logo
२०८२ जेष्ठ २७ सोमवार



आराम गरे डेङ्गु भाग्छ

विचार/दृष्टिकोण |




वसन्त पराजुली

अहिले देशैभर डेङ्गुको सङ्क्रमणबाट उच्च ज्वरोकोे फैलावट छ । अघिल्ला वर्षमा पनि नेपालमा यो मौसममा उच्च ज्वरोको सङ्क्रमण देखिन्थ्यो । राष्ट्रिय यातायात प्रणालीको मध्यभागमा रहेकाले पनि चितवन सबैभन्दा बढी यसको मारमा पर्ने गरेको छ । यो वर्ष पनि झन्डै ५० जिल्लामा फैलिएको डेङ्गुले बढी चितवनलाई नै दुःख दिएको छ ।
कहिले स्क्रसटाइपस, कहिले लेप्टोपाइरोसिस त कहिले इन्फ्लुएन्जा एच वान एन वान, चिकन गुनियाका कारणले हुने ज्वरोले पनि हरेक वर्ष सताइरहेको छ । वर्षैपिच्छे फरक प्रकृतिबाट आउने ज्वरोले आक्रान्त भएपछि विज्ञ तथा चिकित्सक यसमा अध्ययन तथा अनुसन्धान आवश्यक रहेको औल्याउँछन् । नेपाली ज्वरोको अवस्थालाई विश्व स्वास्थ्य सङ्गगठनमा नियमित रिपोर्टिङ तथा परामर्श गरिरहनुभएका फिजिसियन प्रा.डा. शीतल अधिकारी ज्वरोको अध्ययन अनुसन्धानमा ढिलाइ भइसकेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हरेक वर्ष एउटा न एउटा ज्वरोले दुःख दिइरहेको छ । यसको वास्तविक कारण पहिचान गर्न अनुसन्धान जरुरी छ ।”
एडिस एजिप्टाइ र एल्बोपिक्टर्स जातका सङ्क्रमित लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने गर्छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष भदौ अन्तिमसम्ममा मुलुकमा सात हजार तीन सय २५ जना सङ्क्रमितहरू उपचारका लागि अस्पताल भर्ना भए । निजी स्वास्थ्य संस्थामा समेत उपचार गराएकाले सङ्क्रमितको सङ्ख्या एक लाख नाघिसकेको विशेषज्ञको अनुमान छ । तर, यसको यकिन तथ्याङ्क छैन ।
सरकारी तथ्याङ्कअनुसार सन् २००४ मा चितवनमै पहिलोपटक भेटिएको डेङ्गुले २००६ देखि ‘महामारी’ को रूप लिन थालेको हो । सन् २०१० मा पाँचजना, २०१५ मा एकजना, २०१६ मा दुईजना र २०१७ एवम् २०१८ मा तीनजना गरी डेङ्गुले १४ जनाको मृत्यु भएको थियो । यो वर्ष सन् २०१९ मा डेङ्गुले छजनाको ज्यान लिइसकेको छ ।
यो अवधिमा डेङ्गुकै कारण चितवनमा भने दुईजनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेन्ट्रोल कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो । जिल्ला अस्पतालमा उपचार गराउन आएकामध्ये स्क्रबटाइपसले पनि दुईजनाको ज्यान लिएको छ । स्क्रबटाइपसबाट मर्ने बिरामी चितवन बाहिरका हुन् । यो अवधिमा जिल्लामा स्क्रबटाइपसबाट ५५ जना सङ्क्रमित भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यो वर्ष साउनयता चितवनमा मात्रै सात हजार जनामा गरिएको जाँचमा दुई हजार दुई सयमा डेङ्गुको सङ्क्रमण भेटिएको छ । अहिले चितवनका प्रायः अस्पताल ज्वराका बिरामीले भरिएका छन् । जिल्लाको सबैभन्दा ठूलो सरकारी अस्पतालमा त बिरामी राख्ने ठाउँ नभएर एउटै बेडमा दुई÷तीनजनासम्म बिरामी राखेर उपचार गराउनुपर्ने बाध्यता छ । यो वर्ष डेङ्गुको सङ्क्रमण धरानबाट फैलिएको बताइन्छ ।
बिरामीको भनाइ
