logo
२०८२ जेष्ठ २७ सोमवार



अन्याय नसहँदा यो हाल

विचार/दृष्टिकोण |




एल.बी. विश्वकर्मा

न्याय एउटा असाधारण चीज हो, जुन प्रत्येक व्यक्तिका लागि अनिवार्य छ । अन्याय खराब हो, यसविरुद्ध सबैले आफ्नो आवाज उठाउनुपर्छ । न्याय आधारभूत सिद्धान्त हो, जुन सुरुदेखि मानिँदै आएको छ । तर वर्तमानमा न्याय जटिल अवधारणा बन्न गएको छ । प्लेटोले भनेका छन्, ‘यदि हरेक नागरिक समाजमा रहेर आफ्नो योग्यताअनुसार आफ्नो लागि निर्दिष्ट कार्य पूरा गर्छ भने त्यही हो न्याय । न्याय हरेक नागरिकको लागि आवश्यक र सम्भव छ । सम्भावना भएरै न्यायलाई न्याय भनिएको हो ।’
पछिल्लो समय मुलुकमा एक जनालाई जोगाउन सिङ्गो देशैभरिका नागरिक एक ठाउँमा उभिने गरेका छन् । यो अवस्था निर्मला पन्त हत्याकाण्डदेखि पत्रकार शालिकराम पुडासैनी ‘मृत्यु’ सम्ममा सिर्जना भयो । तर दुवै विषयमा फरक आवाज थियो । निर्मला हत्याकाण्डमा न्याय माग्दै आवाज उठ्यो । पत्रकार पुडासैनी काण्डमा पीडक आरोपित व्यक्तिको पक्षमा केही नागरिक ओर्लिए । सोहीबीचमा न्याय मागिरहेका धेरैको आवाज दब्यो । यही चपेटामा कैलालीको लम्किचुहा नगरपालिका–८ गप्काकी रामजानकी डंगौरा थारू (३०) पनि पर्नुभयो ।
डंगौरा थारू महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालको गणेशमान सिंह भवनको १ हजार ५ नम्बर बेडमा लडिरहनुभएको छ । उहाँलाई खोज्दै त्यहाँ पुग्दा जुरुक्क उठेर नमस्कार भन्न खोज्नुभयो तर आधा उठ्न नपाउँदै पुनः ओछ्यानमै लड्नुभयो । अनि दुई हात जोडेर असह्य पीडामा नाक खुम्च्याउँदै ‘नमस्कार सर !’ भन्नुभयो ।
रामजानकीलाई खुला आकाशको पक्षीजस्तै भुरुरु उड्न मन छ । दौडिन, गाउँका पुराना दौँतरीसँग मेलापात गर्ने रहर मरेको छैन । ओछ्यानमा श्वासमात्र रहे पनि झिनो आशा कायमै छ । दुःखमै भए पनि हाँसेरै बाँचेको जिन्दगीमा त्यो हाँसो फेरि फर्काउन मन छ । यसैले त कहिले उठेर दौडिन पाउँला भन्ने छ ।
धेरै पढेर डाक्टर बन्ने सपना थियो । पारिवारिक अवस्थाका कारण पढ्ने रहर हुँदाहुदै पनि विवाह बन्धनमा बाँधिनुप¥यो । घरमा आमाबुवा र दाजुभाइको माया पाएर हुर्किएकी तर अब अरूलाई पाल्नुपर्ने जिम्मेवारी आइलाग्यो । केही वर्षपछि छोरा थपियो ।
आफूले पढ्न नपाएको गुनासो रामजानकीलाई छ । त्यो सपना छोरालाई पढाएर पूरा गर्ने उनको सोच थियो । मानसिकरूपमा अपाङ्ग श्रीमान् र पुजारी ससुरालाई धनपैसा कमाउने सोच छैन । श्रीमान् जसले जे अह्रायो त्यही गर्छन् । ससुरालाई दिनभरि मन्दिर कुर्दै ठिक्क । तर रामजानकीको भने आकाश छुने सपना ज्यूँका त्यूँ थियो । कमैया परिवारमा जन्मिएकी, कमैया परिवारमै भित्रिएकी रामजानकीको जीवनमा असार १७ गते कालो दिन बन्यो । कुनै आकाश खसेको थिएन, सामान्य जग्गा विवादले रामजानकी मर्नु न बाँच्नु हुन पुग्नुभयो ।
