चेतनाथ कणेल ‘हरित’
हरेक वर्षको सेप्टेम्बर २७ मा मनाइने विश्व पर्यटन दिवसका लागि संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्घ (यूएनडब्लूटीओ) ले समय सान्दर्भिक र आकर्षक नारा तय गर्छ । यो वर्षको नारा ‘टुरिजम एन्ड जब्स ः अ बेटर फ्युचर फर अल’ अर्थात् ‘पर्यटन र
रोजगारी ः सबैका लागि राम्रो भविष्य’ रहेको थियो । नेपालमा अहिले एक सङ्घीय सरकार, सात प्रदेश सरकार र ७५३ स्थानीय तहका सरकार छन् । यी सबै तहमा पर्यटनको चहलपहल कति पुगेको छ भनेर एकपटक विचार गर्ने बेला भएको छ । स्थानीय सरकार बनेको पनि करिब २८ महिना भइसकेको छ, अर्थात् हरेक स्थानीय सरकारका लागि योपटकको विश्व पर्यटन दिवस तेस्रो हो । पहिलो र दोस्रो दिवसमा सायद त्यति धेरै ध्यान जान पाएन, किनकि त्यो समय भनेको स्थानीय सरकार आफैँ स्थापित हुने र दह्रिलो हुने समय थियो । तर, अब करिब साढे दुई वर्षको ठोस अनुभव भइसकेको छ । यो अनुभवलाई जनस्तरमा लैजानुपर्ने विकास सवालको हकमा अब कुनै कमी हुनुहुन्न । किनकि विकासको राम्रो जग बसाउने अब स्थानीय सरकारले नै हो । ‘गाउँगाउँमा सिंहदरबार’ भनेपछि अब पर्यटन मन्त्रालयका काम पनि स्थानीय सरकारमा बलियोसँग जरा गाडेर बस्नुपर्छ ।
रोजगारी अभिवृद्धि ः गाउँ–गाउँमा समृद्धि !
पर्यटनबाट हुने आर्थिक लाभ र त्यसमा पनि रोजगारी, अभिवृद्धिमा हरेक राष्ट्रको ध्यान गएको छ । अहिले विश्वभरि पर्यटन उद्योग तीव्र गतिमा अघि बढेको उद्योगका रूपमा लिइन्छ । कतिपय देशले कुल राष्ट्रिय आयको १० देखि १५ प्रतिशत आय पर्यटन क्षेत्रबाट भिœयाउँछन् । जनसङ्ख्याको ठूलो हिस्सा पर्यटन रोजगारीमा आबद्ध भएको पाइन्छ । तर, नेपालमा हामीले अझै पनि करिब तीन प्रतिशतभन्दा बढी कुल राष्ट्रिय आयपर्यटनबाट भिœयाउन सकेका छैनौँ । पर्यटनमा प्रत्यक्ष रोजगारी अझै पनि करिब २ लाख ५० हजारमा सीमित छ । यो भनेको अति न्यून हो । किनकि नेपालमा अहिले बर्सेनि करिब चार लाख युवा रोजगारीका लागि तम्तयार भएर निस्कन्छन् । तर, पर्यटन क्षेत्रमा त्यो भर्भराउँदो युवाशक्तिलाई प्रयोग गर्न सक्नेगरी हाम्रो पर्यटन उद्योग फस्टाउन सकेन । सन् १९९८ मा नै १० लाख