राधा पौडेल
मैले जान्दा मेरो घरमा खाल्डे पाइखाना थियो । करिब दुई फिट गहिरो, चार कुनामा थोत्रा बोरा वा गुन्द्रीले बारेको, एकदम दुर्गन्धित । पाइखाना जान नै मन नलाग्ने, अन्तै कतै जान पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । वर्षायाममा त झनै गाह्रो । पानीले खाल्डो भरिएर प्रयोग नै गर्न नमिल्ने तर घरको नियम कडा थियो– आफ्नो जग्गाको सँगै कतै गु (दिसा) देखियो भने तिम्रो बारीको छेउमा तिमीहरूले नगरे अरू कल्ले हुन्छ ? भनेर बाले जुन छोराछोरी अगाडि छ उसलाई कोदालोले सोहोर्न लगाउनुहुन्थ्यो । खुट्टा घिनाउँछ, घाँस काट्न घिन लाग्छ भनेर आमाले बारीमा जानै दिनुहुन्नथ्यो । त्यसैले म जहिले पनि चापेपछि मात्र जाने, एकदम छिटो छिटो नाक थुनेर भ्यात्त फाले झैँ गरेर उम्कने गर्थें ।
सायद, म प्रतिनिधि पात्र हुनुपर्छ ।
छोराछोरीहरू विद्यालय पठाएको प्रभाव हो कि, हामीले आफैँ करिब चार फिट गहिरो खाल्डो खनेर, त्यसमा टाँड हालेर, काठका टुक्राटुक्री जोडेर हेर्दा सानो घर झैँ बनायौँ । त्यसपछि भने अलिक आनन्द आउन थाल्यो । जुन लामो समय टिक्थ्यो पनि तर मेरो नाक थुन्नुपर्ने
बानी हटेन । झिँगा भन्कने, सल्याङ सल्याङ कीरा पर्ने अनि वर्षाको बेला खाल्डो त भरिने नै भयो । जेनतेन त्यहाँसम्म पुग्ने बाटो बनाए पनि दिसा पत्ल्याङ्ग गर्दा फोहोर पानी उछिट्टिएर आफूतिरै आउँथ्यो । खाने बेला चर्पी सम्झेर टन्न खाने मन पनि दिगमिगाएर हराउँथ्यो ।
किताबमा पढेका राम्रा, सफा पाइखाना कहिले बनाउन सकिएला भनेर कल्पनामा दशकौँ बिते । अरूका अग्ला घर, चिप्ला कारले भन्दा पनि सफा चर्पीको तस्बिर बनिरहन्थ्यो । गुबाट दिसा भन्दै, पाइखानादेखि चर्पी, ट्वाइलेट, बाथरुम, रेस्टरुम सबै देखियो जानियो, भोगियो । स्विच थिचेर चिसो, तातो पानी र हावाले सफा गर्ने पनि अनुभव गरियो ।
करिब दुई दशक अघि घरभित्र ट्वाइलेट बनाउने कुरामा परिवारमा अलिक गलफत्ती नै भयो तर मैले नै जितेँ । गाउँमा सबैभन्दा पछि पक्की घर बने पनि सबैभन्दा पहिले घरभित्र ट्वाइलेट बन्यो । गुमा झिँगा भन्कन त छुट्यो तर कानमा कुराहरू भन्किन माओवादी सलबलाउने बेलासम्म नै कुर्नुप¥यो । सुरक्षाको बहानामा घर घरभित्र चर्पीहरू बन्न थाले । सोलु वा झापा वा कपिलवस्तु वा डोल्पाको समस्या मात्र होइन, समस्या काठमाडौँको छ, राजधानीको छ । समय फेरियो, गाउँ सहर भयो । तर सहर सहर हुन सकेनन् । अझै काठमाडौँ राजधानी सहर हुन सकेन ।
मर्यादित महिनाबारीको छलफलका लागि स्वास्थ्य मन्त्रालयमा बैठक बस्नु अघि मूत्रत्याग गर्ने बहानामा चर्पीको दर्शन भयो । मन्त्रालय भएको कारणले अलिकति आशा थियो नमुना नै नभए पनि केही फरक त होला नि ! थिएन, पटक्कै थिएन । मलाई नाक थुन्ने बेथाले फेरि छोयो । न साबुन न पानी । न सहज ।
त्यस्तै कामकै सन्दर्भमा खानेपानी मन्त्रालय अन्तर्गतको विभाग पानीपोखरीमा पुगेँ । बाहिर हिँड्दा पानी कम खानु, हिँड्नु अघि नै चर्पी प्रयोग गरेर हिँड्नु, पेट गडबड वा महिनाबारी वा अलिक चर्पी प्रयोग गरिरहन पर्ने अवस्था भए बाहिर नै ननिस्कनु सहरका बाध्यता हुन् । तथापि मैले हारेँ, मुसलधारे पानीले मेरो संवेगलाई उत्तेजित पारिदियो । सुरक्षार्थ खटिएकी महिलाले मलाई जुन ट्वाइलेट प्रयोग गर्न निर्देशन दिइन्, मैले झन्डै बान्ता गरिनँ । म फलाक्दै निस्केको देखेर अर्का कर्मचारीले भने – माथिको ट्वाइलेट जानुपर्ने थियो म्याडम ।
