पुष्प न्यौपाने
वर्तमान भारतभित्र चीनमाथि विजय गर्ने रुमानी कल्पना छ । त्यही रुमानी कल्पनाका आधारमा कृत्रिम स्केच तयार पारेको भारतले चीनसँग आर्थिक तथा सामरिक प्रतिस्पर्धा, कूटनीतिक दाउपेच र अन्तर्राष्ट्रिय घेराबन्दी जस्ता कदम तीव्र तुल्याएको छ । भारत विजेता बन्न चाहन्छ र आफ्ना पुस्तौनी शत्रुमाथि विजय हासिल गर्ने उसको धोको छ भने उसले अङ्ग्रेजहरूलाई जित्न सक्नुपर्छ । विजयको सार्थकता त्यतिबेला हुन्छ जतिबेला इतिहासको एउटा पराजित शक्तिले विजयीशक्तिद्वारा कुल्चिएको दर्शन, विचारधारा, जीवनपद्धति, सभ्यता, संस्कृतिलाई पुनर्जीवित गर्दै आफ्नो पुनरोदय सुनिश्चित गर्छ । भारतीय दर्शन र जीवनपद्धति कुल्चने चीन होइन, बरु आजको भारतसँग बलियो गठजोड बनाएका पश्चिमाहरू हुन् ।
जुन शक्तिसँग इतिहासका तमाम मोर्चाहरूमा पराजित हुनुप¥यो, दासत्व स्वीकार गर्नुप¥यो, आफ्ना अनगन्ती स्रोत–साधन र सम्पदा गुमाउनुप¥यो त्यस्तो शक्तिमाथिको विजय नै निर्णायक विजय हो । चीन र भारतबीच त्यस्तोस्तरका लडाइँ इतिहासमा कहिल्यै भएनन् । दुई विशाल मुलुकबीच साँध सिमानाका विवाद र एकाध लडाइँ स्वभाविक हुन् । तर भारतका लागि चीनमाथिको विजय नै विश्व विजय र इतिहासदेखि वर्तमानमा भारतसामुको सबैभन्दा ठूलो शत्रु नै चीन हो भन्ने मनोविज्ञानको विकास भारतीय राजनीतिक नेतृत्व, सैन्य नेतृत्व, कूटनीतिक वृत्त र मिडिया हाउसले गरेका छन् । चीनसँगको सीमाक्षेत्रमा अमेरिकी अत्याधुनिक हतियार राख्ने भारतको तयारी त्यही मनोविज्ञानको एउटा उपज हो । जुन पूर्णरूपमा गलत निशाना हो ।
संशयपूर्ण सम्बन्ध
चीन र भारतबीच हिमालय क्षेत्रमा ३५ सय कि.मि. लामो सीमा छ । जहाँ धेरै ठाउँमा सीमा विवाद सुल्झिन बाँकी छ । यही सीमा विवाद दुई देशबीचको संशयपूर्ण सम्बन्धको महŒवपूर्ण कारक हो । त्यही कारणले दुई देशवीच १९६२ मा युद्ध भयो, भारतले शर्मनाक पराजय व्यहोर्नुप¥यो । १९६७ मा पनि उनीहरूबीच मनमुटाव भयो । १९८४ देखि २०१७ को पछिल्लो तनावसम्म २५ पटक वार्ता भए तर सफल वार्ता र कुनै ठोस सम्झौता हुन सकेन । भारतले पूर्वोत्तरमा भारतीय राज्यसँग जोड्ने ‘चिकेन नेक’को रणनीतिक–सामरिक महŒवको भूगोललाई कुनै पनि हालतमा आफ्नो हातबाट छुट्न नदिने कोशिस गर्छ । किनकि भारतलाई पूर्वोत्तरसँगको जीवित सम्बन्धका लागि त्यही २० कि.मि.