logo
२०८२ भाद्र १ आईतवार



योजनाबद्ध बसाइँसराइ(सम्पादकीय)

विचार/दृष्टिकोण |





नेपालमा बसाइँसराइका गम्भीर परिणाम देखिन थालेका छन् । मानव उद्विकासलाई हेर्ने हो भने ऊ यायावर प्राणी हो । सुविधा र सहजताका लागि मानिसले पुराना छाड्ने र नयाँ बस्ती बसाउने क्रम अस्वाभाविक होइन । बसाइँसराइ त्यतिखेर अस्वाभाविक हुन्छ जतिखेर कतै मानव भीड त कतै बस्ती रित्तै हुन्छन् । नेपालमा पहाडबाट तराई–मधेस वा सहरतिर बसाइँसराइ गर्ने स्थापित प्रवृत्ति हो । अपेक्षाकृत रूपमा सहरी वा तराई क्षेत्रमा उपलब्ध सेवा, सुविधा र जमिनको उर्वरा उत्पादकत्वजस्ता आकर्षण तत्व (पुल फ्याक्टर) ले यी क्षेत्रमा बसाइँसराइको चाप बढी छ । आर्थिक–सामाजिक कारणबाहेक विगतको सशस्त्र द्वन्द्वले पनि मानिस थातथलो छाडेर अन्यत्र गएका छन् । विविध कारणले अस्वाभाविक रूपमा बस्ती रित्तिँदा आगामी विकासका पहल प्रभावित हुने देखिएको छ । धनकुटाको कुरुलेतेनुपावासी खानेपानीको माग गर्दागर्दै थाकेर अन्ततः ठूलै सङ्ख्यामा बसाइँसराइ गरे । गुल्मीको रेसुङ्गा नगरपालिका–१० को सिमीचौर, मोहराई टोललगायतबाट ठूलो सङ्ख्यामा बसाइँसराइ गरेकाले गाउँ रित्तै हुने अवस्था आएको छ । बैतडीकोे कुलाव–६ मा एक परिवार मात्रै छ जबकि दुई दशकअघिसम्म त्यहाँ तीन दर्जन परिवार थिए । तेह्रथुम सिम्ले–७ का ११ का परिवार एकसाथ बसाइँ सरे । खानेपानी, स्वास्थ्य सेवा, शिक्षा, विद्युत्, गुणस्तरीय सडकलगायत सुविधाको खोजीमा अधिकांश तराई झरेका छन् । यस्ता उदाहरणले स्पष्ट गर्छ– बसाइँसराइ बाध्यता हो । रहर होइन ।
एक अध्ययनअनुसार बसाइँसराइ गर्ने ८० प्रतिशतले गाउँ छाड्ने गरेका छन् जसबाट जनसाङ्ख्यिकीय वितरणलाई मात्र नभएर विकासका विभिन्न कोणमा प्रभाव पार्ने गरेका पाइएका छन् । बसाइँसराइका कारण र परिणामबारे मुलुक अनभिज्ञ छैन । गाउँमा सेवासुविधा पु¥याएर त्यहाँ नै बसौँ बसौँ बनाउने क्रममा खासगरी २०४६ को परिवर्तनपछिका सरकारले विशेष ध्यान दिएका छन् । गरिबसँग विश्वेश्वर वा आफ्नो गाउँ आफैँ बनाऔंजस्ता कार्यक्रममार्फत ग्रामीण क्षेत्रमा राज्यका स्रोतसाधनको प्रवाह बढाउने प्रयास नभएका होइनन् । त्यसो त २०३९ सालमा डा.हर्क गुरुङ संयोजकत्वको बसाइँसराइ अध्ययन कार्यसमूहले नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाइँसराइका कारण र समाधानका उपायसम्बन्धी प्रतिवेदन तत्कालीन सरकारलाई बुझाएको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले अवलम्बन गरेका सङ्घीयताले सिंहदरबारको अधिकार गाउँमा पु¥याउँदै गरेका बेला गाउँ नै रित्तिनै गरी भएका बसाइँसराइले हाम्रा योजना तथा विकासका मोडल, प्राथमिकता वा विधिमा परिवर्तन गर्नुपर्ने आवश्यकता आंँल्याएका छन् । युवाहरू विदेसिने, हातखुट्टा चलाउन सक्नेहरू बसाइँसराइमा जाने गर्नाले गाउँमा मात्र होइन त्यसको परिणामले सहर र तराईमा समेत असन्तुलन ल्याएको छ ।
बसाइँसराइ आकस्मिक समस्या होइन । केही अपवादका घटनाबाहेक यो मानवनिर्मित चुनौती हो । आन्तरिक बसाइँसराइको समस्या छँदैछ त्यसमाथि पछिल्ला वर्ष आप्रवासन र प्रवासनका समस्या थपिँदा छन् । नेपालबाट ठूलो धनराशी लिएर आप्रवासन गई उतै बस्ने प्रवृत्ति आन्तरिक बसाइँसराइभन्दा आगामी दिनका लागि जटिल हुने देखिएको छ । मानिसको अहिलेसम्मको इतिहास नै बसाइँसराइको इतिहास हो भने हुन्छ । उसले गरेको प्रगति बसाइँसराइकै परिणाम हो । यसलाई कानुनभन्दा सुविधाले समाधान गरिनुपर्छ । पछिल्ला समयमा स्थानीयलाई जलविद्युत्को सेयर दिने, सरकारी विद्यालयमा पढेकालाई अवसरमा सहुलियत दिनेजस्ता केही पहल भएका छन्, जसबाट मानिसलाई गाउँमा अड्याउन सकियोस् तर आधुनिक सेवा र सुविधा आज पनि केन्द्रमा नै केन्द्रित रहेकाले यस्ता समस्याको सही सम्बोधन हुन सकेको छैन भन्नुपर्छ । सेवा सुविधाभन्दा कर र दायित्व थोपरिएपछि नागरिकले मुलुक छाड्छन् भन्ने तीतो सत्य बिर्सन हुँदैन । छरिएर रहेका हाम्रा बस्ती विकासका चुनौती हुन् । त्यस्ता बस्तीलाई योजनाका साथ सामूहिक स्थानान्तरण गर्नुपर्ने आवश्यकता पनि खड्किँदैछ । एकातिर दुईचार घरपरिवारका लागि ३०–४० किलोमिटर सडक, पाइप र बिजुलीको तार खर्चनुपरेको छ अर्कोतिर त्यस्ता बस्तीमा यी सुविधा पुगेपछि बसाइँसराइ जाने गरिँदा राज्यको लगानी बर्बाद हुने अवस्थाको निराकरणका लागि न्यूनतम भौतिक सुविधा पु¥याउन नसकिने वा महँगो पर्ने बस्तीलाई योजनासहितको व्यवस्थित स्थानान्तरण गराउनुपर्ने आवश्यकता छ तर अव्यवस्थित र व्यक्तिगत होइन सरकारको योजनामा नै अबका बसाइँसराइ हुनु आवश्यक देखिन्छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?