म एकाएक सामान्य महिला वा केटीबाट म्याडम भएँ । मैले सफा ट्वाइलेटको ‘अफर’ पाएँ । समस्या यही हो । हामी हरेक व्यक्तिले न्यूनतम सरसफाइ मैत्री चर्पी र वातावरण पाउनु पर्छ, हुनैपर्छ । जसरी कुनै नुनको पोकोमा गुणस्तर चिह्न अनिवार्य हुन्छ त्यस्तै चर्पीमा पनि हुनुपर्छ तबमात्र हामी र हाम्रो समाज सभ्य र स्वस्थ्य हुनसक्छ । संरचना वा नामका चर्पीले वा एकजना मात्र सफा र स्वस्थ रहन सधैँ सम्भव नै छैन । जुन मन्त्रालयले असोज १३ गते दक्षिण एसियाकै पहिलो ‘चर्पी भएको देश’ घोषणा गर्दै छ, त्यही मन्त्रालयको चर्पीको यो हालत भइरहँदा कसको चित्त बाँकी रहन्छ होला र ? मनै उकुसमुकुस भएर आउँछ । झन् आफू महिनाबारी भएको बेलाका सार्वजनिक चर्पीका व्यथाले दम नै उठ्छ । हाम्रो सोच कहिले मानसिक गरिबीको रेखाबाट फड्को मार्छ होला ?
कहिलेकाहीँ सिंहदरबार जाने काम पर्छ । ठूला पदका मानिसको कोठामा जोडिएका चर्पी हुन्छन् भने अन्त सामान्य व्यवस्था पनि गरिएको हुँदैन । तीनतारे होटेल र औँलामा गन्न सकिने रेस्टुराँ बाहेक अन्य सबैको हालत उस्तै छ । कतिपय खाजा पसलमा त चर्पी नै हँुदैनन् । दुई तीनवटा घर पछाडि, दुई चार पसलको साझा एक चर्पी हुन्छ जुन मेरो बालवयको भन्दा पनि जटिल अवस्थामा हुन्छन् जहाँ जो कोहीले पनि प्रयोग गर्न लायक नै हुँदैन । महिनाबारी भएकी महिला, अपाङ्ग र प्रकोपको त कल्पनै नगरे पनि हुन्छ ।
काठमाडौँका सरकारी अस्पतालमा चर्पी प्रयोग गर्न सकिने अवस्थामा नै छैनन् । कतिपय अवस्थामा कर्मचारीले प्रयोग गर्ने चर्पी पनि न्यूनतम मापदण्ड भएका हँुदैनन् ।
छन्, काठमाडौँमा सार्वजनिक चर्पीहरू, केही बसपार्कमा व्यवस्था गरिएको पनि छ तर ती चर्पी प्रयोग गर्न लायक नै हँुदैनन् । पानी, साबुन, फोहोर फाल्ने भाँडो केही हुँदैनन् । चुक्कुल लाग्दैनन्, एउटा सामान्य व्यक्ति अट्दैनन् । सार्वजनिक प्रयोगका लागि भनिएका अधिकाँंश चर्पीमा टेक्नका लागि समेत सफा भुइँ हुन्न, हेर्नसमेत घीन लागेर आँखा चिम्लिनुपर्ने अवस्था हुन्छ ।
अधिकांश ठाउँमा महिलाका लागि छुट्टै चर्पी हँुदैनन् । एकभन्दा बढी चर्पी भए पनि महिलाका लागि भनेर लेख्न कन्जुस गरिएको हुन्छ ।
धेरैलाई लाग्न सक्छ– चर्पी भएन, चर्पी गन्हायो, चर्पी महिला अपाङ्गमैत्री भएन, समाज असभ्य भयो, फोहोरी देखियो आदि । चर्पीको कहानी, महŒव, आवश्यकता र बहुपक्षीय सम्बन्ध मानिस यस ब्रह्माण्डमा जहिलेबाट अस्तित्वमा रह्यो र भयो त्यहिलेबाट छ । सर्वमान्य सत्य हो, बाँच्नलाई खानुपर्छ, खाएपछि केही फाल्नु नै पर्छ ।
बिरामी, बच्चा वा वृद्धलाई मात्र होइन चर्पीको आवश्यकता । सडक पेटीमा व्यवसाय गर्ने, ट्याक्सी – बस चलाउने, पैदल हिँड्नेहरूको मर्म कसले बुझ्ने ? सबै ठाउँमा चर्पीको पहुँच सजिलो छैन । चर्पी भएका पसल, रेस्टुराँमा केही नकिनी – नखाई चर्पी ‘सुँघ्न’ सम्भव नै छैन । त्यो दिनभरिको कमाइभन्दा पनि बढी महँगो पर्न जान्छ । तसर्थ पानी खाने बानीमा पनि उतारचढाव आउँछ जुन स्वस्थ, मिर्गौलाका लागि असामान्य अवस्था हो । काठमाडौँमा कैयौँ ट्याक्सी चालक वा यात्रुहरू व्यस्त सडकछेउका झाडी, गल्छेडो, विद्युतीय पोलको छेको पारेर मलमूत्र त्यागिरहेका देखिन्छन् । सडक व्यापार गर्ने, चालकहरूले चर्पी जाने समस्याकै कारण बिहान–दिउँसो पानी नखाने गरेको सुनाउँछन् ।
