सानु सापकोटा
आश्विन कृष्णपक्ष अर्थात् पितृ पक्षलाई महालय वा जनजिब्रोको बोलीमा सोह्रश्राद्ध भनिन्छ । सोह्रश्राद्धमा विशेषगरी दिवङ्गत भई सायुज्य प्राप्त गरिसकेका पितृगणलाई श्रद्धाभाव प्रकट गरी यथाशक्य पिण्डदान तर्पणादि कार्यसहित श्राद्ध, सिदादान आदि गर्ने गरिन्छ । सोह्रश्राद्धलाई पितृहरूको पर्व मानिन्छ । यो पर्वमा पर्ने भएकाले पार्वण श्राद्धसमेत भनिन्छ । यो समयमा मानिस पशुपति, गोकर्णेश्वर (उत्तरगया), सप्तकोसी, बेत्रावती, वराह क्षेत्रको विष्णु पादुका, भारतको पुन, गया, फल्गु, विष्णुपादुका, अक्षयवट, हरिद्वारमा कुशावर्त, केदारनाथमा हंशमण्डप, बद्रीनाथमा ब्रह्मकपाली आदि तीर्थमा गई श्राद्ध गर्छन् ।
किन गरिन्छ श्राद्ध
आमाबाबुबाट लालनपालन भई हुर्कने, बढ्ने, संस्कार र शिक्षा प्राप्त गर्ने भएकाले प्रत्येक सन्तान मातापिताप्रति ऋणी हुन्छ । शास्त्रअनुसार यो ऋण तिर्नुपर्छ । त्यसैले आफू सक्षम भएपछि मातापिताको अन्त्यकालसम्म सेवा–सुश्रुषा पालनपोषण गर्नुपर्छ । साथै उहाँहरूको मृत्युपश्चात् पनि काजक्रिया र वार्षिक श्राद्ध आदि पितृकार्य गर्नुपर्छ । सन्तानले पितृको सम्झनामा प्रत्येक वर्ष श्राद्ध गर्दा श्रद्धापूर्वक गर्नुपर्छ तबमात्र त्यसलाई पितृले ग्रहण गर्छन् भन्ने शास्त्रीय भनाइ छ । यदि त्यहाँ श्रद्धा नै छैन भने त्यो केवल औपचारिकतामात्र हुन्छ ।
पितृले पिण्ड खान्छन् त ?
एकाथरि तर्कवादीले दिइएको पिण्ड त यथावत् नै रहन्छ, पितृहरूले कसरी खान्छन् ? भन्ने तर्क सार्छन् । प्रत्येक वर्षमा गरिने श्राद्ध कार्यलाई किन गर्ने भन्ने प्रश्न गर्छन् । पिण्ड यथावत् रहेको देखिँदा पितृले खाएनन् भन्ने धेरैलाई लाग्न सक्छ । तर, त्यो नबुझ्नाले हो । सन्तानले दिएका जलपिण्ड आदि वस्तु परलोक भएका पितृ आदिले कसरी प्राप्त गर्छन् भन्ने शङ्काको निर्णयमा हेमाद्रि, निर्णय सिन्धु आदि वृहत् ग्रन्थमा लेखिएको छ– नामगोत्र मन्त्र आदिको सहाराले परलोकमा पुत्रादिले श्रद्धाभक्ति विश्वासपूर्वक अर्पण गरेका हव्यकव्य आदि अग्निष्वाता आदि पितृदेवताले व्यवस्था गरी जुन लोकमा जुन योनीमा प्राप्त भएका छन्, त्यही योनीमा प्राप्त हुने, त्यही योनीमा खान हुने वस्तुमा परिणत गराइदिन्छन् । जस्तै– आफूले गरेको शुभकर्मको पुण्यले पितादेव योनीमा पुगेको छ भने दिएका वस्तु अन्न आदि अमृत रूपमा परिणत भएर उपस्थित हुन्छन् । गन्धर्व योनीमा प्राप्त भएको छ भने उसले भोग गर्न चाहने वस्तुमा बदलिई अगाडि पुग्छन् । मनुष्य योनीमा प्राप्त भएको रहेछ भने नानाप्रकारका अन्न पानादि रूपमा परिणत भई पिता आदिले उपभोग गर्न पाउँछन् ।