को चिकेन नेकको बाटो एउटै मात्र विकल्प हो । चिनियाँ सेनाले आफ्नो सीमाक्षेत्रमा हिमालयन सडक निर्माण गरेपछि भारतलाई सिक्किमस्थित उचाइको भौगोलिक पहुँच गुम्ने खतरा देखियो जसका कारण उसले भुटानको तर्फबाट पैरवी गरेर डोकलाममा सन् २०१७ मा चीनसँग निहुँ खोज्यो । भारतले सिक्किमलाई विलय गराउनुको महŒवपूर्ण कारण पनि त्यही थियो कि सिक्किमको त्यो एउटा मात्रै भौगोलिक उचाइ हो जहाँबाट चिनियाँ सेनालाई दक्षिण बढ्ने अभियानमा अवरोध पु¥याउन सकिन्छ र आफूलाई चिनियाँ सेनामाथि आक्रमणका लागि सुविधाजनक भूगोल उपलब्ध हुन्छ ।
सिक्किमको त्यस भौगोलिक उचाइलाई दीर्घकालसम्म भारतको हातमा रहन दिइनेछैन भन्नेमा चिनियाँहरू पनि विश्वस्त छन् । चीनको विदेश मन्त्रालयले सिक्किमसँगको सिमानाबारे चीन–ब्रिटेन १८९० को सम्झौतालाई भारतले उल्लङ्घन गरेकाले यो निकै संवेदनशील विषय हो भनेको छ । भारतीय अधिकारीहरू हामी १९६२ को अवस्थामा छैनौँ, अढाइ मोर्चामा एकैसाथ लड्न सक्छौँ र अमेरिका, रुस तथा फ्रान्सबाट ल्याइएका हाम्रा अत्याधुनिक युद्धसामग्री एवं एअरक्राफ्टले हामी युद्धका लागि तयार छौँ भन्ने उत्तेजक भाषण दिने गर्छन् । के त्यसो भए चीन जहाँको त्यहीँ छ त ? उत्तरी सिमानामा चीनका चौडा सडक, अत्याधुनिक हवाईमैदान जहाँ आवश्यकतामा विमानहरू अवतरण गर्न सक्छन् । अत्याधुनिक हवाई प्रतिरक्षा प्रणालीलगायत सैन्य सुविधा क्षेत्रको उनीहरूको तयारी कुनै सामान्य विषय होइन । चीनको गति र प्रगतिबारे भारतीय पनि अनभिज्ञ छैनन् बरु उनीहरू पश्चिमको आशा र भरोसामा चीनसँग बेला–बेलामा टकरावमा आइरहने तथा रुस र पश्चिमा मुलुकलाई एकै ठाउँमा उभ्याउने सूत्र खोजेर चीनलाई घेराबन्दीमा पार्ने दाउपेचका खेल खेलिरहने प्रयासमा छन् । स्मरणीय के छ भने चीन–भारतका युद्धमा कसैले कसैलाई दास बनाएका छैनन् र कसैले कसैका सम्पदा कब्जा गरेका छैनन् । साँध जोडिएको भूगोलमा रहेका यी दुवै छिमेकी इतिहासको प्राचीनकालदेखि आजसम्म सह–अस्तित्वको सम्बन्धमा छन् ।
भारतको वास्तविक शत्रु
भारतीय दर्शन, सभ्यता, संस्कृति र जीवन पद्धतिमाथि पश्चिमा बुटहरूले प्राचीन इतिहासदेखि आधुनिक इतिहाससम्म कुल्चिरहे । मानवीय संवेदना, करुणा र प्रेमपूर्ण सभ्यताको पूर्वीय सामाजिक संरचनालाई समाप्त पार्ने पश्चिमाहरू नै भारतीयहरूका लागि वास्तविक शत्रु बन्नुपर्ने हो । तर विडम्बना कहिलेकाहीँ वर्तमानले उल्टो कम्पास घुमाएर इतिहासको दिशा निर्धारण गर्न खोज्दोरहेछ । भारतका लागि वास्तविक शत्रु पश्चिमाहरू किन बन्न सक्छन् भन्ने जिज्ञासा मेटाउन तथ्यहरूको शृङ्खला केलाऔँ । इसापूर्व ३२६ मा सिकन्दरको आक्रमणपछि भारत पश्चिमाहरूको गुलाम हुने सिलसिला सुरु भयो ।