नेपालको संविधान २०७२ मा धारा ५७ को उपधारा ५, धारा १०९, धारा १६२ को उपधारा ४, धारा १९७, धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २ र धारा २२६ को उपधारा १ सँग सम्बन्धित रहेर अनुसूची ९, सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा बँुदा नम्बर ५ मा खानेपानी, ७ मा वातावरण उल्लेख गरिएको छ । त्यसो त अन्य थुप्रै धारा चर्पीसँग
सम्बन्धित छन् । तीनै तहका सरकारका तर्फबाट कामै नभएका पनि होइनन् तर पर्याप्त भने पक्कै छैनन् । कतिपय परिवेशमा परिवार छ, जग्गा छैन । कतिपय ठाउँमा सार्वजनिक चर्पी त छन् तर सबैलाई पहँुचयोग्य र पर्याप्त छैनन् । कतिपय ठाउँमा संरचना नै नभई तथ्याङ्कमा प्रगति देखाउन घोषणाहरू गरिएका उदाहरण छन् ।
चर्पी संरचनाको मात्र कुरा होइन । पैसाको मात्र कुरा पनि होइन । यो एक बृहत् अवधारणा र अभ्यास हो जहाँ सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, प्राविधिक, वातावरणीय पक्ष सँगसँगै आउँछन् । चर्पीलाई पानीसँग जोडिएन भने चर्पी हुनुको कुनै तात्पर्य नै छैन । अझै स्पष्टसँग भन्ने हो भने केटी वा महिलाहरूका लागि झनै जोखिम हुन्छ । तसर्थ तीनै सरकार र संयन्त्रले चर्पीलाई सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, प्राविधिक, वातावरणीय पक्षबाट विश्लेषण गरी प्राथमिकतापूर्र्वक अघि बढ्नुपर्ने देखिन्छ । कसैलाई देखाउने, भन्ने भन्दा पनि देशकै समृद्धिका लागि चर्पी अपरिहार्य बहस र अनिवार्य काम हो ।
चर्पी कम्तीमा पनि समाजका सबै तह र तप्काका कर्ताहरूलाई सहज हुनसक्ने हुनुपर्छ । चर्पीले सबैभन्दा प्रयोगकर्तालाई सहज र आनन्दको अनुभूति दिलाउन सक्नुपर्छ । मन्त्रालय मातहतका निकायबाट खुला दिशामुक्त घोषणा भएका जिल्लामा पनि सामान्य अवस्थाका चर्पी भेटिँदैनन् । खोल्सो, झाडी, थुम्का, रुखका फेद आदि सबै पाइला नै टेक्न नसकिने अवस्थामा छन् । कतिपय सन्दर्भ र परिवेशमा भएका चर्पी पनि प्रयोग गर्ने जाँगर र ज्ञान दुवै नभएको अवस्था छ । तारे होटेलहरूमा चर्पी त छन् तर प्रयोग गर्ने ज्ञान छैन ।
नेपाली बन्द, पुरातनवादी समाजमा दिसा, पिसाब, महिनाबारी (दिसा पिसावभन्दा पनि बढी लाज) लाई लाजसँग जोडेर यसका बारेमा बृहत्तर बहस र काम नै आवश्यक छ ।
चर्पी एकदिन सफा, एकपटक प्रयोग गरेर नतिजा प्राप्त गर्न सकिने क्रिया होइन । पानी, सरसफाइबाट तुरुन्तै नै देखिने रोगबाट जोगिने मात्रै नभएर देशको समृद्धिसँग पनि यो विषय जोडिएको छ । त्यसैले यसले समेटेको राजनीतिक, आर्थिक, सामाजिक, प्राविधिक सबै पक्षलाई सम्बोधन गर्न अत्यावश्यक छ । सन् २०२० नेपाल भ्रमण वर्ष भनिरहँदा देशभित्र र बाहिरका पर्यटकलाई चर्पीकै समस्याले मात्रै पनि बिच्काउने अवस्था नआओस् । खुला दिसामुक्त देश घोषणा गर्न त सजिलै होला तर यथार्थ त्यस्तो बनाउन तत्कालै यो समस्या समाधानार्थ तीनै तहका सरकारहरू सक्रिय हुनुपर्छ ।
(लेखक नर्स तथा मदन पुरस्कार विजेता हुनुहुन्छ । )