असार १७ गते दिउँसो चार बजे ज्यालादारी काम गरेर घर फर्किंदा आफ्नो खेत हेर्न पुग्नुभयो । खेतको आली करिब दुई फिट यता सरेको थियो । त्यो देखेपछि उहाँलाई झनक्कै रिस उठ्यो । हरेक वर्ष साँध मिचिँदै आए पनि उहाँ बोल्नुभएको थिएन । यसपटक भने सहिसक्नुभएन ।
सुरुमा उहाँले सोध्नुभयो, ‘मलाई नसोधी मेरो खेतको आली कसले सारेको हँ ? मेरो जमिन चाहिएकै भए मलाई भन्नुपथ्र्यो । जसले सारेको हो, उसैले यो आली पुनः जस्ताको त्यस्तै सारिदिनू ।’ यत्तिकैमा छिमेकी यमबहादुर चौधरी (३५) र लक्ष्मी चौधरी (३७) आइपुगे । किन गाली गरेको भन्दै रामजानकीसँग कराउन थाले । उहाँले मेरो जग्गा किन मिचेको ? भनेपछि दुवै पक्षबीच भनाभन भयो । दिदी लक्ष्मीले रामजानकीको कपाल लुछ्न थालिन् । भाइले बेस्सरी पिट्न थाले । दुईजनासँग एक्ली रामजानकीको जोर चलेन । थाकेर भुइँमा बजारिनुभयो ।
उहाँलाई लात्तीले पेट, छाती र कम्मरमा बेस्सरी दिदीभाइले पिटे । छुट्याउन आएका रामजानकीका श्रीमान् तीर्थ डंगौरा थारू गाउँतिर भागे । चौधरी दिदीभाइले उहाँलाई फरुवाले पिट्न थाले । उहाँको यौनाङ्गमा फरुवाको बीँडले १०–१२ पटक घोचेपछि उहाँ बेहोस हुनुभयो । तैपनि उनीहरूले पिट्न छाडेनन् । पछि उहाँका ससुरा बाँधु डंगौरा थारू आए । छिमेकीबाट पिटिँदै गरेकी बुहारीको मुखबाट फिँज निस्किरहेको थियो । उनले हात जोड्दै छोडिदिन आग्रह गरेपछि रामजानकीले जीवन पाउनुभयो । तर एक हात र दुई खुट्टा गुमाउनुभयो ।
करिब तीन महिना पहिलेमात्र गाउँमा बिहानदेखि साँझसम्म खेतीपाती गर्न बिहानैदेखि सक्रिय हुने रामजानकीलाई अहिले ओछ्यानबाट उठ्न पनि अर्काको मद्दत चाहिन्छ । उठेर बस्न खोज्नुहुन्छ, सक्नुहुन्न । सुत्न पनि सक्नुहुन्न । थला परेको झण्डै तीन महिना पुग्यो ।
रामजानकीलाई आफ्नोभन्दा छोरा र परिवारको चिन्ता छ । आफू अशक्त बनिसकंँ अब छोराको भविष्य के होला ? टिलपिल आँखा पार्दै आक्रोश पोख्नुहुन्छ, “म न्याय नपाएसम्म मर्दिनँ । न्यायका लागि मर्न परे पनि म छोड्दिनँ । यत्तिकै आधा मरिसकेको छु । मेरो बाँकी जीवन नर्क बनिसकेको छ । त्यसलाई सपाङ्ग छोड्दिनँ ।”
उहाँलाई राज्यप्रति पनि ठूलो गुनासो छ । न्याय माग्दै रामजानकीका श्रीमान्ले इलाका प्रहरी कार्यालयदेखि लम्किचुहा नगरपालिका उपप्रमुख टीका थापासम्मलाई गुहारे । कसैले सुनेन । इलाका प्रहरी कार्यालयमा न्यायको माग गर्दै १७ गते रामजानकीका श्रीमान्ले उजुरी दिए तर इलाका प्रहरी कार्यालयले चासो दिएन । उहाँका श्रीमान्सँग श्रीमतीको उपचार गराउन पैसा थिएन । सहयोग गर्ने कोही भएन । अनि उहाँ ३८ दिनसम्म घरको ओछ्यानमै बेहोस लडिरहनुभयो । झण्डै ३५ दिनपछि एकजना महिलाले फेसबुकमा उहाँको अवस्थाबारे भिडियो बनाएर अपलोड गरेपछि त्यो कुरा चारैतिर फैलियो । त्यसको तीन दिनपछि अर्थात् ३८ औँ दिनमा स्थानीयको पहलमा उहाँलाई अस्पताल पु¥याइयो । त्यसबेलासम्म प्रहरीले उजुरी दर्ता गरेको थिएन ।