उच्च ज्वरो आएर अस्पताल भर्ना हुनेको प्रायः लक्षण एउटै छ । उच्च ज्वरो आउने, शरीर थाक्ने तथा शक्ति नआउने, ज्वरो आएको तीन÷चार दिनमा शरीरभरि बिमिरा आउने, शरीर र टाउको दुख्ने, कोहीलाई बान्ता हुने, पखाला लाग्नेजस्ता लक्षण देखिन्छन् ।
ज्वरोका बिरामी माया गुरुङ ज्वरोले साह्रै दुःख दिएको गुनासो गर्नुहुन्छ । “के भन्ने नै थाहा छैन । कस्तो ज्वरो भन्ने पनि थाहा छैन । कसरी उपचार गरियो भन्ने पनि थाहा छैन । ज्वरो पनि कस्तो हो ! सरकारी निकायबाट पनि कस्तो प्रकारको ज्वरो हो भनेर अनुसन्धान भएजस्तो लाग्दैन ।” भरतपुर नगरपालिका–८ की २५ वर्षीया देवी कँडेललाई पनि उच्च ज्वरोले सतायो । उहाँलाई परीक्षणमा डेङ्गु भएको पत्ता लाग्यो । देवीले भन्नुभयो, “ज्यान तातेर आउँथ्यो । दिउँसो केही पनि नभएजस्तो हुने, राति ज्वरो एकदमै आउन थाल्यो । ज्वरो आउन थालेपछि अस्पताल भर्ना भएको हुँ ।”
चितवन मेडिकल कलेजका मेडिकल विभागका प्रमुख एवम् विश्व स्वास्थ्य सङ्गठनका परामर्शदाता प्रा.डा. शीतल अधिकारीको भनाइमा अहिले बिरामीमा देखिएको लक्षण डेङ्गुको लक्षण हो । “कसैलाई साधारण रुघाखोकीको ज्वरो पनि छ, जसलाई इन्फ्लुएन्जा भनिन्छ । अर्को स्वाइनफ्लु पनि छ । त्यो जनस्वास्थ्यले पुष्टि गरिसकेको छ । अहिले सबैभन्दा बढी डेङ्गु ज्वरो छ ।”
हरेक वर्ष महामारीकै रूप लिने ज्वरो भने सिजिनियल फ्लु नै भएको बताइन्छ । शरीर गल्ने, साह्रै नै टाउको दुख्ने लक्षण इन्फ्लुएन्जाको हो । अहिले चितवनमा फैलिएको ज्वरोले पहिला निमोनिया हुने र त्यसैबाट ‘मल्टिअर्गान’ फेल भएर बिरामी बचाउन गाह्रो हुने गरेको डा. अधिकारीको अनुभव छ ।
नियन्त्रण प्रयास
विश्व स्वास्थ्य सङ्गठनको अनुसार एउटै प्रकृतिका एकै क्षेत्रमा पाँचजनाभन्दा बढी बिरामी भेटिए त्यो महामारी हो ।
यो व्याख्या मान्ने हो भने डेङ्गुले अहिले महामारीकै रूप लिए पनि नियन्त्रणको प्रयास प्रभावकारी देखिएन । स्थानीय तह र केही सामाजिक सङ्घ–संस्थाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन सकेको छैन ।
चितवनका अस्पतालमा अहिले दैनिक एक सयजनाको हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि आउने गर्छन् । फिजिसियन डा. शशीजङ्ग पाण्डे लामखुट्टे मार्ने अभियान सुरु गरेमात्र बिरामी घटाउन सकिने बताउनुहुन्छ । “एडिस एजिप्टाइ र एल्बोपिक्टर्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने हो । यो लामखुट्टे मार्न सकियो भने डेङ्गु नियन्त्रण गर्न सकिन्छ,” डा. पाण्डेले भन्नुभयो ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौँडाका क्षेत्रीय निर्देशक रमेश अधिकारीले सरोकारवाला, आमजनसमुदाय सबै मिलेर लामखुट्टेले फुल पार्न सक्ने सबै स्थान खोजेर नष्ट गर्नुको विकल्प नभएको बताउनुहुन्छ ।
फगिङ रोक्न आग्रह
