निर्मलकुमार आचार्य
पर्यटन प्रवद्र्धनका माध्यमबाट सामाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिक उन्नतिका लागि अन्तर्राष्ट्रिय समुदायलाई झकझकाउने उद्देश्यले बर्सेनि अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने गरिन्छ । सन् १९७० सेप्टेम्बर २७ तारिखमा संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (यूएनडब्ल्यूटीओ)को विधान पारित भएको सम्झनामा सन् १९८० देखि सोही दिन अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउन थालिएको हो । यसो त हरेक वर्ष यो औपचारिक दिवस नटुप्लुकिने होइन तर यसपालि नेपालका सन्दर्भमा यसको बेग्लै महŒव छ ।
यतिखेर मुलुक २० लाख पर्यटक भिœयाउने उद्देश्यले भ्रमण वर्ष २०२० मनाउने तयारीमा छ । सन् २०१८ मा १० लाख पर्यटक भित्रिएका आधारमा सङ्ख्या दोब्बर पार्ने योजनालाई कतिपयले महŒवाकाङ्क्षी पनि भनेका छन् तर सामुन्ने रहेका अवसरलाई पोल्टामा पार्नसक्ने हो भने २० लाख पर्यटक नेपाल भिœयाउनु महाभारतको कुरो होइन । वैदेशिक मुद्रा तथा राजस्व आर्जनका निम्ति पर्यटन उद्योग दुनियामै कहलिएको छ । पर्यटन विकासबाटै उँभो लागेका देश कम छैनन् । विकसित, विकासशील तथा अल्पविकसित अधिकांश देश पर्यटनकोे खेती लहलहाउन दिनरात लागिपरेका छन् । बर्सेनि बढ्दो पर्यटन बजारले पनि आशा उर्लाएको छ । पर्यटनको प्रतिस्पर्धात्मक बजारमा निश्चय नै नेपालसित अवसरका साथै चुनौती पनि बगे्रल्ती छन् । मुलुक सम्पदामा गरिब छैन । सगरमाथासहित विभिन्न उच्च हिमालले गौरव बढाएका छन् । हिमाल आरोहण, पदयात्रा, चट्टान चढाइ (रक क्लाइम्बिङ), साहसी पर्यटन, मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदा, जनजीवन, जैविक विविधता, ¥याफ्टिङ, पाराग्लाइडिङ, बञ्जी जम्पिङलगायत कैयौँ यस्ता पक्ष छन्, जसले पर्यटकलाई मन्त्रमुग्ध तुल्याउँछन् । यहाँका धार्मिक क्षेत्र संसारभरिकै हिन्दु तथा बौद्ध धर्मावलम्बीका निम्ति केन्द्रबिन्दु साबित हुनसक्छन् । धार्मिक पर्यटक मात्रै तान्नसके पनि आजको दुर्गति प्रगतिमा परिणत हुन समय लाग्दैन ।
भारत, चीन, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत), श्रीलङ्का, थाइल्यान्ड, दक्षिण कोरिया, अस्टे«लिया, म्यानमार, जर्मनी, बङ्गलादेश, जापान, फ्रान्स, मलेसिया, स्पेन, क्यानाडा, नेदरल्यान्ड्स आदि देशबाट पर्यटक आइरहेका छन् । जहाँबाट आइरहेका छन्, तिनको सङ्ख्या बढाउँदै जाने र नआएका देशबाट कसरी पर्यटक आकर्षित गर्ने ? ज्वलन्त प्रश्नको शीघ्र समाधान जरुरी छ । छरछिमेकबाट मात्रै पर्यटक तान्ने हो भने पनि २० लाखको सङ्ख्या ठूलो होइन ।
घुमन्ते नागरिकमा छिमेकी चिनियाँ प्रसिद्ध छन् । बर्सेनि २२ प्रतिशतका दरले विदेश घुम्ने चिनियाँ नागरिक बढ्नु सुखद पाटो हो । राष्ट्रसङ्घीय विश्व पर्यटन