आफ्नो पराजयको ढाकछोपका लागि भारतले धनानन्द, आचार्य चाणक्य वा (पुरु) पोरसका जतिसुकै गाथाहरू बनाउन खोजे पनि ‘जो जिता वहि सिकन्दर’ भन्ने लोकोक्ति भारतको प्रत्येक घर–घर र बच्चादेखि वृद्धहरूको जनजिब्रोमा झुण्डिएको छ । भारतमा सिकन्दर विजेता होइन पोरस र धनानन्द नै विजेता हुन् भने जन–जनमा किन आफ्नै राजा महाराजाको नाम र विजयगाथाबारे थाहा हुन सकेन ? किन सिकन्दरको महानता र अमरत्वका मिथकहरू शक्तिशाली
बने ? सिकन्दरपछि पनि भारतमा डेमेट्रियस प्रथमको आक्रमण, युक्रेटिदसको आक्रमण, मिनान्डरको आक्रमण भए । स्ट्राबोले युनानीहरूले गङ्गानदी र पाटलीपुत्रमा आक्रमण गरेको कथा लेखे भने पतञ्जलि महाभाष्यमा अवधको साकेत र राजस्थानको चित्तौढसम्म युनानीहरूले घेरा हालेको प्रसङ्ग उल्लेख छ । (१२३ इसापूर्व– २०० इस्वी ) को शक शासन, (इ.पू.६०–२४०) केही इलाकामा कुषाण शासन, क्रमशः हुण, अरब–इरानी शासन हुँदै मुसलमानहरूको झण्डै एकहजार वर्ष लामो समय भारतीय इतिहासको उतारचढावपूर्ण समय हो ।
प्राचीन इतिहासमा होस् वा आधुनिक इतिहासमा भारत सदैव पश्चिमी प्रभुत्वको छायाँमा दमित भएर बस्यो ।
अङ्ग्रेजको गुलामबाट आजाद भारत पश्चिमा शक्तिका विरुद्ध आफ्ना सबै हथकण्डा प्रयोग गर्नेछ भन्ने दक्षिण एसियाली मुलुकको अनुमान पूर्णरूपमा गलत सावित गर्दै भारत आज पनि पश्चिमकै छत्रछायाँमा मात्रै आफ्नो भविष्य सुरक्षित देख्छ । भारतीय भूगोलको आँखाबाट नभई हिन्दुत्वको आँखाबाट हेर्दा अहिलेको सत्तासीन वर्ग मुसलमान समुदायसँग जुन प्रकारको प्रतिशोधपूर्ण भावमा छ त्यसमा कहीँ न कहीँ एकहजार वर्ष लामो समय मुसलमानको दमनबाट पिल्सिँदाको बदला लिने समयका रूपमा अहिलेको जनमतलाई लिइएको अर्थमा देख्न सकिन्छ ।
अचम्मलाग्दो कुरा के छ भने मध्यपूर्व र इरानसँग सौहार्दपूर्ण सम्बन्धका लागि सदैव भगीरथ प्रयत्न गर्ने र मुलुकभित्रका मुसलमान वा छिमेकी मुलुकका मुसलमानमाथि मात्रै वैरभाव राख्ने भारतीय राष्ट्रवाद सिङ्गो इतिहासको समीक्षामा नभइकन सत्ताको दाउपेचमा मात्रै सीमित छ । बरु मुलुकभित्रै हिन्दुहरूलाई दिइएको दुःखकष्टको बदला लिएर आफूभित्रको हिचकिचाहटका घाउमा मलम लगाउने मनसायमा