गोविन्द न्यौपाने
विमल ज्ञवाली
पर्यटन आर्थिक समुन्नतिको मेरुदण्ड बन्ने महŒवलाई बुझी संसारमै प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाइँदै आएको छ । नेपालमा पनि आज (असोज १०) विश्व पर्यटन दिवस मनाइँदै छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षको महाअभियानका रूपमा मनाइँदै छ । धूवाँरहित उद्योगका रूपमा परिचित पर्यटन उद्योगले नेपालको आर्थिक अवस्था र मानव विकासको सूचकाङ्कमा बढोत्तरी हुन सक्छ भन्ने विज्ञहरूको धारणा छ । अन्य क्षेत्रभन्दा पर्यटन क्षेत्रमा गरिने लगानीले तत्काल नै प्रतिफल दिने हुनाले यस क्षेत्रमा सरोकारवाला निकायहरूले विशेष ध्यान दिनु स्वाभाविक हुन्छ ।
सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनको स्थापना भयो । सोही दिनको संस्मरणमा सन् १९८० देखि हरेक वर्ष विश्व पर्यटन दिवस मनाउन थालियो । यस वर्ष विश्वभर ‘टुरिजम एन्ड जब्स ः अ बेटर फ्युचर फर अल’ (पर्यटन र
रोजगार ः सबैका लागि राम्रो भविष्य) भन्ने नाराका साथ ४०औँ विश्व पर्यटन दिवस मनाइँदै छ । यसपालिको विश्व पर्यटन दिवसको अवधारणा विश्व समुदायमा सामाजिक, साँस्कृतिक, राजनीतिक र आर्थिक मूल्यमा बढोत्तरी गरी दिगो पर्यटन विकासमा ध्यान दिनु हो । हाल विश्वमा पर्यटन क्षेत्रले १० प्रतिशतको हाराहारीमा रोजगारी सिर्जना गरेको छ । यसमा अझै वृद्धि गर्न पर्यटन नीति, नियम र कानुनहरूको निर्माण, समयसापेक्ष संशोधन गरी नयाँ र फरक ढङ्गले कार्यान्वयन गर्दै गुणस्तरीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्न जरुरी देखिन्छ । भएका जनशक्तिहरूलाई समय सुहाउँदो सूचना प्रविधिमैत्री तालिम आदिको व्यवस्था गरी क्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ ।
युएनडब्लुटीओका अनुसार सन् २०१८ मा जम्मा १.४ विलियन (अर्ब) अन्तर्राष्ट्रिय पर्यटकहरूले भ्रमण गरेका छन् । अघिल्लो वर्षको तुलनामा २०१८ मा अन्तर्राष्ट्रिय पर्यटक आगमनको वृद्धिदर छ प्रतिशतले बढेको छ । यो वृद्धिदरमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने मुलुकहरूमा मध्यपूर्वी मुलुकहरूमा १० प्रतिशतले, अफ्रिकी मुलुकमा सात प्रतिशतले, एसिया प्यासिफिक र युरोपियन मुलुकहरूमा छ प्रतिशतले वृद्धि भएको देखिन्छ । युएनडब्लुटीओले सन् २०१९ मा पर्यटन आगमन सङ्ख्यामा तीनदेखि चार प्रतिशतले वृद्धि हुने पूर्वानुमान गरेको छ । यसका लागि शिक्षा, क्षमता अभिवृद्धि र रोजगारी सिर्जनामा ध्यान केन्द्रित गरेको छ । पछिल्लो समयमा पर्यटनमार्फत आर्थिक वृद्धि हासिल गर्न पर्यटक आवागमनलाई सहजीकरण, प्रविधिको विकास र अवलम्बन, नयाँ व्यावसायिक धारणामार्फत पर्यटन उद्यमशिलताको विकास र भिसा सहजीकरणबाट सम्भव भएको युएनडब्लुटीओको ठहर छ ।