सङ्गठनको आँकलन अनुसार दुनिया घुम्ने चिनियाँको सङ्ख्या सन् २०२० भित्रै दश करोड पुग्नेछ । छिमेकी भारतबाट पनि दुनिया भ्रमण गर्ने लहर उत्साहवद्र्धक छ । विगत तीन वर्षयता दुनिया भ्रमण गर्ने भारतीय नागरिक दोब्बर भइरहेका छन् । राष्ट्रसङ्घीय विश्व पर्यटन
सङ्गठनका अनुसार सन् २०२० सम्म दुनिया घुम्ने भारतीय नागरिक पाँच करोड हुनेछन् । एक अर्ब ४३ करोड, पाँच लाख ८० हजारभन्दा बढी चिनियाँ र एक अर्ब, ३६ करोड, ९५ लाख २९ हजारभन्दा अधिक भारतीय नागरिकमा विदेश घुम्नेको जमात अभिवृद्धि हुँदै जानुको लाभ उठाउन ठूलै कसरत चाहिएको छ । नजिकका यी दुई देशबाट विदेश घुम्नेमध्ये एक÷एक प्रतिशत पर्यटक मात्रै आकर्षित गर्नसक्दा पनि नेपाली पर्यटन उद्योग चम्कनेछ । पर्यटन विकासबाटै मुलुकको कायापलट गर्ने हो भने अभूतपूर्व तबरमै दुनियाभरि अभियान चाल्नुपर्नेमा विमति नहोला । विभिन्न देशमा रहेका नेपाली राजदूत, वाणिज्यदूत, विभिन्न तह र तप्कामा रहेका गैर आवासीय नेपाली सबैको समन्वयात्मक प्रयास जुट्नसके सफलताको शिखर चुम्न गाह्रो छैन ।
दुनिया घुम्ने नागरिकमा नेपाली पनि पछाडि छैनन् । यसलाई बेखुशीको कुरो मान्नुहुँदैन तर विदेशी पर्यटकले नेपालमा खर्च गरेभन्दा बढी रकम नेपालीबाट स्वाहा भएका तथ्यले सबैका आँखा चम्कन पुगे । गत आर्थिक वर्षको चार महिनामै विदेश सयरमा नेपालीले ३४ अर्ब ९१ करोड रुपियाँ खर्च गरेको र सोही अवधिमा विदेशी पर्यटकले नेपालमा रु. २५ अर्ब पाँच करोड मात्रै खर्च गरेको तथ्याङ्क सार्वजनिक भएको स्मरणीय छ । बाहिर घुम्न जाने नेपालीलाई कसरी स्वदेश भ्रमणमै रम्न लगाउने ? गहिरो सोचाइ अपेक्षित छ । थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, सिङ्गापुर आदि देशमा नेपाली पर्यटक बढेका हुन् । यी देशले पर्यटन प्रवद्र्धनका निम्ति राखेका सस्ता प्याकेजले पर्यटक तानेको सन्दर्भ अनुकरणीय बनेको छ ।
चार÷पाँच महिना मात्रै विदेशी पर्यटक आउने बाँकी अवधि बेफ्वाँकमा बित्ने गरेको राग अलाप्नुसट्टा आन्तरिक पर्यटकलाई प्रोत्साहन यात्रा (सस्तो प्याकेज) जुटाउनेतर्फ पर्यटन व्यवसायी पनि दत्तचित्त हुनुपर्छ । चर्चा धेरै, काम नगण्य भएको क्षेत्रमा आन्तरिक पर्यटनसमेत पर्छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारी तथा गैर सरकारी दुवै तहबाट आशातीत काम हुनसक्ने यथार्थलाई व्यावहारिक धरातलमै अनुवाद जरुरी छ । मौसमी होइन, सदाबहार पर्यटनतर्फ केन्द्रित हुन ढिलाइ भइरहेको छ । वर्षका ३६५ दिन नै पर्यटक आउने मेसो अरूले आएर मिलाउने छैन, आफैँ बन्दोबस्त गर्नसक्नु खुबीको बिन्दु ठहरिनेछ । विदेशी तथा स्वदेशी पर्यटकलाई के कस्ता गन्तव्यस्थल जुटाएर अथवा सहज प्याकेज उपलब्ध गराएर, कसरी बाह्रै महिना पर्यटकको मेला लगाइरहन सम्भव हुन्छ ? यस प्रश्नको उत्तर पहिल्याउन जति विलम्ब हुनेछ, राष्ट्रिय पर्यटन उद्योगले त्यति नै घाटा बेहोरिरहन पर्नेछ ।
