logo
२०८१ मंसिर ९ आईतवार



प्रदेश १ का पर्यटकीय गन्तव्य

विचार/दृष्टिकोण |




शशिधर पराजुली

देशकै प्रमुख पहिचानका रूपमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा प्रदेश १ मा पर्छ । कञ्चनजङ्घा र मकालुलगायतका थुप्रै उच्च हिमशृङ्खलाको अवलोकन गर्न र साहसिक यात्रा गर्न अहिले पनि हजारौँ विदेशी पर्यटक यहाँ आउने गरेका छन् । आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेश १ मा करिब ५८ हजार विदेशी पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ । विदेशी पर्यटक हिमाली क्षेत्रमै केन्द्रित छन् ।
धार्मिक पर्यटनको प्रचुरता
झन्डै २० करोड जनसङ्ख्या भएको भारतको विहार प्रान्तसँग प्रदेश १ को सिमाना जोडिएको छ । भारतको पश्चिम बङ्गाल प्रान्तबाट पनि थुप्रै पर्यटक ल्याउन सकिने आधार छ । बङ्गलादेशका लागि काकरभिट्टा मुख्य प्रवेशद्वार हो । विहार र पश्चिम बङ्गालका पर्यटकलाई धार्मिक र प्राकृतिक पर्यटनका लागि आकर्षित गर्न सकिन्छ । विहारमा विष्णु र शिव भगवान् मान्नेहरूको ठूलो समुदाय छ । तिनलाई प्रदेश १ का हलेसी, वराहक्षेत्र, विष्णुपादुकाजस्ता पौराणिक महŒवका स्थलमा ल्याउन सकिन्छ ।
खोटाङको हलेसी महादेवको मन्दिर हिन्दुको मात्र नभई, किरात र बौद्ध धर्मावलम्बीका लागि पनि एकपटक पुग्नैपर्ने तीर्थस्थलका रूपमा हेरिन्छ । सिक्किम, भुटान र बर्माबाट धेरै बौद्ध धर्मावलम्बी हलेसीमा आउने गरेका छन् ।
अघिल्लो वर्ष करिब १० लाख भारतीय पर्यटक प्रदेश १ मा आएको निजी क्षेत्रका व्यवसायीको दाबी छ । तर, व्यवस्थित तथ्याङ्क प्रणालीको अभाव छ । वराह क्षेत्रमा लाग्ने दुई प्रमुख मेलामा मात्र करिब चार लाख भारतीय आउने गरेको पर्यटन व्यवसायीको आँकलन छ ।
साँस्कृतिक पहिचान र विविधता
साँस्कृतिक पहिचान र विविधता यो क्षेत्रमा पर्यटन प्रवद्र्धन र विकास गर्ने अर्काे आधार हो । प्रदेश १ मा मात्र एक सयभन्दा बढी संस्कृति र साँस्कृतिक परम्परा प्रचलनमा छन् । नेपालमै पहिलोपटक पहिचानमा आएको प्राकृत धर्म मान्ने समुदाय पनि यसै प्रदेशमा फेलापरेको छ । ब्राह्मण, क्षेत्री, राई, लिम्बू, मगर, तामाङ, धिमाल, मेचे, कोचे, राजवंशी, मधेसी, सतार, बाँतरजस्ता जातीय समुदायको मौलिक संस्कृतिले पर्यटकलाई आकर्षित गर्न सक्छ । त्यसमाथि पनि भारतीय र नेपालीबीच समान संस्कृति छ । दुवै मुलुकका करिब २० भन्दा बढी मिश्रित संस्कृतिलाई पनि पर्यटन विकासका लागि उपयोग गर्न सकिने सम्भावना छ ।
प्रकृति र पर्यावरण