यता नेपालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्कका अनुसार गत वर्ष सन् २०१८ मा करिब ११ लाख ७३ हजार पर्यटकलाई स्वागत गरियो । अघिल्लो वर्ष सन् २०१७ को तुलनामा पर्यटक आगमन सङ्ख्यामा करिब २४ प्रतिशतले वृद्धि भएको देखिन्छ । खुला सिमानाका कारण स्थलमार्गबाट आउने पर्यटकको यथार्थ विवरण वैज्ञानिक रूपमा मापन भएको छैन । त्यस्ता पर्यटकहरूलाई पनि समेटिएको तथ्याङ्क पाउने हो भने प्रस्तुत तथ्याङ्कमा देखिएकोभन्दा अझ धेरै सङ्ख्या भएको आँकलन गर्न सकिन्छ ।
हाल नेपालमा पर्यटनबाट हुने आम्दानीको योगदान दुईदेखि चार प्रतिशतमात्रै छ । जुन छिमेकी मुलुक माल्दिभ्स, श्रीलङ्का, भुटानको भन्दा निकै कम हो । यसको ठूलो हिस्सा पर्वतारोहणबाट सङ्कलन हुने सलामी दस्तुरले ओगटेको छ । नेपाल धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुराताŒिवक, प्राकृतिक, जैविकलगायतका क्षेत्रमा विश्वमै अद्वितीय छ भन्ने कुरा विश्वले नै स्वीकार गरिसकेको छ । हामीसँग पर्यटकीय सम्भावना बोकेका असङ्ख्य प्राकृतिक सम्पदा र स्रोतहरू उत्पादनमा परिणत हुन आवश्यक पूर्वाधारहरूको पर्खाइमा छन् । सडक, बत्ती, खानेपानी, सरसफाइ र सूचना प्रविधिमैत्री पूर्वाधारसहितका स्रोतहरू पर्यटकीय उत्पादन र गन्तव्य हुन् ।
नेपालका मुख्य पर्यटन बजारहरू विशेषगरी भारत, चीन, अमेरिका, बेलायत, श्रीलङ्का, भुटान आदि देशहरूबाट स्वतस्फूर्त रूपमा बिदा मनाउन, धार्मिक तीर्थयात्रा, पर्यापर्यटन, पर्वतारोहणलगायतका उद्देश्यले पर्यटकहरू आउने गरेको देखिन्छ ।
नेपालमा पर्यटकीय स्रोतहरूको विविधताका कारण माइस (बैठक, प्रोत्साहन, सम्मेलन, प्रदर्शनी) पर्यटनको निकै ठूलो सम्भावना छ । यसका लागि हाम्रा मुख्य पर्यटन बजार भएका मुलुकमा प्रभावकारी रूपमा बजारीकण गर्न सके नयाँ पुस्ताका बौद्धिक र व्यावसायिक पर्यटकलाई अध्ययन, अनुसन्धान र व्यापार आदिका लागि लामो समयसम्म नेपाल बस्नेगरी स्वागत गर्न सक्ने सम्भावना बलियो छ । यसबाट सङ्ख्यात्मकभन्दा पनि गुणात्मक पर्यटकको वृद्धि हुन जाने, पर्यटकको औसत बसाइ अवधि १२.४ दिनबाट बढ्ने, प्रतिपर्यटक प्रतिदिन खर्च ४४ डलरमा उल्लेख्य वृद्धि भई कुल गार्हस्थ उत्पादनमा पर्यटनको योगदानमा उल्लेख्य वृद्धि हुने, सरसफाइको समस्या, कुलत÷लागूऔषध, वेश्यावृत्ति, असाध्य रोगहरूको आयात आदि चुनौतीबाट स्वतः छुट्कारा पाउन सकिने हुन्छ । नेपालभित्र गुणस्तरीय (बौद्धिक, धार्मिक र व्यावसायिक) पर्यटकहरूको ओहोरदोहोर बढ्दै जाँदा विश्वमा नेपाल असल र सभ्य पर्यटकीय गन्तव्यस्थलका रूपमा स्वतः प्रचार–प्रसार हुनेछ । ‘माउथ टु माउथ’ प्रचार सबैभन्दा प्रभावकारी प्रवद्र्धनको उपाय हो ।
