नारायणप्रसाद पौडेल
पितृसत्तात्मक समाज भने पनि पीडित पुरुषको सङ्ख्या कम छैन ।
‘श्रीमान्लाई मनग्गे माया गर्नुस् श्रीमतीजीहरू ! हरिद्वारमा नयाँ जोगी अट्ने ठाउँ छैन, हाउसफुल भयो’ भन्ने सन्देश सामाजिक सञ्जालमा पढेकै होलान् । सार्वजनिक रूपमा त्यस्तै अपिल गर्नुपर्ने अवस्था तयार हुँदै गएको जस्तो छ समाजमा । आत्महत्या गर्न नसक्ने, सहज तरिकाले बाँच्न पनि नसक्ने अवस्थामा पुगेका दमित पुरुषका पीडा बढ्दैछन् भित्रभित्रै । बाहिर प्रकट भएर आउँदैन सजिलै । महिला अधिकारको संरक्षण र सशक्तिकरणका परियोजना सञ्चालकले पीडित पुरुषका पीडाका आकार र प्रकारको तथ्याङ्क बटुलेर सार्वजनिक गर्दैनन् । दातृ निकायले पनि पुरुष प्रताडनाका विरुद्ध लगानी गर्दैनन् । त्यसैले मरिच झैँ चाउरिन विवश छन् । घर छाडेपछि जोगी हुनेको सङ्ख्या बढेर त्यस्तो लेख्न परेको होला । र, होला आत्महत्यामा पुरुषहरूको सङ्ख्या आठ प्रतिशतले बढेको पनि ।
‘छोरो मान्छे भएर रुनुहुन्न’ भन्ने गीत गाउने गायक आफैँ रोएका होलान् । बाहिर बाघझैँ गर्जने कतिपय पुरुष घरभित्र पसेपछि रुझेको बिरालोजस्तो भएको देख्न सकिन्छ । कम कमाइ भएका, शारीरिक र आर्थिक हिसाबले कमजोर हुँदै गएका र नरम स्वभावका पतिलाई कडा स्वभावका पत्नी परेका भए अरू केही सजाय दिन पर्दैन । त्यस्ता पुरुष त्यसै पनि ढलेर गलेका कर्कलाजस्ता हुन्छन् ।
सदियौंदेखिका दमित महिला उत्थानका अभियान धेरै चले, चल्नुपर्छ अझै पनि । अधिकांश ठाउँमा महिलामाथि हुने अत्याचार असह्य खालका छन् । कतिपय सम्प्रदायमा त अझै पनि महिलालाई मान्छेका रूपमा स्वीकारिएको पाइँदैन । भ्रूणहत्या र पर्दाप्रथामात्रै हैन, जारी र किन–बेच गर्ने चलन पनि विद्यमान छन् अद्यापि । त्यस्ता समाजमा महिलामाथि हुने अत्याचारका तुलनामा पुरुष पीडाको स्तर मापन गर्न नमिल्ला । तथापि सचेत, शिक्षित समुदायभित्र र केही अचेत एवं असङ्गठित परिवारमा हुने गरेका पुरुष प्रताडना बेवास्ता गर्न नमिल्ने अवस्था छ भन्ने विषय स्वीकारिनुपर्छ । लैङ्गिक हिंसाविरुद्धका अभियानमा महिला मात्रै होइन, पुरुष पनि पीडित छन् भन्नेतर्फ पनि हेक्का राखिनुपर्छ । एकपक्षीय हुनुभएन ।
आँत काटे जस्ता हुन्छन् पुरुषका पीडा । बोल्न नसक्ने, मुख खोल्न नमिल्ने, घाउ देखाउन पनि नपाइने । कुटुकुटु मुटु खाइरहने । ओठमा पानी भए पनि मुस्काउन नजानेका, शोक नपरिकन सुर्ताएका, दुःख बिमार नलागे पनि झोक्राएका र आफैँ ओइलाएका पुरुष देख्दा पत्नीपीडित होला भन्ने अड्कल काटे हुने भएको छ । घर बाहिर र छर–छिमेकीसँगको कलझगडामा गुहार माग्न पाइने, परिवारभित्रको आन्तरिक मामला चाहिँ भित्रभित्रै दबाउनुपर्ने । अति नै असह्य भएर अन्तिम अवस्थामा पुगेपछि हो बाहिरिने र मुद्दा मामिलामा जाने, छोडपत्रका लागि अड्डा अदालत धाउने । नत्र जति जे भए पनि सुन्ने, सहने र कतै नकहने । पितृसत्तात्मक संरचना र पुरुष हैकम भएको सत्ता र समाज हुनाले पनि यस्तो भएको हो ।