हिमालदेखि पहाड र तराईसम्म फैलिएको प्रदेश १ प्राकृतिक सुन्दरता र पर्यावरणीय विविधताले भरिपूर्ण छ । एक÷दुई घन्टाको यात्राबाट तराईको अत्यधिक गर्मीबाट चिसो ठाउँमा पुगिने भएकाले वातावरणीय विविधताको अनुभूति गर्न र प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्न सकिन्छ ।
शिक्षा, स्वास्थ्य पर्यटन
शिक्षा, स्वास्थ्य क्षेत्रमा प्रदेश १ ले राम्रो पूर्वाधार तयार पारेको छ । अहिले नै पनि छिमेकी मुलुकबाट थुप्रै व्यक्ति शिक्षा र स्वास्थ्यका लागि यहाँ आउने गरेका छन् । झापा, मोरङ, सुनसरीमा रहेका आँखा अस्पतालमा भारतीय बिरामीको चाप निकै बढी छ । काठमाडौँपछि शैक्षिक हबका रूपमा विकास भइरहेको प्रदेश १ मा भारत, पाकिस्तान, बङ्गलादेश आदि देशबाट पढ्न आउने विद्यार्थी बढ्दै जानुले पनि पर्यटन विकासमा योगदान गरिरहेको छ ।
योजना र प्रयास
नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भिœयाउने सरकारको लक्ष्यअनुसार सातै प्रदेशले पनि आफ्नो तर्फबाट पहल गरिरहेका छन् । प्रदेश १ मा कम्तीमा पाँच लाख विदेशी पर्यटक ल्याउने लक्ष्य लिएको छ ।
सरकारले विराट क्षेत्र विकास पर्यटन प्रवद्र्धन समिति, मेची पहाडी पर्यटन विकास प्रवद्र्धन समिति, हलेसी विकास समिति, वराहक्षेत्र विकास समिति र पाथिभरा क्षेत्र विकास समिति गठन गरेर ती क्षेत्रको व्यवस्थापन, विकास र पर्यटन विकासका गतिविधि सञ्चालन गर्दै आएको छ । प्रदेश सरकारले यो वर्ष पर्यटन पूर्वाधार विकास र प्रचारात्मक कामका लागि एक अर्ब ५० करोड रुपियाँ बजेट विनियोजन गरेको छ । प्रदेशका प्रमुख गुफा, झरना र पर्यटकीय स्थलको अध्ययन, विकास र प्रवद्र्धन गर्ने कार्यक्रम बनाएको छ । सङ्खुवासभा, भोजपुर र सोलुखुम्बु जोड्ने मुन्धुम पदमार्गको अवधारणाअनुसार नयाँ पैदल मार्गको विकासमा पनि प्रदेश सरकारले यसै वर्षबाट काम सुरु गर्दै छ । युवा लक्षित खेलकुद प्रतियोगितालाई पनि प्राथमिकतामा राखेको छ ।
निजी क्षेत्रको सहभागिता
पर्यटन उद्योगको पूर्वाधार निर्माणमा सरकारले लगानी गरे पनि पर्यटन विकासमा भने निजी क्षेत्रको प्रमुख भूमिका रहन्छ । प्रदेश १ मा हुने पर्यटनका अधिकांश गतिविधि निजी क्षेत्रको पहल प्रयत्न र सहभागितामा हुँदै आएको छ । होटल, लज, सवारीसाधनलगायतमा निजी क्षेत्रले ठूलो लगानी गरेको छ । निजी क्षेत्रले होटल एसोसिएसन, ट्राभल एन्ड टुर्स एसोसिएसनलगायत विभिन्न स्थानीय समितिमार्फत पर्यटन प्रवद्र्धनमा योगदान पु¥याइरहेको छ । सरकारी क्षेत्रबाट निजी क्षेत्रको कार्यमा सहयोग गर्नुपर्छ ।
प्रमुख पर्यटकीय गन्तव्य