प्राकृतिक, भौगोलिक, जैविक विविधताले सम्पन्न नेपालमा तत्ततअनुरूपको सामाजिक, साँस्कृतिक विविधता छ । मूलतः संस्कृति र प्रकृतिको दिगो संरक्षणमा विविध जनजातिको अतुलनीय भूमिका देखिन्छ । संरक्षणको भूमिकालाई दिगो पर्यटनको अवधारणा, पर्यापर्यटन, जैविक, वातावरणीय चक्र प्रणालीसँग जोड्न सकेमा एकातिर प्रकृति र संस्कृतिको संरक्षण हुन्छ भने अर्कोतिर आर्थिक मूल्यको भूमिकामा टेवा पुग्छ । पर्यटनले विनाश होइन, सिर्जना र समृद्धिको सङ्कल्पलाई अभिवृद्धि गर्न सक्नुपर्छ । नेपाल सरकारले भव्यतासाथ मनाउन लागेको पर्यटन वर्ष २०२० ले पार्न सक्ने सकारात्मक, नकारात्मक दुवै प्रभावको पूर्वअनुमान र विश्लेषण गरी कार्ययोजना र कार्यान्वयनका आधारहरू तय गर्नुपर्छ ।
नेपाल सरकारको एकल प्रयासमा मात्र पर्यटन वर्ष सफल बनाउन सकिँदैन । यसका लागि प्रदेश सरकार, स्थानीय सरकार, पर्यटन व्यवसायी, होटल व्यवसायी, हवाई उड्डयन तथा यातायात क्षेत्रमा सम्बद्ध निकायहरूलगायत सबै सरोकारवाला निकायहरूबीचको पारस्परिक सम्बन्धका भूमिकाहरू आवश्यक हुन्छ । पर्यटकलाई भिœयाउनुमात्र मुख्य विषय होइन, प्रश्न त आगन्तुक पर्यटकहरूलाई सुविधायुक्त व्यवस्थापन गर्न सक्ने भारवहन क्षमता हामीसँग प्रशस्त छ कि छैन भन्ने हो । पर्यटकको उचित सुरक्षा व्यवस्था सुनिश्चित हुनुपर्छ । अनधिकृत, अवाञ्छित गतिविधि हुन सक्नेतर्फ सतर्क हुनैपर्छ । पर्यटन वर्ष मनाउँदै गर्दा स्वाभाविक रूपमा रोजगारलगायत आर्थिक गतिविधिमा वृद्धि हुने आँकलन गरिन्छ । त्यसपछिका वर्षहरूमा पनि पर्यटनको प्रवाहलाई निरन्तरता दिन पर्यटन वर्षले विशेष भूमिका खेल्नेछ । वस्तुतः हामीसँग भएका प्राकृतिक र साँस्कृतिक सम्पदाहरूको समुचित संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्न सकेमात्र दिगो पर्यटन र आर्थिक वृद्धिको कल्पना गर्न सकिन्छ ।
पर्यटनको विकासमा विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाहरूको पनि उत्तिकै भूमिका रहेको हुन्छ । नेपालका विशेषगरी साँस्कृतिक र प्राकृतिक सम्पदालाई विश्व सम्पदा सूचीमा राखिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र अन्य संरक्षित वन्य क्षेत्रलगायतका प्राकृतिक सम्पदाहरूले नेपालको पर्यटनमा विशेष योगदान दिएको तथ्य छ । त्यस्तैगरी, विश्वसम्पदा सूचीकृत सम्पदा क्षेत्रहरूमा पर्यटकहरूको प्रवाह बढ्दो देखिन्छ । भूकम्पपछि केही मात्रामा प्राज्ञिक पर्यटनको विकास भएको देखिन्छ । कला नगरी भक्तपुर, पाटन र वसन्तपुरलगायत सिङ्गो काठमाडौँ उपत्यका नै खुला सङ्ग्रहालयका रूपमा परिचित छ । संस्कृति र प्रकृतिको सङ्गमका रूपमा परिचित उपत्यकालगायत देशैभरिका धार्मिक, साँस्कृतिक र भौगोलिक विविधताको संरक्षण गर्न सके दिगो पर्यटनको विकास सम्भव छ । यसका लागि स्थानीय र प्रदेश सरकारहरूले संस्कृति र प्रकृतिको संरक्षणमा विशेष जोड दिनुपर्छ ।
(लेखकद्वयले संस्कृति, पुरातत्व र पर्यटन क्षेत्रमा लेख्नुहुन्छ ।)