सामाजिक सेवा एक पद्धति र पहलका रूपमा स्थापित भएको छ । खासगरी विश्वमा विद्यमान गरिबी तथा विपन्नता पराजित गर्न गरिने अनौपचारिक क्षेत्रको पहललाई समाजसेवाका रूपमा बुझिएको छ । नेपालमा असोज ६ गते सामाजिक सेवा दिवस मनाइने गरिन्छ । वि.सं.२०३४ मा समाजकल्याण परिषद् स्थापनापछि यो दिवस मनाइँदै आएको छ । यस पटक समाजकल्याण परिषद्को आह्वानमा ‘सुखी र समृद्ध राष्ट्रिय सोच, समाज विकास हाम्रो अठोट’ नाराका साथ ४० औँ सामाजिक सेवा दिवस मनाइएको छ । यो दिवसले सामाजिक सेवामा लाग्न प्रेरित गर्दै समृद्धि प्राप्त गर्ने सरकारको अठोटमा संयुक्त पहलको मार्ग प्रशस्त गर्नेछ । नेपालले विद्यमान पछौटेपन र असन्तुलित विकासबाट माथि उठ्न यस्ता दिवसका सङ्कल्पलाई आत्मसात् गर्नुपर्ने हुन्छ । पछिल्ला समय सामाजिक सेवाका औपचारिक उच्च शिक्षाको अध्ययन÷अध्यापन मात्र भएका छैनन् सेवार्थ प्रेरित गर्न विभिन्न कार्यक्रम ल्याइएका छन् । त्यस्ता पहललाई पर्याप्त प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि देखिएका छन् ।
नेपाली समाजकल्याण मैत्री रहँदै आएको छ । आफूले कमाएको दशांश समाज उपयोगमा खर्चनुपर्नेदेखि पुण्य कार्यमार्फत स्वर्गवासको प्रेरणा अन्ततः समाजकल्याणका खातिर बनाइएका दर्शन हुन् । समाज परिवर्तन हुँदै जाने क्रममा यसका स्वभावमा परिवर्तन हुनु स्वाभाविक भएकाले नेपाली समाज सुदूर विगतको जस्तो छैन । विश्वभर भौतिकवादी र आध्यात्मिक चिन्तनबीच निरन्तर बहस भइरहेको छ । भौतिकवादले सेवालाई बढी महŒव दिन्छ । आध्यात्मिक चिन्तनले कल्याणलाई । अङ्ग्रेजीको शब्द सर्भिसलाई नेपालीमा रूपान्तरण गर्दा हुने सेवा शब्द यस सन्दर्भमा साँगुरो हुने देखिन्छ । सरकारका निकाय वा अङ्गले दिने सुविधालाई सेवा शब्दले जाहेर गर्न सक्छ जस्तो यातायात सेवा, सञ्चार वा स्वास्थ्य सेवा । यस्ता सेवा÷सुविधा प्रदायक र ग्राहीबीच सुक्रीबिक्री हुन्छ । सामाजिक सेवा दिवसका नाममा नेपालमा पछिल्ला दशक समाजकल्याणलाई सामाजिक सेवाको जामा लगाइदिने प्रवृत्ति बढेको छ । चौतारो लगाउने, बाटो बनाउने, धारो–कुवा–पँधेरो बनाउने, पाटी सत्तल निर्माण गर्ने वा सदावर्त लगाउनेजस्ता कल्याणका काममा सुस्तता आएका मात्र छैनन् बनाइएका चौतारा वा पोखरी मासेर घर बनाउने गरिएका छन् । नेपाली विशेषताको श्रमदान करिब अस्तित्वमा छैन । खासगरेर विकास र सेवाका नारासहित दातृनिकाय÷अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नेपाल प्रवेशसँगै नेपाली विशेषताका सामाजिक कल्याणका यस्ता कार्य ओझेलमा परेका मात्र होइनन् विलय हुँदैछन् । दातृनिकाय÷अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले नेपालको भौतिक र सामाजिक विकासमा उल्लेख्य योगदान दिएका छन् । अहिलेका खासगरी तेस्रो विश्वका मुलुकहरू यस्ता संस्थाका सहयोगबिना चल्न सक्दैनन् । दातृनिकाय÷अन्तर्राष्ट्रिय संस्थाका योगदान उपेक्षा गर्न सकिँदैन तर यस्ता सहयोगलाई हामीले नेपाली शैलीको समाजकल्याणमा भन्दा सङ्गठित क्षेत्रले प्रदान गर्ने सशुल्क सेवाजस्तो बनाइयो । यस्ता कमजोरीको समीक्षा हुनु आवश्यक छ । अर्कोतिर समाजसेवाका नाममा आउने संस्था तथा स्रोत सशर्त हुने गरेका छन् । लगानीका अङ्क यता (नेपालमा) र अंश उता (जताबाट आयो उतै) लगिने, देखिने विकासभन्दा होटल वा महलमा गरिने बहसमा समाजसेवाका वैदेशिक स्रोत खर्चिएका घटना फगत आरोप मात्र होइनन् सत्य पनि हुन् । यस्ता परिस्थितिको सुधारमा नेपाली र दातृपक्षको साझा पहल आवश्यक देखिन्छ; कि समाज सेवालाई सामाजिक कल्याण बनाउन सकियोस् ।
समाज सेवामा मूलतः युवापुस्ताको आकर्षण र नेतृत्वको समर्पण बढाई समृद्धिको दु्रत यात्रामा मुलुकलाई अगाडि बढाउन यस्ता दिवस र नारा उपयोगी हुनेछन् । सामाजिक सेवा क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाले नेपालको आवश्यकता र अठोटलाई यस्ता दिवसका अवसरमा आत्मसात् गर्दै साँचो समाजकल्याणका कार्यक्रम ल्याउन सक्नुपर्छ, जो नेपाली मूल्य मान्यतामा आधारित होउन् । यसका लागि नारा र सङ्कल्प होइन समर्पण आवश्यक हुन्छ । समाजकल्याण परिषद्मा आबद्ध करिब ४० हजार स्वदेशी र ३०० जति अन्तर्राट्रिय सङ्घसंस्थाले अबका दिन सेवालाई कल्याणमैत्री बनाउने प्रतिबद्धता यही दिवसका सन्दर्भमा गर्नु वाञ्छनीय हुनेछ ।