बाधा, अप्ठेरा, कठिनाइ कम छैनन्, यो निर्विवाद यथार्थ हो । एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनु, विभिन्न जिल्लामा भएका विमानस्थल स्तरयुक्त नहुनु, अन्तर्राष्ट्रिय उडान कम हुनु, राष्ट्रियध्वजा वाहक विमान थोरै हुनु र भएकामध्ये पनि थन्किएर बस्नु, स्थलमार्ग व्यवस्थित नहुनु, राजधानीमै सडकको दुरवस्था रहनु, सार्वजनिक सवारी साधनको बेथिति नघट्नु, होटल पूर्वाधारको कमी तथा जतासुकै फोहोरका डुङ्गुर हुनु, पर्यटकमैत्री तथा प्रविधिमैत्री वातावरण नहुनु, पर्यटन स्थलमा समेत सार्वजनिक शौचालय नहुनु, मुद्रा सटहीका निम्ति यथेष्ट व्यवस्था नरहनु, पर्यटकको खर्च र बसाइ दिन नबढ्नुलगायत अनेक समस्या छन् ।
हुन त अहिले अन्तर्राष्ट्रिय, क्षेत्रीय विमानस्थल निर्माणमा बल लगाइएको देखिँदैछ । पोखरा क्षेत्रीय विमानस्थलको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि स्विजरल्यान्डको जुरिच एयरपोर्ट इन्टरनेशनललाई चुनिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा सम्भवतः जर्मनीको म्युनिख विमानस्थलले पाउनेछ । देशका विभिन्न ठाउँमा ठूला होटल खोल्ने क्रम जारी छ । नेपालको पर्यटन उद्योगमा स्वदेशीका साथै विदेशीले पनि रुचि देखाएका छन् । यी सबै पहलको सकारात्मक प्रभाव आसन्न भ्रमण वर्षमा देखापर्न नसक्ने सत्य पनि अकाट्य छ । समस्याको चाङका माझ सफलता हासिल गर्नु विद्यमान चुनौती हो । भ्रमण वर्ष २०२० प्रारम्भ हुन ९५ दिन मात्रै बाँकी छ । घोषणा गर्ने तर त्यसलाई सार्थक बनाउनेतिर युद्धस्तरमै सक्रियता नबढाउने प्रवृत्तिले मुुलुकका अनेक योजना अलपत्र परेका हुन् । नजिकिँदो भ्रमण वर्षलाई कुनै पनि हालतमा अर्थपूर्ण तुल्याउने दृढ इच्छाशक्ति अनिवार्य छ । सरकार तथा पर्यटन व्यवसायीले हातेमालो गरेर अघि बढ्दा मात्र सफलता हात लाग्नेछ ।
‘पर्यटन र रोजगार ः सबैका लागि राम्रो भविष्य’ अन्तर्राष्ट्रिय पर्यटन दिवस–२०१९ को अवधारणा हो । यसलाई साकार बनाउन नेपालले पनि बहुआयामिक कदम बढाएर सघाउन सक्छ । पर्यावरणीय पर्यटन, चिकित्सा पर्यटन, खेलकुद पर्यटन, चलचित्र छायाङ्कन पर्यटन, सभा–सम्मेलन पर्यटन आदि पनि अविस्मरणीय बनेका छन् । पुराना गन्तव्य स्थलको जगेर्नाका साथै नयाँ, नयाँ गन्तव्यका दैला उघार्न चुक्नुहुँदैन । पर्यटकलाई पटक, पटक आउने बनाउन र नआएकालाई आउनैपर्ने उत्सुकता जगाउन तथा स्वदेश दर्शनका योजनासमेत ल्याउन सरकारी प्रयास मात्र अपुग हुनसक्छ, यसका लागि सम्बद्ध सबै तह र तप्का जाग्नुको विकल्प छैन । अर्थतन्त्रको मुख्य आधार पर्यटन क्षेत्रलाई बनाउन सरोकारी सम्पूर्ण निकायको समन्वयात्मक प्रयास अत्यावश्यक छ । सङ्घीय, प्रादेशिक तथा स्थानीय सरकारले भ्याएसम्मको बल लगाएर पर्यटनमैत्री वातावरण कायम गरिदिने हो भने शङ्कै छैन, यसैबाट मुलुक समृद्धशाली बन्नेछ ।
(लेखक गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक हुनुहुन्छ ।)