राजेन्द्र किराती
“विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही र गलत विन्यासले सबै कुराको निर्धारण गर्छ । यदि यो सही भएमा सबै चीज प्राप्त गर्न सकिन्छ । गलत भएमा प्राप्त भएको पनि गुम्छ ।” माओको यो उद्गार साँचो कम्युनिस्ट पार्टीका लागि न्यूनतम नीति वाक्य हो । वस्तुतः कार्यदिशा भनेको निश्चित् गन्तव्यमा पुग्ने बाटो हो । यसकारण वैज्ञानिक, वस्तुवादी र सही बाटो तय गरियो भने गन्तव्य टाढा र घुमाउरो भए पनि लक्ष्यमा अवश्य पुग्न सकिन्छ ।
कम्युनिस्ट पार्टीको कार्यदिशा भनेको रणनीतिक गन्तव्यमा पुग्ने मार्गचित्र हो । यसमा सही कार्यदिशामार्फत बलिदानीपूर्ण, कष्टसाध्य र घुमाउरो बाटो हुँदै उन्मुक्त मानव समाज निर्माण हुन्छ । पछिल्लो समय नेकपाभित्र कार्यदिशाको विवाद निकै पेचिलो बन्दै गएको छ । यद्यपि, औपचारिक बहस भने प्रारम्भ भएको छैन । वस्तुतः कार्यदिशा भनेको रातारात निर्धारण गर्ने विषय होइन । यसकारण एकता प्रक्रियाको आरम्भदेखि नै यसलाई थाती राखिँदै आएको छ । आगामी एकता महाधिवेशनबाट कार्यदिशाको मुद्दा टुङ्ग्याउने सहमति भएको छ । तर, समयक्रम बित्दै जाँदा आज नेकपाभित्र आफ्ना पृष्ठभूमिगत गायत्री मन्त्ररूपी कार्यदिशाबारे मनोगत बहस, छलफल र लेख–रचना प्रकाशित हुनेक्रम बढिरहेको छ । यो जताबाट नापे पनि सही होइन । यसले क्षणिक भावनात्मक तरङ्ग र माहोल त सिर्जना गर्ला, गुटगत सन्तुष्टि र उद्वेलना पनि पैदा गर्ला । तर, भावनात्मक र लहडमुखी रवैयाले कम्युनिस्ट आन्दोलनमा सहयोगी कार्यदिशा विन्यास गर्न सक्दैन । कम्युनिस्ट आन्दोलनको रणनीतिक उद्देश्य र औचित्य गणितभन्दा विचारले निर्धारण गर्छ ।
वस्तुतः विनाकुनै उद्देश्य र गन्तव्य कार्यदिशा तय गरिँदैन । हामीकहाँ जानुपर्ने हो ? कसरी जानुपर्ने हो र केका लागि जानुपर्ने हो ? भन्ने समग्र सन्दर्भ किटान नगरी कार्यदिशाकोे मार्गचित्र कोर्न सकिन्न । हामी कम्युनिस्ट आन्दोलनको कार्यभार पूरा गर्र्नुपर्ने ऐतिहासिक सन्दर्भमा छौँ भने यसले नितान्त फरक राजनीतिक कार्यदिशाको माग गर्दछ । किनकि कम्युनिस्ट आन्दोलन भनेको छुट्टै वर्गीय आन्दोलन हो । यसको ऐतिहासिक प्रक्रिया, रणनीतिक उद्देश्य र गन्तव्य सारभूत रूपमै भिन्न हुन्छ । अर्थात् औसत संसदीय लोकतान्त्रिक दलहरू र कम्युनिस्ट पार्टीबीचमा राजनीतिक उद्देश्य, प्रक्रिया र गन्तव्यमा आकाश धर्ती फरक हुन्छ । कामकारबाहीहरू पनि भिन्न हुन्छ । यसो भएपछि राजनीतिक कार्यदिशा पनि आधारभूत रूपमै फरक हुन जान्छ । कम्युनिस्ट आन्दोलनको रणनीतिक उद्देश्य सुहाउँदो कार्यदिशा विन्यास गर्ने विषय असाध्य गम्भीर र पेचिलो प्रक्रिया हो ।