श्राद्धका किसिम
भविष्य पुराणका अनुसार श्राद्ध १२ किसिमका हुन्छन् । दिनदिनै गरिने नित्य श्राद्ध, वार्षिक तिथिमा गरिने एकोद्दिष्ट आदि नैमित्तिक श्राद्ध, आफ्नो इच्छा सिद्ध होस् भनी गरिने काम्य श्राद्ध, विवाहादि अभ्युदयमा गरिने वृद्धि श्राद्ध, मरेको १२ दिनमा गरिने सपिण्डी श्राद्ध, सोह्रश्राद्ध र औँसी आदिजस्ता पर्वमा गरिने पार्वण श्राद्ध । यस्तै गोठमा गरिने गोष्ठी श्राद्ध, पितृतृप्ति विद्वान्को सुख प्राप्ति र शुद्धिका निमित्त गरिने ब्राह्मण भोजन शुद्धि श्राद्ध, सिमन्तोनयन पुंसवन आदि संस्कारका निमित्त गरिने कर्माङ्ग श्राद्ध, देवताको उद्देश्यले गरिने दैविक श्राद्ध, देशान्तरमा जाँदा घ्यूले गरिने यात्राश्राद्ध, शरीर शुद्ध होस् भनी गरिने पुष्टि श्राद्ध । तर, यम स्मृतिका अनुसार जम्मा पाँचप्रकारका श्राद्ध छन्– नित्य, नैमित्तिक, काम्य, वृद्धि र पार्वण श्राद्ध ।
श्रद्धा नै श्राद्ध हो
श्राद्ध गर्दा मुख्य दुई अङ्ग मानिएको छ । प्रथम श्राद्धको सुरुमा तर्पण गरिन्छ, दोस्रो पिण्डदान गरिन्छ । ब्रह्मादेखि स्तम्बपर्यन्त जोसुकै पनि चराचर छन्, ती सबै मैले दिएका जलले तृप्ति प्राप्त गरून्, जुनसुकै वृक्ष, लता, पहाड आदि स्थावर तथा देव, मानिस, पशुपक्षी आदि हिँड्ने डुल्ने जङ्गम प्राणीहरू सबै मैले प्रदान गरेको तर्पणको जलले तृप्ति प्राप्त गरून् भनी तर्पण कार्य गरिन्छ । पितृलाई शास्त्र विधानअनुसार श्राद्ध, तर्पण कार्य गर्दा पितृको तृप्तिका साथै कर्तालाई पनि आयु, प्रजा, धन, विद्या, स्वर्ग, मोक्ष, सुखादि सबै इच्छाअनुसारका फल प्राप्त हुन्छन् । देवतालाई भाव भए पुग्छ तर पितृलाई शुद्धमन्त्र र शुद्ध वाक्य चाहिन्छ । तसर्थ, शुद्ध मन्त्रका साथ श्राद्ध गरिनुपर्छ ।
सोह्रश्राद्ध र पितृ