पुरुष हुनु आफैँमा कुनै अपराध होइन, कसैको चाहनाले काम गरेको पाइँदैन । पौराणिक कहानीका अवतार पुराणमै सीमित छन् । भू्रणहत्या गर्ने र गराउने, महिलालाई मान्छेका रूपमा नगन्ने, नमान्ने, सन्तानोत्पादन र मनोरञ्जनका साधन मात्र ठान्नेहरूमा हुनु त सामाजिक विकृति हो । पुरुषले चाहेमा पति र पिता त नबन्न पनि सक्छन् । त्यसो गर्दा कुल, वंश परम्परा र पारिवारिक वृद्धिको अन्त्य हुने त्रास बढ्छ । प्रकृतित्वको विपरीत हुनजान्छ । उमेर पुगेपछि भालेको खोजी सबै पोथी प्राणीले गर्छन् । मान्छेमा पनि त्यसको आवश्यकता पर्छ ।
मैंमत्ता पितृसत्तात्मक शासन र समाजका कारण सोझा र इमानदार पुरुषहरू प्रताडित भएका छन् अचेल । हिंस्रक, क्रूर, अधिकारको ख्याल नगर्ने र महिलामाथि अत्याचार थोपर्ने पुरुषका विरुद्ध आवाज उठ्नु, अभियान चल्नु स्वाभाविकै हो । गल्ती र अपराध अनुसारको सजाय त दिनैपर्छ । विमति जनाउनुपर्ने विषय होइन । तर अधिकारको आवाज घरभित्रैबाट उठ्नुपर्छ, परिवारभित्रैबाट सङ्घर्षको थालनी गरिनुपर्छ, आफ्नै पिता र पतिका विरुद्धमा जुट्नु र जाइलाग्नु पर्छ, कदापि छाड्नुहुन्न भन्ने सन्देशको अर्थ सज्जन पति र पिताका विरुद्ध प्रहार केन्द्रित गरिनुपर्छ भन्ने त नहुनुपर्ने हो । पुरुष हुँदैमा सबै अत्याचारी हुँदैनन्, सहयोगी पनि हुन्छन् ।
समय र परिस्थिति अनुसार घर व्यवहार चलाउन पर्दा, भित्र र बाहिरका कामको बाँडफाँट गर्दा, जोत्ने र पोत्ने, काट्ने र झाँट्ने, कुट्ने र पिस्ने, ठटाउने (दाउने) र बोक्ने, बाट्ने र बटुल्ने, पोख्ने र जोख्ने, उठाउने र थन्क्याउने, निफन्ने र केलाउने, पकाउने र पस्कने जिम्मा पनि अवस्था, क्षमता र आवश्यकता अनुसार गराइने चलन चलाइयो । गर्भवती हुनुपूर्वका किशोर किशोरी, युवक र युवतीका शारीरिक सुगठन र क्षमतामा फरक नहोला । सुत्केरी भइसकेपछिको कमजोर शारीरिक अवस्था हेरी चुलो चौको सम्हाल्ने र करेसाबारी वरिपरिभन्दा बाहिर नजाने अवस्था सन्तानको लालन–पालनका कारणले पनि होला । प्रकृतिले नै तोकेर बनाइदिएको भाले र पोथीमा हुने वात्सल्य क्षमता वा स्तनपान र जीवन यापनका भिन्नताले त्यस्तो गराउन बाध्य पारेको होला । बदलिँदैछ अहिले त्यो चलन र चल्ती पनि । खल्तीका खजाना र आवश्यकतानुसारका रुचि र चाहनाले । तर आधुनिक विज्ञानले जति नै उन्नति गरे पनि, अधिकारका र स्वतन्त्रतका जति नै अभियान चलाए पनि तन र मनको भाषा बुझ्न, गाह्रो साह्रो हटाउन र तिर्खा मेटाउन, एक अर्काका पीर मर्का घटाउन यन्त्रले सक्दैन कदापि । मान्छे नै चाहिन्छ अद्यापि । महिलालाई पुरुष र पुरुषलाई महिला आवश्यकताको विकल्प छैन, सोच्न सकिन्न । यति सामान्य कुरा पनि कुन्नि किन सम्झिन्न ?