मूलतः सही, वस्तुवादी र सामाजिक अन्तरविरोध सुहाउँदो कार्यदिशा निर्माणले मात्र क्रान्तिकारी राजनीतिक समाधान दिन सक्छ । समाजको वर्गीय चरित्र र त्यसले पैदा गरिरहेको राष्ट्रि«य तथा अन्तर्राष्ट्रि«य अन्तरविरोधहरूको सुस्पष्ट ज्ञान हुनुपर्दछ । नेपाली समाजको ऐतिहासिक विकासक्रमलाई हेर्ने दृष्टिकोणमा पनि एकरूपता छैन । राजतन्त्रको अन्त्य पछि धेरैले नेपाली समाजले सामन्तवादी चरित्र गुमाइसकेको साथै पुँजीवादी जनवादी चरणमा प्रवेश गरिसकेको दाबी छ । सामन्तवादी उत्पादन सम्बन्ध एकाएक पुँजीवादी उत्पादन पद्धतिमा बदलिएको ठहर गरिँदै छ । तर, सारतः पुँजीवादी गणतन्त्र आए पनि यसको वर्गचरित्रको दृष्टिबाट हेर्ने हो भने अझै यसको चरित्र अर्धसामन्तवादी देखिन्छ । समाजमा पुरानो राजनीतिक विरासत अस्तित्वमा रहनु यसैको उपज हो ।
वस्तुतः समाजको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विकासक्रमअनुरूप नै कम्युनिस्ट पार्टीले आफ्नो राजनीतिक कार्यदिशा विन्यास गर्नुपर्दछ । कसैले अर्धसामन्ती र अर्धऔपनिवेशिक अनि कसैले पुँजीवाद जनवादी भनेर दाबी गरे पनि नेपाली समाजको वस्तुगत चरित्र कुन हो भन्ने सन्दर्भ अझै ठोस छैन । कसैले बनिबनाउ रूपमा दाबी गर्ने कुरा र समाजको असली चरित्र फरक सवाल हो । यही द्विविधा र अन्योलताकै कारण सही र वस्तुवादी कार्यदिशा विन्यास गर्ने मुद्दा निरन्तर बहसमा सीमित हुँदै आएको छ ।
कम्युनिस्ट आन्दोलनको ऐतिहासिक रणनीतिक उद्देश्य, प्रक्रिया र गन्तव्यलाई सम्बोधन गर्न क्रान्तिकारी कार्यदिशा अपरिहार्य हुन्छ । त्यसैले कम्युनिस्ट आन्दोलनमा कार्यदिशाको बहसले ऐतिहासिक दूरगामी राजनीतिक महŒव बोकेको हुन्छ । यो चानचुने कुरा होइन ।
कम्युनिस्ट आन्दोलन भनेको निरन्तर ऐतिहासिक प्रक्रियामा विकास हुने वर्गीय आन्दोलन हो । यसका लागि वर्गीय राजकीय सत्ताको गठन पहिलो सर्त हुन जान्छ । जसले समाजवाद हुँदै साम्यवादसम्मको रणनीतिक अर्थराजनीतिक पद्धतिगत आन्दोलनको वकालत गर्दछ । लामो ऐतिहासिक प्रक्रियामार्फत मान्छेको पश्चगामी र यथास्थितिवादी सोचाइ, मनोविज्ञान, संस्कृति र आचरणमा क्रान्तिकारी रूपान्तरण गर्नुपर्दछ । कार्यदिशा सही भएन भने कम्युनिस्ट आन्दोलन रणनीतिक उद्देश्यमा पुग्न सक्दैन । तब समग्र प्रक्रिया औसत चुनावी राजनीतिमा रुम्मलिन पुग्दछ, जसले कम्युनिस्ट आन्दोलन नै धराशयी बन्दछ ।
पछिल्लो समय नेकपाभित्र कार्यदिशासम्बन्धी अनौपचारिक भनाभन सुरु भएको छ । कार्यदिशाको सन्दर्भमा यो वा त्यो गायत्रीमन्त्र जप्ने कुरा निर्णायक होइन । मुख्य विषय नेकपाले अङ्गीकार गर्ने राजनीतिक लाइन र कम्युनिस्ट आन्दोलनको सवाल हो । मूलतः क्रान्तिकारी राजनीतिक लाइनका लागि कार्यदिशा पनि क्रान्तिकारी नै हुनुपर्दछ । २१औँ शताब्दीको जनवाद कि जनताको बहुदलीय जनवादभन्दा पनि यसले आत्मसात् गरिरहेको कम्युनिस्ट आन्दोलनको वर्गचरित्र, उद्देश्य र गन्तव्य मुख्य पक्ष हो । अर्थात् खास कम्युनिस्ट पार्टीमा जति बढी सैद्धान्तिक दृढता हुन्छ सिद्धान्ततः त्यही मात्रामा क्रान्तिकारी कार्यदिशा जरुरी हुन्छ । जति विचारधारात्मक धरातल कमजोर हुन्छ, उति नै टालटुले कार्यदिशाको माग गर्दछ । यो कार्यदिशासम्बन्धी द्वन्द्वात्मक सार्वभौमिकता हो ।
