सही समयमा कार्बन उत्सर्जनलाई नघटाउने हो भने पृथ्वीका हरेक जीवहरूको अस्तित्व खतरामा हुनेछ । सुन्दर मानव धर्तीलाई बचाउन संसारभरि चलेको अनेकथरी आन्दोलनबीच एउटी किशोरी थपिएकी छन्– ग्रेटा थनवर्ग । स्वीडिस किशोरी– क्लाइमेट एक्टिभिस्ट । यिनैको नेतृत्वमा एक लाख स्कुले विद्यार्थीले साथ दिए ।
यी किशोरीको नाम अहिले नोबेल शान्ति पुरस्कारका लागि दर्ता भएको छ । स्वीडेनबाट सुरु भएको वातावरण बचाउने उनको अभियान स्टकहोम, हेलिसिन्की, ब्रसेल्स हुँदै लन्डनसम्म आइपुग्यो । यी सबै मञ्चमा ती किशोरीको प्रस्तुतिले दुनियाँ उनका प्रशंसक बने । बेलायतको संसद्मा उनको कुरा चाख मानेर सुनियो । गत साल पोल्यान्डको काटोबिसमा भएको संयुक्त राष्ट्रसङ्घको कोप–२४ बैठकमा समेत ग्रेटाले भाग लिइन् र पर्यावरणबारे भाषण दिइन् । त्यही मञ्चबाट ग्रेटाले भनिन्, ‘म दुनियाँका नेतासँग भिख माग्न आएको होइन । तपाईंहरूले मलाई पहिला पनि बेवास्ता गर्नुभयो र भविष्यमा पनि गर्नुहुनेछ । अब हामीसँग समय छैन, पर्यावरण साँच्चिकै खतरामा छ । सबै कुरा परिवर्तित हुनुपर्छ र त्यो आजैबाट थालिनुपर्छ ।’
उनको यो साहसी भाषण संसारका सबै नेताहरूले मन पराए । उनको आकर्षण बढ्दै गयो संसारभरि । ग्रेटाले त्यस्तो भाषण दावासको अर्को सम्मेलनमा पनि दिइन् । उनी ३२ घन्टाको रेल यात्राबाट दावास पुगेकी थिइन् । जहाँ धनी देशका राष्ट्रप्रमुखहरू निजी जेटमा हुल बाँधेर पुगेका थिए ।
१६ वर्षीय ग्रेटा थनवर्गले एम्नेस्टी इन्टरनेसनलको ‘एम्बेसडर आफ कान्साइन्स अवार्ड २०१९’ पाइन्, उनलाई यो सम्मान ग्लोबल वार्मिङप्रति जागरूकता फैलाउने कार्यका लागि दिइएको हो । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत एक भिडियो सन्देश पठाइन् । जलवायु परिवर्तनका लागि कदम उठाउन माग गरिन् । आज उनीबाट प्रभावित भएर संसारका दुई हजार ठाउँमा वातावरणलाई बचाउन प्रदर्शनहरू भएका छन् । ट्वीटर, फेसबुकजस्ता सामाजिक सञ्जालहरू उनका प्रशंसाले भरिएका छन् ।
उनले नोबेल पुरस्कार पाइन् भने कम उमेरमा नोबेल जित्ने कम उमेरकी मालाला युसुफको १७ वर्षको रेकर्डलाई १६ वर्षकी ग्रेठा थनवर्गले तोड्नेछन् ।
अन्त्यमा,
यही सेप्टेम्बर २० (हिजो शुक्रबार) फेरि संसारभरि स्कुल बन्द गरिए उनको नेतृत्वमा । यतिखेर राष्ट्रसङ्घको समिटमा अमेरिका पुगेकी उनले न्युयोर्कका स्कुलहरूमा त्यस्तो हडतालको सुरु गरिन् र सेप्टेम्बर २० तारिखमा अमेरिकाको राजधानी वासिङ्टन डिसीमा । संसारभरिका वातावरण अभियन्ताहरूले उनलाई साथ दिएका छन् । वातावरण जोगाउन लागिपरेका छन् । भर्खरै अमेजनको जङ्गलमा लागेको भीषण आगलागी होस् वा संसारभरि देखिएको हिट वेब, अति वर्षा, बाढीपहिरो, खडेरी वातावरणमा ग्लोबल वार्मिङको प्रभावका ज्वलन्त उदाहरण हुन् ।
ग्रेटाले सुरु गरेको यो महाअभियान एसिया र अझ नेपालसम्म फैलिन आवश्यक छ । हाम्रो देश वर्षौंदेखि वातावरणीय प्रदूषण, बेथितिले रुमलिएको छ । हरेक ठाउँमा अकर्मण्यता छाएको वर्तमानमा किशोर विद्यार्थीको भूमिका ग्रेटाको जस्तै निर्णायक हुन सक्छ । किशोरकिशोरीको भविष्यसँग गाँसिएको स्वच्छ वातावरण, स्वच्छ संस्कारको खाँचो अपरिहार्य भएको छ । स्कुले भाइबैनीहरूमा ग्रेटा बन्ने शक्ति छ । आफ्नो वातावरणलाई सफा गर्ने तागत छ । मात्र खाँचो छ एउटा अभियानको जसले किशोरकिशोरी मनहरूलाई सकारात्मक सोचका लागि केन्द्रित गर्न सकोस् ।
(लेखकले स्वन्जी विश्वविद्यालयमा ऊर्जा सङ्कट, ऊर्जा स्तोरन्नति र नवीकरणीय ऊर्जामा पीएचडीको शोध गर्दै हुनुहुन्छ ।)