ऊ केन्द्रित देखिन्छ । आज पनि भारत गएका ७० वर्ष अघि अलग्गिएको पाकिस्तानका विरुद्ध जति कठोर छ इरान, मध्य अरब र अफगानिस्तानसँग (तालिबान) बाहेक त्यत्तिकै नरम छ । इतिहासमा खासै कुनै भयानक क्षति हुने स्तरको लडाइँ नभएको चीनसँग भारत जति कठोर छ दुई सय वर्ष आफूमाथि शासन गरेका पश्चिमा शक्तिसँग उसको निकटता, घनिष्ठता र नम्रता सयौँ गुणा बढी छ । रुस र पश्चिमालाई मिलाएर चीनविरुद्ध प्रयोग गर्नुपर्छ भन्ने भारतीय कूटनीतिज्ञहरूका विचार, इण्डोप्यासिफिकमा भारतीय सक्रियता, नेटो र जापानसँग दक्षिण चीनसागरमा सैन्य अभ्यास एवं तिबबतको मामिलामा पश्चिमा चलखेललाई सहयोग गर्ने र दलाइ लामालाई शरण र भरणपोषणको व्यवस्था गर्ने भारतीय रणनीति अङ्ग्रेज आदेशकै वरिपरिको एउटा हिस्सा हो ।
भारतीय कूटनीति सफल होला ?
वास्तवमा भारतीय कूटनीति भयानक अवसरवादको भ्रूणका रूपमा हुर्कंदैछ । एकातिर यसले पश्चिमसँग पूर्वीय दर्शन, विचारधारा, जीवनपद्धति, यहाँको जनसङ्ख्यामाथिको आफ्नो नियन्त्रणलगायतका विषयमा बार्गेनिङ गर्छ भने अर्कोतिर चीनका विरुद्ध आफू प्रभावकारी हतियार बन्नसक्ने स्तरको बार्गेनिङ गर्छ । त्यसका अतिरिक्त चीन–अमेरिका ट्रेड वारमा पनि भारत आफ्नो जनसङ्ख्याको आँकडा देखाएर दुवैका लागि अनुकूल बजार आफू हो भन्ने सन्देश दिँदै लाभ लिन भ्याउँछ । सेन्टर फर पोलिसी रिसर्चका अनुसन्धाता जोरावर दौलतसिंहले रुसका लागि भारतीय राजदूत टी.एन. कोलले सन् १९६५ मा इन्दिरा गान्धीलाई लेखेको पत्र स्मरण गराउँदै चीनका विरुद्ध रुस र अमेरिकालाई एक ठाउँमा ल्याउने असफल प्रयासको फेरि पुनरावृत्ति गरिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
यस क्षेत्रमा चिनियाँ हस्तक्षेप रोक्न अमेरिका–भारत–रुसको साझा चासो र स्वार्थ बनाउन भारतको कोशिस जारी रहला तर त्यसैका आधारमा भारतले अब चीनविरुद्ध कुनै संरचना निर्माण गर्नसक्ने छैन । किनकि सहकार्यका लागि वासिङ्टन भरपर्दो मित्र होइन भन्ने कुरा रुसीहरूले हिट्लरविरुद्धको लडाइँ र शीतयुद्ध अन्त्य लगत्तै भएको रुसी महासङ्घ विघटनका सन्दर्भमा बुझिसकेका छन् । ती दुवै कालखण्डमा भारत मस्कोको बलियो मित्र बन्न नसकेको कुरा पनि रुसीहरूलाई जगजाहेर छ ।