यसकारण अब नेकपाको रणनीतिक उद्देश्य अमूक विकास र समृद्धि, सबैभन्दा ठूलो पार्टी बन्ने, बहुमत ल्याउने, सरकार गठन र विघटन गर्ने, जसरी पनि आवधिक चुनाव जित्ने, सांसद, मन्त्री बन्ने, बहुमत, अल्पमतको औसत राजनीतिक खेलमा सीमित हुने हो भने कार्यदिशाको सन्दर्भमा धेरै बहस आवश्यक पर्दैन । यति नारा त नेपाली काँग्रेसले पनि लगाइरहेकै छ । जसले कार्यदिशाको सवालमा कहिल्यै टाउको दुखाएको छैन । वस्तुतः कम्युनिस्ट पार्टीलाई जीवन्त राख्ने आन्दोलनको प्रक्रिया नै कार्यदिशा हो ।
नेकपाको कार्यदिशाको सवाल औसत दलहरूको जस्तो मात्र विषय पटक्कै होइन । किनकि यो कम्युनिस्ट पार्टी हो । यसले निरन्तर आन्दोलनको लामो, कष्टसाध्य र बलिदानीपूर्ण प्रक्रियाबाट मात्र सम्भव हुने वैज्ञानिक तथ्यलाई आत्मसात् गर्दछ । सबैखाले पुरातनवादी सोच, चिन्तन, जीवनशैली, कार्यशैली, आचरण, संस्कार र संस्कृतिहरू आन्दोलनको ऐतिहासिक प्रक्रियाबाट मात्र रूपान्तरण हुने मान्यता राख्दछ । यस्तो रणनीतिक उद्देश्य प्राप्तिका लागि योजनाबद्ध र सङ्गठित राजनीतिक प्रक्रियामा आन्दोलित हुनु जरुरी हुन्छ ।
त्यसैले नेकपाको कार्यदिशासम्बन्धी विवाद ख्यालठट्टाको विषय होइन । यो एमाले पृष्ठभूमि वा माओवादी पृष्ठभूमि र स्कुलिङको मात्र सवाल होइन । यो जबज र २१औँ शताब्दीको जनवादबीचको तानातानको मात्र विषय होइन । आवधिक चुनाव जित्ने र सरकार गठन र विघटन गराउने औसत खेलमात्र होइन । यो ढोङी समाजवादको कुरामात्र होइन । किनकि काँग्रेसले पनि समाजवाद, विकास र समृद्धिकै कुरा गरिरहेको छ । काँग्रेस र कम्युनिस्टले जताबाट पनि लाउन मिल्ने साझा समाजवाद हुनै सक्दैन । कम्युनिस्ट पार्टीको समाजवाद वस्तुतः कम्युनिस्ट मूल्य र आदर्शसहितको वैज्ञानिक समाजवाद हो । यो एउटा रूपान्तरणकारी आन्दोलनको निरन्तर प्रक्रिया हो । त्यसैगरी, यो उत्पादनमूलक राष्ट्रि«य औद्योगिक पुँजी निर्माणको सवाल हो । समानता र न्यायको सवाल हो । उत्पीडिन, विभेद, शोषण र अन्याय अन्त्यको सवाल हो । निकृष्ट निजी स्वामित्वको ठाउँमा सामाजिक वा सामूहिक स्वामित्व निर्माणको अभियान हो । उन्नत, विवेकी, सभ्य र साझा साँस्कृतिक सम्बन्धसहितको सामाजिक उत्पादन पद्धति हो । त्यसैले नेकपाको भावी कार्यदिशाको सवालमा हल्काफुल्का भावनात्मक, गुटगत र गायत्रीमन्त्ररूपी प्रतिक्रियाको राजनीतिक औचित्य देखिन्न ।
(लेखक राजनीतिकर्मी हुनुहुन्छ ।)