प्रदेश १ मा पर्यटकीय स्थलको कमी छैन । सर्वोच्च शिखर सगरमाथालगायत मकालु, कञ्चनजङ्घाजस्ता विश्वकै अग्ला हिमाल यहाँ छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजङ्घा संरक्षण क्षेत्र, मकालु–वरुण राष्ट्रिय निकुञ्ज, कोसी टप्पु वन्यजन्तु आरक्षण पनि प्रदेश १ मै पर्छन् । ताप्लेजुङको पाथिभरा देवी मन्दिर, सुनसरीको वराहक्षेत्र, खोटाङको हलेसी महादेव मन्दिरजस्ता धार्मिक स्थल र उदयपुरगढी, विजयपुरगढीजस्ता ऐतिहासिक स्थल पनि छन् । तेह्रथुमको गुराँस, ह्यात्रुङ झरना, रामसार सूचीमा सूचीकृत इलामको माइपोखरी, सङ्खुवासभाको सभापोखरी र गुफापोखरी, साल्पापोखरी पर्यटकीय आकर्षणका स्थल हुन् । यसबाहेक सङ्घीय सरकारले देशभरका थप एक सय नयाँ गन्तव्य स्थलको पहिचान गरी पूर्वाधार विकासमा सहयोग गरिरहेको छ । यीमध्ये प्रदेश १ मा तिम्बुङबुङ पोखरी (ताप्लेजुङ), गुरु फाल्गुनन्द सर्किट (पाँचथर), तीनजुरे–मिल्के–जलजले (तेह्रथुम), बालेश्वर ऐतिहासिक गुफा (सङ्खुवासभा), हल्दे पटकेडाँडा ट्रेल (धनकुटा), ट्याम्केडाँडा (भोजपुर), वराहपोखरी (खोटाङ), पाँचपोखरी (सोलुखुम्बु), थोलेदम्बा डाँडा
(ओखलढुङ्गा), उदयपुरगढी (उदयपुर), सहिद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, अर्जुनधारा पर्यटकीय क्षेत्र (झापा), धनपालगढी पर्यटकीय क्षेत्र (मोरङ), पिण्डेश्वर–दन्तकाली पदमार्ग (सुनसरी) पर्छन् । यी पर्यटकीय स्थलको विकास र प्रवद्र्धन गर्न आवश्यक छ ।
प्रमुख अवरोध
पर्यटन विकास निरन्तर सरकारको प्राथमिकतामा पर्दै आए पनि सोचेजस्तो प्रगति भने भएको छैन । खर्च गर्ने क्षमता भएका गुणस्तरीय पर्यटक भिœयाउनेदेखि उनीहरूलाई गर्ने व्यवहार, बसोवासको प्रबन्ध, सुरक्षा समन्वय, अलमल्याउने विकल्पको योजनाबद्ध विकासको अभावले प्रदेश १ मा पर्यटकलाई धेरै दिन राख्न सक्ने अवस्था छैन । सगरमाथालगायत हिमाली क्षेत्रमा ५८ हजार पर्यटक आए पनि उनीहरूलाई पहाड तथा तराईमा झार्न सकिएन । काठमाडौँबाट आए अनि उतै फर्किए, जसले गर्दा पर्यटनको लाभ काठमाडौँ केन्द्रित हुन पुग्यो ।
भारतीय पर्यटकलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा सुधार गर्नुपर्नेछ । भन्सार बिन्दुबाट प्रवेश गरेलगत्तै भारतीय सवारीसाधन चेक–जाँचको नाममा हैरानी दिने प्रवृत्तिले पनि पर्यटक अनाकर्षित भइरहेका छन् । अस्थायी रुट परमिटको नाममा पनि झन्झट दिने गरिएको छ । प्रदेश १ मा १४ वटा विमानस्थल छन् । आठवटा विमानस्थल कालोपत्रे छन् । सबै विमानस्थलमा प्रहरीको युनिट, नागरिक उड्डयनका कर्मचारी सबै राखिएका छन् । तर, नियमित उडान हुँदैन ।

(लेखक गोरखापत्रका विराटनगर समाचारदाता हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?