सर्वसाधारणको दबाबपछि ४२ औँ दिनमा इलाका प्रहरी कार्यालयले उहाँको उपचार सेती अञ्चल अस्पतालमा सरकारी डाक्टरबाट गराउने सम्झौता गरायो । त्यहाँ उपचार सम्भव भएन । पीडकले आफूलाई भनिएको अस्पतालमा उपचार गराउँदा सम्भव नभएपछि खर्च दिन मानेन । यसपछि माइती पक्षको सहयोग र स्थानीय युवाको सक्रियतामा केही पैसा जम्मा गरेर उहाँलाई उपचार गराउन नेपालगञ्ज लगियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौँको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
न्याय नपाएको ठूलो गुनासो छ उहाँको – हरेकले न्याय पाउने देशमा मैले पाइनँ । मेरो पनि आमाबुबा, श्रीमान् वा दाजुभाइमध्ये कोही उच्च नेता भएको भए सायद न्याय पाउँथे होला । महिला अधिकारकर्मी र थारु अधिकारकर्मी पनि हुन्छन् भन्ने सुनेकी थिएँ । ती सबै पैसावाला र उच्चपदस्थ व्यक्तिका लागिमात्र रहेछन् । हामी गरिब निमुखा त मुठ्ठीको माखाजस्तै रहेछौँ । खोलिदिए बाँच्ने, बन्द गरिदिए मर्ने । मैले टिभीमा धेरैपटक देखेकाी थिएँ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको भन्दै सडकमा उत्रेका सर्वसाधारण । देशमा हरेक कुरा नेताका लागि नै रहेछ । हामी जनता भनेको उनीहरूका सेवकमात्रै रहेछौँ ।’
रामजानकी आफ्नोबारेमा पनि कसैले बोलिदेओस् भन्ने चाहनुहुन्थ्यो । लागेको थियो, न्याय मरेको छैन । अधिकारकर्मी, नेता, पत्रकारहरू छन् नि ! तर, कोही आएनन् ।
तीन हप्ता बित्न लाग्यो टिचिङ अस्पतालमा उपचार गराउन थालेको । चार लाखभन्दा बढी रुपियाँ खर्च भइसक्यो ।
रामजानकीको परिवारले साहुको घरमा मुक्तकमैया बसेर जीवनयापन गरिरहेका थिए । तत्कालीन सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेपछि लम्कीचुहा नगरपालिका– ८ गप्कास्थित महेन्द्र राजमार्गलाई छोएको जमिन रामजानकीको परिवारको भागमा प¥यो । जुन अहिले अमूल्य बनिसकेको छ । त्यही जग्गासँग यमबहादुर चौधरीको एक बिघा जमिन जोडिएको छ । त्यहाँ यमबहादुरको आलिसान घर र १५ वटा सटर छन् । रामजानकीको जमिन उनले पाएमा २० – २५ वटा सटर निर्माण गर्न सकिन्छ । यही लालचले पीडकले बर्सेनि जग्गा मिच्दै आएको स्थानीय टङ्क देउवा बताउनुहुन्छ ।
पीडक आरोपित यमबहादुर चौधरीकी दिदी राजनीतिक आडमा खुला घुमिरहेकी र उनीहरूले पीडित रामजानकीको अवस्थाबारे सोधखोज पनि नगरेको पीडितको भनाइ छ ।
पीडकका बुवा मारकण्डे चौधरी भन्छन् – ‘सामान्य विवाद भएको हो । कुनै हातपात भएको होइन । उनलाई पहिलेदेखि नै अर्कै रोग थियो । त्यहाँ त रुखको ढल्ने बेला, मान्छे आउने बेला जस्तै भयो । वास्तवमा त्यो संयोग मात्र हो ।’
राम जानकीको पीडा छ – पीडककै बुवाले पुरानै रोग हो भन्छन् । तिनै बुवाको रोहबरमा उपचार गर्छु भनी पीडक आफैँले सम्झौता पत्रमा हस्ताक्षर गरेको छन् । अहिले उनी कसैको सम्पर्कमा आउँदैनन् । रामजानकीको बारेमा कुरा गर्न खोज्यो भने झन् बोल्नै मान्दैनन् ।

(लेखक पत्रकार हुनुहुन्छ ।)



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?