पुरुष, पिता र पति भनेकै अत्याचारी, शोषक र शासक सम्झने, सहयोगी र असहयोगी बीचको अन्तर नछुट्याउने, जे गरे वा बोले पनि महिला र सन्तानमाथि दमन गरेको, हैकम चलाएको ठान्ने प्रवृत्ति अलि बढ्दै गएको छ । कामको खटाइ, जिम्मेवारी बोकाइ र भूमिका निर्वाहको लेखाजोखा नराख्ने, हैसियत र अवस्थाको ख्याल नगर्ने, माग मात्रै तेस्र्याउने, पूरा भए रमाउने, नभए दोष मात्रै लगाउने, श्रीमान्को कुरा नपत्याउने अरूको कुरा टपक्क मनमा लिइहाल्ने, अरूको काम देख्ने श्रीमान्ले गरेको केही नदेख्ने प्रवृत्तिबाट पीडितको सङ्ख्या बेहिसाव होला ।
खस्रो र भुत्ले शरीर, धोद्रो र रुखो बोली, पारिवारिक विकासका बालीको बीउ, सुरक्षा दिनसक्ने जिउ, कठोर परिश्रम गर्ने शक्ति (बल), उत्पादन र व्यवस्थापनका लागि प्रयोग भयो । मातृत्वको जिम्मेवारी सम्हालेपछि शारीरिक रूपमा मुलायम, नरम र कमजोर हुनु, कठोर बन्न नसक्नु, शालीन र सहनशील रहनु, सुभाषिणी (कर्णप्रिय बोली) र सुन्दर शरीरिक संरचना पाउनु त प्रकृतिको वरदान पो हो । प्रकृतित्व विपरीतको कर्कश आवाज र व्यवहार अशोभनीय हुन्छ नै । शोभनीय बनाउने जिम्मेवारीमा पुरुषको व्यवहार बढी अपेक्षित होला महिलाका तुलनामा । तर कम हुँदैन महिला स्वयंको जिम्मेवारी, कर्तव्य र कार्यशैली पनि । प्रकृतिले दिएको सुन्दर र आकर्षक शारीरिक आकृति, मीठो बोली, व्यवहार, गला र कलाले जस्तै पुरुषको कठोर व्यवहार र अत्याचारलाई पनि गलाउन, ढलाउन र दलाउन सक्ने क्षमता हुन्छ । क्षमताको सदुपयोग भन्दा दुरूपयोग भएपछि हो सन्तुलन गुम्ने, झगडा बढ्ने र विपरीत पक्ष पीडित हुने ।
पौराणिक कालमा होस् वा वर्तमान राजनीतिक उथलपुथलमा, समाज र परिवारका अधिकांश झगडा, लडाइँ, सङ्घर्ष, द्वन्द्व र युद्धका कारण खोतल्दै जाने हो भने महिलाको शारीरिक सुन्दरता र चाहनाको परिपूर्तिका लागि भएका भेटिन्छन् । रामायण होस् वा महाभारत, देवी भागवत होस् वा देवासुर सङ्ग्राम आदि सबैका कारक र संहारक हुन् महिला । लक्ष्मी, दुर्गा र सरस्वतीका शक्तिसँग सबै देव र महादेवहरू पनि झुकेकै छन् । जस्तै योगी, जोगी, तपस्वी, सन्त, महन्त, सन्यासी, ऋषि र महर्षिका तपस्या रम्भा, उर्वशी र मेनकाका अङ्ग प्रत्यङ्गका आकर्षक कला–कृतिद्वारा भङ्ग भएका छन्, चुकेकै छन् । राजा महाराजालाई खुशी पार्ने र सिंहासनबाट झार्ने उपाय पनि उनैसँग छ । अद्यावधि जारी छ त्यो । यदाकदा अपवादका रूपमा बाहेक, महिलाले चाहेमा नहुने केही छैन सबै लोक र तन्त्रमा । तर उनै शक्तिशाली महिला आफैँ आफ्नै शरीरिक स्वामित्व, अधिकार र प्रयोगमा लाग्छन्, सामाजिक असन्तुलन र पारिवारिक कलह र विग्रहको आरोप जति पुरुषका थाप्लामाथि थोपर्छन्, तब विषय बिग्रन्छ । विनाशलीला सुरु हुन्छ । सम्हाल्ने शक्ति पनि महिलाकै हातमा हुन्छ भन्ने बिर्सिन्छ, तब सर्वनाश हुनुको विकल्प रहँदैन ।
(लेखक स्वतन्त्र पत्रकार हुनुहुन्छ ।)