डेङ्गुको महामारी भइरहेका बेला कतिपय स्थानीय सरकारले फगिङ (डेङ्गु गन) मेसिन प्रयोग गरेर लामखुट्टे मार्न अभियान चलाएका छन् । तर, यो गलत भएको विज्ञले बताएका छन् । विज्ञ टोलीले फगिङ मेसिन प्रयोग नगर्न सुझाव दिएका छन् । लामखुट्टेका लार्भा नष्ट गर्न प्रयोग भइरहेको फगिङ मेसिनको औषधिले मानव स्वास्थ्यदेखि खेतीसम्मलाई हानि पु¥याउने भएकाले प्रयोग रोक्न विज्ञहरूले आग्रह गरेका हुन् ।
विश्व स्वास्थ्य सङ्गठनका डा. लुङतेनका विचारमा डेङ्गु नियन्त्रणको एकमात्रै विधि लामखुट्टेका अण्डा, प्युपा र लार्भा खोजेर नष्ट गर्ने (सर्च एन्ड डेस्ट्रोय) विधि नै सबैभन्दा उत्तम हो । कतिपय मुलुकमा फगिङ मेसिनबाट लामखुट्टे नष्ट गर्न प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो । “लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम विधि हो, यसको लार्भा र प्युपा खोजेर नष्ट गर्ने अभियान घरबाटै चलाइनुपर्छ,” उहाँको सुझाव छ । विश्व स्वास्थ्य सङ्गठनका अर्का डा. बीएन नाङपाका अनुसार डेङ्गु सार्ने लामखुट्टेका लार्भा पानीभित्र हुर्किने भएकाले बाहिर फगिङ मेसिनले धूवाँ फालेर केही हुँदैन ।
“लामखुट्टेको प्रजनन प्रक्रिया पूरा हुन नदिनका लागि पानी राख्ने भाँडा छोप्ने, घरवरपर पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने उपाय अपनाउनुपर्छ,” डा. बीएनले भन्नुभयो । सङ्क्रमित लामखुट्टेले आफ्नो अधिकतम ३० दिनको जीवनकालमा पाँच सयदेखि एक हजार सङ्क्रमित फुल पार्छ । यी फुल लामखुट्टेमा परिणत भए महिनामै रोग सार्ने लाखौँ लामखुट्टे उत्पादन हुन सक्छन् ।
हरेक वर्ष किन फैलिन्छ
कुनै बेला मलेरियाको उद्गम थलोका रूपमा चिनिएको चितवन राप्ती दुनमा मान्छेको बसाइ भएदेखि मलेरियाको उन्मूलन भएको देखिन्छ । यद्यपि, अहिले पनि फाटफुट रूपमा मलेरियाका बिरामी नभेटिने होइन । यो वर्ष पनि चितवनमा मलेरिया भएका दुई बिरामी भेटिए । २०५९ सालमा चारजनाको ज्यान लिनेगरी टाइफाइडको महामारी भएको चितवनमा २०६१ मा डेङ्गुको पहिलो पहिचान भएको थियो । नेपालमै यो पहिलो थियो । नेपाल घुम्न आएका एक विदेशी नागरिकलाई डेङ्गु पहिचान भएको थियो ।
२०६३ मा स्क्रबटाइपसको महामारी भएको चितवनमा २०६५ मा डेङ्गुले दुःख दियो । २०७३ मा स्क्रबटाइपस, २०७४ मा स्वाइनफ्लुले बिरामीको ज्यान लिएको थियो । २०७५ मा सिजनल फ्लुले महामारीकै रूप लिएको थियो । यो वर्ष चितवनमा डेङ्गु र स्क्रबटाइपस दुवै देखिएको छ ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. विजय पौडेलका अनुसार चितवनमा ज्वरो फैलिनुका कारण जनसङ्ख्या चाँडै बढ्नु, नारायणी नदीको किनार, जङ्गल र जङ्गली जनावरनजिक हुनु र त्यसबाट मानिसमा रोग सर्ने सम्भावना बढी हुनु हो । उहाँ भन्नुहुन्छ, “चितवन पहाडी जिल्लाको नजिक भएर तापक्रम छिटो घटबढ हुने हुनाले पनि ज्वरोको समस्या बढी हुन्छ ।” विज्ञहरू भन्छन्, “ज्वरो बढी आए सिटामोल खानूस् । घरमै आराम गरे एक हप्तामा डेङ्गु आफैँ भाग्छ ।”

(लेखक गोरखापत्रका नारायणगढ समाचारदाता हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?