पर्यटक भिœयाउने त्यो बेलाको ‘नेपाल भ्रमण वर्ष’को धोको सन् २०१७ मा अर्थात् १९ वर्षपछि मात्र पूरा भएको छ । यस्तो ढिलो गतिको पर्यटन बढोत्तरीले निश्चित रूपमा हाम्रा अपेक्षा पूरा हुन सक्दैनन् । सन् २०१८ मा नेपालले करिब १२ लाख पर्यटक भिœयाउन सफल भएको छ । यो बढोत्तरीलार्ई पछिल्लो समयमा सकारात्मक रूपमा त लिएका छौँ तर अपेक्षाभन्दा निश्चित रूपमा हामी धेरै तल छौँ । पर्यटक आगमन, आय र रोजगारीमा बर्सेनि उच्च (तीव्र) वृद्धि भएन भने हाम्रा लक्ष्य र उद्देश्य पूरा हुने छैनन् ।
नेपाल सरकारले आव २०७६÷७७ का लागि करिब दुई अर्ब ६९ करोड रुपियाँको बजेट विनियोजन गरेको छ । यो बजेटका मूल नीतिगत लक्ष्य भनेका ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्ने र कम्तीमा २० लाख पर्यटक भिœयाउने, नयाँ गन्तव्य पहिचान गरी पूर्वाधार र प्रचारका कार्य बढाउने, ‘माइस’ पर्यटन (सभा÷सम्मेलन) लाई जोड दिई पहुँच र सभाहलस्थल विस्तार गर्ने, पूर्वमा मेचीदेखि पश्चिममा कालीसम्म ‘हिमाली हरित पदयात्रा मार्ग’ विकास गर्न पूर्वाधार तयारीमा जोड दिने, रारालाई विशेष गन्तव्यका रूपमा प्रवद्र्धन गर्नेलगायतका कार्य छन् । यसका अतिरिक्त हरेक प्रदेशले पनि पर्यटन विकासलाई प्राथमिकतामा राखेका छन् । कर्णाली प्रदेशले त झन् रारालाई ‘नम्बर एक गन्तव्य’का रूपमा विकास र प्रवद्र्धन गर्ने योजना बनाएको छ । हरेक प्रदेशले यतिबेला आफ्नो प्रदेश र क्षेत्रमा मौजुदा उत्कृष्ट गन्तव्य पहिचान गर्ने, सूचीकरण गर्ने, विकास गर्नका लागि गुरुयोजना बनाउने काममा करोडौँ खर्चँदै छन् । गण्डकी प्रदेश त झन् होमस्टे पर्यटन विकासमा सबैभन्दा तात्तिएको अवस्था छ । हरेक होमस्टे–ग्राम (सामुदायिक) लाई दस÷दस लाख रुपियाँ अनुदान दिएर होमस्टे पूर्वाधार विकासलाई निकै जोड दिएको अवस्था छ । निश्चित रूपमा यी सबै कार्यले पर्यटन विकास र स्थानीय रोजगारी अभिवृद्धिमा टेवा पु¥याउने निश्चित छ । कृषि विकास सन्दर्भमा सरकारले लिएको ‘एक गाउँ एक उत्पादन’ नीतिगत अभियानझैँ पर्यटनमा पनि ‘एक पालिका ः एक प्रमुख गन्तव्य’को अवधारणा अगाडि बढाउनु जरुरी छ ।
स्थानीय संयन्त्र खोई ?