जहाँसम्म युरेसियामा बेइजिङलाई नचिढ्याइकनै मस्को महŒवपूर्ण खेलाडीका रूपमा उदाउँदै गएको भारतीय बुझाइ छ त्यो उसको चाहना अनुकूलको बुझाइ हो । त्यहाँ अमेरिकी उपस्थितिलाई कमजोर तुल्याउन बेइजिङभन्दा मस्को सहज र स्वीकार्य भएकाले चीनले युरेसियामा रुसको उपस्थितिलाई प्रोत्साहन दिएको छ । अमेरिकाविरुद्ध रुस र चीन साझा निणर्यमा छन् । उनीहरूले कोरियाली प्रायद्वीप, मध्यपूर्वमा इरान हुँदै सिरिया र टर्कीसम्मलाई आफ्नो प्रभावमा राख्ने प्रयासलाई बढावा दिएकै छन् ।
रुस–चीनबीचका विशाल संयुक्त सैन्य अभ्यास, रुसमा बढ्दो चिनियाँ लगानी, फाइभ जीका लागि सहकार्यको अभ्यास, ब्रिक्समा साझा सक्रियता, साङ्घाई को–अपरेसनदेखि बीआरआईको सक्रियतालगायत सबै घटनाक्रमले उनीहरू वर्तमानका सबैभन्दा घनिष्ठ मित्र हुन् भन्नेमा कुनै शङ्का छैन । यद्यपि भारतलाई रुस र अमेरिकासँग समदूरीमा रहेर ती दुवैलाई चीनविरुद्ध प्रयोग गर्न सकिनेछ भन्ने भ्रम छ । युरोपमा फ्रान्सजस्तै एसियामा आफू चतुर स्याल झैँ चीनबाहेक सबै मुलुकसँग खेल्न सफल हुने भारतको रणनीतिक चाहना हो । चीन–रुस–जापानबीच छिद्र बनाएर आफू एसियामा निर्णायक स्थानमा रहने भारतीय चाहना पूरा गर्न केही कूटनीतिज्ञलाई बिस्मार्क जत्तिकै चलाख रणनीतिकारका रूपमा चित्रण गरिएको छ । यद्यपि युरोपको चतुर देशका रूपमा परिभाषित फ्रान्स जस्तै निर्णायक हुन एसियामा भारतका लागि सहज छैन । वास्तवमा एसिया यतिबेला शक्ति पुनरोदयको अपेक्षामा छ । त्यसका लागि चीन–भारत सहकार्यको चाहना यस क्षेत्रका साना र मझौला मुुलुकको पनि हो तर भारत पूर्वीय सभ्यता, यहाँको वैभवता र सम्पन्नता स्वतन्त्रतापूर्वक फलोस फुलोस् भन्ने चाहँदैन ।
पूर्वका सम्पदा र सभ्यताको नियन्त्रण पश्चिमाले गरुन् र त्यसको क्षेत्रीय ठेक्का आफूलाई प्राप्त होस् भन्ने भारतीय मानसिकता यहाँको क्षेत्रीय एकताको मात्र बाधक होइन बरु त्यो बहुधु्रवीय विश्व, विराट् सभ्यताको स्वतन्त्र प्रतिस्पर्धा, सामाजिक जीवन पद्धतिको मौलिकपन र आदर्शका मानक र मिथकमा देखिने विविधताको पनि बाधक हो । त्यसकारण न भारतलाई पश्चिमाहरूमाथि निर्णायक विजयको महŒवबारे थाहा छ न आफूलाई पटक–पटक दास बनाएका अङ्ग्रेजहरूसँग प्रतिशोध र बदलाभावको छनक छ । मुख्य विषयवस्तु नै प्राथमिक कार्यसूचीमा नहुँदा अङ्ग्रेजहरूतिर सोझ्याउनुपर्ने निशाना चीनजस्ता छिमेकी मुलुकतिर सोझ्याउँदै भारत आफ्नो भविष्यको कस्तो खाका कोर्ला थाहा छैन । भारतको वर्तमानको यही कार्यशैली एक प्रकारको विजय र प्रतिशोधको गलत निशाना हो ।
(लेखक पत्रकार हुनुहुन्छ ।)