आश्विन कृष्णपक्ष (अपर पक्ष) मा पर्ने पार्वण श्राद्धलाई शास्त्रले पर्वकै रूपमा मानेको छ । यस समयमा गृहस्थाश्रमीले पार्वण श्राद्ध गर्नुपर्ने कुरामा शास्त्रले जोड दिएको छ । यो सोह्रश्राद्धमा बाबुको मृत्यु भएको दिनको तिथिमा मानिसले श्राद्ध गर्छन् । श्राद्ध गर्ने मानिसका पितृहरू वर्ष दिनसम्मका लागि तृप्त हुन्छन् । जहाँ पितृहरू पूजित हुन्छन्, त्यहाँ माताहरू पनि पूजित हुन्छन् । मातृ नवमी, मघा द्वादशी, मघा त्रयोदशी तथा चर्तुदशी तिथिमा आफ्नो बाबुको श्राद्ध परेमा पनि गर्नुहँुदैन । तर, यी तिथिबाहेकका अरू तिथि वा अष्टमीमा मात्र गर्नाले वा औँसीमा मात्र गर्नाले वा बाबुको तिथिमा गर्नेले नन्दादी तिथि, बार, नक्षत्र, गण्ड र वैधृति जेसुकै परे पनि दोष लाग्दैन । महालय श्राद्ध गर्नुपर्छ भन्ने शास्त्र वचन छ ।
वानप्रस्थको र वैष्णवको श्राद्ध विशेषतः कृष्णपक्षको द्वादशी तिथिमा गर्नुपर्ने विधान छ । चतुर्दशी तिथिमा शस्त्रबाट मरेको महालय श्राद्ध गर्नुपर्छ, यीबाहेक अरूको हँुदैन । पितृ पक्षमा पार्वण श्राद्ध गर्न नपाएको खण्डमा गाइतिहारे– कार्तिक कृष्ण औँसीमा गर्नुपर्छ भन्ने शास्त्र निर्देश छ ।
पितृ आदर सबैले गर्छन्
वैदिक सनातनी धर्मावलम्बीले मात्र नभएर अन्य धर्मावलम्बी र अन्य देशवासीले पनि पितृहरूप्रति श्रद्धा, आस्था र विश्वास अर्पण गर्ने परम्परा छ । रेयुकाईहरू अन्तरआत्माको विकास कार्यक्रमको सुरुमा पितृलाई सम्झेर प्रार्थना गर्छन् । जापानीहरू जलको पूर्ण कलश, फूल, पितृ वंशावली राखेर प्रत्येक दिन बिहान पितृलाई सम्झिन्छन् । कन्फ्युसियसहरू पनि आफ्ना पितृप्रति यसरी नै श्रद्धाभाव प्रकट गर्ने गर्छन् । नेपालमा नै किरात वंशहरू प्रकृति र पितृलाई नै आफ्नो मुख्य देवता मानी अर्चना गर्छन् । फरक त यत्ति हो कि सनातनी आफ्ना पिता पुर्खाहरू पितृदेवता मानेर पुज्छन् तर रेयुकाई, जापानीलगायत अन्य पिता पुर्खालाई इतिहासका सूत्राधार मानेर श्रद्धा गर्छन् ।
सनातनीय नेपालीका लागि सोह्रश्राद्ध लोकजीवनको अभिन्न अङ्ग हो । तर, आधुनिकताका नाममा हामी हाम्रो संस्कार र हाम्रो लोकजीवनबाट टाढा अभ्यस्त हुँदै छौँ । श्राद्ध कर्म गरेर पितृलाई खुसी बनाएर शारदीय नवरात्रमा शक्ति पूजन भगवती नवदुर्गा पराम्बाको उपासना गर्दा नवीन र शक्तिमय ऊर्जा प्राप्त हुन्छ । सद्ऊर्जाले राष्ट्रमा मात्र नभई विश्वमा नै शान्ति र आपसी भाइचारा कायम गर्छ । प्रकृतिको यो सिलसिलेबार नियमलाई शास्त्रले विज्ञानसम्मत ढङ्गमा संस्कारको कुचीले रङ्गरोगन गरेको छ । हाम्रो संस्कृति नै हाम्रो चिनारी हो । पितृदेवताले सद्बुद्धि दिई सबै नेपालीलाई असल कर्ममा लगाऊन् । शुभाशया ।
(लेखक साहित्य र संस्कृतिमा कलम चलाउनुहुन्छ ।)