पर्यटन क्षेत्रले व्यापक रोजगारी सिर्जना गर्न सक्छ भन्ने कुरा अब पुरानो भयो । किनकि तथ्याङ्क घोकेरमात्र के गर्नु ? स्थानीयस्तरको पर्यटनमा स्थानीय कति व्यक्तिले रोजगारी पाएका छन् ? पर्यटनले कतिलाई छहारी दिएको
छ ? तिनले कति कमाएका छन् ? तिनका घरमा कस्तो प्रभाव परेको छ ? प्रत्यक्ष रोजगारी कतिलाई प्राप्त छ ? अप्रत्यक्ष रोजगारी अर्थात् उत्पादन बिक्री र सेवा बिक्रीमा कति संलग्न छन् ? ती प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाउनेले पर्यटनबाट मात्र कति कमाउन सफल भएका
छन् ? यो कुरा अहिलेको मूल चासो हो ।
पुराना तथ्याङ्क केलाउने हो भने, एक पर्यटक नेपाल भित्रँदा उसले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी १३ जनालाई रोजगारी दिएको हुन्छ भनिन्छ । विश्व पर्यटन तथ्याङ्कले भन्छ, ‘पर्यटनले पुरुषलाई भन्दा महिलालाई बढी रोजगारी दिन्छ ।’ तर विद्वत्जनबीच छलफल पनि हुने गरेको छ, राम्रा र ठूला पद पुरुषले लिन्छन्, साना र कमसल पद महिलाका लागि छुट्याइन्छन् । विश्व पर्यटन सङ्घका अनुसार विश्वमा सन् २०१८ मा करिब एक अर्ब ४० करोड पर्यटक यो देश वा त्यो देशमा घुमे । युरोपेली देशमा सबैभन्दा बढी पर्यटक पुग्छन् । किनकि फ्रान्समा मात्र सन् २०१८ मा करिब नौ करोड विदेशी पर्यटक आए । यो विश्वकै अत्यधिक सङ्ख्या हो । त्यही भएर होला युरोपेली २७ देशले मात्र करिब एक करोड ३० लाखलाई पर्यटनमा रोजगारी सिर्जना गर्न सफल भएका छन् ।
पर्यटनमा रोजगारी बढाउने कुरा सर्वप्रथम स्थानीय तहले नै सोच्नुपर्छ । कृषि, पर्यटन, हस्तकलामा आधारित लघुउद्यम, वन एवम् जडीबुटीजन्य उद्योग आदि नै ग्रामीण भेगमा रोजगारी अभिवृद्धिका प्रमुख माध्यम हुन् । सहरी क्षेत्रमा भने उद्योग, व्यापार तथा अन्य सेवा क्षेत्रले अधिकांश व्यक्तिलाई रोजगारी दिन्छन् । यी सबै विषय र क्षेत्रमा आफ्नो पालिकामा के–कति संलग्न छन्, कति बेरोजगार छन्, अर्को वर्ष कति जना १६ वर्ष पुगेर रोजगारी दुनियाँमा छिर्दै छन् आदिजस्ता अभिलेख अब प्रदेश र सङ्घले होइन, पालिकाले नै छिनछिनमा अद्यावधिक गरी बस्नुपर्छ । स्थानीय सरकारका लागि यो एउटा महŒवपूर्ण र नगरी नहुने काम हो । ‘समृद्ध नेपाल ः सुखी नेपाली’ नारा सार्थक पार्ने पहिलो कडी पनि यही नै हो ।
तर, स्थानीय सरकारको अहिलेसम्मको २८ महिने अनुभवलाई हेर्ने हो भने सक्रियतासाथ पर्यटन विकास र प्रवद्र्धन गर्ने, पर्यटनका माध्यमबाट रोजगारी सिर्जना गर्ने, रोजगारी अभिलेख अद्यावधिक गर्नेतर्फका पहलहरू लगभग शून्यप्रायः नै देखिन्छन् । पर्यटन विकासको ‘स्थानीयकरण’ नगर्ने र तल्लोस्तरसम्म पर्यटनको संरचनागत संयन्त्र (शाखा, फाँट) र जनशक्ति तयार नपार्ने हो भने पर्यटनले गति लिन सक्दैन । तर, यो कुरा थाहा हुँदाहुँदै पनि अहिलेसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल पर्यटन बोर्ड र प्रदेश सरकारहरूले उचित दिशाबोध र सहजीकरण गर्न नसक्नु ठूलो कमजोरी हो । यो कुरामा ध्यान जान सकेमामात्रै सन् २०१९ को विश्व पर्यटन दिवसले दिएको मूल सन्देश (पर्यटन चढाऊ, सबैका लागि रोजगारी बढाऊ) को सार्थकता बढ्नेछ ।
(लेखक ग्रामीण पर्यटन विशेषज्ञ तथा पर्यटन विषयका शोधार्थी हुनुहुन्छ ।)